कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुन पुस्तक पढ्ने : खगेन्द्र संग्रौलाका सिफारिस

रीना मोक्तान

काठमाडौँ — छिमेकीहरुले शंकालु नजरले परबाट चियाउन थालेका छन् । भयभित आँखाहरुमा परैबाट कोरोना सारिदेला कि भन्ने भाव हुन्छ । छिमेकीको यस्तो बदलिएको स्वभावले अचम्ममा पर्छन् लेखक/साहित्यकार खगेन्द्र संग्रौला । हो, आजको श्रृंखलाका पुस्तक सिफारिसकर्ता खगेन्द्रलाई हेर्ने छिमेकीको नजर फेरिएको छ । किनकि उनी हालै अमेरिकाबाट फर्केका हुन् ।

कुन पुस्तक पढ्ने : खगेन्द्र संग्रौलाका सिफारिस

अमेरिकाबाट फर्केको १५ दिन भयो । छिमेकीको त्यस्तो स्वभावले उनको मन शान्त छैन । 'मेरो पेट दुख्यो भने, ढाँड दुख्यो अथवा दाँत दुखेर इमर्जेन्सी अस्पताल जानु पर्‍यो भने सायद मेरो छरछिमेकी कोही पनि हुँदैन । यस्तो त्रासको सिर्जना भएको छ कि,' उनले आफ्नो अनुभव सुनाए, 'मन शान्त छैन । एकाग्र छैन । अमेरिकामा यस्तो, इटालीमा यस्तो भो भन्ने खबर सुनेर नेपालमा चाहिँ के होला भन्ने पीरलो लागिराछ ।'



अमेरिकाबाट फर्कनासाथ संग्रौला घरमै १४ दिन क्वारेन्टाइनमा बसे । यो अवधिमा कतै कोरोना संक्रमणको लक्ष्यण नदेखिएको उनी बताउँछन् । 'अमेरिकाबाट आएर बफादार नागरिक बनेर आफैं क्वारेन्टाइनमा बसें । हिजोमात्रै मेरो क्वारेन्टाइन समय सकियो । सरकारले न डाक्टर पठाए, न नर्स । चेकअप पनि भएको छैन । तर, म एकदम ठीकठाक छु' उनले भने ।


आजको श्रृंखलामा लकडाउनमा बसेका पाठकका लागि उनले ५ पुस्तक सिफारिस गरेका छन् । यस्ता छन् उनका सिफारिस :


लभ इन्द द टाइम अफ कोलेरा



यो एकदम उत्कृष्ट पुस्तक छ । कोलेरामा भएको आतंक र अहिलेको आतंक केही मिल्ने हुनाले अंग्रेजी पढ्न सक्नेहरुका लागि यो पुस्तक रुचीकर हुनसक्छ । ग्याब्रियल गार्सिया मार्खेजले लेखेको यस पुस्तकमा एक व्यक्तिको एकतर्फी प्रेम छ । उनले जिन्दगीको ७० वर्ष प्रेमिकाको नाममा बिताउँछ । ८० को हुँदा उक्त प्रेमिकासँग उसको भेट हुन्छ । आदर्श प्रेममाथि लेखिएको यो पुस्तक पढ्न सिफारिस गर्छु ।


डन क्वीकसट



१७ औं शताब्दीको स्पेनको उपन्यास हो यो । पूराना जमानाका पतित कुलिनहरुका सपनाहरुका विषयमा लेखिएको एकदमै रोचक पुस्तक हो । यसलाई स्पेनिस भाषामा 'डन्ट केओवट' नै भन्छ । अंग्रेजीमा यसलाई हामी 'डन क्वीकसट' भन्छौं । सरभान्टेजले लेखेको यो पुस्तक उपन्यासको इतिहास र परम्पराको आदि उपन्यास मानिन्छ । उपन्यासको संरचना, संवाद, कथा र चरित्रको निर्माण गर्ने कलाको सबैभन्दा प्रारम्भिक उपन्यास मानिन्छ यसलाई । पूराना जमानाको, आफ्नो समय सिद्धिएको, आफ्नो युग सकिएको कुलीनहरुको कथा हो यो । एकदम सजिलो भाषामा छ । गजब्ब पुस्तक छ ।


घुम्ने मेचमाथि अन्धो मान्छे



यस्तो समयमा भूपि शेरचनको 'घुम्‍ने मेचमाथि अन्धो मान्छे' पढ्दा पनि हुन्छ । यस्तो बेलामा छोटो मिठो पढ्ने खोज्नेहरुका लागि यो पुस्तक उपयुक्त हुन्छ । नेपाली साहित्यमा रुचि राख्नेहरुका लागि सबैभन्दा परिचित र प्रियमध्ये एक पुस्तक हो यो । यसलाई आधुनिक कविताहरुको कोषेढुङ्गा भनिन्छ । यो एउटा ट्रेन्डसेटर पनि हो । भूपि शेरचनले पूराना कविताको शास्त्रीय परम्पराभन्दा एकदम पृथक रुपमा, जनताको दैनिक जीवनको बोलीचालीको भाषालाई कवितात्मक र लयात्मक रुपबाट व्यक्त गरेका छन् । पढ्नलाई छोटो र रुचीकर छ ।


मोदी आइन



बिपी कोइरालाको यो पुस्तक मेरो मनपर्ने पुस्तकमध्ये पर्छ । यो पुस्तक सानो छ । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसमा समेटिएको छ ।


कोही किन बर्बाद होस्



विजय मल्लले लेखेको यो एउटा सानो पुस्तक हो । नाटकमा आमा नभएर बरालिएको एक बच्चालाई एक विद्यालयको शिक्षिकाले आफ्नो बच्चाको रुपमा ग्रहण गर्छिन् । त्यो बच्चा आमा नभएको हुनाले, लाडप्यार नभएको हुनाले, शिक्षादिक्षा नभएको हुनाले एकदम उपद्रयाहा छ । फूलहरु नष्ट गर्ने, छिमेकीका कुखुराको चल्ला मार्दै हिँड्ने गर्छ । त्यो बालकको दुष्प्रवृतिलाई परिवर्तन गरेर एक असल मान्छेमा उसलाई रुपान्तरण गरिन्छ । त्यसैले म यसलाई सानो कथा भएको ठूलो पुस्तक हो भन्ने मत राख्छु ।


धुपी, सल्ला र लालीगुँरासको फेदमा



पारिजात दिदीको बाल्यकालदेखि किशोर भएसम्मका संस्मरणहरुको एउटा बयान हो यो । एकदम सानो पुस्तक छ । तर, पारिजात भन्ने लेखकको व्यक्तित्वको निर्माण कसरी भयो, उनको मनोविज्ञानको निर्माण कसरी भयो, पारिजात जस्तो थिइन् त्यस्तो कसरी बनाइयो भनेर बुझ्नको लागि यो संस्मरण एकदमै उपयोगी लाग्छ मलाई ।

प्रकाशित : चैत्र १९, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?