उपत्यका छाडेर गाउँमै पढ्ने तयारीमा विद्यार्थी

लकडाउनपछि धेरै विद्यार्थी र अभिभावक विद्यालयको सम्पर्कमा छैनन् । कतिपय अभिभावकले त आफ्ना छोराछोरीलाई गाउँमै पढाउने निधो गरिसके ।
गणेश राई

काठमाडौँ — बौद्ध महाँकालस्थित जनकल्याण माविका विद्यार्थी रचना र अर्चना चौहानले गाउँमै पढ्ने गरी काठमाडौं छाडेका छन् । रचनाले ८ र अर्चनाले कक्षा ६ को परीक्षा दिएका थिए । कक्षा ८ को परीक्षाका नतिजा प्रकाशित भइसकेको छैन । अर्चनाले पनि प्रमाणपत्र पाइसकेकी छैनन् ।

काठमाडौं–सोलु रुटको सुमो गाडी चलाउने सिन्धुलीको कमलामाई नगरपालिका–६ का दानबहादुर चौहानले छोरीहरूको पढाइकै लागि कपनमा डेरा गरेका थिए । दानबहादुर र निर्मलालाई सन्तान पढाउन गाउँभन्दा सहरको बसाइ राम्रै पनि लागेको थियो । लकडाउनपछि भने उनीहरू आत्तिए । ‘काम गर्ने मेसो रहेन त्यसैले परिवारसहित झिटीगुन्टा बोकेर घर फर्किने निर्णय गरेँ,’ नगरपालिकाले गाडी पठाएपछि त्यसमै फर्किएका दानबहादुरले भने, ‘महिनाको ८ हजार रुपैयाँ डेरा भाडा तिर्थें । लकडाउनले मेरो कमाइसँगै छोरीहरूको पढाइ पनि बन्द भयो ।’

चौहानले अब दुवै छोरीलाई त्यहीँको पानीट्यांकी माविमा पढाउने भएका छन् । उनले फोनमा भने, ‘अब भर्ना गर्नका लागि सर्टिफिकेट लिनमात्र काठमाडौं आउनुछ ।’

लकडाउनले नयाँ शैक्षिक सत्र सुरु हुन पाएको छैन । तर, यसपटक भर्नामा इच्छुक बालबालिका र तिनका अभिभावक भेट्दै पानीट्यांकी माविका प्रधानाध्यापक टोमप्रसाद काफ्ले अचम्म मानिरहेका छन् । सहरबाट फर्केका धेरै परिवार छन् । ‘नयाँ भर्नाका लागि धेरैजना सम्पर्कमा आउनुभएको छ । भर्ना खुल्न बाँकी भएकाले नाममात्र टिपेर राखेका छौं,’ उनले भने ।

जनकल्याण माविका प्रधानाध्यापक कुमारी कमला राईले लकडाउनपछि धेरै विद्यार्थी र अभिभावक सम्पर्कमा नरहेको बताइन् । ‘रचना र अर्चनाको अभिभावकले काठमाडौं छाड्ने जानकारी गराइसक्नुभएको छ,’ उनले भनिन्, ‘लकडाउनले गर्दा धेरै जना सम्पर्कमा छैनन् ।’

ललितपुरको इमाडोलस्थित एक निजी विद्यालयमा पढ्दै गरेका रुस्ता राना र खुसी राना यो वर्षदेखि रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही गाउँमा पढ्ने भएका छन् । रुस्ता कक्षा ४ र खुशी कक्षा १ मा पढ्ने छन् । लकडाउनपछि गाउँ फर्किनुपर्ने बाध्यता आएको अभिभावक जयराम रानाले बताए । ‘महामारी र लकडाउनले गर्दा सहर सुरक्षित लागेन,’ उनले भने, ‘त्यसैले गाउँ फर्कियौं । अब घरै बसेर जसोतसो काम गर्ने र बच्चालाई यतैको स्कुलमा पढाउने निधो गरियो ।’

कोभिड–१९ फैलिन नदिन लकडाउन जारी भएपछि धेरै विद्यार्थीहरूले अभिभावकसहित काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । यसरी गएकाहरूमा आधाभन्दा कम फर्किने विद्यालय सञ्चालकहरूको अनुमान छ । ‘तर यतिखेरै अरबमा रहेका लाखौं दाजुभाइ स्वदेश फर्किंदै छन् भन्ने भएपछि धेरै विद्यार्थी गाउँमै रहने अनुमान गरेका छौं,’ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा भन्छन्, ‘लकडाउन लम्बिँदै गए उपत्यकालगायत ठूला सहरहरू फर्केर आउने विद्यार्थी संख्या उल्लेख्य रूपमा कम हुन सक्छ । यसले विद्यालयहरूलाई मर्का त पर्छ तर जहाँ बसे पनि बालबालिकाले पढ्न पाउनुपर्छ ।’सहरी जीवन सहज भए पनि रोजगारी र पेसा गुमेपछि बसोबासको विकल्प गाउँ नै हुन सक्ने उनको ठम्याइ छ ।

