कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋषि कपूरको लभरब्‍वाईको इमेज कहिल्यै बिर्सन सकिन्‍न : ध्रुवचन्द्र गौतम

ध्रुवचन्द्र गौतम

मैले ऋषि कपूरलाई भेट्न पाइनँ तर उनका प्राय: सबै फिल्म हेरेको छु । अहिलेसम्मको कपूर खान्दानका सुपरस्टार उनी नै हुन् । उनका पिता राज कपूरको बेलामा कसैलाई पनि सुपरस्टार भनिन्थेन । ऋषिका छोरा रणवीर कपूर खासै उँभो लाग्न सक्या छैनन्, उनको समय बाँकी छ ।

ऋषि कपूरको लभरब्‍वाईको इमेज कहिल्यै बिर्सन सकिन्‍न : ध्रुवचन्द्र गौतम

ऋषि नेपालमा पनि आएका थिए । नितू सिंहबारे मान्छेहरुले खुब सोधेका थिए भनेर मैले सुनेको छु । त्यतिबेला उनको नितूसँग बिहे भएको थिएन ।

ऋषि एकदमै स्पष्टवक्ता हुन् । लागेको कुरा निर्भिक भएर बोल्ने । उनको ट्वीटर हेर्नुभयो भने थाहा हुन्छ- कति कडा, तिखा र सत्य हुन्छन् भन्‍ने । उनी बलिउडकै ‘फ्रयांक’ अभिनेता हुन् । आरके स्टुडियो बेच्दा पनि उनको टिप्पणी स्पष्ट थियो– ‘नबेची सुख्खै भएन ।’

उनी बुबा राज कपूरलाई गुरु मान्थे । तर, बुबालाई बुबा नभनेर ‘साहब’ भन्थे । राज कपूरकै फिल्म ‘मेरा नाम जोकर’मा किशोरको भूमिकामा देखिएका थिए, यो फिल्मबाट उनले नेसनल अवार्ड पाए ।

तर, उनको पहिलो फिल्म चाहिँ ‘बबी’ मानिन्छ । त्यसअगाडि पाका उमेरका हिरो फिल्ममा प्रेमी बन्थे तर ऋषि त टिनएजर नै थिए । उनीपछि फिल्ममा लभको ब्याख्या अर्कै भयो भन्ने लाग्छ । उनले ट्रेन्ड नै बनाए, जुन उमेरको प्रेमी हुन्छ, हिरो पनि त्यही उमेरको । ‘बबी’बाट उनले असाधारण लोकप्रियता कमाए । ‘बब्बी’ ताका उनको फेसन खुब पछ्याइन्थ्यो ।

अभिनेता ऋषि कपूरको निधन

मैले यो फिल्म बम्बईमै हेरेको, गज्जबको छ । यसबट डेब्‍यु फिल्मबाटै फिल्मफेयर जिते । ‘लैला मजनु’ र ‘सरगम’ उनको नेचरअनुसारको फिल्म होइन, तैपनि हिट भयो । ‘सरगम’मा उनले जया पर्दासँग अभिनय गरेका थिए । ‘कर्ज’ पनि भयंकर हिट भयो ।

ऋषि कपूर नेपालमा पनि धेरै लोकप्रिय थिए, यहाँ उनका धेरै फिल्म हिट भएका छन् । उनलाई माया गर्ने धेरै छन् । मलाई आकर्षित गरेकोचाहिँ उनले जोसँग प्रेम गरे, उसैसँग बिहे गरे, नितू सिंह । बिहेपछि उनीहरुको पारिवारिक जीवनका विवादहरु सुनिएन ।

‘बबी’ खेलेपछि उनको डिम्पल कपाडियासँग हल्ला चलेको थियो । उनले आफ्नो किताब ‘खुल्लम खुल्ला’ मा पनि लेख्या छन् यो कुरा । उनले औंठी दिएको हो रे । डिम्पललाई बिहे गर्नासाथ राजेश खन्नाले त्यो औंठी समुन्द्र फाल्नमा लगाएका थिए रे ।

‘कपूर एन्ड सन्स’मा उनले अद्भूत काम गरेका छन्, धेरै बुढोको भूमिकामा छन् । मेकअप गर्नै चार घन्टा लाग्थ्यो रे । बुढो भए पनि ‘लभरब्‍वाई’को इमेज कहिल्यै बिर्सन सकिन्न । उनको क्षति कहिल्यै पूरा हुँदैन ।

-गोकर्ण गौतमसँगको कुराकानीमा आधारित

प्रकाशित : वैशाख १८, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?