कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद राईको लकडाउन डायरी- जनतालाई ढाडस दिने काम गरौँ

'महामारीको बेला आदेश पालन नगर्नेलाई राज्यले डण्डा लगाएर भए पनि परिस्थितिलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ'

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले मुलुकलाई लकडाउन गर्नु पहिले नै म नेपालगन्ज आइसकेको थिएँ । कोरोनाको त्रास यहाँ फैलिइसकेको थियो ।

सांसद राईको लकडाउन डायरी- जनतालाई ढाडस दिने काम गरौँ

कोरोनाबाट बच्‍न विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने सन्देश यहाँ पनि पुगिसकेका थिए । मानवबाट मानवमा सर्ने रोग भएकाले सावधानी अपनाउनुपर्ने भन्‍ने सन्देशहरू प्रचार भइरहेका छन् ।

सन्देशहरू प्रचामा थिए तर यसअनुसार स्थानीय तह र संघीय सरकारका निकायका काम चित्तबुझ्दो थिएनन् ।

साबुनपानीले हात धुन भनिएको थियो । तर, संक्रमित व्यक्तिले धारा, ट्यांकी छोयो भने संक्रमण फैलिन्छ भन्‍नेबारे सचेतता अपनाइएको थिएन । यहाँ आएपछि हामीले सार्वजनिक स्थान र नगरपालिकाभरी डिसइन्फेक्ट गर्ने काम गर्नुपर्ने योजना बनायौं । हामीले बजार डिसइन्फेक्ट गरेपछि मुलुकका अन्य स्थानीय तह र निकायले पनि हामीलाई पछ्याएका छन्, जुन राम्रो काम हो ।

लकडाउनको पहिलो दिन डिसइन्फेक्ट गर्ने कामको सुरुवात अस्पतालबाट गरेका थियौं । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजका भवन, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, एययरपोर्ट, भन्सार कार्यालय, भारतसँगका नाकामा रहेका भवनमा डिसइन्फेक्ट गर्न लगाएँ ।

लकडाउनको दोस्रो दिन आउटडोरमा डिसइन्फेक्ट गर्न लगाएँ । यसका लागि डिसइन्फेक्ट गर्ने औषधि राखेको ८ ट्यांकर पानीको प्रयोग भयो ।

यो मौसमी ज्वरो, रुघाखोकी, लामखुट्टेको टोकाइबाट ज्वरो आउने, डेंकुको प्रकोपको संक्रमण हुने बेला पनि हो । यी संक्रमण भएका व्यक्तिले थुकेमा, खकारेमा, कुनै वस्तु छोएमा, केही खानेकुराका खोल फालेमा पनि त्यसमा लामो समयसम्म किटाणु रहेका हुन्छन् । ती वस्तुमा कीटाणु जीवित रहन्छन् र अर्कोमा सर्छन् ।

यी कुरालाई पनि मध्यनगर गरेर हामीले सार्वजनिकस्थल तथा सहर डिसइन्फेक्ट र स्यानिटाइज गर्ने काम गरेका हौं । यो कामको सुरुवात पहिला मैले भारतीय भेटनरी चिकित्सकसँग सल्लाह गरेको थिएँ । भारतमा त्यही राति नै आदेश जारी गरेर कीटनाशक औषधि छर्ने काम सुरु गरिएको रहेछ । सिमानामा भएको कारणले त्यहाँबाट बुझेर यता लागु गर्न थालेका हौं ।

८० प्रतिशत मानिस मौसमी ज्वरोलगायतका बिरामीका कारण पनि 'कोरोना भयो' भन्‍ने शंकामा पनि अस्पताल पुग्‍ने गरेका छन् । जसका कारण कोरोना संक्रमित नभएको व्यक्तिमा पनि संक्रमण फैलिने शंका भयो । स्वास्थ्यकर्मी पनि ठूलो भीड देखेर तर्सिने भए । अर्कोतिर हाम्रोमा कोरोना परीक्षण कीट छैनन् ।

हामीले गरेको कामले सकमरात्मक सन्देश गएको छ । डिसइन्फेक्ट गर्ने औषधिको पनि अभाव छ तर लगभग नगरपालिका लगायतका सार्वजनिक क्षेत्रलाई डिसइन्फेक्ट गर्ने काम गरेका छौं ।

