स्वर्ण विजेता महिला भन्छन्- 'अझै महिलालाई हेर्ने नजर बदलिएको छैन'- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वर्ण विजेता महिला भन्छन्- 'अझै महिलालाई हेर्ने नजर बदलिएको छैन'

नमिता दाहाल

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जितेका २०७ पदक मध्ये १०७ पदक महिला खेलाडीका नाममा रहे । अर्थात् यो सागमा पुरुषभन्दा महिला खेलाडीले धेरै पदक हात पारे । १३ औं सागमा महिला खेलाडीहरुले २८ स्वर्ण, ४१ रजत, ३३ कांस्य र टिम खेलबाट ५ पदक जिते । सागमा करातेका जम्मा १९ स्वर्ण पदकका लागि खेल भएका थिए ।

त्यसमा १० स्वर्ण नेपालले जितेको थियो । १० स्वर्ण मध्ये ५ स्वर्ण महिला खेलाडीले जिते । त्यस्तै महिला खेलाडीले करातेमै २ रजत र ५ कांस्य पदक हात पारे ।


महिला पनि अवसर पाए पुरुषभन्दा कम हुँदैनन् । बरु पुरुषले भन्दा बढि गरेर देखाउँछन्, भन्ने उदाहरण बनेका छन् सागमा पदक दिलाउने महिला खेलाडीहरु । तर, सागमा स्वर्ण पदक दिलाउने महिला खेलाडीका संघर्ष भने लामै छन् ।


१३ औं सागमा एक अंक पनि अर्को खेलाडीलाई खोस्न नदिएर स्वर्ण जिताउने खेलाडी हुन्- अनु अधिकारी । १२ वर्षको उमेरदेखि कराते खेल्न थालेकी अधिकारी खेललाई जीवनशैली बनाउन सहज नभएको सुनाउँछिन् । सुरुमा कराते खेल राम्रो हो भनेर परिवारलाई सम्झाउनै कठिन भएको उनी बताउँछिन् । भिड्ने खेलमा अनुलाई पठाउन परिवार सहजै सहमत भएन । आफू र साथीभाईसमेतको सहयोग लिएर परिवारलाई खेल खेल्न जान दिने बनाउन सफल भइन् अनु । परिवारमा कोही पनि खेलसम्बन्धी जानकार नभएकाले सुरुमा खेलमा लाग्न गाह्रो भएको बताउँछिन् उनी।


‘पहिला अहिलेको जस्तो परिस्थिति थिएन । खेलबारे परिवारका कसैलाई केही जानकारी थिएन । त्यसमाथि छोरी । चोट लाग्ने नै भयो । बाबाले नखेल, खेल्नभन्दा पढाइमा नै ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो,’ उनले आफ्ना संघर्षका सुरुआती कथा सुनाइन्, ‘तर कराते नै खेल्ने मेरो इच्छा थियो । बालाजु डोजोको ध्रुवविक्रम मल्ल गुरुले पनि एकदम सहयोग र प्रेरणा दिनुभयो । अनि बल्ल खेल्न थालें ।’


परिवारलाई सहमत गराए पनि समाजले भने अनुको खेलमाथि कर्के आँखा लगाइरहेको थियो । ‘समाजले औंला उठाउँथ्यो । फलानोको छोरी त कराते खेल्छे रे भन्थे । तर खेल्दै जाँदा पदक जित्दै गएपछि भने समाजले पनि बिस्तारै हेर्ने नजर बदलिँदै गयो,’ उनी भन्छिन्, ‘पत्रपत्रिकामा नाम आउन थाल्यो । त्यसपछि भने जाउ तर पढाइलाई पनि ध्यान देउ भन्न थाल्नुभयो ।’

अनुले बंगलादेशमा भएको ११ औं सागमा पनि रजत पदक जितेकी थिइन् । तर, नेपालमा खेलमा करिअर बनाउँछु भन्ने अवस्था नरहेको उनको बुझाइ छ । ‘नेपालमा खेलको अवस्था हेरेर खेलमा करिअर बनाउँछु भन्ने अवस्था नै छैन । जे गरे पनि खेललाई सँगसँगै लैजाने तयारीमा चाँहि छ,’ अनुले भनिन् ।


करातेमा पुरुषलाई भन्दा महिलालाई गाह्रो भएको अनु बताउँछिन, ‘करातेमा महिलालाई धेरै गाह्रो छ । गुरुले सहयोग गर्न खोज्दा पनि ब्याक बाइटिङका कुराहरु धेरै आउँछन् । अनि विभिन्न क्षेत्रहरुमा पनि महिलालाई भन्दा पुरुषलाई नै बढी प्राथमिकता दिन्छन् ।’


