फुर्सदमा पढ्ने खुराक- फिचर - कान्तिपुर समाचार

फुर्सदमा पढ्ने खुराक

युग पाठक

काठमाडौँ — कोरोना महामारीले सबैको दिमाग कब्जा गरेको छ । त्रास आफैंमा चहकिलो हुन्छ तर सबै ध्यान यसले खिँचेर राखिदिन्छ । मुलुक लकडाउनमा छ, हामी सबै घरभित्र बस्न बाध्य छौं ।

कामधन्दा, व्यवसाय सबै बन्द छ । महामारीको भूमरीमा नफँसिसकेको हुनाले भ्रमै सही एकप्रकारले नेपाली जनता आश्वस्त पनि देखिन्छन् ।


महामारीसँग जुध्ने सरकारी तयारी फितलो छ, त्यसमाथि हतारहतार ल्याइएको मेडिकल सामग्रीमा पनि भ्रष्टाचार भएको नमिठो खबर शीर्षस्थानमा छ । त्यसैले आशंका र त्रास दुवै मन्दमन्द हावामा मिसिएर सबैको वरिपरी घुमिरहेकै छ । तैपनि लकडाउनमा घर बस्दा मन शान्त राख्ने र बाध्यताबस् भौतिक दूरी बनाउन परे पनि सामाजिक बन्धन अझै मजबुत बनाएर एकअर्काको सहायताका लागि तयार रहनु छ ।



म पनि घरमै छु । पेशा, रुचि जे भने पनि अध्ययन, चिन्तन, लेखन र सामाजिक अभियानमा म संलग्न छु । त्यसैले मेरो लागि स्वतस्फूर्त लकडाउन नयाँ कुरा होइन । अहिलेको लकडाउन पक्कै त्यस्तो छैन । तैपनि यो समयमा पनि संसारले भोगिरहेको संकटका विभिन्न आयामको अध्ययन, चिन्तन, मनन र लेखनबाट मेरो लय भंग भएको छैन । खासमा चापाचाप काम छ । अरु पेशा, व्यवसाय भएका महानुभावहरुका निम्ति लकडाउन पक्कै सकसको विषय हो । तर मेरो कामको प्रकृति नै यस्तो छ कि यो घरै बस्नुपरेर रोकिँदैन ।


घरैमा बस्नुपरेको र नियमित कामको गति रोकिएको समयका लागि पुस्तक पढ्नु, सिनेमा हेर्नु, गीत सुन्नु असाध्यै राम्रा उपाय हुन् । त्यसबाहेक आफ्नो वरपर कोही खानै नपाउने वा आधारभूत आवश्यकताका सामग्री आपुर्ति नभएर संकटमा छ कि ख्याल गर्नुहोला । त्यस्तो संकट पार लाउन सामूहिक पहल आवश्यक छ । मलाई परेको छैन भनेर वास्ता गर्नुभएन भने बिस्तारै सामाजिक असन्तुलन पैदा भयो भने त्यो संकटले तपाईंलाई पनि छाड्ने छैन ।


अब म पाँच किताबहरु तपाईंलाई सुझाउँछु जो यो फुर्सदका लागि उपयोगी हुनसक्छन् । त्यसो त जरुरी महत्वका थुप्रै पुस्तक छन्, तर यहाँ औंलामा गनेर छान्नुपर्ने बाध्यताको पालन गरिएको छ ।


आफ्नै आँखाको लयमा (खगेन्द्र संग्रौला)



मेरो लेखक व्यक्तित्व खगेन्द्र संग्रौलालाई पढ्दै हुर्किएको हो । उनको उपन्यास 'जुनकिरीको संगीत' रातभरी नसुतेर पढेको सम्झना बिल्कुल ताजा छ अझै पनि । विभिन्न पत्रिकाका लेख पढेर र एक दशकदेखि व्यक्तिगत संगतमै पुगेर एक्टिभिस्ट हुन सिकियो । उनको भाषाशैली सर्लक्कै छुट्टिन्छ, तोरीको घानमा मकैको गेडो जस्तो । पूर्वेली झर्रो भाषामा संस्कृतका शब्दहरुको मिठो मिश्रण । अखबारी लेखन र निबन्धमा संग्रौला आफैंमा सांस्कृतिक इतिहासका एक नजिर हुन् ।'आफ्नै आँखाको लयमा' उनको माइलस्टोन निबन्धसंग्रह हो भन्ने मेरो ठहर छ । कहिले खित्का छाडेर हाँस्दै, कहिले गम्भीर हुँदै पढ्नुस् । लिम्बुवानको सामाजिक इतिहासका झलक पनि यसमा पाइन्छ । आफ्नै बाले चढ्ने गरेको घोडा होस् या वामदेव पहाडी सरको कोर्रा, उनका निबन्धले लिम्बुवानको नलेखिएको इतिहासका केही झलक अवश्य भन्छ ।


ज्याज (टोनी मोरिसन)



