कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरा सुटुक्क आए, एक वर्षमा यसैगरी बिर्सिइए

आनन्द गौतम

ताप्लेजुङ — ठीक एक वर्षअघि आजैको दिन ताप्लेजुङ मध्यान्ह १२ बजेसम्म सुनसान थियो । हल्लाखल्ला थिएन ।तर, साढे १ बजेतिरदेखि भने हेलिकप्टर दुर्घटनाको चर्चा सुरु भयो । त्यो पनि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार ! 

पाथीभरा सुटुक्क आए, एक वर्षमा यसैगरी बिर्सिइए

सामान्यत: बहालवाला मन्त्री जिल्ला आउँदा एक किसिमको तरंग पैदा हुन्छ । हल्लाखल्ला हुन्छ । स्थानीय प्रशासनले सुरक्षादेखि यातायातसम्मको व्यवस्था मिलाउँछ । पार्टी नेता, कार्यकर्ता स्वागत र सम्मानका लागि तयार हुन्छन् । कोही नेता आउँदै छन् जिल्लामा भन्ने सुइकोसम्म थिएन २०७५ फागुन १५ गते १ बजेसम्म । तर, साढे १ बजेपछि हेलिकप्टर दुर्घटनाको खबर जिल्ला हुँदै विश्वभर फैलियो ।


पाथीभरा जानेका लागि धनकुटाको भेडेटारबाट भाडाको हेलिकप्टर दिनहुँजसो चल्थ्यो । दुर्घटनाको चर्चा चल्दा कतै यही हेलिकप्टर त दुर्घटनामा परेन भन्ने आशंका स्वभाविकै थियो । अन्तत: प्रमाणित भयो, त्यो दुर्घटना बहालवाला मन्त्रीसहित टोलीको थियो । तेहृथुमको आठराईसम्म आएका अधिकारी सरकारलाई समेत थाहै नदिई पाथीभरा पुगेका थिए । जसरी गुमनाम पाथीभरा आए, त्यसरी नै बिर्सिइए ।


दुर्घटनाको एकादुईसाता यो विषयले निकै चर्चा पायो । तर, त्यसपछिको वर्षदिन भने अधिकारी पाथीभरा आउँदाको जस्तै गुमनाम बनेको छ विषय । वर्षदिनसम्म उनको नाममा उनलाई चिन्नेगरी न एउटा शालिक बन्यो न त अन्य कुनै स्तम्भ नै । सरकारले बनाउने भनेको रवीन्द्र स्मृति पार्क निर्माणले पनि अहिलेसम्म गति लिएन । यसका लागि ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यो मध्येको ५० लाख फुङलिङ नगरपालिकामा आएको छ । २० लाख रुपैयाँ सहरी विकास कार्यालय इलाममा छ । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल सहरी विकास कार्यालयका डिइलाई पर्खिएको बताउँछन् ।


‘उहाँहरु (सहरी विकास) सँग पनि पैसा छ, डीपीआर गर्ने जनशक्ति पनि छ,’ प्रमुख प्याकुरेलले थपे, ‘हामिसँग जनशक्ति छैन, बसेर छलफल गरौं र यो पैसाले कति काम गर्न सकिन्छ एकीकृत रुपमा काम गरौं भनेको छु ।’ आर्थिक वर्ष सकिन पाँच महिना मात्रै बाँकी हुँदा पनि कामको प्रक्रिया नै सुरु भएको छैन । प्रमुख प्याकुरेलले भने आर्थिक वर्ष भित्रै डीपीआरको काम सकिने बताउँछन् । अधिकारीको स्मृति दिवस लगायतका विषयमा कुनै तयारी नभएको उनले बताए ।