मेरो निर्वाचन क्षेत्रमा दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने व्यक्तिहरूलाई खाद्यान्‍नको अभाव छ । मैले आफ्‍नो निर्वाचन क्षेत्रमा खानाको अभाव कसैलाई नहोस् भनेर चामल, दाल र नुन उपलब्ध गराउने भएको छु । यसका लागि ५ जनासँग सम्पर्क गर्न भनेका छौं ।

यी काम मैले व्यक्तिगत खर्चमा गरिरहेको छु । धेरै गर्न सक्‍ने अवस्था छैन । अन्य स्थानीय तह र पार्टीका नेता-कार्यकर्तालाई आह्वान गरेको छु कि, तपाईंहरूको छरछिमेकमा कोही दैनिक ज्यालादारीमा काम गर्नेको परिवार भोकै बस्‍नुपर्ने अवस्था सिर्जित नहोस्, मद्दत गर्नुस् ।

हामीले कोरोना भाइरसको श्रृंखला तोड्‍नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ । हामी नेपालीहरूमा यसको कमी देखिएको छ । सांसदका रूपमा यस्तो कमेन्ट गरे नराम्रो पनि सुनिएला तर, महामारीको बेला आदेश पालन नगर्नेलाई राज्यले डण्डा लगाएर भए पनि परिस्थितिलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ ।

खाली सडकमा गएर सेल्फी खिच्‍ने, मलाई केही भएन भनेर सेल्फी खिचेर सामाजिक सञ्जा‍लमा राख्‍ने काम भइरहेको छ । कोरोनाको गाम्भीर्यतालाई बुझ्‍न सकेका छैनौं, लकडाउनको आवश्यकतालाई अनुशरण गर्न सकेका छैनौं । प्रशासन र राज्य संयन्त्र पनि सुरुमा निरीह अवस्थामा रहे । नियम र कानुन पालना नगर्नेविरुद्ध राज्य सख्त भएर प्रस्तुत हुनुपर्छ । अत्यावश्यक काम बाहेक भीडभाड गर्नेप्रति राज्यका सुरक्षा निकाय शख्त हुनुपर्छ ।

नेपालगन्जमा साँझ र बिहान अनावश्यक भीड हुने गरेको छ । लकडाउनको तेस्रो दिनबाट प्रशासन अलि कडा रूपमा प्रस्तुत भएको छ । बल प्रयोगको प्रभाव परेको होला । राज्यले आवश्यक पर्‍यो भने बल पनि प्रयोग गर्नुपर्छ ।

कोरोना प्रभावित मुलुकहरूले यसविरुद्ध लड्‍नका निम्ति बजेट छुट्याएका छन् । हामी दातृ निकायमा मात्रै भर पर्ने हो कि खर्च हुने नसकेको बजेट कोरोनाविरुद्ध लड्‍न सरकारले खडा गरेको कोषमा जम्मा गर्ने भन्‍ने छ । सरकारले अत्यावश्यक सेवा बाहेकको बजेट कोरोनासँग लड्‍नका लागि त्यो कोषमा स्थानान्तरण गर्नुपर्छ । विकासभन्दा पनि यो महामारीसँग लड्‍नुपर्ने आवश्यकता आइलागेको छ ।

प्रशासन र स्थानीय तहबाट अहिले अपरिपक्व कामहरू भइरहेका छन् । भारतका कोरोना संक्रमण धेरै भएका राज्य र सहरहरूबाट मानिसहरू सीमानाका भएर प्रवेश गरिरहेका छन् । उनीहरू गाउँघरमा पुगेका छन् । उनीहरूलाई स्थानीय तह र प्रशासनले क्वारेन्टाइनमा नराखी गाउँ घर पस्‍न दिएको छ । यसले नेपालमा पनि ठूलो संक्रमण आउने सम्भावना छ । यस्ता कामलाई रोक्‍नुपर्छ । क्वारेन्टाइन र आइसोलेसनको पूर्ण तयारी भएपछि मात्रै उनीहरूलाई प्रवेश दिर्नुपर्ने थियो र दिनुपर्छ । तबसम्म सिमानामा नै खानपिन र बसोबासको व्यवस्था गर्नुपर्छ ।

हाम्रा स्थानीय तहले वडाहरूलाई बाहिरबाट कति मान्छे आएका छन् भन्‍ने तथ्यांक राख्‍न लगाउनुपर्छ । विदेशबाट र सहरबाट कति मानिस गाउँ पसेका छन् भन्‍ने तथ्यांक राख्‍नुपर्छ । हाम्रा टोल, छिमेकले पनि यस्ता तथ्यांक राख्‍ने गरौं । त्यस्ता व्यक्तिहरूबारे स्वास्थ्य संस्था र राज्यका निकायलाई भन्‍नुपर्छ । केही समस्या देखिएमा उपचारका लागि सहज हुन्छ र अरूमा कोरोना फैलिनबाट रोक्‍न सकिन्छ ।

