कोरोना आउनुअघि दार्जिलिङ- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना आउनुअघि दार्जिलिङ

आत्मालाप
मनोज बोगटी

काठमाडौँ — कवि निमा शेर्पा कालेबुङ आएका थिए, कलकत्ताबाट। निमाभन्दा पहिल्यै कलकत्तामा कोरोना भाइरस संक्रमित भेटियो रे भन्ने हल्ला दार्जिलिङ आइसकेको थियो। माहौल कस्तो भइसकेको थियो भने बाहिरबाट आउने हर कसैलाई हेर्ने आँखा संदिग्ध बनिसकेको थियो। कालेबुङमा कोरोना भाइरस आइसकेको थिएन।

२०७४ असारमा गोर्खाल्यान्ड आन्दोलन चर्किएको समयको दार्जिलिङ । फाइल तस्बिर : पर्वत पोर्तेल

‘म आएँ, लौ भेटौं त,’ भनेका छन् निमाले। पल्लोघरमा छन् कवि लेखनाथ छेत्री। छँदाछँदैको प्राइभेट नोकरी छोडेर सरकारी नोकरीको परीक्षाको लागि पढ्न कोठा भाडा गरेका बसेका छन्। उसैलाई सुनाएँ।

पहिलोपल्ट निमासित भेट्न भित्रबाट ममा हिच्किचाहट पलाएर आयो। उसले गोजीबाट सेनिटाइजर निकाल्यो। ‘पहिले हात थाप,’ लेखनाथ र मलाई देख्नसाथ निमाले सबैभन्दा पहिले बोलेको वाक्य यही थियो, ‘नडराउ साथी हो, यो दलेपछि भाइरस सर्दैन।’ हामीलाई ढुक्क लाग्यो। हामीले निमाको कुरा पत्यायौं।

यसो त मैले जीवनमा कहिल्यै सेनिटाइजर दलेको थिइनँ। मलाई त यो दलेपछि पछि साबुनले हात पखाल्नुपर्छजस्तो लाग्थ्यो। होइन रहेछ। यो त बढो कामको चिज रहेछ।

कालेबुङको डम्बरचोकमा भीड उस्तै छ। सबैको मुखमा मास्क र गोजीमा सेनिटाइजर छ। लेखनाथ र मैले त मास्क पनि किनेका थिएनौं, सेनिटाइजर पनि। उत्तम दाजुको दोकानको टुल तानेर बसेका छौं। निमालाई कोरोनाको भन्दा पनि धेरै राजनीतिमा चासो छ। उसले कलकत्ताबाट कोरोना भाइरस त ल्याएन तर राजनीतिक चासो भने कलकत्ताबाटै बोकेर ल्याएको रहेछ।

‘तिम्रो मुद्दा विमर्श हेर्दैछु,’ निमाले मलाई भन्यो, ‘नेताहरूलाई अठ्याङमा पाऱ्यौ। अबको जिम्मेवारी राजु विष्ट र भाजपाकै हो।’

लेखनाथले थप्यो, ‘तीन एपिसोडले भाजपाको गठबन्धन दल भत्कियो। दार्जिलिङको राजनीति कमजोर धागोले बाँधिएको हुन्छ। सानोसानो प्रश्नले पनि चुट्टिहाल्छ।’

000


त्यसो त दार्जिलिङमा २०२१ को विधानसभा चुनावको चलखेल सुरु भइसकेको थियो। राजनीतिमा दार्जिलिङ निक्कैअघि छ। प्राप्तिमा पो शून्य त। सत्तामा बसेको दलले सोसल मिडियामा विकास देखाउने काम सुरु गरिसकेको थियो। भर्खर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापा एउटा स्कूल भवनको उद्घाटनमा पुगेका थिए। स्कूल भने पूर्णरूपले निर्माण भइसकेकै थिएन।

‘उद्घाटन भइसकेपछि त नानीहरूले नयाँ भवनमा पढ्न पाउनु पर्छ। कामै नसकी किन उद्घाटन गरियो?’ थापाले उद्घाटन भाषणमा आफ्नै ठेकेदारहरूलाई सोधिसकेका थिए, ‘आधाकल्चो कामले त हामी बदनाम हुन्छौं। शीघ्र नै भवन पूरा भएको हुनुपर्छ, नत्र म एक्सन लिन्छु।’

