कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्किएकाहरु भन्छन्- 'रोजगारी गुम्यो, कसरी घर चलाउने?'

‘त्यसै त नेपाली भनेर हेप्ने र धम्क्याउने गर्छन्। अब जाँदा पहिलेकै ठाउँमा काम गर्न पाइन्छ कि पाइँदैन, टुंगो छैन।’
मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका-६ का मनिराम भण्डारी ५५ वर्षका भए। उनी १५ वर्षको उमेरमै रोजगारी खोज्दै भारत जान थालेका हुन्। कुनै बेला एक वर्ष, कुनै बेला दुई वर्ष बसेर घर आउने गर्थे।

भारतबाट फर्किएकाहरु भन्छन्- 'रोजगारी गुम्यो, कसरी घर चलाउने?'

तर अहिले भने उनी घरबाट गएको तीन महिनामै फर्किन बाध्य भए। संसारभर कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि उनी आत्तिएर गत चैतमा घर आए। अहिले उनी ढुक्कले बस्न सकेका छैनन् ।

उनका ५ छोराछोरी सहित ९ जनाको परिवार भारतकै कमाइले धानिएको थियो। कोरोनाको त्रास कम भएपछि फेरि भारत नै जाने उनको सोच छ। तर काम पाउने/नपाउने भने निश्चित छैन ।

‘एक कम्पनीमा चौकीदारीको काम गर्थें। कम्पनी बन्द भएपछि काम रोकियो, काम नहुँदासम्म साहुले पैसा दिन नसक्ने बताएपछि घरमा आएँ,’ उनले भने, ‘हाम्रो कामको कुनै भर छैन। अब गयो भने मैले अन्तै काम खोज्नुपर्छ।’ अब त्यही कम्पनीमा काम पाइन्छ भन्नेमा ढुक्क छैनन् ।

मंगलसेन-५ का सेते कामी पनि मनिराम जस्तै भारतमा काम गर्न जान थालेको वर्षौं भयो। ३० वर्षको अवधिमा एकै ठाउँमा काम गर्ने उनको टुंगो भएन। जता काम पायो उतै जाँदा जीवनको तीन दशक उतै बिताए। भाँडा माझ्ने, होटल सफा गर्ने, गाडी धुनेसम्मका काम गरे। काम जस्तो भए पनि परिवारको पालनपोषणमा कमी हुन दिएका थिएनन्। कोरोनाको डरले उनी हत्तारिँदै घर आएपछि बेरोजगार भएका छन् ।

‘आएको एक महिना भयो। यो महिना जेनतेन गुजारा चल्यो। अब त साँझ-बिहान छाक टार्नै मुस्किल भइसक्यो। अब कसरी घर चलाउनु?’ उनले भने, ‘यतै बसेर खेतीपाती गर्नुपर्‍यो भन्ने कुरा धेरै ठाउँबाट सुनिन्छ। भएको जग्गा हामीले कहिल्यै बाँझो राखेनौं। तर पनि दुई महिना खान पुग्दैन।’ चुनावपछिको ७ महिना गाउँमै काम गर्ने सोच बनाएर भारत नजाँदा कामै नपाएको उनको गुनासो छ।

मंगलसेन-७ का कालु दमाईले भारतमा १९ वर्षभन्दा बढी बिताए। गत चैतमा उनी कोरोनाबाट बच्न घर आइपुगे। यताबाट गएपछि अरुले जस्तै उनले पनि नयाँ काम नै खोज्नुपर्छ। ‘दैनिक २५ गाडी धोयो भने ५ सय जति कमाइ हुन्छ। त्यो पैसा पनि कतिपय साहुले दिँदैनन्। कतिपयले त काम गरेको पैसा माग्दा गाली गर्छन्,' उनले सुनाए, 'त्यही काम गरेर गुजारा चलेको थियो। अब काम पाइने होइन कि भन्ने चिन्ता लाग्न थालेको छ।’

उनका अनुसार राम्रो काम र कमाइ हुने कम्पनीमा भारत सरकारले आफ्ना नागरिकलाई प्राथामिकतामा राखेर रोजगारी दिनु भन्ने आदेश दिएपछि नेपालीले काम गर्ने मौका नै पाएका छैनन्। ‘चौकीदारी गर्नेले १२ घन्टा अनिवार्य ड्युटी गर्नुपर्छ। ५ मिनेट मात्रै ढिलो भयो भने ५ दिनको तलब काटिन्छ,’ उनले भने , ‘यही जागिर छोडेर आउँदा छटपटी भएको छ।’ यस्तै अवस्था रहे भारतमा गएर काम गर्ने अवस्था हुन नसक्ने उनले बताए। ‘त्यसै त नेपाली भनेर हेप्ने, धम्काउने गर्छन्। यस्तो बेला हामीले गएर काम गर्न पनि सक्दैनौं,’ उनी भन्छन्।

जिल्लाका १० वटै स्थानीय तहले भारतबाट आएकाहरुको तथ्यांक संकलन गर्दा चैत १ गते देखि १० गतेसम्म मात्रै ४ हजार जना भित्रिएको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले बताए। ‘अहिले कारोना भाइरसबाट कसरी जोगिने भन्नेमा बढी केन्द्रित भएका छौं। भारतबाट आएकाहरुको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सबैलाई चिन्ता छ। तर छलफल गर्न पाएका छैनौं,’ उनले भने, ‘सबै स्थानीय तहका प्रमुख र सरोकारवाला बसेर यसबारे सल्लाह गर्छौं।’

प्रकाशित : वैशाख ११, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?