कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लकडाउन’लाई कुमार नगरकोटीका पुस्तक सिफारिस 

रीना मोक्तान

काठमाडौँ — ‘लकडाउन’ अवधि थपिएको छ । पक्कै तपाईं आफ्नै घरभित्र लक भएर बस्नु भएको छ । तर आजका पुस्तक सिफारिसकर्ताको लकडाउन अनुभव केही फरक छ । हुन त उनी बेलाबेला पोखरा पुगिरहन्छन् ।

‘लकडाउन’लाई कुमार नगरकोटीका पुस्तक सिफारिस 

उनलाई मनपर्ने ठाउँ हो पोखरा । यसपालि पोखरा पुगेकै समयमा सरकारले लकडाउन घोषणा गर्‍यो । विगत ८ दिनदेखि उनी पोखरामा छन् । उनी हुन् 'मिस्टिका', 'अक्षरगञ्ज', ‘ज्ञ’, ‘घाटमाण्डु’लगायतका पुस्तकका लेखक, कुमार नगरकोटी ।


अन्य समय पनि घरबाट कमै बाहिर निस्कने उनका लागि कोरोना पनि 'असान्दर्भिक' छन् । ‘मेरो लागि कोरोना भनेको अस्तित्वमै छैन । मेरो लागि यो असान्दर्भिक हो । मैले त्यसलाई एक प्रतिशत पनि मतलब गरेको छैन । मैले वास्तै गरेको छैन,’ उनले भने । नगरकोटीले सिफारिस गरेक पुस्तक :


ध.च गोतामेका संस्मरणहरु



नेपाली भाषाका लागि, धनुषचन्द्र गोतामेको संस्मरण संग्रहहरु पढ्नुपर्छ । 'तीनबास', 'सम्झनाका गल्छेडाहरुमा', 'कालन्तर', 'उत्तरोत्तर' जस्ता संस्मरणहरु छन् । उनका उपन्यासहरु पनि छन् । 'घामका पाइलाहरु' प्रसिद्ध उपन्यास भइहाल्यो । तर, उनका उपन्यासहरु मलाई त्यति रुचिकर लागेनन् जति नेपाली भाषाको सौन्दर्यताका लागि उनका संस्मरणहरु मनपरे ।

उनले नेपालको प्रशासनिक क्षेत्रका बिसंगति, सौन्दर्य र कुरुपता आफ्ना संस्मरणमा राखेका छन् । त्यस्ता विषयलाई उनले आफ्नो जीवनको व्यक्तिगत भोगाइबाट प्रस्तुत गरेका छन् । उनको लेखाई एकदम राम्रो छ । अब प्रशासन भनेको त बैराग लाग्ने विषय हो नि ! अरु लेखकले म घुम्न गएँ, यताउती भनेर गन्थन गरेर लेख्छन् । तर, उनी ठाउँ विशेष, घुमेका ठाउँहरुका संस्मरणहरुलाई मनमित्र मन्थन गरेर लेख्छन् ।


बेलायतिर बरालिँदा



नेपाली भाषाका लागि तारानाथ शर्माका निबन्धसंग्रहरु पनि पढ्दा हुन्छ । तर, अहिले म उनको 'बेलायततिर बरालिँदा' पढ्न सिफारिस गर्छु । त्यसमा उनले बेलायत बसाइँमा भोगेका भोगाईहरु समावेश गरेका छन् । उनको भाषामा पनि आनन्द छ । सुन्दर छ । लेखकका हिसाबले यस्ता पुस्तकले मेरो भाषा झनै राम्रो बनाउँछ । सायद २५/३० वर्षअगाडिको बेलायतको चित्रण उनले पुस्तकमा गरेका छन् । झर्रो भाषा छ । एकदम आकर्षक छ पुस्तक । नेपाली लेखकका लागि पनि यो पुस्तक उपयुक्त छ । एकदम मिठो संग्रह हो यो ।


