कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नबुझ्नेलाई मेकअप भनेको मुखमा पाउडर पोत्ने त हो'

रीना मोक्तान

काठमाडौँ — 'जीवनरेखा' फिल्मको छायाङ्कन हुँदै थियो । निर्देशक प्रकाश थापा 'एक्सन कट' भन्दै थिए । कलाकारहरु उनकै इसारामा अभिनय गर्नमा व्यस्त । छायांकनस्थल भरिभराउ थियो । केही फाट्टफुट्ट दर्शक । प्राविधिक यताउता गर्दै थिए । 'स्पट ब्वाई' भएर छायाङ्कनस्थल पुगेका सन्तु तामाङलाई सुरुमा यी सबै दृश्य नियाल्दा अर्कै ग्रहमा आइपुगेझैं लाग्यो ।

'नबुझ्नेलाई मेकअप भनेको मुखमा पाउडर पोत्ने त हो'

सबैजनालाई चिया-खाजा खुवाउने जिम्मा पाएका सन्तुले चिया पुर्‍याउँदा होस् या खाजा पुर्‍याउँदा उक्त दृश्यहरु उत्साहित हुँदै नियाल्थे । यो २०३७ को कुरा हो । १५ वर्षीय सन्तुको मनमा रहर जाग्यो, 'यही क्षेत्रमा प्रवेश गर्न पाए ?'

त्यतिबेला सन्तु तत्कालिन शाही चलचित्र संस्थानमा कार्यलय सहयोगी(पियन) थिए । संस्थानले बनाएको 'जीवनरेखा'को छायाङ्कनस्थलमा पहिलोपटक पुगिसकेपछि सन्तुलाई उक्त माहोलले लामो समय तानिरह्यो । त्यसपछिको उनको दैनिकी संस्थानमै बित्न थाल्यो । अचानक एकदिन निर्देशक लक्ष्मीनाथ शर्माले उनलाई मेकअप आर्टिस्ट बन्न उत्साह दिए, 'नेपालमा मेअकप आर्टिस्ट छैन । तिमी मेकअप सिक, यसमा राम्रो भविष्य छ ।'

फिल्म क्षेत्रमा प्रवेश गर्न सन्तुको लागि योभन्दा राम्रो बाटो अर्को थिएन । त्यसैले 'हुन्छ' भनिहाले । त्यसपछि नेपाली फिल्म क्षेत्रले अर्गानिक मेकअप आर्टिस्ट पायो । त्यो भन्दाअघि त भारतबाट मेकअप आर्टिस्ट बोलाउनुपर्थ्यो । समय र खर्च बढी लाग्थ्यो । सन्तुले भान्सा छोडेदेखि छिमेकी देशबाट मेकअप आर्टिस्ट डाकिरहनु परेन । उनले नै मेकअपको जिम्मा सम्हालन थाले । फिल्महरु लगातार बन्न थालेसँगै बिस्तारै मेकअप आर्टिस्ट पनि बढ्न थाले ।

अहिले तीनै सन्तु नेपालका पुराना मेकअप आर्टिस्टका रुपमा चिनिन्छन्। तीन सयभन्दा बढी फिल्ममा मेकअप आर्टिस्टको काम गरिसकेका उनी ५५ वर्षको उमेरमा पनि उतिकै सक्रिय छन् । नयाँ पुस्ताका कलाकार (अनमोल केसी, सौगात मल्ल, सृष्टि श्रेष्ठ…)लाई पनि श्रृङ्गारेको अनुभव छ उनीसँग । सन्तुले कलाकारलाई चिटिक्क बनाउन थालेको पनि चालीस वर्ष पूरा भइसक्यो ।

०००

सन्तुको जन्म काभ्रेमा भएको हो । उनी सानो छँदै आमा बितिन् । कान्छी आमा घरमा भित्रिएसँगै किचकिच सुरु भयो । कान्छी आमाको व्यवहार सहन नसकेर १० वर्षको उमेरमा काठमाडौं आए । ठूलोबुबाको सातोदोबाटोमा घर थियो । ठूलोबुबासँगै बस्न थाले । जीवन गुजारा गर्न काम गर्नुपर्छ भन्ने कुरा उनको बाल मस्तिष्कमा थियो । काम खोजे । एउटा भट्टीमा भाँडा माझ्ने काम पाए । भट्टीबाट अर्काको घरमा काम पाए । संजोग, सन्तु जसको घरमा काम गर्न पुगे उनी शाही नेपाल चलचित्र संस्थानको महा-प्रबन्धक उत्तमलाल श्रेष्ठ थिए । उनको घरको सबै काम सन्तुको जिम्मामा हुन्थ्यो । संस्थानबाट अवकाश पाउँदा उत्तमलालले नै सन्तुलाई संस्थानमा कार्यालय सहयोगीका काम मिलाइदिएका थिए ।