कोरोनाको गाम्भीर्यतालाई बुझ्‍ने तप्का शिक्षित वर्गले सहजै राज्यका निर्देशन पालना गरेका छन्, एक दुई प्रतिशतले बाहेक । अशिक्षित वर्गका लागि उनीहरूले बुझ्‍ने भाषामा, प्रादेशिक भाषामा सन्देश जारी गर्नुपर्छ । यो कति गम्भीर रोग हो र यसका लक्षण कसरी फैलिन्छ भन्‍ने एवं यसबाट जोगिने उपायहरूबारे उनीहरूकै भाषामा सन्देशमूलक सामग्री प्रचार प्रसार गर्नुपर्छ भन्‍ने यहाँको अवस्था हेरेपछि मलाई लागेको छ । मेरो निर्वाचन क्षेत्रमा अवधी, थारु भाषा बोल्नेको संख्या अत्यधिक छ । त्यसैले पनि मलाई यो कुराको महसुस भयो ।

अरु मुलुक कोरोनाको पाँचौं चरणमा पुगेपछि आक्रान्त बनेको स्थिति हो । हामी दोस्रो चरणमा प्रवेश गर्दा नै रोक्‍न सक्‍ने अवस्थामा रहन सक्दैनौं भनेर बुझ्‍नुपर्छ । त्यसैले हामी अहिले नै सचेत हुनुपर्छ । नागरिकले सचेत बन्‍नुपर्छ भनिरहेका छौं ।

जनताले हामी सांसदहरूलाई यस्तै आपत्‌विपत् पर्दा सहयोग लिन र नियम, कानुन राम्रो बनाउनका लागि पठाएका हुन् । हामी सांसदहरू पनि क्वारेन्टाइनमा बस्‍नुपर्छ, ठीक छ । सामाजिक दूरी कायम गरौं, त्यो पनि ठीक हो । तर, काठमाडौंमा बसेर होइन, हामी आफ्‍नो निर्वाचन क्षेत्रमा आउनुपर्छ । आफ्‍ना मतदाता र नागरिकलाई आश्वस्त पार्नुपर्छ । हाम्रा नागरिक, मतदाता त्रासमा छन् । के हुने हो भनेर सबै सशंकित छन् । हामीले सबैलाई ढाडस दिने बेला हो, सचेत गराउने बेला हो । 'तपाईंहरूसँग राज्य छ, सरकार छ, हामी प्रतिनिधि छौं । तपाईंहरूका लागि जे गर्न पनि तयार छौं' भनेर सन्देश दिनुपर्छ । काठमाडौंमा सेल्फ क्वारेन्टाइनमा बसेर म्यासेजको भरमा यी कुरा पूरा हुँदैन । अहिले मतदातालाई दैनिक छाक टार्ने सहयोग चाहिएको छ ।

सांसदसँग पर्याप्त साधन र स्रोत छैन होला, ठीक छ । म व्यक्तिगत तवरबाट गर्दैछु । अरू सांसदहरूसँग नहुन सक्छ । तर आफ्‍नो क्षेत्रका सम्पन्‍नहरूबाट संकलन गरेर, प्रहरी प्रशासन सञ्चालन गरेर भएपनि पीडामा परेकालाई सहयोग गर्नुपर्छ । यी कुरा काठमाडौंमा बसेर सम्भव हुन्‍न । हामीले आफ्‍ना नागरिकलाई सचेत र सजग बनाउने बेला यही हो । सामाजिक दूरी कायम राखेर सरकारले जारी गरेको र डब्ल्यूएचओले जारी गरेको निर्देशिका पालना गरेर नै सन्देश दिन सकिन्छ ।

जननिर्वाचित प्रतिनिधिको उपस्थिति सम्बन्धित क्षेत्रमा हुँदा प्रभावकारी नियमन र अनुगमन भइरहेको हुन्छ । त्यसको अनुभूति नागरिकलाई पनि हुन्छ । जनतामा जुन त्रास र भय हुन्छ जनप्रतिनिधि पनि सँगै हुँदा त्यो स्वतः कम हुन्छ । जनतालाई राज्य र जनप्रतिनिधि हामीसँगै छन् भन्‍ने अनुभूति हुन्छ । राज्यका निकाय र स्थानीय तहहरू पनि परिचालन हुन्छन् ।