अनुजस्तै सागमा स्वर्ण जित्ने काठमाडौंकी सुनिता महर्जनको यहाँसम्मको यात्रा भने अलि फरक छ । सुनिताको परिवारमा करातेप्रति सकरात्मक धारणा थिएन । तर, उनका दाइ भने कराते खेल्थे । उनलाई दाइले खेलेको देख्दा खेल्न मन लाग्थ्यो । घरबाट भने छोरी मान्छे कराते खेल्नु हुँदैन भन्ने गर्थे । सुनिताको मनमा दाइले खेल्न हुने मैले किन नहुने ? भन्ने इख गढ्यो ।घरमा कुरा गरिन् ।


‘केटी मान्छे कराते खेल्नु हुँदैन, भन्नुहुन्थ्यो । पछि दाइले खेल छोड्नुभयो । तर समाजका मानिसहरुको वास्ता नगरी मैले भने खेललाई निरन्तरता दिइरहें,’ उनले भनिन्, ‘मान्छेहरुले त के-के भन्थे, भन्थे । ममीलाई किन छोरीलाई करातेमा पठाएको ? छोरीले खेल्न थालेपछि कसले बिहे गर्छ ? यस्ता कुराहरु ममीले मलाई ल्याएर सुनाउनुहुन्थ्यो ।’


तैपनि सुनिताले केही वास्ता नगरी खेललाई निरन्तरता दिइरहिन् । विवाहपछि पनि उनलाई खेल्न रोक्ने कोही भएन । ‘पछि विवाह हुने बेला पनि मैले श्रीमान्‌लाई खेल त छोड्नु पर्दैन नी ? भनेर सोधेकी थिएँ,’ उनले भनिन्, ‘विवाह पछि पनि परिवारमा सबैजना बुझ्ने र खेलप्रति सकरात्मक धारणा राख्ने र हौसला दिने परेकाले खुसी छु ।’


सुरुमा खेललाई नै करिअर बनाउँछु भनेर नसोचेकी सुनिता खेलकै माध्यमबाट पुलिस क्लबमा छिरिन् । क्लबमा पुगेपछि भने उनको करिअर खेलमै बन्यो । अहिले खेलाडी भनेर सबै आफन्तले प्रशंसा गर्ने सुनिता बताउँछिन् । स्वर्ण पदकले आफ्नो जीवनलाई नयाँ मोड दिएको सुनिता बताउँछिन् । ‘स्वर्ण पदकले मेरो जीवन नै बदलिदियो । महिला भएर पनि मार्सल आर्टमा आएँ । समाजको धेरै बचनहरु सुनें,’ उनले भनिन्, ‘तर आज सबैले खेलाडी भनेर चिन्दा आफैंलाई गौरव महसुस हुन्छ ।’


अनु र सुनिताको भन्दा फरक कथा र अनुभूति बटुलेकी अर्की खेलाडी हुन्, अनुपमा मगर । अनुपमाले मार्सल आर्ट अर्थात कराते अन्यले जस्तो व्यवसायीक क्लबमा गएर सिकेकी होइनन् । १२ वर्षको उमेरमा माओवादी युद्धमा होमिएकी थिइन् । ‘घरबाट यस्तोमा जानु हुँदैन । ममीले नजाउ भन्नुहुन्थ्यो, म भने इच्छाको कारण ममीको कुरा काटेर गएँ,’ उनले भनिन् ।


पार्टीमा बसेर कराते सिकेकी अनुपमालाई सिक्दा सबैले मोटी भनेर जिस्काउँथे । ‘कराते खेल्दा उफारेको देख्थें, जीउ घटाउन भनेर कराते सिकें,’ उनले भनिन् ।


‘पहिला कराते खेल्दा घरबाट ममीले पनि नखेल हातखुट्टा भाँचिन्छ भन्नुहुन्थ्यो । छोरी भएर यसरी खेलेर पार्टीमा हिँड्दा पछि कसले बिहे गर्छ भन्ने खालको कुराहरु आउँथ्यो,’ अनुपमाले भनिन् ।


जतिसुकै छुट्टै वातावरणबाट आएपनि महिला भएको र खेल सुरु गर्न पुरुषको तुलनामा महिलालाई गाह्रै हुने उनको पनि अनुभव छ । उनकाअनुरसार महिला र पुरुष दुवैले मेहनत त गरेकै हुन्छन् तर शारिरीक बनावटहरु महिलाको अलि फरक तथा संवेदनशील हुने भएकाले महिलालाई अलि बढी गाह्रो हुने उनी बताउँछिन् । उनले हाँस्दै भनिन्, ‘व्यक्तिगत रुपले भन्नुपर्दा मलाई खेल खेल्दा खासै महिला वा पुरुष भन्ने फरक महसुस भएन । सायद म अलि छुट्टै वातावरणबाट आएको भएर पनि होला ।’


