कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा प्रोफेसर : मण्डिखाटार डायरी

अभि सुवेदी

काठमाडौँ — यसै पनि एक्लै काम गरिबस्ने बानी छ, मेरो । धेरैपटक सम्पर्कहरूबाट टाढा बसेर काम गरेका अनुभव छन् । यसपालिको कोरोना महामारीको कारणले परेको लकडाउन एउटा अर्कै विषय रहेछ, अर्कै किसिमको अनुभव रहेछ । 

लकडाउनमा प्रोफेसर : मण्डिखाटार डायरी

ठाउँ त्यही हो । यो मण्डिखाटारको अग्लो थलो हो । यहाँबाट उपत्याकाका पर परका केही ‘ल्याण्डमार्क’ देख्न सकिन्छ । सिधै अगाडि कपन पहाडको थुम्को छ । सल्ला र देवदारका रुखहरूभित्र देखिने गुम्बाको ‘अपिल’ धार्मिकभन्दा पनि गीतिमय छÙ कविताजस्तो छ । अझ उतातिर पर नगरकोटको सबभन्दा अग्लो पहाड देखिन्छ । सोझै उत्तरतिर शिवपुरीको पहाड छ । जंगल, पोथ्रा र नागीगुम्बाको उकालो अहिले शान्त, शुभ्र र सुन्दर देखिन्छ । प्रदूषण हराएको उपत्यका एउटा परमसुन्दर नगरी, एउटा आदिम चेतना ब्युँझाउने भूचित्र छ ।


म एउटा स–सानै थुम्कोको आफ्नो घर परिवेशमा लकडाउनमा छु । एक्लै छैन । सधैं व्यस्त रहने सलिल र गिरीश पनि सँगै लय खोज्न संगीत गर्छन् । कहिले डिजेरी डु, मादल र गितारका जाम सेसनहरू एकाएक बनिन्छन् । बिन्दु र मेरा आफ्नै लय छन् । सेवा (बुहारी, गिरीशकी श्रीमती) लकडाउनमा परेर कीर्तिपुरमा बाबुआमा गोबिन्द र अञ्जना म्याडमसँग भएकीले अहिले चार जनामात्र छौं, घरमा । भर्खरै बिहे भएको गिरीश कालिदासको ‘मेघदूत’ मा बादललाई कैलाशसम्म सन्देश पठाएजस्तै विद्युतीय दूतद्वारा सेवासम्म दिनको अनेकपटक आकाश–सन्देशहरू पठाइरहन्छ । डिजिटल हुम्यानिटीको प्रयोग गर्छु म, चाहिएसम्म तर युवापुस्ता भर्चुअल यथार्थलाई जीवनले नियन्त्रण गरेर प्रयोग गर्छन् । मलाई किनकिन अहिले कवि नाटककार कालिदासको प्रसंग ल्याउन मन पर्छ । शुभ्र हिमालहरू अहिले खुलेका छन् । यिनलाई हेरिबस्ने म कालिदासको ‘कुमार सम्भव’ को ‘अस्त्युत्तरस्यां दिशि देवतात्माहिमालयो नामनगाधिराजः’को शाश्वत लय कहिले पुरानो पाउँदिन । जे होस्, हामी सबै लकडाउनमा बस्ने एउटा न एउटा आधार बोकिबस्छौं ।


शान्ति छ, थाँती राखेका लेखपढका काम गर्न बस्छु तर भित्र एउटा वैश्विक तरंग चलिरहन्छ । जति आधुनिक साहित्य र चित्रकलाले रञ्जित भए पनि म फर्कीफर्की रोमान्टिक कविहरूको कवितामा कुनै अर्थ, कुनै सहारा खोज्न पुगिरहन्छु । त्यस्तै अहिलेको लकडाउनमा म अंग्रेजी कवि विलियम वर्डस्वर्थको ‘टिन्टर्न गिर्जागरभन्दा केही माइलमाथि’ (जुलाई, १७७८) कविता सम्झिन्छु । त्यो सुन्दर र शान्त परिवेशमा कवि ‘मानवताको अचल, उदास संगीत’ सुन्छन् । मलाई अहिले ठीक त्यस्तै भएको छ । आफ्नो काम गर्न बस्छु । तर कोरोना महामारीले विश्व आक्रान्त भएको, टाढा र नजिकको दूरी साँघुरिएको अनि यो लकडाउन नै त्यसैको प्रलय अभिव्यञ्जना भएको कारणले भित्र मानवताको त्यही अचल र उदास संगीत बजिरहेको सुन्छु ।