भाषणको अन्तर्यमा आउँदो चुनाउको सपना लुपुक्कै भिजेको थियो। दिल्लीमा केजरीवालले देशलाई भोट जित्ने नयाँ फर्मुला बाँडिसकेको जो थियो। विकास गर, भोट माग। त्यसको दुइचार नारा दार्जिलिङ आइपुग्नु कुन ठूलो कुरा भयो र! थापाको विकासे गतिविधिमा केरजीवालको धमिलो दागदुग त पाइहालिने भयो। त्यसै पनि २०१७ मा राज्य सरकारसित सम्झौता गरेकोमा गोर्खाल्याण्डपन्थी दलहरू थापाहरूसित बेस्सरी रिसाएका छन्। त्यो रिस् विकासको नाराले कति पो झार्ला र !

तपाईँहरूलाई थाहा नहोला तर विमल गुरुङले बलियो रणनीति बिना नै आन्दोलन गरेर जनतालाई दुःख दिएको निचोड थापाहरूको हो। त्यो निचोडमा पनि दम चाहिँ छ।

तपाईँहरूलाई के थाहा होला भने २०१७ मा १ सय ५ दिन दार्जिलिङ बन्द भयो। भारतीय मिडिया दार्जिलिङमा नै थुप्रिएको थियो। छिमेकी देशतिरका पत्रकारहरू पनि दार्जिलिङ धाएकै हुन्। त्यतिखेर धेरै आन्दोलनकारीलाई बंगाल सरकारको पुलिसले गोली ठोकेर मारे। त्यतिखेर देशविदेशका गोर्खाको आँखा प्रतिवादले राता बनेका थिए। पहिलोपल्ट कुनै नेता वा दलले घोषणा गर्नुपर्ने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन जनताले घोषणा गरिदिएको थियो। जनताले आन्दोलन घोषणा गरेपछि राजनैतिक दलको शरीरको रगत सुक्दोरहेछ। प्रोपोगान्डा, आन्तरिक चलखेल, दलीय सुझबुझ सबै भताभुङ्ग हुँदोरहेछ। फसादमा पर्दारहेछन् नेता।

विमल गुरुङलाई केन्द्र सरकार (भाजपासित गठबन्धनमा थियो विमल गुरुङको पार्टी) ले आन्दोलनको इशारा गरेकै थिएन। भाजपा सरकार त ममता बनर्जीले कसरी भाषाको नाममा गोर्खाजस्ता अल्पसंख्यकलाई अत्याचार गरिरहेको छ, त्यसमा राजनीति गर्न चाहन्थ्यो। बंगाल छिर्नु जो छ भाजपालाई। बनर्जीले काम गरेकी थिइन् नै त्यस्तो। नेपाली भाषाले संवैधानिक मान्यता पाएको हुँदाहुँदै पठनपाठनमा बंगला भाषा अनिवार्य हुनुपर्ने फर्मान जो थियो। विमल गुरुङको प्रतिवाद भाजपाको यही सपनाको वरिपरि त घुमेको हो। त्यसमा मिसिएको थियो नेपाली भाषाप्रतिको प्रेम। गोर्खाप्रतिको प्रेम। यो प्रेम चाहिँ उनको निजी राजनीतिक क्षेत्र।

विमल गुरुङलाई लगाएर भाजपाले आफ्नो छबी खराब गर्न चाहेको ममता बनर्जीझैं खप्पिस राजनीतिज्ञले चाल नपाउने कुरै भएन। हत्तपत्त दार्जिलिङमा कहिल्यै नगरेको क्याविनेट बैठक डाकिन्। ता कि विमल गुरुङहरू आक्रोशित बनुन् र बैठकलाई बाधा दिउन्। भयो त्यस्तै। विमल समर्थकहरूले ढुङ्गामुढा सुरु गरिहाले। बनर्जीलाई ताल पऱ्यो। हिंसा रोक्न केन्द्रलाई खुरुक्क केन्द्रीय सेना मागिन्। राज्यको क्याबिनेट बैठकमा नै हमला भइसकेपछि केन्द्रलाई सेना नदिई धर? बस्, केन्द्रीय बलसित पुलिस घुसाइन् र ठोकिन् गोली।