अंग्रेजीमा डिग्री (स्नातकोत्तर) पढ्दाताका पहिलोपटक टोनी मोरिसनको नाम सुनेको र 'विलभेड' उपन्यास पढेको । अफ्रिकी अमेरिकी मूलकी यी लेखक आक्रामक वक्ता र एक्टिभिस्ट पनि थिइन् । मृत्युपछि उनको प्रशंसामा लेख लेख्ने केही मानिसहरुप्रति मलाई यसकारण दया लाग्छ कि उनीहरुले विभेदकारी अमेरिकी श्वेतसत्ताविरुद्ध छेडेको जेहाद उनीहरुले बुझेकै रहेनछन् । नेपालमा सीमान्तकृत समुदायको अधिकारका पक्षमा लेख्नेबोल्नेहरुलाई सत्तोसराप गर्नेले कुन मसीले मोरिसनको प्रशंसा गर्नसक्छन् म बुझ्दिनँ । यत्ति बुझ्छु, उनले पाएको नोबल पुरस्कारप्रतिको चाकरीबाहेक त्यो केही होइन । मोरिसनको 'ज्याज' मलाई मन पर्ने उपन्यास हो ।


अमेरिकाको शास्त्रीय संगीत मानिने ज्याज अफ्रिकी अमेरिकी जनताकै आविस्कार थियो र सन् १९२०को दशकलाई अमेरिकी इतिहासमा ज्याज युग पनि भनिन्छ । अफ्रिकी अमेरिकी जनताको राजधानी ठानिने न्यूयोर्कको हार्लेममा उपन्यासका वर्णित घट्नाहरु घट्दा ज्याज संगीत गुञ्जायमान हुनेगर्थ्यो । आफूभन्दा निकै कम उमेरकी युवतीलाई उसले प्रेम गर्छ र प्रेमको त्यो अनुभूति निरन्तर कायम राख्न उसको हत्या गर्छ । ‘ऊ’ के हो र के होइन, त्यो सब उसकी पत्नी भायोलेटले तपाईंलाई कथाको पत्तापत्ता बन्दाकोबी झैं उप्काएर देखाउनेछिन् । दासप्रथाको कहरदेखि हार्लेमको चकाचौंधभित्र ज्याज संगीतको सुरतालमा जुन जीवन अफ्रिकी अमेरिकी जनताले बाँचे, त्यो ज्याजको धुनमा बगेर आएनछ भने मलाई भन्नुहोला ।


जंगलके दाबेदार (महाश्वेता देवी)



हिन्दी फिल्म 'हजार चौरासीकी मा' र 'रुदाली' सम्झिनुहुन्छ ? महाश्वेता देवीको उपन्यास 'हजार चौरासीकी मा' र कथा 'रुदाली' लाई नै फिल्म बनाइएको तथ्य पनि सम्झुँ यहाँनेर । बंगाली भाषाकी एक स्तम्भ हुन् महाश्वेता देवी । खासगरी आदिवासी समुदायको जीवनलाई साहित्यमा ल्याउने श्रेय उनलाई दिने गरिन्छ । जंगलका दाबेदार उनको त्यस्तै एउटा उपन्यास हो ।


महाश्वेताको लेखनमा म एकप्रकारको अनौठो बास्ना भेट्टाउँछु । चल्तीका विषयहरु सर्लक्कै छाडेर भारतका विविध समाजको जीवनभित्र डुबुल्की मार्ने र त्यहाँबाट अचम्मअचम्मका पात्र र जीवनशैली र भाषाको बान्की टिपेर निकाल्ने उनको खुबीको म फ्यान हुँ । 'जंगलके दाबेदार' बिलकुल यस्तै उपन्यास हो । भारतको बिहार क्षेत्रमा १९ शताब्दिको अन्ततिर अंग्रेज साम्राज्यको विरुद्ध आदिवासी विद्रोह भएको थियो र त्यसको नेतृत्व बीरसा मुण्डाले गरेका थिए । उपन्यास बीरसा मुण्डाको वरिपरी घुम्छ र विद्रोहको कथा भन्छ । इतिहासको यो पक्ष उपन्यासमा पढ्न पाउनु, त्यो पनि महाश्वेताका शब्दमा, गजब होइन त ?


द पास्ट एज प्रजेन्ट (रोमिला थापर)



मोदी शासनमा फरक विचार राख्ने पत्रकार, लेखक, विचारक, चिन्तकलगायत विद्यार्थीहरुलाई अर्बन नक्सल छाप लगाएर विभिन्न प्रकारले दमन गरिँदा रोमिला थापर पनि त्यो लिस्टमा परेकी थिइन् । इतिहासकार थापरका विचार नै मोदी शासनका निम्ति दुस्मन भए । अहिले कोरोनाले ढाकेर मात्र, नत्र अझै पनि यो दुस्मनी कायम छ । प्राचीन भारतीय इतिहासलाई वस्तुसंगत व्याख्या गरेर अध्ययन अनुसन्धानको नयाँ क्षितिज उद्घाटन गर्ने थापर संसारभर प्रशंसित छिन् । उनको 'द पास्ट एज प्रेजेन्ट' शीर्षक पुस्तक पढ्न म तपाईंहरुलाई विशेष आग्रह गर्दछु । कोरोना महामारीपछि संसार इतिहासको उपल्लो किनारमा उपस्थित हुनेछ, त्यतिबेलाका लागि हामीसँग वैचारिक, राजनीतिक लगायत सबै ज्ञानको अपुग छ ।