अहिले ७७ वटै जिल्लामा आइसोलेसन वार्ड र क्वारेन्टाइन बनाउने भन्‍ने सरकारको निर्देशन छ । त्यो अवस्थामा जग्गा र खुल्ला क्षेत्र नहुन सक्छ । मैले २६४ कट्ठा जग्गा नेपाल सरकारलाई आइसोलेसन वार्ड वा क्वारेन्टाइन बनाउन चाहेका बेला दिने घोषणा गरेको छु । त्यस्तै निर्वाचित प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रमा पुगेर जोहो गर्न सक्‍नुहुन्छ । जनप्रतिनिधि हुँदा स्थानीय तह, अस्पताल, प्रशासनलाई सक्रिय बनाउन सकिन्छ भन्‍ने लाग्छ । प्रतिनिधि नै नभए यी निकाय कम सक्रिय हुन्छन् र जनतामा पनि भय हुन्छ ।

सरकारले संसद अधिवेशन अन्त्य गर्नुपर्छ । सांसदहरूलाई आ-आफ्‍नो निर्वाचन क्षेत्रमा जान आह्वान गर्नुपर्छ । त्यसको व्यवस्थापनसमेत गरेर पठाउनुपर्छ । मेरो आह्वान छ- हामी सबै संघीय प्रतिनिधिले आधा वर्षको सेवा सुविधा कोरोना संक्रमण रोकथाम कोषमा राख्‍नुपर्छ । संघीय सरकारका कर्मचारीले कम्तीमा २५ प्रतिशत रकम योगदान दिनुस् भन्‍नुपर्छ । प्रदेश र स्थानीय तहहरूलाई पनि संघीय सरकारले सेवा सुविधामार्फत उक्त कोषमा योगदान दिनुस भनेर आह्वान गर्नुपर्छ ।

संघीय सरकारबाट रकम विनियोजन भएर पनि खर्च भएको छैन । त्यसबाट कोरोना रोकथाम र नियन्त्रणका लागि खर्च गर्नुपर्छ ।

म नेपालगन्ज आउनेबितिक्कै स्यानिटाइज र डिसइन्फेक्ट गर्ने काम गरेको थिएँ । एउटा सन्देश दिन सफल भएको छु । खाद्यान्‍नको जोहो पनि गरिरहेको छु । अर्को कुरा, राजनीतिले गर्दा घरमा आमाबुबा, बालबालिका र परिवारलाई समय दिन सकिएको थिएन । बाआमासँग पुराना कुराहरू गर्छु । अतितका कुराहरू गर्छौं । सामाजिक सञ्जा‍ल र मोबाइलको जमानामा परिवारका सदस्यहरूसँग पनि म्यासेज र फोनमा मात्रै कुरा हुन्थ्यो । सामाजिक सञ्जा‍लका नाममा पारिवारिक दूरी बढ्दै गएको थियो । यो लकडाउनलाई सामाजिक दूरी टाढा राखेर पारिवारिक दूरी नजिक बनाउने अवसरका रूपमा लिएको छु ।

सामाजिक सञ्जा‍लहरूमा अफवाह आइरहेका छन् । राज्यले यस्ता अफवाह फैलाउनेविरुद्ध मुद्दा चलाएर कारबाही गर्नुपर्छ । कोही नागरिक पनि अफवाहको पछि लाग्‍नु हुन्‍न । अफवाह फैलाउनेहरूलाई ट्रेस गरेर कारबाही गर्नुपर्छ । कोरोना विश्वव्यापी महामारी हो । अहिलेसम्म यसको औषधि उत्पादन भइसकेको छैन । सामाजिक सञ्जा‍लमा फैलिएको अफवाहका आधारमा 'यो खाँदा लाग्दैन', 'यो गर्दा निको हुन्छ' भन्‍नेमा भर नपरौं । नेपाल सरकार र विश्वसनीय सञ्चा‍र माध्यममा मात्रै विश्वास गरौं । हामी आफू बाँचौं अरुलाई पनि बचाऊँ, अरूलाई बचाउन मद्दत गरौं ।

-प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईसँग जयसिंह महराले गरेको कुराकानीमा आधारित

प्रकाशित : चैत्र १५, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?