विमल गुरुङको समीकरण सबै खल्लास। भाजपाको कुटनीति पनि खल्लास। यता भाजपा विमलसित बाँउठिदियो र दार्जिलिङ काण्डबारे पिटिक्कै मुखै खोलिदिन। न दिल्ली पठाइएका सांसदहरू दार्जिलिङमा मरेका आन्दोलनकारीहरू हेर्न आए। विमल परे फसादमा। पुलिस थानातिर अचानक र बारम्बार बम पड्किए।

बस्, विमल गुरुङविरुद्ध ममता बनर्जीले ठोकिन् राष्ट्रद्रोहको मुद्दा। त्यसपछि उपाय नै के रह्यो र विमल गुरुङसित?

भागे ज्यान जोगाउन जङ्गलतिर। त्यसरी भाग्नु परेको विमल गुरुङ अहिलेसम्म पटक्कै फर्किएका छैनन्। मामिला कोर्टमा छ। भाजपाको सहयोगमा टाउको त लुकाइरहेकै छन् तर मुद्दा तन्किएको तन्किएकै छ। यसै पनि विमल गुरुङलाई दार्जिलिङ फर्काउँदा भाजपालाई फाइदा त हुनु पऱ्यो नि। विमल गुरुङ भन्छन् छुट्टै राज्य। छुट्टै राज्य भन्यो कि बंगालमा मच्चिन्छ बबाल। विमल गुरुङलाई दिल्लीतिरै राख्नमा फाइदा छ भाजपालाई। राख्यो पनि। भाजपाले चाह्यो भने गुरुङमाथिका मामिला यत्तिकै रफादफा गर्न सक्छन्। देशका कत्राकत्रा मुद्दा रफादफा गरेकै हुन् क्यारे।

गुरुङ भागेपछि थापाहरूले फ्याट्ट रणनीतिहिनताको दोखले आफूहरू पिरलोमा परेको दुखेसो बिसाए। जित्ने रणनीति भए पो हुन्थ्यो, थिएन। र सत्तासित हार्नुपरेको निचोड निकालेर बंगालका मुख्यमन्त्री ममता बनर्जीसित हात मिलाए। नमिलाएको भए त थापाहरू पनि जङ्गल नै भाग्नु पर्थ्यो। ठिकै हो, विमल बाँच्न जङ्गल पसे, थापाहरूले बाँच्न हात मिलाए। जतैबाट घुमाए पनि कुरा त एकै हो। माथिल्ललो चुक्कुल खुस्किएपछि तल्लो चुक्कुल खुस्किन कति बेर?

त्यसो त विमल गुरुङको आन्दोलनसित रणनीति नभएको आरोप सहि नै हो। रणनीति त थिएन नै, केन्द्र सरकारको आशिर्वाद पनि थिएन। त्यसैले हो १ सय ५ दिनको बन्दभित्र केन्द्रीय बलको आवरणमा बनर्जी सरकारले मच्याएको हिंसाबाट बच्ने भरपर्दो उपाय पनि कसैसित थिएन। विमल गुरुङ झुकेनन् र जङ्गल पसे । अनित थापा, विनय तामाङहरू झुके र जिटिए सञ्चालनमा लागे। सारा समीकरण बिग्रिएपछि यो झुक्नु र नझुक्नुबीच कति मिटरको पार्थक्य रहन्छ होला?

वास्तवमा दोष न विमलको थियो, न विनयको। थियो त केन्द्र र राज्यको अवंसेदनशीलताको। राज्य आन्दोलन तोड्न चाहने, केन्द्र आन्दोलनलाई वार्तामा नलाने। राष्ट्रीय मिडियाले यतिको उचालेको आन्दोलनअघि कहिल्यै भएन। तर न त राज्य, न त केन्द्र, दुवैले आन्दोलनलाई संवादमा लगेनन्। दुवै मिले र आन्दोलन दबाए। केन्द्र र राज्यको चेपुवामा परेका विमल र थापाहरू त मसिना गोटी भइखाने न हुन्। आन्दोलन तुहुन कतिबेर लाग्यो र?