थापरको यो पुस्तकले भूतकाल अर्थात् इतिहासको बितेको खण्डलाई हामी जसरी बुझ्छौं त्यसले वर्तमान चिन्न सघाउँछ कि सघाउँदैन भनेर तपाईंलाई झक्झक्याउने छ । इतिहासको नाममा भूतकाल वास्तवमा हाम्रो वर्तमानमै बाँचिरहेको हुन्छ । जीनमा पूर्खा बाँचे जस्तै– स्वभाव, आदत, आनिबानी, संस्कार, रुचि आदिका रुपमा । यो पुस्तकले इतिहासको बारेमा वस्तुसंगत धारणा बनाउन मद्दत गर्छ । पृष्ठभूमिमा प्राचीन इतिहास नै छ (भनौं, महाभारतकाल, रामायणकाल, वैदिककाल, बौद्धकाल आदि) र इतिहासको भाष्य किन बनाइन्छ भन्नेमा बहसको चुरो छ । किताबको अन्तिम खण्डमा भारतवर्षमा महिलाको पहिचानको विकास र स्थितिबारे रोचक छलफल पनि पढ्न पाइन्छ ।


कर्नाली ब्लुज (बुद्धिसागर)



बुद्धिसागरको उपन्यास 'कर्नाली ब्लुज'को नाम त सुन्नुभएकै होला । पत्रकारितामा जम्न लागेका कवि बुद्धिसागरलाई यो उपन्यासले पूर्णकालीन लेखक बनाइदियो । हाम्रो पुस्ताको बीचबाट आएको यो एउटा प्रतिनिधि किताब हो । त्यसैले पनि म यो उपन्यास पढ्न सिफारिस गर्छु ।

अरुथोकको जस्तै साहित्यको पनि इतिहास हुन्छ । मलाईचाहिँ कुन मितिमा कसले के लेख्यो वा के उपाधि वा पद पायो भन्ने टाइपको इतिहासको भाष्यमा रुचि छैन ।


विभिन्न लेखकहरुले साहित्यको विरासत अघि बढाउँदा कस्ता मुद्दा, प्रवृत्ति, कथा, भाषाशैली र रंगढंग विकास भएछन्, त्यसले पढ्ने मानिसको मानसमा कस्तो छाप पारेछ भन्ने कुरा मेरो ऐतिहासिक विवेचनाका मूल विषय हुन् । त्यस हिसाबले 'कर्नाली ब्लुज'मा २०५०/६० को दशकको तन्नेरी पुस्ताको भाषाशैली, बोल्ने चल्ने स्टाइल, रुचिको कथा र त्यो बेलाको तन्नेरी जीवनको रंगढंग देख्न/पढ्न पाइन्छ । बाबुप्रति छोराको अनुराग धेरै छ भनेर उपन्यासका बारेमा चर्चा गरियो । त्यो अनुराग कुन रुपमा व्यक्ति भएको छ भन्ने थाहा पाउन पनि पढ्नु परेन त 'कर्नाली ब्लुज' ?

प्रकाशित : चैत्र २१, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्

राहत दिँदा नागरिकता अनिवार्य पूर्वसर्त नराख्‍न अपिल

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले लकडाउनका बेला विपन्‍न तथा कमजोर मानिसहरुलाई वितरण गर्न लागेको राहत प्याकेजमा नागरिकता प्रतिलिपिलाई अनिवार्य पूर्वसर्त नराख्‍न महिला, कानुन र विकास मञ्चले अपिल जारी गरेको छ । 

‘हामी नेपाली सबैसँग नागरिकता छैन, कतिपय एकल महिला, उनका सन्तानहरु नागरिकताविहीन छन्, नागरिकता देखाउन नसक्दा उनीहरु त छुट्ने भए, यस्तो संकटको बेला परिचय पत्र देखाउन नसकेकै कारणले राहतबाट बञ्चित हुन नपरोस्,’ मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए ।

नागरिकतासम्बन्धी हेर्दै आएको विकास मञ्‍चले अपिलमा भनेको छ, ‘आवश्यकताको आधारमा राहत उपलब्ध गराउनका लागि सबै सम्बन्धित निकायहरुलाई अपिल जारी गरेको छ, साथै राहत वितरणका लागि नागरिकतालाई पूर्वसर्तको रुपमा नलिइयोस् भनेर माग पनि गरेको छ ।’

लकडाउनको अवस्थामा कसैलाई कानुनी परामर्शको आवश्यकता परेमा टेलिफोनमार्फत कानुनी परामर्श दिनलाई विकास मञ्‍चले हेल्पलाइन सेवा समेत सञ्‍चालनमा ल्याएको जनाएको छ । हेल्पलाइनका लागि मञ्चका अधिवक्ताहरुलाई सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित : चैत्र २१, २०७६ २०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×