पाल्पाकी सरु कार्की, जो खेलमा लाग्छु भनेर कहिल्यै सोचेकी थिइनन् । २० वर्षको उमेरमा प्रहरीमा भर्ती भएपछि मात्र उनले कराते सिकेकी हुन् । २०७० सालमा प्रहरीमा आवद्ध भएपछि २०७१ सालबाट मात्र उनी यो खेलमा आवद्ध भइन् । ‘सानोमा कराते भन्ने थाहा नै थिएन । म आज जे छु, जस्तो छु, यसमा नेपाल पुलिस क्लबको र योगेन्द्र आचार्य गुरुको एकदमै ठुलो हात छ । मैले महिला र पुरुषबीचमा धेरै फरक पाए । महिला भएपछि शारिरीक बनावट फरक त हुने नै भयो तर मान्छेहरुले गर्ने व्यवहारमा पनि ठूलो फरक हुँदोरहेछ ।’


उनले १३ औं सागमा टिम काताबाट नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । अलि बोल्न हिच्किचाउँदै सरुले भनिन्, ‘महिला भएपछि धेरै कुराहरु हुन्छन्, मैले पनि केही भोगें ।’ खेल क्षेत्रमा भेदभाव पहिला भन्दा धेरै कम भएको कारण खेल्न धेरै सहयोग मिलेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म पुलिसमा आएपछि खेलेको भएर होला त्यति धेरै समाजको भनाइहरु सुन्नु परेन । घरबाट पनि त्यस्तो नकरात्मक केही आजसम्म पाएको छैन ।’


उदयपूरकी नेपाली सेनामा कार्यरत खेलाडी हुन्, संगीता मगर । नेपाललाई काता टिमबाट स्वर्ण दिलाउने महिला खेलाडी संगीताले १६ वर्षको उमेरबाट कराते खेल्न सुरु गरिन् । दाइले कराते सिकेको देखेर उनलाई पनि कराते खेल्ने इच्छा पलायो । तर परिवारले छोरी भएर केको कराते खेल्ने भनेर गाली गरेको उनी बताउँछिन् ।


तर पछि उनको इच्छाको अघि कसैको केही लागेन र गाउँमा नै कराते सिक्न गइन् । महिला प्रशिक्षकबाटै कराते सिकेकी उनी भन्छिन्, ‘कराते खेल्न मेरी गुरुबाट अझै प्रेरणा मिल्यो । २०६९ सालमा सेनामा भर्ती भए । आर्मी क्लबबाट पनि धेरै कुराहरु सिक्ने मौका पाए, प्रेरणा पाए । त्यस पछि अझ महिला भएर पनि गर्न सकिँदो रहेछ भन्ने भयो ।’


पहिला गाउँघरमा महिला भएर किन खेल्छस् भन्ने धेरै भएको उनले बताइन् । ‘समाजमा छोरी २०/२१ वर्ष भएपछि बिहे गर्दिने चलन थियो मेरो परिवारमा पनि यस्तो कुरा नभएको भने होइन । तर, धेरै कठिनाई भोग्दै यहाँसम्म आइपुगे,’ उनले भनिन्, ‘पुरुषको तुलनामा महिलालाई धेरै गाह्रो हुन्छ । ट्रेनिङको बेलामा छुट्टिन्छ । पुरुषहरुको तुलनामा हामीले शारिरीक कामहरु गर्न नसक्दा ओहो म त महिला रहेछु भन्ने कता कता नमज्जाको आभास हुँदो रहेछ ।’


सिन्धुपाल्चोक घर भएर अहिले काठमाडौमा बस्ने कुसुम खड्काले पनि महिला खेलाडी हुँदा साह्रै गाह्रो भोग्नु परेको बताउँछिन् । सानै उमेरमा कराते खेल्न सुरु गरेकी कुसुम दिउँसो स्कुल गएर बेलुका कराते सिकेकी हुन् । उनी भन्छिन्, ‘बेलुका ६ देखि ७ बजे सम्म ट्रेनिङ हुन्थ्यो । कहिलेकाही घर आउँदा ८ नै बज्थ्यो । त्यो बेला किन ढिला गरेको, छोरी मान्छे भएर ढिलासम्म बाहिर बस्नु राम्रो होइन भन्नुहुन्थ्यो ।’