यता विमल जङ्गल भागेर घानमा परे, उता विनयहरू जिटिएमा बसेर चानमा परे। जनताको सपना मसानघाटमा परे। अहिले जङ्गल भाग्ने र चौकीमा बस्ने नेताहरूबीच राजनैतिक डुमुरा चलिरहेको छ दार्जिलिङमा।

000


कोरोनाको त्रास आइपुग्नअघि दार्जिलिङ राजनीतिले गर्मिसकेको थियो।

एउटा नेता जङ्गल पसेर मुद्दामा इमान्दार रहेको भजन गाउन छोड्दैनन्, अर्को नेता सङ्कटकालमा जनता बँचाउन सरकारसित मिल्नुपरेको स्पष्टीकरण दिन छोड्दैनन्। ‘दोषारोप गऱ्यो, रोटी सेक्यो’ छ दार्जिलिङको राजनीति। परबाट हेर्नेहरूले कस्तो देख्दा हुन् दार्जिलिङको राजनीति?

रणनैतिक कमजोरीबीच हुर्किएको आन्दोलन जब सत्ताको डिजाइनमा पर्छ, तब जनताले बढो दुःख पाउँदारहेछन्। सबै मूल्य धरापमा पर्दारहेछन्। अर्थनीतिको ढाड खुस्किँदोरहेछ। सामाजिकताको मूलमा काठ पस्दोरहेछ। राजनैतिक आचरण सन्देहयुक्त बन्दोरहेछ। मनोविज्ञान निक्कै चिडिँदोरहेछ। विचारहरू ठुन्किँदोरहेछ। कसलाई पर्वाह हुँदोरहेछ र? युवा पुस्ताको समय नै माइग्रेनग्रस्त बन्दोरहेछन्। सम्बन्धहरूमा अवसाद छिर्दारहेछन्। जीवनको लय नै बाउँठिँदोरहेछ। तरै पनि मानिसका सपना भने हत्तपत्त नमर्दारहेछन्। आशा कतै न कतै गुजुकगुजुक चलिरहँदोरहेछ।

यस्तैबीच दार्जिलिङले मुस्किलले सपनाको ढुकढुकी बँचाएको छ। दार्जिलिङका जनता जान्दछन्, आँखै सामु केके भइरहेका छन्? तर गुहार्ने ठाउँ नै कता छ र?

अहिले विमल गुरुङ दिल्लीको कुनै बिल्डिङमा बसेका छन्। जङ्गल भागेका नेता दिल्लीजस्तो महानगरमा ढुक्कैले जिउन सक्छन्। कसरी कमाएका हुन् यत्रो पैसा जनताको आन्दोलन गर्ने नेताले? दार्जिलिङलाई यसरी सोच्ने फुर्सद कहाँ? आधापेट बोकेर न्युनतम् रोजको आन्दोलनमा जुलुस लाउनै फर्सद छैन दार्जिलिङका अधिकांश जनतालाई।

‘पढे लेखेका भन्छौं, खै यसको के मतलब निस्कियो र? ट्युसनस्युसन गऱ्यो अलिकति पैसा जम्मा गऱ्यो र फेरि नोकरीको लागि पढ्न बस्यो छ अचेल हालत त,’ निमाले सोधेको हालखबरको जवाबमा लेखनाथको जवाब यस्तो आयो, ‘भर्खरै टिचरको काम निक्कैले पायो। मैले चैं जी हजुरी गर्नै सकिनँ।’

निमा र मैले लेखनाथको अनुहारले एउटा भाषामा बोलेको र आवाजले अर्को भाषामा बोलेको चाल पाएनौ र? ‘म त फूल रोप्दै घरैमा बस्ने हो। परिश्रम गर्ने हो, जिउने हो,’ भनिराखेर निमाले मलाई हेरेको छ यतिबेला। अर्थात पालो मेरो होइन त दुःख कहने?

‘म त बहुत भयो हौ घरै बसेको। क्यै गर्न आउँदैन। राजनैतिक विश्लेषण गऱ्यो बस्यो, बेकारी जीवन बिताएको वर्षौं बित्यो। सकिएँ म त,’ सबैभन्दा भद्दा स्थिति त मेरै थियो। कहें। निमा र लेखनाथ हाँसिदिनबाहेक के गर्न सक्छन् र?

