२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

सुनिल पोखरेलको सम्झनामा इरफान- फेरि नेपाल आउँछु भन्थ्यो...

सुनिल पोखरेल

काठमाडौँ — कलाकार साथी शारद बस्नेतले हेटौंडाबाट फोन गरेर मलाई आज इरफानको मृत्युको खबर दियो । सुरुमा विश्वास नै लागेन । निशा (सुनिलकी पत्नी कलाकार निशा शर्मा) आमाको घरमा थिइन् । निशाले उतै थाहा पाइछन् । निशा पनि इरफान, उसकी श्रीमती अनि छोराहरुसँग नजिक थिइन् । 

सुनिल पोखरेलको सम्झनामा इरफान- फेरि नेपाल आउँछु भन्थ्यो...

मैलै हतारहतार भारतीय मिडिया खोल्न थालें । सबैतिर समाचार आइसकेको थियो । त्यसपछि कन्फर्म भयो- उ बितेछ ।

इरफान र म एनएसडी (दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा) मा एउटै क्लासका विद्यार्थी थियौं । सन् १९८४-१९८७ को ब्याच हो हाम्रो । उ मेरो मिल्ने साथीमध्ये एउटा हो । उसकी श्रीमती पनि हाम्रो क्लासमेट हुन् । उनी फिल्मकी स्क्रिप्ट राइटर हुन् । उसँग कक्षाकै पहिलो दिन भेट भएको थियो मेरो । तीन वर्ष एउटै कक्षामा पढ्दा हामी निकट भयौं ।

एकदम रमाइलो स्वभावको थियो इरफान । जयपुरबाट आएको । लगनशील थियो । मेरो एकदम नजिक थियो । पढाइ सकेर उ बम्बई गयो म नेपाल फर्कें । उसले बम्बईमा संघर्ष गर्न थाल्यो । मलाई खुशी लाग्थ्यो उसले प्रगति गरेको देख्दा । मेरो काम देखेर पनि उ खुशी थियो ।

सन् २००८ मा मैले उसलाई नेपाल पनि बोलाएँको थिएँ । हामीले अन्तर्राष्ट्रिय नाटक महोत्सव गरेका थियौं । त्यसकै अतिथिका रुपमा उ नेपाल आएको थियो । एकचोटी मात्र नेपाल आएको छ इरफान । त्यतिबेला उसलाई गुरुकुलबाट बोलाएका थियौं हामीले । नेपाल आउँदा उ एकदम खुशी थियो । मैले एकदिन पोखरा पनि घुम्न पठाएको थिएँ । उ र उसको श्रीमती दुवैजना पोखरा गएका थिए । मैले उता पोखराका साथीहरुलाई खबर पनि गरेको थिएँ । तर, त्यो दिन नेपाल बन्द भयो । भोलिपल्ट काठमाडौंमा नाटक महोत्सवको उद्घाटन थियो । राति एउटा गाडी खोजेर उनीहरुलाई बोलायौं । भोलिपल्ट उद्घाटन समारोहमा उसले पनि बोलेको थियो ।

त्यतिखेर उ मेरो घरमै बसेको थियो । पछि बच्चाहरु लिएर नेपाल आउने कुरा थियो । तर, उ निकै व्यस्त हुनथाल्यो । बलिउड र हलिउडका फिल्म खेल्दै उसलाई फुर्सत भएन । व्यस्त भएपछि कुरा त्यतिकै भयो ।

उ नेपाल आएको केही समयपछि म र निशा बम्बई गएका थियौं । हामी पनि उसकै घरमा बस्यौं। बम्बईमा बस्दाखेरी उसले केही फिल्महरुको डिभिडी मलाई दिएको थियो । त्योबेला उसकोमा पाँच/छ दिन बसेको थिएँ । आफ्नै घरजस्तो गरेर बस्थ्यौं । सिक्किमतिरकी एकजना बहिनी थिइन् उसको घरमा खाना पकाउने । हामी गएको बेला इरफानको कुनै फिल्मको सुटिङ थिएन । त्यतिखेर हामीले सँगै समय बितायौं ।

अभिनेता इरफान खान भन्थे : अनिश्‍चितता मात्रै एक निश्‍चितता हो

उसले अभिनय गरेको थुप्रो फिल्म मनपर्छ मलाई । पछिल्लोपटक प्रदर्शनमा आएको फिल्म अंग्रेजी मिडियम हेरेको छैन । यो फिल्मको सुटिङ हुँदाखेरी उसलाई क्यान्सर भइसकेको थियो । उसले खेलेको प्राय: फिल्म मनपर्छ । उसले मेरो दुइवटा नाटक हेरेको छ । नेपालमा एउटा अनि दिल्लीमा एनएसडी फेस्टिभलमा 'डल्स हाउस' हेरेको थियो । सुटिङको क्रममा आएको थियो नाटक हेर्न । उ मेरो कामको प्रशंसा गर्थ्‍यो । मचाहिँ उसको फ्यान ।

अभिनेता इरफान खानको निधन

उ बिरामी हुनुभन्दा अगाडि अन्तिमपटक कुरा भएको थियो । बिरामी भइसकेपछि निशाले उसकी श्रीमतीसँग कुरा गरेकी थिइन् । त्यसपछि उनीहरु तनावमा भएको बेला डिस्टर्ब गर्ने सोचेनौं । हामीले त्यसपछि फोन गरेनौं ।

पुराना दिनहरु स्मृतिमा आउँछन् । नाटक स्कुलका दिनहरुमा उसँग बिताएका रमाइलो क्षण धेरै छन् । अहिले योबेला म कुनै क्षण सम्झन सक्दिनँ । इरफानबारे धेरै बोल्नसक्ने अवस्था पनि छैन मेरो ।

(रीना मोक्तानसँगको कुराकानीमा आधारित ।)

प्रकाशित : वैशाख १७, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?