स्मृति पार्कका लागि फुङलिङ नगरपालिका-१० गोरुजुरे क्षेत्रलाई रोजिएको छ । सामुदायिक वनको यो क्षेत्र फाँटिलो र पाथीभरा जाने सडकको छेउमै भएकाले उपयुक्त रहेको नगरपालिकाको बुझाइ छ । काफ्लेपार्टीदेखि पाथीभरासम्म केबलकार बन्ने चर्चाले पनि नगरपालिकाले यो क्षेत्रलाई रोजेको हो । हेलिकप्टर दुर्घटना भएको क्षेत्र अहिलेको पैदलमार्ग भन्दा डेढ/दुई घण्टाको दुरीमा छ । त्यहाँ जानकालागि पुरै संरचना बनाउनु पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले गोरुजुरेको सिफारिस गरेको थियो ।


क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने केबलकार निर्माणपछि दुर्घटना भएको क्षेत्र थोरै मान्छेको पहुँचमा हुने भएकाले गोरुजुरे उपयुक्त भएको बताउँछन् । भालुगौंडे छेउमा रहेको यो क्षेत्र पाथीभरा जाने हरेकको पहुँचमा हुन्छ । घुम्ने र अलमलिनेका लागि उपयुक्त स्थानमा रहेको फुङलिङ-१० का वडाध्यक्ष गमबहादुर फुरुम्बु बताउँछन् । गोरुजुरे मयम पाताल र फावाखोला सामुदायिक बनमा पर्छ । सरकारबाट संरचना बनाउन अनुमति लिन डिभिजन वन कार्यालयले टिप्पणीसहितको प्रस्ताव सरकार समक्ष पठाउनु पर्छ ।


आफू दोषी जस्तो ठान्छन् स्थानीय

माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका उमनाथ पौडेल उपचार केन्द्रतिर मान्छेहरु आउँदा पक्कै औषधि माग्न आयो भन्ने ठान्छन् । त्यहीअनुसारको तयारीमा बस्छन् उनी । उनकोमा आउने अधिकांशको पहिलो प्रश्न ‘दाई, रवीन्द्र अधिकारीको हेलिकप्टर कहाँ ठोकिएको हो ?’ भन्ने हुन्छ । विरामी भएपनि त्यसपछि मात्रै औषधिको कुरा गर्छन् । घुम्न आउनेले ‘विचरा ! यस्तो ठाउँमा आएर बिते’ भन्दिँदा दोषी कतै हामी नै पो हौं कि भनेजस्तो आभास हुनेगरेको पौडेल सुनाउँछन् ।

दुर्घटनाका केही महिना घटनास्थल पुग्नेको लर्को भएपनि त्यसपछि बिरानो जस्तो बनेको पौडेलले सुनाए । उनी घटनास्लथमा सबैभन्दा पहिला पुग्ने मध्येका एक थिए । घटनास्थलमा हेलिकप्टरको भग्नावशेष अहिलेसम्मपनि देख्न सकिन्छ र भग्नावशेषहरु त्यही छरिएकै अवस्थामा छन् ।


परिवार कसैका आए, कसैका आएनन्

पर्यटन मन्त्री अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका यति एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको परिवार घटनास्थलसम्म पुगे । आङछिरिङका दुई छोरासहितलाई घटनास्थल पुर्‍याएका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी इन्द्र पौडेलका अनुसार उनीहरुले बौद्ध धार्मिक विधिअनुसार लामा पढाए र तोरन टाँगे । छोरा, भाञ्जा, ज्वाईं लगायतका १२ जनाको टोलीले घटनास्थलमै पुगेर श्रद्धाञ्जली व्यक्त गरे । मन्त्रीको परिवारका सदस्यलाई भने स्थानीयले अहिलेसम्म देखेका छैनन् ।


‘कोही खुसुक्क आएर गएको भए थाहा भएन, नत्र यहाँ आएको पत्तो पाएका छैनौं,’ माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले थपे, ‘सानो ठाउँ कोही आएको भए त हल्ला हुन्छ, थाहा भइहाल्छ नी ।’ दुर्घटनास्थलमा माथिल्लो फेदीबाट मात्रै पुग्न सकिन्छ । अधिकारी पत्नी अहिले प्रतिनिधिसभा सांसद छिन् ।