तपाईँहरूलाई भनिराखौं, विनय तामाङ र अनित थापा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा पालैपिलो बसेका छन्। विकास गरेकागरेकै छन्। जनतामा अभाव उत्तिकै छ। दुःख उत्तिकै छ। बेरोजगारी उत्तिकै छ। युवाहरू अवसादका सिकार भइरहेकै छन्। न साहित्य, सङ्गीत, खेल, कलाको उत्थानको लागि भरपर्दो कोष र संस्थान छ न रोजगारको खास अवसर। सौभाग्यको कुरा हो, दार्जिलिङमा विकास द्रुत छ। कविहरू भेला भएपछि चिन्ता यस्तै इतर कुराहरूको न हुन्छ।

‘अब कोरोनाले सबै बहस तुर्छ साथी,’ निमा भन्छन्, ‘संसारमा उलटफेर ल्याउँछ है यो भाइरसले। अब मुद्दा न सुद्दा हुन्छौं होला।’

भयो त्यस्तै।

000


यसो त दार्जिलिङका नेताहरूका हातबाट मुद्दा उम्किसकेको छ। मुद्दा पुगेको छ भारतीय जनता पार्टीको हातमा। यसैको मेनिफेस्टोमा थुनिएको छ असली मुद्दा। दार्जिलिङका नेताहरूको सपना हो, मुद्दा सत्तासिन दलको इजलासमा पुग्नु। गोलपोष्ट त केन्द्र सरकार नै हो। उसकोमा पुगिसकेपछि गोल त जतिबेला पनि हुनैसक्छ। अघिल्ला भाजपाका दुई सांसद जसवन्त सिंह र एसएस अहलुवालियाले सदनमा गोर्खाका मुद्दा उचाल्दै उचालिदिएनन्। उनीहरू गोर्खाका मुद्दाको घोडामा सांसद हुने सपना बोकेर दार्जिलिङ आएका भाजपाका वानरहरू न थिए। हातमा नरिवल बोकेको छ, कुदेको छ। न घर बनायो, न घर बनाउनै दियो।

त्यसैको आक्रोश दार्जिलिङमा व्याप्त थियो। देशलाई हिन्दुवादी राष्ट्रीयताको रोटेपिङमा फनफनी घुमाएर फरकमतलाई वान्ता गराउन उस्ताद भाजपालाई कसले सक्ने र? अघिल्लो चुनाबको मेनिफेस्टोमा ‘दार्जिलिङको लम्बित मुद्दालाई सहानुभूतिपूर्वक हेरिनेछ’ भन्ने वाक्य टाँसेको थियो। यसपल्ट त ‘गोर्खाका ११ जातलाई जनजातिको मर्यादा दिने र गोर्खाका समस्याको स्थायी राजनैतिक समाधान गरिने’ भन्ने दुइ वाक्य नै हालिदियो।

अघिल्ला दुई सांसदप्रतिको आक्रोश भाजपाको नयाँ उम्मेदवार राजु विष्टको उम्मेद्वारीले गायब। मूल मुद्दा नै मेनिफेस्टोमा हालिदिएपछि आक्रोशित भइरहनुको के तुक?

राज्य सरकारसित सम्झौता गर्ने विनय तामाङभन्दा प्यारो त यसै पनि गोर्खाका दुइवटा मुद्दा मेनिफेस्टोमा हाल्नेहरू भइहाल्ने नै हुन्। विमल गुरुङ र भाजपालाई सामुहिक श्रेय गइगयो। दार्जिलिङको ऐतिहासिक शिष्टाचार हो, जसले जनमुद्दा बोक्छ, उसैको खुट्टा ढोग्छ।

त्यही दुई मुद्दालाई टाउकोमा बोकेर विष्ट जिताउन दार्जिलिङका अधिकांश दलहरू भाजपाको गोलमेचमा पुगे। अधिकांश दलले भाजपासित गठबन्धनी लगनगाँठो कसे। यहाँसम्म कि दार्जिलिङको कम्युनिष्ट दल क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-समेत ‘फासिस्ट’ दल भाजपाको ‘अफेयर’मा पऱ्यो। यसो भन्दैमा दार्जिलिङका कम्युनिष्ट पार्टीको मति बिग्रिएछ नठान्नुहोला। यो दल जन्मिएकै छुट्टै राज्य गोर्खाल्याण्डको लागि हो। मुद्दाको लागि दुश्मनसितै हात मिलाउनु परे पनि पछि नहट्ने नमूना यही दल हो। भाजपा फासिस्ट भयो त के भयो गोर्खा मुद्दा जो मेनिफेस्टोमा चेपेको छ। मिलाउनु परेन त हात?