ठूलो भएपछि भने उनलाई परिवारबाट खेलेर केही हुँदैन जागिर गर्न भन्न थालियो । अहिले भने परिवारबाट समर्थन खेलमा समर्थन रहेको उनी बताउँछिन् । तर पनि आफन्तहरुबाट भने आर्मी पुलिसलाई राम्रो नमान्ने, आर्मी पुलिसमा छोरी मान्छे जानु हुँदैन भन्ने खालको खल्लो प्रतिक्रिया सुनिरहेको उनी बताउँछिन् ।


महिला भएर यहाँसम्म आइपुगे पछि मान्छेहरुले हेर्ने नजर नै फरक भएको पदकधारी महिला खेलाडी बताउँछन् । सागमा पदक पाएपछि चिन्ने धेरै बधाई दिन घरमा नै आएको उनीहरुले सम्झिए । यसले आफूहरुमा उर्जा थपिएको र अझै केही गर्नुपर्छ भन्ने भावना जाग्रित भएको उनीहरुको भनाइ छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

हराउँदै नेवार संस्कृति

पूरै राग गाउन छाडिएको छ । पाटन दरबारमा फूलपाती भित्र्याउँदा देखाइने नाच लोप भइसक्यो । मत्स्येन्द्रबहाल डबलीमा देखाइने कामसिंह राजाको नृत्य पनि देख्न पाइँदैन । 
प्रशान्त माली

(ललितपुर) — सम्यक् महादान पर्व परम्पराअनुसार प्रत्येक वर्ष आयोजना गर्नुपर्ने हो । तर, हिरण्य वर्ण महाविहारले गुठीको आम्दानी कम भएको भन्दै हरेक पाँच वर्षमा मात्र पर्वको आयोजना गर्दै आएको छ । ललितपुरको पाटनस्थित नागबहालमा हालै यो पर्व सकियो ।

खोकना तोरीको तेलका लागि प्रसिद्ध ठाउँ हो । यहाँ तेल राख्ने छालाको भाडा, हुक्का तान्ने बाँसको साधन, धागो बेर्ने यन्त्र फेलु, काठको ठेकी (सिध:प) लोप भइसकेका छन् । नगरा र पछिमा बजाउने चलन पनि बन्द भइसकेको छ । भर्खरै सम्पन्न महोत्सवमा लोप भइसकेका यस्तै सामग्री र संस्कृतिलाई देखाउने प्रयास गरिएको थियो ।
एक महिना नचाउनुपर्ने लोकप्रसिद्ध कात्तिक नाच १२ दिन मात्रै नचाइन्छ । सिद्धिनरसिंह मल्लले राष्ट्र र जनताको कल्याणार्थ नेपाल सम्वत् ७६१ मा सुरु गरेको नाच आर्थिक अभावले जेनतेन सञ्चालनमा छ ।
लोपोन्मुख बन्दै गएका ऐतिहासिक महत्वका जात्रापर्व खोज्दै जाने हो भने लामो सूची बन्न सक्छ । कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्य अनुसार पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा नाच देखाइसकेपछि बुङमतीस्थित मत्स्येन्द्रबहाल डबलीमा कामसिंह राजाको नृत्य प्रस्तुत गरिथ्यो । अहिले यो पनि बन्द छ । ठेचोका दाफा खलकहरू ऋतुअनुसार बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुगेर भजन आउने चलन पनि रोकियो । माधवनारायण पर्व र दाफा भजन गाएर स्वयम्भूमा जाने चलन भने जेनतेन चलिरहेको छ ।

स्थानीय तहको चुनावअघि उम्मेदवारहरूले जात्रापर्वहरूको संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए । चुनावी नारा र घोषणापत्र पनि यी विषय समेटिए । ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने चुनावी नारा अघि सारेकी थिइन् । चुनावी घोषणापत्रमै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने उल्लेख थियो । सुनाकाठीमा आयोजित चुनावी घरदैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भुसाललाई जिताएमा सांस्कृतिक राजधानी बनाएरै छाड्ने घोषणासमेत गरेका थिए । भुसालले चुनाव जितिन् पनि । स्थानीय तह, प्रदेश र संघीयस्तरका जनप्रतिनिधिले अहिले यस्ता मुद्दा बिर्सिइसकेका छन् । ‘सांस्कृतिक राजधानी बनाउने अवधारणा छ,’ भुसाल भन्छिन्, ‘प्रस्तुत गर्न सकिएको छैन ।’ युरोप अमेरिकामा जस्तै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउन सकिने आफ्नो इच्छा रहेको उनको भनाइ छ ।

कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यका अनुसार ज्येष्ठ पूर्णिमामा दरबारमा गाइने ३२ राग पनि पूरा गाउन छाडिएको छ । दसैंमा गोरखा दरबारबाट फूलपाती पाटन दरबारमा भित्र्याउँदा देखाइने नाच पनि अहिले देखाइन्न । ‘ललितपुर महानगरपालिकाले नाचका लागि दुई लाख दिने गरेको छ तर एक महिना नाच चलाउन १० लाखभन्दा बढी चाहिन्छ,’ उनले भने । मेयर चिरीबाबु महर्जनले नाच जर्गेना गर्न १० करोड रूपैयाँको कोष स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा नभएको उनले गुनासो गरे ।

मूर्त तथा अमूर्त सम्पदा संरक्षणका लागि गोदावरी नगरपालिको १० लाख बजेट छुट्याएको छ । मेयर गजेन्द्र महर्जनले ठेचो, चापागाउँ, ठैबलाई सम्पदा बस्ती घोषणा गर्ने योजनामा रहेको बताए । ‘नगरको सांस्कृतिक सम्पदाकाबारे पाठ्यक्रममा समावेश गर्दै छौं,’ उनले भने, ‘प्रत्येक जात्रापर्व सञ्चालन गर्न बजेटको व्यवस्था गरेका छौं ।’ युनेस्कोले जात्रा, नाच, पाटी, अन्य सम्पदालाई मापदण्ड हेरेर विश्व सम्पदामा सूचीकृत गर्छ । संविधानको अनुसूची–८ मा स्थानीय तहको अधिकारको सूचीमा भाषा, संस्कृति, ललितकलाको संरक्षण र विकास शीर्षकमा नीतिनियम बनाउन सक्ने प्रावधान छ । तर, कुनै पनि निकायले बनाएका छैनन् ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नीति तर्जुमा गर्न लुभू र सानोगाउँका संस्कृतिसँग सम्बन्धित गुठीयारसँग छलफलको तयारीका रहेको बताए । ‘सबैलाई समेटेर एउटा मूल समिति बनाउने तयारीमा जुटेका छौं,’ उनले भने । जिल्लामा सबभन्दा पुरानाको लिच्छवीकालिन संस्कृति पाटन दरबार क्षेत्रसँग सम्बन्धित छ । लिच्छवीकालीन मनमानेश्वरी देवी पूजाविधि पर्व, ल्याकु पायो (दरबारबाट निस्कने खड्ग जात्रा), पाटन नकबहिलको अष्टमात्रिका नाच, ठेचोको नवदुर्गा नाच र हवन पर्व मुख्य हुन् । हवन पर्व र ल्याकु पायो बन्द भएको दुई दशकभन्दा बढी भइसक्यो । हवन पर्वमा दरबारको दसैंघरमा राखिएको जमरा जता ढल्कियो त्यतै अष्टमात्रिका, नवदुर्गा र ल्याकु पायोलाई एकैपटक नगर परिक्रमा गरिन्छ । यस्तो चलन उपत्यकाका अन्य ठाउँमा हुने जात्रापर्वमा छैन ।

हनुमान ढोका दरवार क्षेत्रसँग सम्बन्धित जात्रापर्व पनि क्रमश: बन्द हुदै गएका छन् । इन्द्रजात्राको बेला बसन्तपुर दरबार क्षेत्रमा मत्स्य, कश्यप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की दस अवतारको नृत्य गर्ने चलन थियो । यसवर्ष प्रदर्शन भएन ।

इतिहासविद् प्राध्यापक त्रिरत्न मानन्धरले जात्रापर्व संरक्षण गर्न अक्षयकोष खडा गर्नुपर्ने बताए । ‘यसप्रति सरकारको ध्यान जान सकेको छैन,’ उनले भने ।

काठमाडौं महानगर संस्कृति सम्पदा पर्यटन विभाग प्रमुख रामबहादुर थापाले महानगरले संस्कृति संरक्षण प्रवर्द्धन गर्न छुट्टै निनी बनाइसकेको बताए । ‘जात्रापर्व गुठी संस्थानअर्न्तगत सञ्चालन हुन्छ,’ उनले भने, ‘गुठीको अधिकार क्षेत्र हस्तान्तरण भइनसकेकाले कार्यान्वयमा कठिनाइ भइरहेको छ ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले जात्रापर्व संरक्षण गर्न एजेन्डामा छलफल गरेर अगाडि बढ्न तयार रहेको बताए ।

प्रकाशित : फाल्गुन २५, २०७६ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×