१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कोरोनाविरुद्ध फ्रन्टलाइनमा रहेका डा. बाँस्तोला भन्छन्, 'हामीले पीपीईको महत्व बुझ्नै सकेनौं'

आत्मबल बढाउन हिम्मत मात्रै होइन, स्वास्थ्यकर्मीलाई सुरक्षात्मक सामग्री र अस्पतालमा पूर्वाधार चाहिन्छ।
फातिमा बानु

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका बिरामी फेला पर्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई कोभिडको मात्रै उपचार गर्ने गरी सरकारले व्यवस्थापन गरेको छ।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा रहेका डा. बाँस्तोला भन्छन्, 'हामीले पीपीईको महत्व बुझ्नै सकेनौं'

केही चिकित्सक र नर्स दिनरात अस्पतालमै बसेर बिरामीको उपचारमा खटिरहेका छन्। बिरामी जाँच्न फ्रन्टलाइनमा बस्नेदेखि आइसोलेसनमा भर्ना भएका शंस्कास्पद तथा पोजिटिभ बिरामीको उपचारमा खटिनेमध्ये एक हुन्, अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला। कोभिडका शंकास्पद बिरामीको मनोविज्ञान र उपचार प्रक्रिया लगायतबारे उनले कान्तिपुरसँग यसरी अनुभव सुनाए :

काम गर्ने तरिका बदलियो

अस्पतालमा दैनिक पाँचदेखि १० जना कोभिडका शंकास्पद बिरामी आइरहेका हुन्छन्। तीन महिनायता शंकास्पद ७५ बिरामी आइसोलेसनमा बसे। नेपालमा पहिलो केस देखिएको दिनदेखि काम गर्ने शैली र दिनचर्या फरक भएको छ। दिउँसो मात्रै नभएर राति पनि काम गर्ने स्थिति सिर्जना भयो। घरबाट लगाएर आएको कपडा अस्पतालमा लगाउँदिन। अस्पतालमा लगाएको कपडा घरमा गएर फेर्छु। हरेक दिन आइसोसेसन छिर्छु, बिरामीको अवस्था हेर्छु। छातीको एक्सरे, रगतको जाँच हेर्छु।

नयाँ रोग भएकाले भोलि यसले कस्तो रुप लिन्छ भनेर कसैलाई थाहा छैन। हामीलाई काम गर्ने तरिका सिक्न समय लाग्यो। सिक्दै, सिकाउँदै छु। सकेसम्म आइसोलेसनमा धेरै जना जाँदैनौ। कम व्यक्ति छिर्दा संक्रमण सर्ने जोखिम कम भयो, अर्को सुरक्षा सामग्री पनि बढी खर्च नहुने भयो। आइसोलेसन छिर्ने भनेपछि सबैले पीपीई लगाउनैपर्‍यो। शंकास्पद र पोजिटिभ बिरामी हेर्न मात्रै पीपीई लगाउँछौं। अन्य समयमा लगाउने गरेको छैन। सबै आइसोलेसन वार्डमा फोन जोडिएको छ।

फोनबाटै बिरामीको अवस्था बुझ्छु। श्वास फेर्न गाह्रो भयो भनेर फोन गरे भने पीपीई लगाएर जान्छु। प्रत्येक कोठामा सीसी क्यामेरा जोडिएको छ, धेरै कुरा त्यहीँबाट निगरानी गर्छु। अप्ठेरो परे बिरामीले पनि फोन गर्छन्। बीचमा केही बिरामीलाई श्वास फेर्न गाह्रो भयो भनेर आईसीयूमा पठायौं। कोभिड रिपोर्ट नेगेटिभ थियो। लक्षण देखिने, बिरामी शिथिल हुने तर रिपोर्ट नेगेटिभ आउँदा छक्क पर्छु। स्वाब लिएर मिलेन कि झैं लाग्छ। शंका धेरै लाग्यो भने त्यस्ता बिरामीको दोहोर्‍याएर नाकबाट या घाँटीबाट स्वाब लिन्छौं।

बिरामी रिफर गर्छन्

विदेशबाट आएका तर कोभिडको लक्षण नदेखिएका पनि टेस्ट गरिदिनु भन्दै आउँछन्। ती बिरामी अन्य अस्पतालमा उपचार नपाएर फर्किएका हुन्छन्। त्यस्ता बिरामीलाई सरकारले आफ्नै अस्पतालमा राखेर उपचार गर्नु यदि शंका लागे प्रयोगशालामा स्वाब पठाउनु भने पनि निमोनियाका बिरामी हामीलाई रिफर गर्छन्। त्यस्ता व्यक्तिलाई लक्षण नदेखिए अस्पतालकै क्वारेन्टाइनमा बस्न भन्छौं। अवस्था हेरेर यहाँ राख्नु नपरे पाटन पठाउँछौं। संक्रमण फैलिएको मुलुकबाट आएका व्यक्तिलाई बढी प्राथमिकता दिइरहेका छौं तर क्षयरोगका बिरामीलाई ज्वरो आयो भने यहाँ आइपुग्छन्। त्यस्ता बिरामीलाई चाहिने सल्लाह दिएर घरमै गइ आराम गर्नुस् भन्छु ।