तर दुर्भाग्य के भने कोरोना आउनअघि दार्जिलिङका दलहरूमा फुट आइसकेको थियो। फुटको कारण थियो, भाजपाको मेनिफेस्टोमा पसेको गोर्खाका दुईवाक्के मुद्दा।

सुबास घिसिङको पार्टी गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले बुझ्यो, मेनिफेस्टोमा हालिएको गोर्खाका ११ जातलाई जनजातिको मर्यादा दिने बुँदा भनेको सुबास घिसिङको छैटौं अनुसूचीको सपना बोक्ने काँध हो। भएको के थियो भने २००३ मा छैटौं अनुसूचीको मुद्दा भारतको सदनले रोकिदियो। कारण थियो केन्द्र सरकारमा पुगेको बहुसंख्यक विरोध। सुष्मा स्वराजको कमिटीले बहुसंख्यक विरोधको सम्मान गरिदियो। विरोध नपुगोस् पनि किन? अल्पसंख्यक जनजातिले बहुसंख्यक रहल जातिलाई शासन गर्ने छैटौं अनुसूचीको विधेयक जो थियो सुबास घिसिङ साबको। दार्जिलिङमा थियो ३३ प्रतिशत जनजाति। छैटौं अनुसूची थियो उनीहरूकै अनुकूलको व्यवस्था। शासनसत्ताबाट ६७ प्रतिशत रहल जाति बाहिर पर्ने भयो।

रोकियो विधेयक। हारे सुबास घिसिङ।

तर यसपल्ट समय उल्टो दिशा हिँड्यो। ११ जातलाई जनजातिको मर्यादा दियो भने त दार्जिलिङमा जनजाति बहुसंख्यक हुने भइगयो। तब के थियो र? गोरामुमोले चुल्यायो छैटौं अनुसूचीको मुद्दा। त्यो छैटौं अनुसूची जो, घिसिङकै पालामा जनताले बहिष्कार गरिसकेको हो। तर गोरामुमोको आत्मविश्वास चुलायो, भाजपाको नियतले। गोरामुमोलाई लाग्यो, स्थायी राजनैतिक समाधान पटक्कै हुनेवाला छैन।

गठबन्धनका अधिकांश दलको बुझाई हो, स्थायी राजनैतिक समाधान भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो। छुट्टै राज्य गोर्खाल्याण्ड अर्थात् बंगाल विभाजन। बंगालबाट अलग। जुन भाजपा बंगाल कब्जा गर्न मिहिनेत गरिरहेको छ, उसले बंगाल विभाजन गर्ने स्थायी राजनैतिक समाधान गर्छ त? हो, यही मेसो पक्रियो गोरामुमोले र सुरु गऱ्यो छैटौं अनुसूचीको आन्दोलन।

खोजखबर युट्युब च्यानलबाट हामीले बहस सतहमा ल्यायौं। र सोध्यौं, ‘स्थायी राजनैतिक समाधान अर्थात् छुट्टै राज्य गोर्खाल्याण्डको लागि जनतालाई मत मागेर जनताले लत्याएको छैटौं अनुसूचीको मुद्दा किन उठाउँदैछ भाजपाका गठबन्धन दलले?’

यो त जनताबाट गठबन्धन दलको प्रभाव खोस्ने प्रश्न भइगयो। गठबन्धनमा रहेका विमल गुरुङको दल, क्रामाकपा र अरु झिनामसिना दलहरूले गोरामुमोको नियत केलायो। र सुरु भयो उफ्रिन गठबन्धनमा किचलो।

२०२१ को चुनाव नजिक छ। सांसद राजु विष्टको टुप्पी तात्यो। उनले गठबन्धन दलको बैठक गरे। बैठकपछि सबै दलका प्रवक्ताहरूले भने, ‘आजदेखि हामी मिल्यौं। सबैले निजी मुद्दा त्याग्यौं। अब एउटै मुद्दामा केन्द्रिकृत बन्ने सहमति बन्यो।’ तर बैठकबाट निस्किने बित्तिकै गोरामुमोले त्यही भजन सुरु गऱ्यो, जुन भजन किचलोको कारण थियो, छैटौं अनुसूची।