उनी आज पनि कृतज्ञ छन् उत्तमलालप्रति । संस्थानमा काम थालेपछि दैनिक निर्माता, निर्देशकसँग सन्तुको भेट हुन्थ्यो । सन्तुले संस्थानमा काम थालेकै वर्ष अर्को फिल्म 'बद्लिँदो आकाश' बनाउने घोषणा भयो । निर्देशक थिए, लक्ष्मीनाथ शर्मा । त्यही बेला हो, निर्देशक शर्माले सन्तुलाई मेकअप आर्टिस्टमा भविष्य देखाइदिएको । बद्लिँदो आकाशबाट नै उनले मेकअपमा असिस्टेन्टको रुपमा काम गर्न थाले ।

भारतबाट आएका मेकअप आर्टिस्ट बाबुराओ काम्लेसँग बद्लिँदो आकाशमा असिस्टेन्ट रहेर काम सिके । त्यसपछि सन्तान फिल्ममा प्रकाश गटवालसँग काम सिके । उनीहरुसँग काम सिक्न निकै गाह्रो हुन्थ्यो सन्तुलाई । सुरुमा त भारतबाट आएका ती मेकअप आर्टिस्ट हत्तपत्त सन्तुलाई काम सिकाउन तयार हुन्थेनन् । मेकअप गर्ने कोठा बन्द गरेर कलाकारलाई मेकअप गर्थे ।

त्यस्ता व्यवहारले सन्तुको मन दुख्थ्यो । रिसाएर छायाङ्कनस्थल छोडेर जान्थे । तर उनलाई जसरी पनि काम सिक्नु थियो । संस्थानलाई भारतीय मेकअपम्यानको व्यवहार सुनाइदिन्थे । संस्थानकाले नै भारतबाट आएका मेकअप आर्टिस्टलाई सन्तुलाई मेकअप सिकाइदिन अनुरोध गर्थ्यो । टाठाबाठा सन्तु एक झलकमै सिप सिक्न माहिर थिए । बिस्तारै कलाकारको अनुहारमा पाउडर टचअप गरिदिने जिम्मा पाउँदै गए । 'रि-टच गर्न जाँदा, हात काम्थ्यो । अप्ठ्यारो हुन्थ्यो । तर बिस्तारै सिकियो' मेकअप गर्दाका पहिलो क्षण सम्झन्छन् ।

पहिलोपटक अभिनेता शिव श्रेष्ठको अनुहारमा पाउडर टच गर्दा हात काँपेको सन्तुले अझै बिर्सेका छैनन् ।

यसरी 'विश्वास', 'के घर के डेरा' फिल्मसम्म आइपुग्दा असिस्टेन्ट भएर काम गरे । त्यो बेला एउटा फिल्म सकिन ६ महिना लाग्थ्यो । भारतबाट आएका मेकअपम्यान ४० दिनको सम्झौता गरेर आएका हुन्थे । सम्झौताको समय नाघेपछि उनीहरु भारत फर्कन्थे । बाँकी छायाङ्कनको मेकअप गरिदिने जिम्मा स्वत: सन्तुको काँधमा पर्‍यो । त्यसरी मेकअपमा सन्तुको हात बस्न थाल्यो । 'मायालु' फिल्मबाट त उनले नै पूरा मेकअपको जिम्मा लिन थाले ।

त्यसपछि त लगातार फिल्महरुमा मेकअप गर्न भ्याइनभ्याइ हुन थाल्यो सन्तुलाई । नेपाल टेलभिजन सुरु भयो । टेलिभिजनको सबै विज्ञापनमा मेकअप उनकै जिम्मामा पर्थ्यो । टेलिश्रृङ्खलामा पनि उनकै अधिपत्य चल्थ्यो । महजोडीका चिरञ्जीवि, वनपाले भन्ने टेलिफिल्ममा उनैले नै मेकअप गरिदिएका हुन् । फोटोसुटदेखि संस्थानले बनाउने डकुमेन्ट्रीमा मेकअपको जिम्मा उनलाई थपिन थाल्यो ।

