कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिटर गाउँथे ‘मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे’

देवेन्द्र भट्टराई

काठमाडौँ — ‘म र मेरो संगीतलाई नजिकबाट बुझ्ने कोही छ भने उही पिटर छ’ संगीतज्ञ अम्बर गुरुङ भनिरहन्थे ।

पिटर गाउँथे ‘मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे’

‘मैले अम्बर दाजुका धेरै गानाहरुको ट्युनिङ अझै सम्झिएको छु जुन रेकर्डमै छैनन् । म त्यो धुन अम्बरका छोराछोरीलाई सुनाउन चाहन्छु,’ पिटर जे कार्थक पनि भनिरहन्थे ।

बुधबार हृदयाघातका कारण उनै पिटरको निधन भएको सुनेपछि संगीतज्ञ अम्बरका छोरा किशोर लकडाउन माझ ‘पिटर अंकल’ लाई सम्झिरहेका थिए । ‘बाबाको गानाबजाना सम्झने र केही ट्युनिङ खेलाउने प्रयासमा अस्ति सेप्टेम्बर महिनामा हामीले पिटर अंकललाई भेटेका थियौं,’ किशोरले सुनाए,‘तर स्मृतिभन्दा बिस्मृती बढी भएझैं लागेको थियो ।’


तस्बिर : कुमार आले

सन् ६० को दशकमा दार्जिलिङमा उनै अम्बर गुरुङसहितको गानाबजाना टोलीमा थिए पिटर । अम्बरले चलाएको आर्ट एकेडेमी अफ म्युजिकमा गितारवादक थिए— स्थानीय ललित गुरुङ । एक दिन एउटा कन्सर्टमा ललित अनुपस्थित भएपछि गिटारवादनका सौखिन पिटरलाई एकेडेमीको गिटारवादक बनाइदिएका थिए अम्बरले, एकै झ्वाँकमा । ‘पछि सन् १९६१ तिर कालिम्पोङमा बाबाको एउटा म्युजिकल कन्सर्ट हुँदा पिटर अंकल ठूलाठूला साउन्डबक्स लिएर आउनुभएको थियो, त्यहाँ पिटर र उहाँका भाइ मार्कले गिटार बजाएको पहिलोपटक देखेको थिएँ,’ अम्बरका जेठा छोरा किशोर सम्झिरहेका छन् ।

त्यसपछि पिटरले अम्बरको साथ छाडेनन्, ‘म अम्बर हु, तिमी धर्ती’ गीतमा पनि पिटरकै गितारको झङ्कार भरियो । ‘पिटरसहित अरुणा लामा, जितेन्द्र बर्देवा, शरण प्रधान, रन्जित गजमेर आदि मिलेर संगम म्युजिक ग्रुप खोलिएको थियो । पछि हिलियन्स भन्ने म्युजिक ब्यान्ड पनि खोल्यौं,’ सन् ६० को दशककै पिटर समूहका कनिष्ठ सदस्य प्रनय सिन्हा भन्छन्, ‘मैंले यही समूहमा र पिटरकै अनुरोधमा लामो समय तबलाबादन गरेको थिएँ ।’ सन् १९६५ मा पिटरसहित अनुराधा कोइराला, रन्जित गजमेरहरु नेपाल छिरेपछि भने उनीसँगको सांगीतिक संगत कम भएर गएको प्रनयले सुनाए ।

नेपाल भित्रिएपछि पिटरको चिनारी अर्कै बन्यो, बाद्यवादकभन्दा बढी लेखक । ‘तर, हामीले भने पिटर अंकललाई गिटारवादक भनेरै चिन्यौं,’ किशोर सम्झन्छन्, ‘बाबाले उहाँलाई रेडियो नेपालमा लिएर जानुहुन्थ्यो । नातिकाजी, शिवशंकरको म्युजिकमा पनि ससानो पिस गिटार बजाउन लगाइन्थ्यो रे । बाबाको संगीत–स्वरमा बज्ने इश्वरबल्लभको गीत ‘मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे’मा पिटर अंकलकै गिटारको धुन रेकर्डमा छ ।’

संगीतको यति कुरा भए पनि धेरै नेपाली स्रष्टाका लागि लेखनमा शैलीगत नवीनता भित्र्याउने ‘रहस्मयमी स्रष्टा’का रुपमा पिटर चिनिन्छन् । ‘प्रत्येक ठाउ प्रत्येक मान्छे’ उपन्यासमा दार्जिलिङमा भएकै ७ दिनको एउटा कथा छ । कलेज युवतीको जीवनमा भएको एउटा बलात्कारको घटना जहाँ १३ जना पात्र जोडिएका थिए, दार्जीलिङ चिनाउने र कथानकको एउटा स्वरुप उतार्ने त्यो बयान लेखेपछि उनै संगीतकार अम्बर गुरुङले पिटरलाई लिएर उम्दा लेखक शंकर लामिछानेकहाँ गएका थिए— भूमिका लेखाउन ।