सहतमा बहस उठ्यो, भाजपाले स्थायी राजनैतिक समाधन चाहने हो भने शीतकालीन र बजेट सत्रमा यसको विधेयक किन ल्याएन? विधेयक नल्याउनु र गबन्धनभित्रका दल गोरामुमोलाई छैटौं अनुसूचीको आवाज चुलाउन फुक्का छोडिदिनुको अर्थ के हो त? यसो त छुट्टै राज्य हुने बित्तिकै जिटिए भङ्ग भइहाल्ने हो। २०१७ को आन्दोलनमा सम्झौता गर्ने दलको साख खुस्किहाल्ने हो। अस्तित्व नै धरापमा परिहाल्ने हो। तर त्यसको निम्ति भाजपाले छुट्टै राज्य गठन गर्नु पऱ्यो।

स्थायी राजनैतिक समाधान यस्तो मुद्दा हो, जसले भाजपाको बंगाल कब्जा गर्ने सपनामा चोट पार्छ। किनभने बंगालका मतदाताहरूको लागि बंगाल विभाजनको मुद्दा हो दुश्मन मुद्दा। ममता बनर्जीले ‘म मर्छु तर बंगाल विभाजन हुन दिन्न’ भनेर थुम्थुम्याएको बंगालको जनतामा भाजपाले छुट्टै राज्यजस्तो बंगाल विभाजनकारी मुद्दा लग्यो भने के हुन्छ? कति वर्षदेखि देखेको बंगाल छिर्ने सपना नाथु गोर्खाको लागि भाजपाले बलिदान गर्लान् त? भन्नुस् त भाजपाको लागि बंगाल छिर्ने सपना ठूलो कि दार्जिलिङे गोर्खाको सपना? विमर्श यहीं अल्झिएको थियो, ठ्याक्क कोरोना आइपुग्यो।

000


‘यसपल्ट पनि अघिल्लो मेनिफेस्टो हेरेर दार्जिलिङले भाजपालाई बंगालमा जिताउनुपर्ने स्थिति बन्दैछ। नखाउँ भने दिनभरिको शिकार नहेरूँ भने कान्छाबाउको अनुहार नै भयौं,’ कवि निमाको निष्कर्ष निस्कियो। लेखनाथले थपे, ‘बंगालमा भाजपाले जित्यो नै भने पनि छुट्टै राज्य गठन गर्ने आधार के? गोर्खाल्याण्ड भन्यो कि भाजपाको सरकार धरापमा पर्छ। बलपूर्वक फेरि अर्को दागोपाप वा जिटिए थमायो भने विरोध गर्ने ताकत कसकोमा छ?’

अरुको लागि यी गफगाफ सामान्य होलान्। हामी दार्जिलिङे कविहरूको लागि लाखटक्काको गफ थियो। लेखनाथ भन्छन्, ‘जीटीए थाप्दा गाउँको नेता भन्थे, अब पढेलेखेकाहरूको दिन आयो। सबले नोकरी पाउँछन्। नोकरी त पाए तर नेताका आफन्तहरूले। आफू त इ: पढ्नतिर पो लागियो। कहीं कतै केही भइजाला कि जिन्दगानीमा?’

निमाले कुरा बुने, ‘तिम्रो उपन्यासको सिक्वेलमा पसोस् है यी पीडा।’ लेखनाथले टाउको कन्यायो। र जिम्मेवार उत्तर दियो, ‘पस्छ दा।’

कोरोना आउनअघि हामीले यसरी कुरा गरेका थियौं। थाहा छैन कोरोना गइसकेपछि हामी कस्तो कुरा गर्छौं। जुन जुन कुरा जहाँ जहाँ रोकिएको छ, त्यही त्यहींबाट कुरा सुरु गर्छौं कि?

