कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा पढ्ने पुस्तक : आजको सिफारिस कल्पना बान्तवाको 

रीना मोक्तान

काठमाडौँ — आज लकडाउनको सातौं दिन । पक्कै तपाईँलाईमध्ये कतिलाई फेरिएको यो दैनिकी प्रिय लाग्न थाल्यो होला । घरभित्र थुनिएर पनि पुस्तकमा रमाउनेहरुका लागि त सातौं दिन थप पुस्तक पढ्ने अवसर हो । यो समयलाई कस्ता पुस्तक ठीक होलान् त? 

लकडाउनमा पढ्ने पुस्तक : आजको सिफारिस कल्पना बान्तवाको 

यो श्रृंखलामा हामीले अहिलेको समयका चर्चित लेखकहरुका सिफारिस प्रस्तुत गरिरहेका छौं।

प्रत्येक दिन फरक लेखकले आफूलाई मनपरेका कम्तीमा ५ पुस्तक सिफारिस गर्नेछन्। यो श्रृंखलाका चौथो सिफारिसकर्ता लेखक हुन्- कल्पना बान्तवा । 'कायाकल्प' उपन्यासकी यस्ता छन् उनका रोजाई ।


घामका पाइला

यो मेरो एकदम मनपर्ने पुस्तक हो। ध.च गोतामेले लेखेको यो पुस्तक प्रत्येक नेपालीले पढ्नुपर्छ भन्ने लाग्छ । मलाई प्रिय लाग्ने पुस्तकहरुको एक नम्बरमा यो आउँछ । यो पुस्तकले मदन पुरस्कार पाएको हो । यो पुस्तकमा वीरगन्ज सहर सुरु हुँदै गर्दाको कथा छ । भर्खर सहर सुरु हुँदै गरेको ठाउँ र गाउँको बीचको कथा छ । तराईं र पहाडमा बस्ने नेपालीहरुबीचको सम्बन्ध, त्यसको व्याख्याशिल्प एकदमै उम्दा छ । मलाई लाग्छ यो पुस्तक म जतिपटक पनि पढ्न सक्छु । यसमा निम्न वर्गीय परिवारको कथा छ । घरको मुली हजुरबुवा दमको रोगी हुन्छ । वीरगन्ज अस्पताल नजिकै हुने भएर उनीहरु जिविका चलाउन त्यहाँ बस्न बाध्य हुन्छन् । संघर्ष गरेर एकदम दु:ख गरेर बाँचिरहेको हुन्छ । वीरगन्जमा रेलवे सेवा कसरी सुरु भयो ? भर्खर सहर बन्दै गरेको वीरगन्जको कथा यसमा समेटिएको छ । म तराईंमा जन्में, हुर्कें । मजस्तो मान्छेलाई एकदम मनपर्छ यो पुस्तक ।


अलिखित

ध्रुवचन्द्र गौतमको 'अलिखित'ले पनि मदन पुरस्कार पाएको हो । उनी ध.च गोतामेका भाइ हुन् । यो पुस्तक अन्त्यमा क्लिस्ट पनि छ । खानालाई धौ-धौ पर्नेहरुको जीवनमाथि उनले यति मिठो लेखेका छन् । बडा मज्जा आउँछ पढ्न । त्यहीमाथि ह्यूमर पनि मिसाएको छ ।


माधवी

'माधवी' पुस्तक एकदम गहिरो छ । पढ्नुपर्ने पुस्तक हो यो । मदनमणि दीक्षितको यो पुस्तक गम्भीर पाठकहरुले पढ्नुपर्छ । नेपाली साहित्यको मानक नै मान्नुपर्छ 'माधवी'लाई । पढ्न गाह्रो छ, सँस्कृत शब्दहरु एकदमै धेरै छन् । हुन त त्यसमा मानेहरु राखिएको छ । तर, त्यतिले पुग्दैन । एकदम धैर्य गरेर पढ्नुपर्छ । पढ्दै गएर बुझ्दै गएपछि यस्तो मज्जा आउँछ, बाफरे ! हाम्रो नेपालमा मदनमणि दीक्षितजस्ता व्यक्ति पनि हुनुहुन्थ्यो है भन्ने अनुभव हुन्छ पाठकलाई । खासमा कथा गालब र माधवीको मात्र हो । उत्तरवैदिक काल, कृषि भर्खर सुरु गर्दै गरेको बेलाको कथा हो यो ।


उलार

नयनराज पाण्डेद्वारा लिखित 'उलार' सानो पुस्तक छ । एक बसाइमा सकिने यो पुस्तक पनि पढ्नै पर्ने पुस्तक हो । यसमा नेपालगञ्जको कथा छ । टाङ्गा चलाउने एक मधेसी युवकले आपत परेर काठमाडौंमा नेताहरुलाई भेट्न आउँदा के-कस्ता हन्डर खेप्छ, कस्तो सकस खेप्छ ? गाउँमा पैसा आवश्यक पर्दा दाइभाउजूले कसरी सहयोग गर्छन् ? अन्त्यमा खाली हात काठमाडौंबाट फर्कँदाको त्यो संघर्ष, त्यो वेदनाको कथा लेखकले यति राम्ररी लेखेका छन् । हरेक नेपालीले पढ्नुपर्छ यो पुस्तक ।


दी ब्रिजेज अफ मेडिसन काउन्टी

रोवर्ट जेम्स वालरले लेखेको यो पुस्तक सन् १९९२ मा प्रकाशित भएको थियो । त्यसपछि सन् १९९५ मा यसमाथि फिल्म पनि बन्यो । एकदमै राम्रो छ यो पुस्तक । पति र दुई सन्तानसहित अमेरिकाको आइओवामा बसिरहेकी गृहणीको जीवन मोनोटोनस छ । अचानक एकदिन नेसनल जियोग्राफीकका फोटोग्राफर त्यहाँ आउँछन् । त्यसपछि एक्स्ट्रा म्यारिटल अफेयर सुरु हुन्छ । तर, यति राम्रो छ । यति न्याय दिएर लेखेको छ, प्रेम भन्ने कुरा जतिखेर जोसँग जहिले पनि हुनसक्छ भनेर । त्यसपछि उनी दुईको जिन्दगी परिवर्तन हुन्छ । उनीहरु सँगै बस्दैनन् । केही क्षणका लागि मात्र उनीहरु सँगै हुन्छन् । एकदमै गहिरो प्रेम हुन्छ । साह्रै कलात्मक रुपले लेखिएको छ यो पुस्तक । त्यसैले मलाई मनपर्ने मध्यको पुस्तकमा पर्छ यो ।

प्रकाशित : चैत्र १७, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?