कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ औं दिनमै सकिएको एउटा ‘पोलिटिकल ड्रामा’ 

बबिता शर्मा

काठमाडौँ — कोरोना महामारीविरुद्धको निर्णायक लडाइँकै बीचमा अचानक बालुवाटारबाट ‘इन्ट्री’ भएको एउटा रहस्यमयीजस्तो लागेको ‘पोलिटिकल ड्रामा’ को १३ औं दिनमा अन्त्य भएको छ । 

१३ औं दिनमै सकिएको एउटा ‘पोलिटिकल ड्रामा’ 

सत्तारुढ नेकपाको ब्यानरमा सुरु भएको ‘पोलिटिकल ड्रामा’ कहाँ पुगेर कसरी टुंगिन्छ भन्ने रहस्यले नेकपाका आठ लाख नेता–कार्यकर्तामा बेचैनी थियो । लकाउनका कारण झन्डै डेढ महिनादेखि ‘नजरबन्द’मा रहेका सबै नेपाली नागरिकले मूलधारका मिडिया र सामाजिक संजालबाट यसको भरपुर मनोरन्जन लिए ।

यो ‘नाटक’मा नेकपाको मूल नेतृत्वको मुख्य भूमिका थियो । खास गरेर ९ सदस्यीय सचिवालयका हरेक सदस्यको भूमिका जोडदार रह्यो । कतिपय ‘कलाकार’ ले विगतको अनूभवसँगै दोहोरो भूमिका निभाए र ‘ड्रामा’ लाई अन्तिमसम्म बहुतै ‘सस्पेन्स’ मा राखे । ‘ड्रामा’ एउटै थियो तर प्रर्दशनचाहिँ फरक–फरक ठाँउमा भयो ।

यसमा विदेशी कलाकारको पनि बीचबीचमा अभिनय भयो । दर्शकका लागि ‘ड्रामा’ आँखै नचिम्ली हेरौंजस्तो भयो । संवाद भद्दा देखिए पनि दृष्य चाहिँ जोडदार नै बनिरह्यो । भलै १२ दिनमात्र चलेको किन नहोस्, नेपाली राजनीतिक इतिहासमा पढ्न र बुझ्नलायक बन्यो यो ‘ड्रामा’ ।

नाटकको पटकथा लेखन विभिन्न ठाँउमा भए पनि यसको मञ्चन सुरु हुन्छ, वैशाख ८ मा । यसै दिन हो मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ अध्यादेश जारीका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निणय गर्‍यो ।

‘ड्रामा’ भर्खरै सुरुमात्र भएको थियो, राजनीतिक वृत्तमा हलचल भइहाल्यो । लगत्तै नेकपाका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरे । लगत्तै पाँच बजे सचिवालय बैठक बस्यो । अध्यादेश किन ल्याएको भनेर छलफल हुँदै गर्दा ‘ड्रामा’ मा शीतलनिवासको भूमिका देखियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दलभित्र विवाद भइरहेका दुई अध्यादेश जारी गरिन् ।

त्यसपछि सत्तारुढ दलभित्र छलफलको नयाँ अध्याय सुरु भयो । वैशाख १० मा अध्यादेश फिर्ताको र स्थायी कमिटी बैठक माग गर्दै नेकपाका २० स्थायी कमिटी सदस्यले अध्यक्षद्वय ओली र दाहाललाई पत्र बुझाए । पत्र बुझाउनेमा दाहाल र नेपाल निकट स्थायी कमिटी सदस्य थिए । ‘ड्रामा’ मा एकपछि अर्को पात्र जोडिन थाले ।

अध्यादेश जारी भएपछि ११ गते ओलीले अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसँग बालुवाटारमा छुट्टाछुट्टै भेट गरे । भेटमा दाहाल र नेपालले अध्यादेश फिर्ता लिन सुझाव दिए । त्यही भेटमा ओलीले अध्यादेश फिर्ता लिने पनि आश्वसन दिए । यहाँसम्म आउदा कथामा नयाँ ‘ट्वीस्ट’ आयो ।

प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिइसकेपछि पनि उनीमाथि दबाब बनाउन सचिवालयका बहुमत सदस्य पार्टी उपाध्यक्ष बामदेव गौतम निवास भैंसेपाटीमा भेला भए । भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल उपस्थित थिए । भेलाले २४ घण्टाभित्र अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई चेतावनी दियो ।

त्यसपछि ‘ड्रामा’ मा अर्को दृष्य आयो । दुवै अध्यादेशलाई लिएर पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भएपछि १२ को मन्त्रिपरिषद् बैठकबाटै प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ताको निर्णय गराए । मन्त्रिपरिषद्मा निर्णय गराए, सिफारिसपछि त्यसै दिन राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरिन् ।

वैशाख १३ मा प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमको बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता भयो । दाहाल, नेपाल र गौतमले ओलीलाई निकास दिन अनौपचारिक रुपमा आग्रह गरे । तर, ओलीले आफ्‍नो अडान यथावत राखे । सोही दिन महासचिव पौडेलसँग पनि ओलीले छलफल गरे । सस्पेन्स भने कायमै रह्यो ।