प्रकाशित : चैत्र २९, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

दार्जिलिङमा पनि ‘हमजाएगा’

मनोज बोगटी

दार्जिलिङ — नेपालमा सुरेन्द्र पुनले जुन नाममा चलचित्र निर्देशन गरेका थिए, त्यही नाममा दार्जिलिङमा पनि आदित्य रायाले चलचित्र निर्देशन गरेका छन्। चलचित्र हो -हमजाएगा। दुवै चलचित्रको मिल्ने कुरा के हो भने दुवै चलचित्र हमजाएगाको वायोपिक होइन। 

हमजाएगा कथा भन्‍न प्रयोग गरिएको चरित्र मात्र हुन् । आजका चलचित्र निर्माताहरूलाई चलचित्र बनाउन प्रेरित गर्ने हमजाएगा आफैंले पनि चलचित्रमा अभिनय गरिसकेका छन् । दार्जिलिङकै चलचित्र निर्देशक तुलसी घिमिरेले ७० वर्षीय हमजाएगालाई चलचित्र कुसुमे रुमाल-मा अभिनय गराएका थिए । अघिबाटै चलचित्र पुनर्जन्म बनाइसकेका आदित्य रायाको हमजाएगा दोस्रो चलचित्र हो ।
वैष्णवी प्रोडक्सनद्वारा निर्मित हमजाएगाको सुटिङ सन्दकपूर, टाइगरहिल र टंगलुमा गरिएको छ। अप्रिलमा दार्जिलिङमा यसको प्रिमियर सो हुने भएको छ। चलचित्रमा दार्जिलिङका नाट्य कलाकारहरू ललित गोले, हेमन्त गिरी, जीवन गुरूङ, देवराज शेर्पा अनि अरुण प्रकाश राईले अभिनय गरेका छन् ।

अन्य २५ कलाकारहरूसितै प्रमुख चरित्रमा आदर्श थामी, अञ्जली सुब्बा अनि आर्यन विशुंके पनि छन्। ‘दर्शकलाई हँसाउनैको निम्ति भनेर हामीले यो चलचित्र बनाएका होइनौं,’ निर्देशक आदित्य रायाले कान्तिपुरलाई भने, ‘सामान्य मानिसका संघर्षबारे बोल्ने पात्रकोरुपमा हमजाएगालाई चलचित्रमा उतारेका छौं।’

२०१८ को अक्टोबरदेखि हमजाएगाको सुटिङ भएको हो । सुटिङकै क्रममा कलाकार जीवन गुरुङ अनि क्यामेराम्यान विनय शंकर दुर्घटनामा परेपछि सुटिङ सक्न ढिलो भएको रायाले जनाएका छन् ।

हमजाएगा जोक्सको क्षेत्रमा अत्याधिक चर्चित नाम हुन् । हमजाएगाको वास्तविक नाम दलबहादुर गुरुङ हो । दार्जिलिङको चुङथुङमा जन्मिएका गुरुङ अमेरिकी सेना पनि थिए । सेनामा नै वाहन चलाउन सिकेका गुरुङले अवकासपछि दार्जिलिङमा नै पर्यटक घुमाउने काम गर्थे ।
हमजाएगा सुरुमा हाँस्य कलाकारको नाम थिएन । उनको नामसित जोडिएको एउटा रोचक किस्सा छ । टाइगर हिल घुम्‍न पर्यटक आएका थिए । उनले सोधे, ‘हु वान्ट्स टु गो ? ’ चालकहरूको भीडभाडबाट एउटा चहकिलो आवाज आयो, ‘हम जाएगा।’ त्यो आवाज तिनै दलबहादुर गुरुङको थियो । त्यसपछि सबैले उडाउँदै गुरुङलाई हमजाएका भन्न थालेको रायाले बताए।

त्यसपछि दलबहादुर गुरुङको नाम नै हमजाएगा बस्यो । वाहन चलाउँदै उनी यात्रीहरूलाई जोक्स सुनाउँथे । ती नै जोक्स विस्तारै लोकप्रिय बनेका हुन् । पछि हरेक कुनै जोक्समा पनि उनको नाम जोडिन थालेको हो ।

विजयकुमार राईले हमजाएगाका जोक्सहरूको किताब दार्जिलिङबाट नै प्रकाशित गरिसकेका छन् । ‘ती नै हमजाएकाका किस्साहरू जोडेर अब चलचित्र पनि बनाएका हौं,’ रायाले भने, ‘चलचित्रबाट फरक ढङ्गले सपना देख्ने साधरण मानिसको कथा भनेका छौं ।’

प्रकाशित : चैत्र २, २०७६ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×