कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्‍चनजंघा आरोहणको ६५ वर्ष

आनन्द गौतम

ताप्लेजुङ — कोरोना संक्रमणको कहर नभएको भए यतिबेला हिमाल आरोहीका समाचारले प्राथमिकता पाउँथ्यो । महिनौं दिनदेखि हिमालको बेसक्याम्पमा बसेर डोरी टाँग्दै र बाटो बनाउँदै गरेका शेर्पाहरुले देश विदेशका नागरिकलाई आरोहण गराउँथे र आफू पनि हिमाल चढ्थे ।

कञ्‍चनजंघा आरोहणको ६५ वर्ष

१९५५ मे २५ का दिन बिहान २:४५ बजे विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघामा पहिलो मानव पाइला परेको थियो । ८ हजार ५ सय ८६ मिटर उचाइको यो हिमालमा ब्रिटिस आरोही जर्ज ब्यान्ड, जोई ब्राउन लगायतको टोलीले मानव पाइला राखेर पहिलो आरोहीको रुपमा आफूलाई दर्ज गरेका थिए ।

त्यसको ठिक ६५ वर्षपछि आज भने यो हिमाल मानवविहीन सुनसान छ । कञ्चनजंघा क्षेत्रमा भ्रमणका लागि आएका सबै विदेशी नागरिक फर्किइसकेका छन् । चैत ११ गतेदेखि नेपालमा लकडाउन भएपछि आरोही आउने कुरै भएन ।

कञ्चनजंघा संरक्षण क्षेत्रको घुन्सा पोस्टका पर्यटन सहयोगी टाँसी शेर्पाका अनुसार यो वर्ष कोरोना संक्रमणकै बीच ३५ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । तथ्यांकअनुसार जापानका ८, जर्मनी ५, अस्ट्रेलिया ४, अमेरिका र फ्रान्स ३/३, ब्रिटिस, नेदरल्यान्डस्, क्यानडा र स्विट्जरल्यान्डका २/२, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेनका १/१ जनाले भ्रमण गरेर फर्किएका छन् ।

गत वर्ष नेपाली र विदेशी गरी ४३ जनाले हिमालको आरोण गरेका थिए । अघिल्लो वर्ष ३९ जना चुचुरोमा पुगेर फर्किएका थिए । त्यसअघिका ४ वर्ष भने आरोहणमा खडेरी लागेको थियो । आरोहणका क्रममा २ वर्षसम्म लगातार मानवीय क्षति भएपछि आरोहणका लागि कोही पनि आएका थिएनन् । कञ्चनजंघामा यो वर्ष थप वृद्धि हुने अपेक्षा पर्यटन व्यवसायीको थियो । नेपाल भ्रमण वर्ष भएकाले भ्रमण गर्नेदेखि आरोहण गर्नेसम्मको संख्या बढ्ने अपेक्षा स्थानीयले गरेका थिए । कोरोना संक्रमणका कारण विदेशी नागरिकको स्वागत गर्न आतुर स्थानीय व्यवसायी लकडाउनको पालना गर्दै घरमै बसेको बताउँछन् ।

सामान्यतया अगाडि तयारी गर्ने र वैशाखको अन्तिमदेखि जेठको दोस्रो सातासम्ममा आरोहण गरिन्छ । यो समयमा मौसमको अनुकूलता हेरी दिउँसो र राति पनि आरोहण हुने गरेको छ । सर्वोच्च शिखर सगरमाथामा सरकार आफैंले बाटो बनाइदिए पनि कञ्चनजंघामा भने कम्पनीहरुले नै बनाउनुपर्ने भएकाले आरोहीको बढी नै खर्च हुने गरेको छ ।

त्यसैले पनि सगरमाथाको तुलनामा कञ्चनजंघामा कम आरोही आउने व्यवसायी बताउँछन् । गत वर्ष साँझ ५, बिहान ३ र ८ बजेसम्म धेरैले आरोहण गरेका थिए । बिहान ९:३० बजेसम्म पनि आरोहण गरेका थिए । बिहान ३:४५ बजे सबैभन्दा बढी २३ जनाले शिखर चुमेको उदाहरण छ ।

पर्यटन मन्त्रालयको तथ्यांकअनुसार कञ्चनजंघा क्षेत्रमा वार्षिक ६ देखि १२ सयसम्म विदेशी पर्यटक आएका छन् । पर्यटन व्यवसायीका अनुसार पर्यटकसँगै नेपालीसमेत गरी त्यसको ४ दोब्बर मानिस हिमाली क्षेत्रमा हुने गरेका थिए । पछिल्ला वर्ष होटल तथा घरमा बस्ने पर्यटकको संख्या पनि बढेको छ ।

थुप्रियो हिउँ

मानवीय उपस्थिति नहुँदा यो वर्ष कञ्चनजंघामा हिउँको भने थुप्रो देखिएको छ । 'पन्साउने कुल्चिने नभएर पनि होला टेलिस्कोपबाट हेर्दा हिउँ जम्मा भएको देखिन्छ,' मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बूले भने । घुन्साका मिङमा शेर्पाका अनुसार पर्यटक हिडाउँदा हिउँ पन्साउनुपर्ने भए पनि यो वर्ष हिड्ने नभएकाले हिउँ जमेर बसेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?