२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अभिनेता इरफान खान भन्थे : अनिश्‍चितता मात्रै एक निश्‍चितता हो

'पहिलो पटक मैले वास्तवमै ‘स्वतन्त्र’ भएको महसुस गरें । त्यो मेरो उपलब्धि हो । लाग्यो मैले पहिलो पटक जीवनको चमत्कारिक पक्षको स्वाद लिँदै छु ।'
एउटा सानो काठको टुक्राले महासागरको धारलाई नियन्त्रण गर्न सक्दैन भन्ने आत्मबोधले म प्रकृतिले काखमा राखेर सुस्तरी हल्लाइरहेको भान गरिरहेको छु ।
इरफान खान

‘लाइफ अफ पाई’, ‘लन्चबक्स’, ‘पान सिंह तोमार’, ‘हिन्दी मिडियम’ ‘अंग्रेजी मिडियम’ लगायतका थुप्रै सफल चलचित्रका अभिनेता इरफान खानको बुधबार उपचारका क्रममा मुम्बईमा मृत्यु भएको छ ।

अभिनेता इरफान खान भन्थे : अनिश्‍चितता मात्रै एक निश्‍चितता हो

दुई वर्षदेखि ‘न्युरोएन्डोक्राइन’ क्यान्सरसँग जुधिरेहका बेला उनले ‘अंग्रेजी मिडियम’ को छायांकन पूरा गरे । सन् २०१८ मा आफूलाई ‘न्युरोएन्डोक्राइन क्यान्सर’ भएको थाहा पाउँदा लागेको झट्कादेखि शान्त हुँदाको महसुसका बारेमा उनको अनुभूति टाइम्स अफ इन्डियामा छापिएको थियो । वर्तमानको रीतलाई नियन्त्रण गर्ने प्रयास गर्नु हुँदैन भन्ने महसुस गरेका उनको अनुभूति उनकै शब्दमा :

अनिश्चितता मात्रै एक निश्चितता हो

मलाई उच्च तहको ‘न्युरोएन्डोक्राइन’ क्यान्सर भएको पत्ता लागेका अब केही समय भइसक्यो । मेरो शब्दभण्डारका लागि नयाँ नाम, निकै दुर्लभ र अत्यन्तै थोरै अनुसन्धान भएको विषय र अन्यका तुलनामा थोरै मात्र सूचना । उपचारको अनिश्चितता भने धेरै । म अहिले यसैको ‘ट्रायल एण्ड इरर’ खेलको एक अंग भएको छु ।

म भिन्नै प्रकारको खेलमा रमाइरहेको थिएँ । आफ्नै रफ्तारमा हुँइकिँदै गरेको रेलमा सवार थिएँ । मसँग केही सपनाहरु थिए, केही योजनाहरु, केही आशाहरु र लक्ष्यहरु । म तिनीहरुलाई पूर्ण गर्न तल्लिन थिएँ । तर अचानक कसैले मेरो काँधमा हात राखेर बोलायो । म पछाडि फर्किएँ । त्यो ट्रेनको कन्डक्टर थियो । उसले भन्यो, ‘तपाईंको गन्तव्य आउनै लाग्यो । कृपया ओर्लिनु होला ।’

म अलमल्ल परें । ‘हैन, हैन । मेरो गन्तव्य आएको छैन ।’

‘होइन । यही हो । कहिलेकाहीँ यस्तै हुन्छ ।’

यो आकस्मिकताले मलाई हामी अनिश्चित धार भएको महासागरमा तैरिएको काठको टुक्रा सरह भएको अनुभुति गरायो । र पनि हामी त्यसलाई नियन्त्रण गर्ने कोसिस भने गरिनै रहन्छौं ।

यो उथलपुथल, आश्चर्यता, संत्रासयुक्त भएर डर मान्दै एकपटक अस्पतालमा जाँच गराउन जाँदा मैले मेरो छोरालाई बहकिँदै भने, ‘म अहिलेको यो अवस्थामा यो संकटलाई सामना गर्न चाहन्न । मलाई मेरो धरातल चाहिएको छ । डर र त्रासले ममाथि शासन गरेर मलाई दु:खी बनाउनु हुँदैन ।’

त्यो मेरो अपेक्षा थिएन । तर, पीडाले हिर्कायो । त्यसले यसरी प्रहार गर्‍यो कि मानौं म अहिलेसम्म त्यो पीडालाई आत्मसात गर्न पोख्त भइसकेको थिएँ र अब मलाई त्यसको प्रकृति र तीव्रता थाहा थियो ।

न कुनै करुणा, न कुनै प्रेरणा । केहीले पनि काम गरेन । पीडा हुँदा पूरा ब्रम्हाण्ड एक भए जस्तो लाग्थ्यो र त्यो दर्द भगवानभन्दा विशाल महसुस हुन्थ्यो ।