११ वर्ष संस्थानमै रहेर मेकअप आर्टिस्टको पेसा गरे सन्तुले। त्यसपछि राजिनामा दिएर स्वतन्त्र भएर झनै सक्रिय हुँदै गए । त्योबेलाका चलेका स्टार शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, नीर शाह, भुवन चन्द, कृष्टि मैनाली, मौसमी मल्लदेखि लगभग पुराना सबै कलाकारलाई उनी नै मेकअप गरिदिन्थे ।

राजेश हमालको पहिलो फिल्म 'युगदेखि युग'सम्ममा उनले नै मेकअप गरिदिएका थिए । पुराना स्टारको पहिलो फिल्मदेखि नै मेकअप गरिदिएको अनुभव उनीसँग छ । आफ्नो पेसामा रमाउँथे सन्तु । त्यसैले यति लामो यात्रा तय गरिसक्दा पनि समय बितेको पत्तो छैन । '४० वर्ष कसरी बित्यो थाह भएन । रमाइलो गरेर काम गरियो । सायद रमाइलो नभएको भए यतिका समय बित्थेन होला,' उनी सुनाउँछन् ।

त्यो बेला कलाकारलाई भेट्न त के देख्न कठिन विषय हुन्थ्यो । तर सन्तु त ती कलाकारलाई छुन पाउँथे । उनीहरुको अनुहार चिट्टिक्क पारिदिने उनी नै हुन्थे । आफ्नो कामप्रति गर्व मान्थे । आफूले श्रृङ्गारेको कलाकारलाई पर्दामा देख्दा उनी मख्ख पर्थे । कति फिल्मको सानोसानो भूमिकामा कलाकार अभाव हुँदा उनले नै अभिनय गरेका पनि छन् । यस अर्थमा उनी कलाकारसमेत हुन् ।

मेकअप आर्टिस्टका दु:

त्यो बेला फिल्म क्षेत्रमा प्रवेश गर्न मानिसहरु हिचकिचाउँथे । तर सन्तुले यतै आफ्नो कर्म देखे । बिस्तारै उनले यस क्षेत्रमा अरु मेकअप आर्टिस्टलाई पनि जन्म दिएका छन् । उनीसँग मेकअप सिकेका अशोक रोक्का, सरोज पाण्डे, मीना लामा अहिले फिल्म क्षेत्रमा सक्रिय छन् । समयसँगै मेकअपम्यानहरु मेकअप पर्सन भए । अर्थात महिला मेकअप आर्टिस्ट बढे ।

सन्तुले मेकअप गर्दा इन्टरनेट थिएन । श्रृङ्गारका सामाग्री भारतबाट मगाउन गाह्रो थियो । एउटा क्रिमका लागि लामो समय पर्खनु पर्थ्यो । सामाग्री पाउन नै गाह्रो हुन्थ्यो सन्तुलाई ।

हेर्दा सामान्य लागे पनि कलाकार श्रृङ्गार्ने काम चुनौतीपूर्ण रहेको सन्तु बताउँछन् । 'मेकअप त फिल्मको धेरैवटा खम्बामध्येको एउटा हो । नबुझ्नेलाई मेकअप त पोत्ने त हो । तर यो बुझ्नेको लागि धेरै गहिरो छ । कलाकारको चरित्र, अवस्था, मुड अनुसार मेकअप गर्नुपर्छ,' उनले सुनाए, 'कलाकारको कमजोरी छोपिदिने काम मेकअप आर्टिस्टले गर्छ । कहिलेकाहीँ हामी १२ घण्टा उभिएर काम गर्थ्यौं । २४ घण्टा पनि उभिनुपर्थ्यो ।'

त्यो बेला ‍मेकअप आर्टिस्टको कामलाई फिल्मकर्मीले क्रेडिट दिँदैनथे । त्यो अवस्थामा भने सन्तुको मन कुँड्थ्यो । पारिश्रमिक राम्रै पाउँथे । तर अहिले त त्यो अवस्था पनि नरहेको उनी बताउँछन् । 'त्यो बेला कम फिल्म बन्थे, सोचेको पारिश्रमिक पाइन्थ्यो,’ उनले तर्क गरे, ‘अहिले मेकअप आर्टिस्ट पनि धेरै छन्, फिल्म पनि धेरै छन् । तर यो क्षेत्रमा चित्तबुझ्दो पारिश्रमिक भने छैन।

पछिल्लो समय केही अवार्डमा मेकअप आर्टिस्टलाई स्थान दिन थालेपछि उनीजस्ता पर्दा पछाडिका कलाकारको योगदानको कदर भएको सन्तु दाबी गर्छन् ।