‘पिटरको त्यो उपन्यास ‘प्रत्येक ठाउ प्रत्येक मान्छे’मा शंकरले त्यत्तिकै अब्बल भूमिका लेखिदिएको छ, जति पारिजातको ‘शिरिषको फूल’मा छ,’ अम्बर पनि सुनाइरहन्थे । सायद यही कारण पिटर पनि नेपाली साहित्य संसारमा ‘अलौकिक पात्र’ झैं चिनिए । ३० बर्षे उमेरमा काठमाडौं छिरेका पिटरले लेखेको ‘प्रत्येक ठाउा प्रत्येक मान्छे’ उपन्यासले २०३४ सालमा साझा पुरस्कार पाएको थियो । उनको यही पुस्तकको अंग्रेजी अनुवाद ‘एभ्री प्लेस एभ्री पर्सन’ पनि प्रकाशित छ । उनको ‘काठमांड्रुइड्स’ नामको अंग्रेजी उपन्यास, नेपाली संगीतका प्रमुख साधकको संस्मरणआधारित ‘नेपाली म्युजिकमेकर्स’ र ‘पिटरका कथाहरु’ पनि प्रकाशित छ ।

काठमाडौं सहरमा आफूलाई जहिल्यै ‘आउटसाइडर’ भन्ठान्ने पिटरले वीरगन्जको निजी बोर्डिङ स्कुल हुँदै काठमाडौंको क्यासिनो र अंग्रेजी दैनिक पत्रिकाहरुमा पनि जागिरे जीवन बिताए । अंग्रेजी लेखन र पठनमा औधी रुचि राख्ने उनी एउटा अंग्रेजी कविताको पंक्ति सधैंजसो भेटघाटमा सुनाइरहन्थे, ‘गर्नुपर्ने काम धेरै छ, समय मिलिक्कै बितिरहेको छ, हाम्रो मुटु जति साहसी भए पनि, यसको धड्कन भने कुनै शोकजुलुसमा गुन्जिरहेको ड्रमजस्तै सुनिदैंछ ।’

पिटर कतिपय अर्थमा हक्की पनि थिए, जस्तो उनी लेखक आइबी राईको ‘आज रमिता छ’ उपन्यासकै आलोचक थिए । भन्थे, ‘आज रमिता छ’को सबैतिर वाहवाही सुन्छु, तर यो यति बिध्न ‘संस्कृते’ छ नि, यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी छ– नेपालमा मदनमणि दीक्षितको ‘माधवी’ जस्तै । उनले ‘आज रमिता छ’को लेखक मन्जुश्री थापाले गरेको अंग्रेजी अनुवादलाई ‘व्यर्थको काम’ भनेर टिप्पणी गरेका थिए ।

आफ्नै सानमान र रवाफमा हिँडडुल गर्न रुचाउने पिटर कुराकानीका क्रममा सधैंजसो अम्बर गुरुङ, इश्वरबल्लभ, शंकर लामिछानेजस्ता स्रष्टाको नाम लिन रुचाउँथे । ‘मैंले गीतार बजाउन छाडेकै बीसौं बर्ष भयो तर यो गीतमा बजाएको गीतारको झंकार अझै मन–मष्तिष्कमा आइरहन्छ,’ कुपण्डोलभित्रको घरमा हरेकपटकको भेटघाटमा पिटर सम्झन्थे एउटा गीत । र, गाउँथे इश्वरबल्ल्भको शब्दलाई, ‘मेरो बेहोसीलाई सन्ताप भनी बिर्सी दे/मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे/मलाई छोडी दे मलाई फेंकी दे मलाई भाँची दे...’

कार्थकका जेठा छोरा जिमीका अनुसार, क्यान्सर रोगको आशंकामा परीक्षणहरु जारी रहे पनि ‘डाइग्नोसिस’ पूरा नभएकै अवस्थामा बुधबार बिहान हरिसिद्धी अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था अलिक बिग्रिएपछि थापाथली निवासबाट मंगलबारमात्रै हरिसिद्धी अस्पताल ल्याइएको थियो । ७७ बर्षिय पिटरका जेठा छोरा जिमी र श्रीमती रन्जना काठमाडौंमा छन् भने कान्छा छोरा रिकी अमेरिकामा छन् । छोरा जिमीका अनुसार, पिटरको शवलाई बिहिबार क्रिश्चियन नियममा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित : वैशाख १०, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?