कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भोकाएकालाई खाना’ अभियानमा युवा

माधव घिमिरे

विराटनगर — लक डाउनको बेला छ । अति जरुरी काम नपरी हत्तपत्त बाहिर निस्कने अवस्था छैन । सक्नेले उपभोग्य सामग्री जुटाएर घरमा सुरक्षित बसिरहेका छन् । नसक्नेहरुको विचल्ली सुरु भइसकेको छ ।

‘भोकाएकालाई खाना’ अभियानमा युवा

खासगरी दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्नेहरुको विजोग हुन थालेको छ । रिक्सा चलाउने, दैनिक मजदुरी गर्ने, मागेर गुजारा गर्ने अनि अरुकोमा काम गरेर गाँस जुटाउनेहरुलाई यतिबेला समस्या छ । काम गर्न पाएका छैनन् ।


भएको पैसा सकियो । अब कसरी गुजारा चलाउने ? यस्तो समस्याले ग्रस्त भइ विराटनगर महानगरका भित्री सडक र गल्लीहरुमा अँध्यारो अनुहार लगाएर बसिरहेका निकै भेटिन्छन् ।


यही अवस्था देखेर युवा समूहले स्वःस्फूर्त रुपमा उनीहरुलाई खाना खुवाउने अभियान सुरु गरेको छ । अभियानको नेतृत्व गरेका छन् १९ वर्षीय पेरिस सुवेदीले । उनीसहितको युवा समूहले बुधबार मात्रै सय जनाभन्दा बढीलाई खाना खुवाएको छ । यसअघि मंगलबार उनीहरुले ९६ जनालाई खाना खुवाएका थिए ।


सहयोग पनि स्वःस्फूर्त जुट्ने गरेको छ । आफूले गरेका गतिविधि फेसबुकमा पोष्ट गर्छन् । अनि सहयोग गर्न चाहनेहरुले सम्पर्क गरेर उनीहरुलाई आवश्यक सामान दिने गरेका छन् । ‘धेरै सहयोगीहरुले साथ दिनुभएको छ’ सुवेदीले भने, ‘आवश्यक परे फेरि सम्पर्क गर्न भन्नुभएको छ, तर आफ्नो नाम नखुलाइदिन उहाँहरुले अनुरोध गर्नुभएको छ ।’


महानगरका विभिन्न वडा पुगेर समस्यामा परेका विपन्न वर्गलाई सहयोग गरिरहेका छन् । विराटनगर बसपार्क क्षेत्र, कलेज रोड, हाटखोला, कोसी अस्पताल आसपास, गुदरी बजार, हनुमान मन्दिर, कोसी राजमार्ग आसपास बसिरहेका विपन्नलाई खाना खुवाइएको सुवेदीले बताए ।


‘सक्दो बढीलाई खाना खुवाउने भनेर लागेका छौं’ उनले भने, ‘तर एक ठाउँबाट अर्को ठाउँ गइरहने भएकाले उनीहरुलाई स्वास्थ्य अवस्था देखिन सक्ने जोखिम पाएका छौं, जाँच्न गरी उपचार गर्ने व्यवस्थाका लागि सल्लाह गर्दैछौं ।’


बिचल्लीमा परेकाहरुलाई खाना खुवाउँदै युवा समूह । तस्बिर सौजन्यः पेरिस सुवेदी ।


सहयोगीले दिएका खाद्यान्न र अरु सामान संकलन गर्छन् । ट्राफिक चोकस्थित रोयल बिरयानी हाउसमा पुर्‍याउँछन् । त्यहाँ तीनजना कुकहरुबाट खाना बनाउन लगाउँछन् । स्वयंसेवी रुपमा खटेका उनीहरुलाई सहयोग गर्ने केही युवा पनि छन् ।


खाना तयार भएपछि सुरक्षित रुपमा लगेर विपन्नलाई खुवाउने गरेका छन् । स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिएकाले उनीहरु निश्चित समयमा सुरक्षाका साथ पुग्न पाउँछन् ।


यो समूहले यस्तो परोपकारी काम गरेको अहिले मात्र होइन । सुवेदी नेतृत्वको युवा टोलीले लक डाउन सुरु हुनुअघि जोगबनी नाकामा पुगेर भारतबाट आउनेहरुलाई सुरक्षित रहन भन्दै मास्क, सेनिटाइजर जस्ता सुरक्षाका सामान दिएका थिए । रेलमा आएका तीन सयभन्दा बढी यात्रुलाई सहयोग गरेर, नाकामा रहेको हेल्थ डेस्कमा जाँच गराएर उनीहरुले विदा गरेका थिए ।


लक डाउन हुनुअघि उनीहरुले विराटनगरको मुख्य बजार क्षेत्रमा यस्तै अभियान चलाएका थिए । सार्वजनिक स्थलमा सेनिटाइजर बनाएर सयौंलाई वितरण गरे । बनाउन पनि सिकाए । समूहमा सुवेदीलाई साथ दिनेहरु छन्, आभा अनुपमा, रञ्जित अग्रवाल, मोहम्मद जियाउद्दीन, मोहम्मद नसिम, मोहम्मद जाइज, सरफराज खानलगायत ।


विभिन्न चोकहरुमा सन्देशमूलक सूचना प्रवाह गर्न होस् वा सेनिटाइजर, मास्क वितरण गर्न उनलाई साथ दिनेमा चिरन्जीवी आचार्य, सुशील खत्री, अभिशेक गौतम, पूजा विश्वास, निर्जला गिरी, गोपाल देवकोटा, सञ्जय श्रेष्ठलगायत सहभागी थिए ।


‘हाम्रो कुनै संस्था छैन’ पेरिस भन्छन्, ‘यस्तो गम्भीर अवस्थामा युवा मिलेर केही गर्नुपर्छ भनेर लागेका हौं ।’ सेनिटाइजर बनाउन उनले स्थानीय चिकित्सकहरुसित सल्लाह लिएका थिए ।

विराटनगरकै लाइफगार्ड अस्पतालका चिकित्सकको प्राविधिक सहयोगमा महानगर र आसपासका १२ वटा मुसहर बस्ती, १४ वटा सुकुम्बासी बस्ती, वृद्धाश्रम, सडकमा अलपत्र परेकालाई राखिएको मानव सेवा आश्रमलाई पनि उनीहरुले सहयोग गरेका थिए ।


कोरोना संक्रमणको जोखिमले गर्दा उनीहरुले ट्राफिक चोकनजिक सुरु गरेको ‘लुगा बैंक’ हाल बन्द गरिएको छ । ९ महिनाअघि सुरु गरेको उक्त बैंकबाट २५ हजारभन्दा बढीलाई कपडा उपलब्ध गराएको तथ्यांक समूहको छ ।


‘सुरुमा बाढी पीडितलाई सहयोग गरेर यस्तो काम थालेका हौं’ सुवेदीले भने, ‘गाउँ–बस्तीसँगै घर जलमग्न भएर बिजोग भएका पीडितलाई खाना, कपडाजस्ता सामान पुर्‍याइदिँदा उनीहरुको मुहारमा देखिने खुसीले यस्तो काम गर्न प्रेरित गर्‍यो ।’

प्रकाशित : चैत्र १९, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?