पढ्न नपाएका किताबहरूका चाब बनाउँछु, मानौं म के–के न गर्न आँटेको छु । तर जर्मन कवि पल सेलानका कविता र भानुभक्तको ‘रामायण’, कार्ल मार्क्सको ‘अठारौं ब्रुमेर’ र कोमलनाथ अधिकारीको ‘कोमलगीता’ मात्र बाँकी बस्छन् । अरु सबै फेरि थन्क्याउँछु । यी रचनाहरू किन पहिला पढ्न मन परेको हो, विस्तारै थाहा पाउँछु । जर्मनको नाजी क्याम्पमा बाबुआमा मारिएका तर आफू बाँचेका पल सेलान मानवताको उदास संगीत बोकेर लेख्थे । आमाले मेरा पिता स्वर्गे भएपछि एक्लै सात जना छोराछोरी हुर्काउँदा भोग्नुभएका पीडाहरूसँग जुध्दा भानुभक्तको रामायणलाई शक्तिजस्तो प्रयोग गर्नुहुन्थ्यो ।


कार्ल मार्क्स इतिहासमा शक्तिलोलुपहरू कसरी विगतका शासकका अभिनय गर्छन् र त्यसक्रममा नरनारीलाई दुःख दिन्छन् भन्ने कुरा राख्न चाहन्थे । यो किताबको सुरुमै उनले भनेका छन्, ‘हेगेलले कतै भनेका छन् सबै ठूला वैश्विक महत्वका ऐतिहासिक तथ्य र व्यक्तित्वहरू दुईपटक देखा पर्छन् । तर उनले भन्न बिर्सेछन्, ती पहिलोपटक ट्र्याजेडी भएर आउँछन्, दोस्रोपटक ती उपहास भएर आउँछन् ।’ हिजो तिनले मानिसको त्रासद इतिहास बनाए, आज तिनैले मानिसलाई परम दुःख दिने तर उपहास वा ठट्टाको अभिनय गर्ने कर्म गरिरहेका छन् । अनि बीपी कोइरालाले ‘मोदिआइन’को छोटो भूमिकामा ‘गीता’ मा धर्मइतरको सन्देश मैले पाउन सकिनँ भने पनि कोमलनाथ अधिकारीको अनुवादका लय र भाष्यमा संकटसँग जुध्ने विवेक शक्ति भेटिने क्षणका अनुभव पाइन्छन् । त्यसले गर्दा यो किताब पनि मेरा डेस्कमा फेरि आएको थाहा पाउँछु ।


फोनहरू आइरहन्छन् । त्यसमा मेरा भूतपूर्व विद्यार्थीहरूका फोनमा धेरै साहित्य सिद्धान्तका कुरा आउँछन् । उनीहरू मिसेल फुकोको विचारहरू फेरि छलफल गर्न चाहन्छन् । फ्रान्सेली दार्शनिक जाक डेरिडाको विनिर्माणको धारणा अहिले जोड्न चाहन्छन् तर दर्शनहरू मानव चिन्तन र कर्मसँग जोडिन्छन् । प्रकृतिको महामारीसँग जोडिँदैनन् । पछिबाट जोडिन्छन् । प्रलयका सिद्धान्त अनि त्यसबाट धर्म र मानिसका कर्मका कुरासँग जोडिन्छन् । अहिले विनिर्माणको मानवइतर स्वरुप छ ।


केही दिनपहिले बिडम्बनाको कुरा । एउटा विद्यार्थीले फोन गरेर भने, ‘सर, जाक डेरिडाकी श्रीमती मार्गरिट कोरोना भाइरस लागेर ८७ वर्षको उमेरमा बितिछन् नि, थाहा पाउनुभयो ?’ यिनैले फोन गरेका थिए, ‘सर, डीपी भण्डारी सर बितेछन् नि !’