म थकित, गलित र दिशाहीन भएर बेलायतमा मेरो उपचार गरिरहेको अस्पताल प्रवेश गर्दा पारिपट्टी लर्डस् रंगशाला छ भन्ने पनि हेक्का भएन । उक्त रंगशाला बालसुलभ उमेरमा मेरो सपनाको ‘मक्का’ थियो । त्यहाँ अगाडिबाट पीडा साथ हिँड्दा मैले भिभिएन रिचर्डसको मुस्कुराइरहेको तस्बिर देंखेँ । तर, मलाई केही अनुभूति नै भएन, मानौं त्यो विश्व मेरा लागि कहिल्यै बनेकै थिएन ।

यो अस्पतालमा मेरो क्याबिनभन्दा ठीक माथि कोमा वार्ड छ । एकपटक अस्पतालको क्याबिन बाहिरको कौसीमा उभिँदा मलाई अनौठो मनोभावले तरंगित बनायो । जीवनको खेल र मृत्युको खेलको बीचमा एउटा बाटो हुन्छ । बाटोको एकातर्फ अस्पताल र अर्कोतर्फ रंगशाला छ । लाग्यो, यी दुवै कुनै पनि निश्चितता दाबा गर्न सकिने स्थान होइनन् । त्यो सोचले मलाई नराम्रोसँग प्रहार गर्‍यो ।

ममा अहिले ब्राम्हाण्डको अद्भूत ज्ञान र अतुलनीय शक्तिको धेरै प्रभाव छ । मेरो अस्पतालको अद्वितीय अवस्थितिले मलाई तरंगित बनाएको छ । केवल निश्चित वस्तु भनेकै अनिश्चितता हो । अब म केवल आफ्नो शक्तिको आभास गरेर आफ्नो खेल राम्रोसँग खेल्न सक्छु ।

अभिनेता इरफान खानको निधन

यो अनुभूतिले मलाई मसँग बाँकी रहेका आठ महिना, चार महिना वा दुई वर्षमा जस्तो नतिजा निस्के पनि जता पुर्‍याए पनि त्यसलाई स्वीकार गर्ने, आत्मसात गर्ने र विश्वास गर्ने बनायो । चिन्ता पछाडि हट्न थाल्यो । लाग्यो अब चिन्ता मेरो विचारबाट पनि हराउँदैछ ।

पहिलो पटक मैले वास्तवमै ‘स्वतन्त्र’ भएको महसुस गरें । त्यो मेरो उपलब्धि हो । लाग्यो मैले पहिलो पटक जीवनको चमत्कारिक पक्षको स्वाद लिँदै छु । ब्रम्हाण्डको समझदारीमाथिको मेरो विश्वास अटल भयो । लाग्छ, त्यो अनुभूति मेरो शरीरको हरेक कोषमा प्रवेश गरेको छ । यो कतिन्जेल रहन्छ, त्यो त समयले बताउला । तर अहिले भने मलाई त्यही अनुभूति भइरहेको छ ।

मेरो यो यात्रा भर मलाई विश्वका हरेक कुनामा रहेका मानिसहरुले शुभेच्छा दिइरहेका छन्, मेरा लागि प्रार्थना गरिरहेका छन् । केही मैले चिने मानिसहरु छन्, केही मैले चिन्दै नचिनेकाहरु छन् । उनीहरु विभिन्न स्थानबाट, विभिन्न समय क्षेत्रबाट प्रार्थना गरिरहेका छन् र म ती सबै प्रार्थनाहरु एक भएको महसुस गरिरहेको छु । ठूलो विद्युतीय शक्तिझैं एउटा महाशक्ति मेरो मरुदण्डको पुछारबाट मभित्र प्रवेश गरेर मेरो शिरबाट अंकुरित भएको छ ।

त्यो अंकुरित हुँदै छ– कहिले कोपिला, कहिले पात त कहिले टुसा । म त्यसलाई देखेर अद्भूत आनन्द प्राप्त गरिरहेको छु । हरेक फूल, हरेक टुसा, हरेक पात जुन ती एक भएका अनगिन्ती प्रार्थनाहरुबाट पलाएका छन्, ती हरेकले मलाई आश्चर्यता, खुशी र जिज्ञाशाले भरिरहेका छन् ।

एउटा सानो काठको टुक्राले महासागरको धारलाई नियन्त्रण गर्न सक्दैन भन्ने आत्मबोधले म प्रकृतिले काखमा राखेर सुस्तरी हल्लाइरहेको भान गरिरहेको छु ।

अनुवाद : स्वरूप आचार्य

प्रकाशित : वैशाख १७, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?