अध्यादेश फिर्तापछि दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको विकल्प खोज्न संवाद सुरु गरे । सचिवालय र स्थायी कमिटी बैठक बोलाउन ओलीलाई दवाव दिए । ओलीसमूहका नेताहरु सहमति जुटाउन अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई धेरै पटक भेटेर संवाद गरे । खासगरी नेपाल समूहलाई फकाउने प्रयास भयो । बालुवाटारमा ओलीले पनि आफू निकट नेताहरुसँग संवाद गरे ।

‘ड्रामा’ जारी नै थियो । वैशाख १५ मा प्रधानमन्त्री ओली र नेता नेपालको वान टु वान भेटवार्ता भयो । त्यसलगत्तै कोटेश्वरको एक सरकारी भवनमा ओली र नेपाल समूहका नेताहरुको बैठक बस्यो । ओली समूहबाट मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्री दिने गरी प्रस्ताव आए पनि सहमति जुटेन । नेपाल समूह एक व्यक्ति एक पदको अडानमा बस्यो । त्यहाँ पनि स्थायी कमिटी बैठकको माग भयो । यसै दिन चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीको कुरा भयो । चिनियाँ राजदूत शीतल निवास पुगेकै बेला दुई देशका राष्ट्रपतिबीच कुरा भयो ।

वैशाख १६ मा ओली र दाहालबीच वान टु वान वार्ता भयो । दुवै पक्ष आ-आफ्ना अडानमा बसे । तर, १७ गते सचिवालय बैठक बोलाउने सहमति भयो ।

१७ गते सचिवालय बैठक बस्यो । बैठक अघि दुवै समूहले संसदीय दलमा आफ्‍नो बहुमत देखाउन हस्ताक्षर संकलन थाले । साँझ सचिवालय बैठक बस्यो । बैठकमा दाहाल, नेपाल, खनाल र श्रेष्ठले ओलीको राजीनामा माग गरे । तर, ओलीले आफूले तत्काल राजीनामा नदिने बरु कोरोना संक्रमण सकिएपछि राजीनामा दिने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे । यस्तै नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि राखे । यो कथामा आएको अनपेक्षित मोड थियो । तर, ओलीको राजीनामा माग्ने नेताहरुको बहुमत बैठकमा पुगेन । त्यसदिन बैठक विना निर्णय सकियो । अर्को बैठक २० गतेलाई तय भयो ।

यो कथामा अब कस्तो मोड आउला ? कुन पात्रले रंग फेर्लान् ? कथामा नयाँ पात्रको प्रवेश होला कि यो यसरी अघि बढ्ला अब के हुन्छ ? यो प्रश्नमा धेरैको चासो थियो । ‘ड्रामा’ कहाँ पुगेर टुंगिन्छ भन्ने कसैले अनुमान गर्न सकेको थिएन । १८ गते प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भयो । चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीसँग भेट गरिन् ।

१९ गते प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भयो । सोही दिन दाहाल र नेपालबीच पनि भेटवार्ता भयो । लगातारको भेटहरुले चासोलाई थप बढाइदियो । मिडिया त पलपलको खबर दिन लागिरहेका थिए । चिनियाँ राजदूतले दाहाल र नेपाललाई भेटिन् ।

२० गते प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भेटवार्ता भयो । ४ बजेलाई बोलाईएको बैठक साढे पाँचलाई सारियो । त्यसबीचमा प्रधानमन्त्री ओली शीतल निवास पुगे । फर्केर प्रधानमन्त्रीले ४० मिनेट प्रचण्डसँग संवाद गरे ।

सचिवालय बैठक बस्यो । बैठकअघि ओली र दाहालबीच पनि केहीबेर भेटवार्ता भएको थियो । तर, यो बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरै उठेन । कसैले कडिकडाउ कुरा गरेन् । बरु सँधै दम्भ प्रर्दशन गर्ने प्रधानमन्त्री ओलीले सुरुमै आत्मालोचना गरे । राजीनामा मागेर उफ्रिने दाहाल पनि आत्मालोचनातिर गए । एक हिसाबले ठूलो बम नपड्किइकनै डिफ्युज भएजस्तै भयो ।

बैठक सकियो, बाहिर आएर प्रवक्ता बोले । उनको अनुहारमा खुसी थिएन । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको निर्णय सुनाए ।

नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय पनि उनले जानकारी दिए ।

प्रवक्ताले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशन दिएको पनि सुनाए । कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुने निर्णय आयो ।

यो सँगै ‘ड्रामा’ त सकिएको छ । तर, कथाको सेटिङमा खासै परिवर्तन आएको छैन । न त कथामा द्वन्द्वको निराकरण भएको देखिन्छ । त्यसैले एउटा क्लाइमेक्स सकिए पनि यो कथाको ‘रेजुलुसन’ बाँकी नै छ ।

स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे काठमाडौंमा बस्ने निर्णय पनि भएको छ । त्यसमा १३ दिनमा छुटेका केही रोचक दृष्य देखिन पनि सक्छन् । फेरि कुनै दिन नेकपामा नयाँ विषयमा ‘ड्रामा’ दोहोरियो भने कुनै आश्चर्य हुने छैन् । देश बनाउने जिम्मा भए पनि अरु त के नै छ र ! बस, उहाँहरुले दिने मनोरन्जन त हो !

प्रकाशित : वैशाख २१, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?