त्यसैगरी प्याब्सनका सहअध्यक्ष डीके ढुंगाना उपत्यकाबाहिर गएर विद्यार्थीसँग सम्पर्क समन्वय जारी रहेको बताउँछन् । ‘अन्तिम परीक्षा सकिएलगत्तै लकडाउन भयो,’ ललितपुरको सानेपास्थित रेडियन्ड रिडर्स एकेडेमीका सञ्चालक ढुंगाना भन्छन्, ‘त्यसैले ठूलो संख्यामा विद्यार्थी गाउँ गएका छैनन् भन्ने लाग्छ । कम्तीमा १५ प्रतिशत गएका होलान् । समय परिस्थितिअनुसार काठमाडौं फर्किने/नफर्किने निर्भर गर्छ ।’ नयाँ सत्रका निम्ति भर्ना प्रक्रिया सुरु नभइसकेको हुनाले कति विद्यार्थी थपघट हुने भन्ने पूर्वानुमान गर्न नसकिएको उनको कथन छ ।

काठमाडौं उपत्यकामा ज्याला मजदुरी गर्नेदेखि वैदेशिक रोजगारीमा गएकाहरूले आफ्ना परिवार तथा छोराछोरीलाई राखेर पढाउँदै आएका छन् । उपत्यकाका अधिकांश सामुदायिक विद्यालयमा बाहिरी जिल्लाबाट आएका परिवारका बालबालिका पढ्छन् । त्यसैगरी मध्यम र सम्पन्न परिवारका बालबालिका निजी विद्यालय र मिसनरी स्कुलमा पढ्छन् । लकडाउनपछि सामुदायिक विद्यालयमा भने विद्यार्थी संख्यामा उल्लेख्य रूपमा कमी आउने देखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलका अनुसार काठमाडौं जिल्लाका १ हजार ४ सय १४ विद्यालयमध्ये २ सय ७२ सामुदायिक र १ हजार १ सय ४२ संस्थागत छन् । यिनमा ५ लाख २० हजारभन्दा बढी विद्यार्थी पढ्छन् । यस्तै ललितपुरमा १ सय ८६ सामुदायिक र २ सय ७३ संस्थागत विद्यालय छन् । भक्तपुरमा १ सय ३० सामुदायिक र २ सय ७१ संस्थागत विद्यालय छन् ।

पालिका र विद्यालयको तयारी

रोजगारी र सन्तानको पढाइका लागि सहर पसेकाहरू लकडाउनसँगै पुरानो थलो फिरेपछि अब विद्यालयको शैक्षिक जनशक्ति र पूर्वाधार व्यवस्थापन चुस्त बनाउन स्थानीय तहलाई जिम्मेवारी बढेको छ । यसका लागि स्थानीय तहहरूले तयारी पनि गरिरहेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरूको लगत तयार पारेको छ । नगरका ११ वटा वडाबाट १ हजार ७ सय ३६ घरधुरीका मानिस विदेशमा छन् । नगरप्रमुख इबन राईले भने, ‘विदेशबाट फर्किएकाहरू र काठमाडौंलगायत ठूला सहरमा बस्दै आएका तिनका परिवारको व्यवस्थापनलाई मध्यनजर गरेर योजना बनाउँदै छौं ।’

नगरभित्र ८८ वटा विद्यालय छन् । जम्मा ५ सय ९० कक्षा कोठा छन् । जसमा कक्षा ९ र १० कक्षा पढाइने दुई तथा १२ कक्षासम्म पढाइने नौ वटा छन् । त्यसमा एउटामात्र प्राविधिक धार (इन्जिनियरिङ) पढाइन्छ । अरू विद्यालय प्राथमिक तथा आधारभूत तहका छन् । प्राविका २ सय १०, निमाविका ३७ र मावि तहका ३८ शिक्षक दरबन्दीमा रहेको मेयर राईले जनाएका छन् । गत सत्रमा ८ हजार २ सय ४४ विद्यार्थी पढेको रेकर्ड छ । ‘अब सहरबाट गाउँघर फर्किएका विद्यार्थी थपिएमा कसरी हुनसक्छ भन्नेबारे प्रधानाध्यापकहरूसँग छलफल थालेका छौं,’ उनले भने, ‘नगरपालिका भित्रैको मात्र हुने भएकाले समस्या नहुने ठानेका छौं ।’