जाँचसँगै अध्ययन

आफू सरुवा रोग विशेषज्ञ भएकाले डरभन्दा बढी जिज्ञासु भएको छु। रोग कस्तो हो, बिरामी कसरी आउँछन्, कसरी सुधार हुन्छ, कस्ता जटिलता आउँछन्; सबै हेर्छु। यो त मेरो अध्ययन जस्तो भइरहेको छ। कौतुहलताका साथ बिरामी जाँच्न रमाइलो लाग्छ। कोभिड शंकास्पद धेरै बिरामी भर्ना भए तर अधिकांशको रिपोर्ट नेगेटिभ आयो। विदेशका केसमा यस्ता बिरामीको दोहोर्‍याएर परीक्षण गर्दा धेरैको पोजिटिभ रिपोर्ट आइरहेको छ। हाम्रोमा भने त्यस्तो भएको छैन।

डर हराइसक्यो

विदेशमा पीपीई लगाएर बिरामी हेरेका स्वास्थ्यकर्मी र नर्स संक्रमित भएको, मृत्यु नै भएको छ। त्यस्तो घटना आईसीयूमा भर्ना भएका सिकिस्त बिरामी हेर्नेलाई बढी भएको देखिन्छ। हाम्रोमा अहिलेसम्म कुनै पोजिटिभ बिरामी सिकिस्त भएको छैन। निमोनिया हुने, श्वास फेर्न गाह्रो हुने, रगतको संक्रमणजस्ता जटिलता कुनै बिरामीलाई देखिएन। सामान्य ज्वरो र सुक्खा खोकीका बिरामी मात्रै हेरेको छु। आइसोलेसनमा जाँदा सही ढंगले पीपीई प्रयोग गरेको छ भने सुरक्षित भइन्छ। जानेको सुरक्षा विधि अपनाइरहेको छु, त्यसैले डर लागेको छैन।

आइसोलेसनका बिरामी रिसाउँछन्

सबै बिरामी बुझ्ने हुँदैनन्। पहिलेका बिरामी दुई दिनमा पनि रिपोर्ट आएन भनेर रिसाउँथे। अहिलेका बिरामी अलि कुरा बुझ्छन्। आइसोलेसनमा ७५ जना बिरामी हेरेँ। भनेको समयमा रिपोर्ट आएन भने जान्छु /भग्दिन्छु भन्छन्। एक-दुई जना त भागे पनि। कोही बिरामीलाई एयरपोर्टबाट सिधै अस्पताल ल्याइएको हुन्थ्यो। त्यस्ता बिरामीलाई रोगको भन्दा विदेशबाट ल्याएको सामान हराउँछ कि भन्ने चिन्ता हुन्थ्यो। उनीहरूलाई दुई दिन अस्पतालमा राख्न मुस्किल हुन्थ्यो। प्रयोगशालासँग रिपोर्ट चाँडै मागेर त्यस्ता बिरामी डिस्चार्ज गर्थें। अहिले यो समस्या केही कम छ, कुरा सुन्छन्। हामीलाई सघाउँछन्। म बिरामीसँग कुरा गर्छु, परामर्श गर्छु।

घरमा आइसोलेट भएर बस्छु

आइसोलेसनमा काम गर्ने केही स्वास्थ्यकर्मी अस्पतालमै बस्नुहुन्छ। जसको घरमा दीर्घरोगी या वृद्धवृद्धा छन्, उहाँहरुलाई अस्पतालमै बस्ने व्यवस्था छ। म काम सकेर घरै जान्छु। घरमा गए पनि एक्लै बस्छु, खान्छु। छुट्टै कोठा र बाथरुम प्रयोग गर्छु। आफूले खाएको भाँडा आफै माझ्छु, कपडा घाममा सुकाउँछु। बच्चा र आमाबुवासँग धेरै कुरा गर्दिनँ, गर्नुपरे टाढाबाट बोल्छु। परिवारसँग धेरै हेलमेल नभएपछि पढेर या मोबाइल चलाएर समय कटाउँछु।

सिक्दै सिकाउँदै

बिरामी जाँच्न दिनभर अस्पतालमै भइन्छ। कहिलेकाहीँ राति पनि आउनुपर्छ। कामको कुनै पावन्दी छैन। कहिले आधा रातमा प्रयोगशालाबाट बिरामीको रिपोर्ट पोजिटिभ आउँछ। त्यतिखेर राति नै अस्पताल आउँछु। बिरामी कता छ, कुन वार्डमा छ हेर्नुपर्छ। स्वास्थ्यकर्मीलाई थप सतर्कतासाथ काम गर्न भन्छु।