दौडिँदै गएर ती महान् अराजक सिर्जनशील मानव र मित्रको समाधिमा फूल चढाएको थिएँ । तर डेरिडाकी श्रीमती कोरोना भाइरसले बितेको कुराले किञ्चित चकित भएको छु । डेरिडाले भने– अर्थहरू मानिएका कुराका जोडबाट निस्किने हुन् र ती त्यसै खुस्किसकेका हुन्छन् । कुनै कुराको पनि अर्थ कहाँ सधैंलाई काम लाग्ने हुन्छ र ? लु, यो अर्थ भेटियो भनिबस्नु पनि व्यर्थ हुनेरहेछ । भन्दानभन्दै त्यो अर्थ चिप्लिसकेको हुने रहेछ । यसो भनीभनी विद्यार्थीहरूसँग निकै दिनकाल बिताएका हामी अहिले न स्थापित अर्थ न भत्केको अर्थ समातेर बसेका छौं । अहिले कोरोनाले आक्रान्त विश्वमा अर्थहरू फुस्केर पहाडमा चलेको पहिरोजस्तो भत्किँदै गएका छन् । यो बेला नसोचेका कुराहरू हुन्छन् ।


घरै बस्दा शरीरलाई अभ्यास पुग्दैन भनेर योग आसन गर्ने, भित्रै हिँड्ने अनेकौं कुराका सल्लाह पाइएका छन् । शेखर खरेलका छोरा सम्यकको ब्रतबन्धको भेलामा मजाकै जिउडाल भएका हरि शर्मा र लुरे किसिमकै शरीर भएका सञ्जीव उप्रेतीले एउटा मन्त्र सिकाइदिए । ‘मोबाइलमा हिँडेको नाप्न एप्स हाल्नु अनि घरैमा हिँड्नु, कति पाइला वा माइल हिँडिएछ भनेर बीबीचमा हेर्नु, तपाईंको कल्याण हुन्छ, अभि सर !’


यो कुरा लकडाउनपूर्वको हो । त्यो बेला यो चलाइन तर हरि भाइ र सञ्जीव भविष्य द्रष्टा रहेछन् भनेर लकडाउन भएपछि थाहा पाएँ । अहिले आफ्नो लेखपढको काम गरिसकेपछि मोबाइल गोजीमा हालेर भित्रै हिँड्छु अनि केही समयपछि ‘ममः’ भनेर हेर्छु, तर बल्लबल्ल तीन किलोमिटर हिँडेको हुन्छु । एक दिन त निकै हिँडें, तैपनि खासै माइलेज बढेनछ । अनि बैरागी काँल्दाइको ‘कत्ति पुगिनछु !’ भन्ने कविता दोहोर्‍याएर थचक्क बसें ।


अहिले लकडाउनको युगमा जति मानिस भित्र बसेको इतिहास छैन । अहिले लकडाउनको युगमा जति मानिस पैदल हिँडेको इतिहास पनि छैन । मानिसको योभन्दा गतिको बिडम्बना भएको युग सायद कहिल्यै आएन । बम्बईदेखि बिहारसम्म पुग्न मानिस हिँडेका समाचार हेरिबस्छु । नेपाली पनि हिँडिरहेका छन् । बस्ने र हिँड्नेका गन्तव्य एउटै नहोलान् तर चिन्ता एउटै छन् । अहिले झन्, सबै मानिसलाई प्रेम गरेर भित्रैदेखि बोल्नुपर्छ– वसुधैव कुटुम्बकम् !

प्रकाशित : चैत्र १८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?