त्यसैगरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले विदेशमा रहेका स्थानीयलाई अनलाइनमार्फत विवरण भर्न लगाएको छ । ‘अहिलेसम्म विदेशबाट आएको रेमिटेन्सले गाउँ धानिरहेको छ,’ गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रामकुमार राईले भने, ‘कुन देशमा कति छन् भन्ने तथ्यांक राख्नको निम्ति अनलाइनबाट वैयक्तिक विवरण माग गरेका छौं । विवरण प्राप्त भएपछि उनीहरूको पारिवारिक बसोबास, शैक्षिक, जग्गा जमिनको स्थितिसमेत आकलन गर्ने योजना छ ।’ उक्त पालिकाको ९ वडाभित्र ४५ सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् । माध्यमिक तहका ८ विद्यालयमध्ये एउटामा प्राविधिक धार (कृषि) को पठनपाठन सुरु रहेको प्रवक्ता राईले जनाए ।

उदयपुरको कटारी बजारस्थित त्रिवेणी माविका प्रधानाध्यापक बालकृष्ण कार्की कोरोनाको महामारीले सहरबाट गाउँ फर्किनेको संख्या बढ्ने अनुमान गर्छन् । ‘हरेक वर्ष सहरबाट फर्किने १५–२० जना नयाँ विद्यार्थी हुन्थे,’ उनले भने, ‘यो वर्ष नयाँ विद्यार्थीको चाप बढ्ने अनुमान गरिएको छ । तर ठाउँको अभाव छ ।’ भित्री मधेसमा रहेको उक्त विद्यालयमा कक्षा १२ सम्म १ हजार ५ सय विद्यार्थी पढ्छन् । प्रकाशित : जेष्ठ ४, २०७७ २०:१७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कहिले खुल्ला दरबार हाई स्कुल ?

भूकम्पले ध्वस्त भएपछि त्यहाँ पढ्दै गरेका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइँदै आएको छ ।
गणेश राई

काठमाडौँ — मुलुकको जेठो दरबार हाई स्कुल स्थापना भएको १ सय ६७ वर्षपछि दोस्रोपटक अत्याधुनिक भवनमा पठनपाठन हुने तयारीमा छ । २०७२ वैशाख १२ को भूकम्पले पुराना भवन ध्वस्त भएपछि चीन सरकारले नयाँ संरचना बनाइदिएको हो ।

शैक्षिक सत्र २०७७ बाट नयाँ भवनमा पठनपाठन सञ्चालन गर्ने भनिए पनि कोभिड–१९ ले गर्दा भवन हस्तान्तरण हुन सकेको छैन । हाल नयाँ भवन संरचनाभित्र कसैलाई प्रवेश दिइएको छैन ।

१९१० सालमा स्थापना भएको यो स्कुल काठमाडौं महानगरपालिका वडा नं. २७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा छ । विद्यालयको उक्त भवनको भुइँतलामा संस्कृत मावि र माथिल्लो तलामा भानु मावि सञ्चालनमा थिए । भूकम्पले ध्वस्त भएपछि त्यहाँ पढ्दै गरेका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइँदै आएको छ ।

विद्यालय तहमा साधारण, संस्कृत र प्राविधिक गरी तीन धारको पठनपाठन हुँदै आएको छ । दरबार हाई स्कुलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि छन् । दुवै विद्यालय अलगअलग व्यवस्थापनमा सञ्चालित छन् । यहाँ पढ्ने अधिकांश विद्यार्थी काठमाडौंबाहिरबाट आएर व्यापार, व्यवसाय, मजदुरी गर्ने अभिभावकका छोराछोरी हुन् ।

नयाँ भवन निर्माण भएसँगै दुवै विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएको छ । दुवै व्यवस्थापन समितिको अध्यक्ष स्थानीय छन् भने महानगरपालिकाका जनप्रतिनिधि सदस्य रहेका छन् ।

दुवै विद्यालयको व्यवस्थापन समिति सदस्य तथा महानगरपालिका वडा नं. २७ का सदस्य परिवेशमान बज्राचार्य भन्छन्, ‘अब हामी नमुना विद्यालयका रूपमा विकास गर्ने योजनामा छौं ।’ निर्माण गरिएको कार्ययोजना लकडाउनले गर्दा कार्यान्वयनमा ल्याउन बाँकी रहेको उनले बताए । ‘हामी कक्षा ४ देखि ८ कक्षासम्म रोबोटिक शिक्षा सिकाउने योजनामा छौं,’ बज्राचार्यले भने, ‘त्यसका निम्ति रोबोटिक एसोसियसन नेपालसँग सहकार्यका निम्ति सम्झौता गरेका छौं । त्यसैगरी शिशु कक्षादेखि मन्टेसरी विधिमा व्यावहारिक शिक्षा दिने हाम्रो जोड रहन्छ ।’