आइसोलेसनका बिरामीलाई गाह्रो हुँदा वा पीपीई लगाउन नजान्दा कहिलेकाहीँ राति मेडिकल अफिसर भाइहरूको फोन आउँछ। म राति नै अस्पताल पुग्छु। नसके बिरामीको एक्सरे र रगतको रिपोर्ट भाइबरमा पठाउन भन्छु, घरबाटै हेरेर के गर्न सकिन्छ सल्लाह दिन्छु। अस्पतालमै बस्दा फुर्सद भयो भने मेडिकल अफिसरले कसरी काम गरिरहेका छन्, कार्यालय सहयोगीले मास्क लगाए लगाएनन्, घुमेर हेर्छु। सकेसम्म संक्रमणबाट कसरी बच्ने सिकाउँछु। डमी बिरामी राखेर रिहर्सल पनि गराउँछु। अरु पाँच जना विशेषज्ञ पनि यसमा खटिनुभएको छ।

हौसला र मायाको खाँचो

मेडिकल अफिसर, नर्सिङ स्टाफ र प्रशासनको समन्वय राम्रो छ। फ्रन्ट लाइनमा बसेर बिरामी जाँच्ने स्वास्थ्यकर्मीको आत्मबल बढाउँछु। उनीहरूको आत्मविश्वास देखेर आफू बलियो हुन्छु।

यतिखेर राष्ट्रलाई आउन सक्ने संकटको बेलामा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामी हेरिरहेका छन्। हामी एकखाले युद्ध लडिरहेका छौं। परिवार, समुदायको मायाको खाँचो छ। हाम्रो आत्मबल बढाउन र राज्यले पनि सहयोग गर्नुपर्छ। अन्य मुलुकमा स्वास्थ्यकर्मी नै संक्रमित भइरहेका छन्, कतिले ज्यान गुमाएका छन्। यस्तो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल बलियो भए मात्रै बिरामी बचाउन थप प्रेरणा मिल्छ। स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री छैन। अनावश्यक व्यक्तिले पीपीई लगाएको देख्दा चित्त दुख्छ।

बाटोमा हिँड्नेले पनि एन९५ मास्क लगाइरहेका छन्। त्यस्तो मास्क त भेन्टिलेटरमा बिरामी हेर्नका लागि पो बनाइएको हो। पीपीई कसले लगाउने, किन लगाउने यसको महत्व बुझेका छैनन्। हामीले अस्पतालमा पीपीई बचाउन सबै स्वास्थ्यकर्मी फ्रन्टलाइनमा बस्दैनौं। आवश्यक परे मात्रै बिरामीको नजिक जान्छौं। यसो भन्दैमा बिरामीको उपचारमा कुनै सम्झौता भएको होइन।

पहिले आफू जोखिम मोल्छु

नयाँ शंस्कासपद बिरामी आइसोलेसमा भर्ना भएको दिन के होला, कस्तो होला भन्ने हुन्छ। अरु स्वास्थ्यकर्मी आइसोलेसन छिर्न डराउलान् भनेर म आफै पहिले छिर्छु, आत्मबल बढाउँछु। आत्मबल बढाउन हिम्मतले मात्रै होइन। हामीलाई सुरक्षात्मक सामग्री र अस्पतालमा पूर्वाधार चाहिन्छ। भोलि गम्भीर बिरामी आइहाले पनि जीवनरक्षा गर्नका लागि हरसम्भव प्रयास हुँदै छ। अस्पतालको पूर्वाधार पनि विस्तार भइरहेको छ। आईसीयू विस्तार हुँदै छ, अक्सिजन प्लान्ट राखिँदै छ। काम गर्न प्रेरणा मिलेको छ।

हामी अस्पतालमा संयमित भएर काम गरिरहेका छौं। तर, बाहिर साँझतिर सडक र बजारमा लागेको भीड देखेर म तर्सिन्छु। मान्छेले लकडाउन र सोसल डिस्टेन्सलाई मजाक बनाइरहेका छन्। भोलि ती सबै मान्छे अस्पताल आएको देख्न नपरोस् जस्तो लाग्छ। हामी सबै अहिले कोभिड नियन्त्रणमा लागिपरेका छौं। यस्तो अवस्थामा अन्य रोगका बिरामीको अवस्था के भइरहेको होला, सोच्दा मन दु:खी हुन्छ।

कोभिडको बारेमा बाहिर चलेका भ्रम र त्रास जति छ त्यो सबै सत्य होइन। अस्पताललाई संक्रमणमुक्त बनाउन केही पहल गरिएन भने जोखिम बढ्छ। स्वास्थ्यकर्मीबाटै समुदायमा रोग नफैलियोस् भनेर उनीहरूलाई अस्पतालमा राख्ने व्यवस्थापन भइरहेको छ। काठमाडौं महानगरले पनि डिसइन्फेक्सन गर्न सघाएको छ। यसको मृत्युदर धेरै छैन, अधिकांश बिरामी उपचारपछि निको हुन्छन् भन्ने सन्देश समुदायमा पुग्न जरुरी छ।

प्रकाशित : चैत्र २३, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?