बिना मेकअप पनि सुन्दर देखिने अभिनेत्रीमा करिश्मा मानन्धर पर्ने गरेको सन्तु बताउँछन् । उनको हात अनुहारमा पर्नसाथ गौरी मल्ल, कृष्टि मैनाली निदाउन खोज्थे ।

झन्डै छायांकार

मेकअपसँगै बीचमा सन्तुले क्यामेरा चलाउन पनि सिकेका थिए । झण्डै २०/२५ वटा फिल्ममा आफूले स्टिल फोटो खिचेको उनको दाबी छ । ती फोटोका पोस्टकार्ड बनाएर बिक्रिवितरण गरेको दिनहरु उनले भुलेका छैनन् । 'राजेश हमाल अनि करिश्माको फोटोको पोस्टकार्ड बनाएर बेचेको थिएँ । छायांकार गौरीशंकर धुजुसँग मेकअपमा काम गर्दा फोटो अनि काम पनि गर्थे' उनी सुनाउँछन् ।

उनी मेकअप सक्नासाथ क्यामेरा लिएर स्टिल फोटो खिच्न सक्ने भइसकेका थिए । मेकअपलाई निरन्तरता नदिएको भए आफू छायांकार भइसक्ने बताउँछन् सन्तु । 'फोटोको काम नछोडेको भए क्यामेरापर्सन भइसक्थें' मुसुक्क मुस्कुराउँदै भने । यसरी लाइटदेखि मेकअपसम्मको काम गर्दा कति त उनलाई सोध्ने पनि गर्थे, 'होइन, तिम्रो खास पेसा के हो ?'

'मेकअप हो' आँखा चिम्सो पर्ने गरेर हाँस्दै जवाफमा भनिदिन्थे ।

मेकअपसँग सँगै सन्तुले नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तन देखेका छन् । कलाकारहरुको 'अप्स एन्ड डाउन'लाई नजिकैबाट नियालेका छन् ।

अभिनेता राजेश हमाल मेकअपमा बस्नुअघि सन्तुको खुट्टा ढोग्थे । सन्तुलाई सबैले मान सम्मान दिन्थे । तर अहिलेका नयाँ पुस्तामा अहम रहेको सन्तुको अनुभवले भन्छ ।

'अहम त हिजोकोभन्दा पनि आजको कलाकारमा देख्छु । हामीले धेरै त्यस्ता स्टार कलाकार देख्यौं । कति कलाकार त पलायन नै हुनुभयो । अहिलेको कलाकारको अहम गर्दा मलाई केही पनि लाग्दैन,' उनी भन्छन्, 'किनकि उहाँहरुको त्यो चुरीफुरी कतिञ्जेललाई हो थाहा छैन । कहिलेकाहीँ त्यस्तो कलाकार देख्दा बिचरा जस्तो लाग्छ ।'

मेकअपमा भविष्य छैन

लामो समय यस क्षेत्रमा बिताएका सन्तु फिल्म क्षेत्रमा भविष्य देख्दैनन् । शरीरले साथ दिएसम्म मात्र यो क्षेत्रमा सक्रिय रहन सकिन्छ । आफ्नो पेसालाई आकाशे खेतीको संज्ञा दिन्छन् उनी । कहिले महिनौं काम, त कहिले महिनौं बिना काम ।'जिन्दगीलाई हेर्ने हो भने त यो कति चाँडो बित्यो थाहा भएन । तर, भविष्य चाहिँ छैन जस्तो लाग्छ फिल्म क्षेत्रमा । सरकारी जागिर गर्‍यो भने पेन्सिन पाक्छ । यहाँको काम हातखुट्टा चलेसम्म मात्र हो । चल्न छोडेपछि विचरा । त्यसपछि बिर्सिदिन्छ,' गम्भीर भावमा उनले सुनाए ।

हालै 'पोइ पर्‍यो काले', 'लभ यु हमेसा', 'सम्झना बिर्सना', 'म यस्तो गीत गाउँछु २'मा मेकअपको काम सकेर बसेका सन्तु अहिले फिल्म निर्माणमा पनि होमिएका छन् । उनी अब आफ्ना समकालिन मित्र निर्देशक शिशिर राणा र तारा किम्बे थापासँग मिलेर नयाँ प्रोजेक्टको तयारीमा छन् ।

'पैसा भएर फिल्म निर्माण गरेको त होइन । अब यही क्षेत्रमा लागियो । त्यसैले नयाँ आफैंले पनि प्रोजेक्ट थाल्ने सोच्यौं,' उनले भने ।

प्रकाशित : फाल्गुन १२, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?