भानु मावि व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जन ऐतिहासिक विद्यालयलाई गुणस्तरीय शिक्षाको थलो बनाउने दाबी गर्छन् । 'कक्षा १२ सम्म निःशुल्क शिक्षा दिनुपर्ने भएकाले केही कठिनाइ आएको छ,' उनले भने, ‘सरकारी स्कुलप्रति स्थानीयको आकर्षण बढाउने प्रयास जारी राखेका छौं । त्यसनिम्ति स्थानीय बुद्धिजीवि, विज्ञ, अभिभावकहरूसँग सम्पर्क विस्तार गर्दै र्छौं ।’

भानु माविका निमित्त प्रधानाध्यापक अखिलेशप्रसाद आजादका अनुसार गत शैक्षिक सत्रमा १ सय ५० विद्यार्थी थिए । ‘नयाँ सत्रमा कति विद्यार्थी भर्ना हुन आउँछन् भन्ने पूर्वानुमान गर्न गाह्रो छ,’ उनले भने, ‘लकडाउनले गर्दा अधिकांश विद्यार्थी र अभिभावक गाउँतिर गएका छन् । सबैजना सम्पर्कमा छैनन् । नयाँ भवन प्रयोग गर्न पाएको भए विद्यार्थी थपिन सक्छन् भन्ने हो ।’

संस्कृत मावि व्यवस्थापन समितिकी अध्यक्ष प्रभा बज्राचार्यले लकडाउनको कारण योजना निर्माण गर्न नपाएको बताइन् । ‘संस्कृत शिक्षा शिक्षण पद्धतिलाई प्रविधिमैत्री तुल्याउने हाम्रो जोड रहेको छ,’ उनले भनिन्, ‘नयाँ संरचनामा संस्कृत शिक्षाभित्रका आयुर्वेद, योग, प्राकृतिक चिकित्सा पद्धतिलाई प्रवर्द्धन गर्नेछौं ।’

संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारी नयाँ सत्रका निम्ति विद्यार्थीसँग सम्पर्क विस्तार हुन नसकेको बताए । ‘विद्यालयको नयाँ भवनमा सर्ने र त्यसैअनुसार योजना अघि बढाउने पक्षमा थियौं,’ लकडाउन घोषणासँगै झापा घर पुगेका प्रधानाध्यापक अधिकारीले भने, ‘महामारीले गर्दा नयाँ सत्रका निम्ति विद्यार्थीसँग सम्पर्क हुन सकेको छैन ।’ गत शैक्षिक सत्रमा संस्कृततर्फ कक्षा ६ देखि १० मा १ सय ५५ जना र कक्षा ११ र १२ मा १ सय १२ जना विद्यार्थी थिए । यो विद्यालय शिक्षा मन्त्रालय र संस्कृत विश्वविद्यालयको सहयोग रहेको छ ।

चीनले निरीक्षण गरेपछि हस्तान्तरण : प्राधिकरण

दरबार हाई स्कुलको नयाँ भवन संरचना ‘चिनियाँ सहयोगमा विद्यालय निर्माण आयोजना’ अन्तर्गत सांघाई कन्स्ट्रक्सनले बनाएको हो । यो चारतले भव्य भवन ५२ कोठाको रहेको छ । सम्झौताअनुसार ४ हजार २ सय स्क्वायर मिटर क्षेत्रफलमा ९० करोड १० लाख रुपैयाँ लागत स्टिमेटमा नयाँ भवन बनेको हो ।

‘लकडाउन खुलेपछि चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्छ,’ शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा भन्छन्, ‘त्यसपछि नयाँ भवनमा पठनपाठन सुचारु हुनेछ ।’ यो भवन गत वैशाख १२ गते हस्तान्तरण गर्ने मिति तय भएको थियो । तर कोभिड–१९ को संक्रमण फैलिएपछि रोकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) परियोजना प्रमुख चूडामणि पौडलका अनुसार भवन हस्तान्तरणअघि चीन सरकारको प्राविधिकले अन्तिम निरीक्षण गर्नेछन् । ‘चीन सरकारले बनाइदिएको हुँदा अन्तिम निरीक्षण गर्न बाँकी छ,’ उनले भने, ‘महामारीको अवस्था साम्य भएपछि प्राविधिक टोली आएर निरीक्षण गरेपछि मात्र हस्तारण हुनेछ ।’

प्रकाशित : वैशाख ३०, २०७७ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×