दुवै मन्त्री गुमनाम

हेलिकप्टर दुर्घटनामा नै परेर ताप्लेजुङमा दुईजना बहालवाला मन्त्री दिवंगत भए । २०६३ असोज ७ गते तत्कालीन वन तथा वातावरण मन्त्री गोपाल राईको लेलेपको घुन्सामा मृत्यु भएको थियो । राजदूतसहितका २४ जना संरक्षणविद्को निधन भयो । तत्कालीन सरकारले घटना भएको जिल्लामा संरचना निर्माण गर्ने चर्चा गरेको थियो । तर सरकार आफैंले भने जिल्लामा एउटा स्मृति पार्क पनि बनाएन ।


पाथीभरा केबलकारको चर्चै हरायो

यती समूहका आङछिरिङ शेर्पासँग उनकै हेलिकप्टरमा आएका मन्त्री अधिकारीलाई पाथीभरामा निर्माण हुने केबलकारको विषयमा देखाउन ल्याइएको धेरैको बुझाइ छ । फुङलिङ नगरपालिकाबाट अनुमति पाएको यो समूहले सरकारको केन्द्रीय मन्त्रालयबाट अनुमति पाएको थिएन । मन्त्री आउने दिउँसो पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बडवालले समिति सदस्य इन्द्रनारायण भट्टराईलाई खादा लिएर मन्दिरमा जान भनेका थिए । तर, भट्टराई सदरमुकाममा भएकाले जान सकेनन् । बडवाल पनि केबलकार समूहकै हुन् । हेलिकप्टर दुर्घटनापछि केबलकारको विषय सुनसान भएको छ ।


दुर्घटनाअघिसम्म प्रधानमन्त्रीलाई ल्याएर शिलान्यास गराउने, तत्काल काम थाल्ने जस्ता चर्चा चलाउनेहरु अहिले मेची राजमार्गका कारण सामान ल्याउन कठिन हुने बताउँछन् । सांसद हुँदा केबलकार निर्माण चाँडै हुने बताउने वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि अहिले मौन छन् । निर्माण अनुमति दिएको फुङलिङ नगरपालिका प्रमुख प्याकुरेल अबको एक वर्ष म्याद बाँकी रहेको र त्यो अवधिमा काम नगरे निर्णय खारेज गर्ने बताउँछन् । नगरपालिकाले १२ लाख रुपैयाँ राजश्व लिएर अनुमति दिएको छ । तर महालेखा परीक्षकले नगरपालिकाको यो निर्णय अवैध रहेको लेखेको छ । राष्ट्रपति कार्यालयमा गत वर्ष बुझाइएको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।


मौसम गतवर्षको जस्तै

गतवर्ष पनि यो समयमा पाथीभरामा टम्म हिउँ थियो । स्थानीयका अनुसार दुर्घटना भएको समयमा हावा, हुण्डरी सहितको हिउँ बर्सिएको थियो । त्यही समयमा हेलिकप्टर पड्किएको आवाज स्थानीयले सुनेका थिए ।


आवाज सुनेका र आगोको मुस्लो देखेपछि स्थानीय त्यहाँ दौडिएका थिए । यो वर्षको मौसम पनि त्यस्तै छ । बुधबार माथिल्लो फेदीमा दुई फिट जति हिउँ रहेको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इञ्चार्ज धनराज तुम्बापो बताउँछन् । उनले भने, ‘माथिल्लो फेदीदेखि मन्दिरसम्मै प्रशस्त हिउँ जमेको छ, मानिसहरुलाई आवतजावतमै समस्या भएको छ ।’

प्राथमिक उपचार केन्द्रका अहेव उमनाथ पौडेल गतवर्षकै झल्को दिने मौसम भएको बताउँछन् । गतवर्ष पनि मन्त्री अधिकारीसहितको टोलीले हिउँमै हिँडेर पाथीभराको दर्शन गरेका थिए ।

प्रकाशित : फाल्गुन १५, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?