भैरव अर्यालका व्यङ्ग्य



भैरव अर्यालका सम्पूर्ण व्यङ्ग्य पढ्दा हुन्छ । साना साना पुस्तक छन् । मैले पछिल्लो पढेका पुस्तकहरुमा उनको व्यङ्ग्य मन पर्‍यो । उनका सबै व्यङ्ग्यहरुको संग्रह छ, त्यो पढ्दा हुन्छ । भैरव अर्याल लामो समय मैले बेवास्ता गरेका लेखक । मेरो आफ्नो लेखन शैली उनको भन्दा फरक भएर होला, खासै पढिनँ । २ वर्ष अगाडि मैले उनका सबै पुस्तक पढें । हाँस्य चेतना यति मिठासपूर्ण रुपले उनले आफ्ना पुस्तकमा पस्केका छन् । उच्चस्तरको हाँस्य चेतना छ उनको लेखाइमा । मलाई पछुतो पनि लाग्यो, मैले धेरै ढिला गरें भैरवलाई पढ्न भन्ने लाग्यो । मै

ले एकलटमै उनका हाँस्यव्यङ्ग्य पढें । एकदम आनन्दित महशुस भयो । मानसिक आनन्दको लागि पनि यो समयमा उनका व्यङ्ग्य पढ्दा उपयुक्त हुन्छ । यो समयमा सबै मानिस लकडाउनमा छन् । नेपालीहरुलाई त फेरि गफ गर्नुपर्छ, अहिले गफ गर्न पाएका छैनन् । कतिपय मानिसहरु यसपछि डिप्रेसनमा जालान् जस्तो पनि लाग्छ मलाई । अहिले मानसिक डर छ । यस्तो अवस्थामा भैरव अर्यालले उद्धार गर्छन् । मानसिक सन्तुष्टि त छँदैछ, उनको भाषा पनि बुलन्द छ ।


क्लास वारफेयर



मैले भर्खरै पढेर सिध्याएँ, नोम चम्स्कीको 'क्लास वारफेयर' । उनी फिलोसफर हुन् । भाषाविद हुन् । यो पुस्तकचाहिँ अन्तर्वार्ताको संग्रह हो । संसारको राजनीतिक दृश्यहरु यसमा समेटिएका छन् । नोम चम्स्कीको पुस्तक पढेका मानिसहरुलाई यो पुस्तक राम्रो लाग्न सक्छ । उनका प्रशंकहरुका लागि यो पुस्तक आनन्ददायी छ । उनी २१ औं शताब्दीका विद्वान हुन् । उनीसँग सम्बन्धित विभिन्न सानासान कुराहरु, उनको मनस्थितिहरु समेटिएको यो पुस्तकमा ६ वटा अन्तरवार्ता समावेश छन् ।


गन्स, जम्स एण्ड स्टिल



अमेरिकन इतिहासवीद् जेर्ड डायमण्डले लेखेको यो पुस्तकमा मानव सभ्यतामा भूगोलको कत्तिको योगदान हुन्छ भनेर लेखिएको छ । जेर्ड डायमण्ड अमेरिकन मानवशास्त्री हुन् । मानव सभ्यताको विकासक्रममा प्लेगले कसरी कुनै समुदाय नै नष्ट पार्‍यो ? त्यसले क्षति पुर्‍याए पनि मानिसले कसरी विकास गर्दै आयो ? भनेर उनको पुस्तकमा वर्णन गरिएको छ । कोरोनाको त्रासले गर्दा अहिले हामी लकडाउनमा छौं, यस्तोबेला यो पुस्तक पढ्न उपयुक्त हुन्छ । मानव सभ्यताको इतिहासदेखि वर्तमानसम्म हेर्नका लागि यो पुस्तक पढ्न हुन्छ । यो पुस्तक पढ्न धैर्य चाहिन्छ ।

प्रकाशित : चैत्र १८, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?