कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित आन्दोलनका अगुवा

दलित अधिकार आन्दोलनमा अग्रणी रहेका उनले बनारस पुगेर शिक्षा आर्जन मात्रै गरेनन्, मुलुक फर्किएर जातीय समानताको हकका लागि संघर्ष गरेका थिए । 
रणेन्द्र बराली

अमेरिकाका मार्टिन लुथरकिङ, अफ्रिकाका नेल्सन मन्डेला, भारतका डा. भीमराव अम्बेडकर जस्तै नेपालका भगत सर्वजित विश्वकर्मा त्यस्ता शिखर पुरुष हुन्, जसले समाजमा हुने अमानवीय जातीय विभेदकारी कलुषित प्रथाका विरुद्ध आजीवन संघर्ष गरे ।

दलित आन्दोलनका अगुवा

भगत सर्वजितले हिन्दु धर्मका आधारमा भई आएका मान्छे–मान्छेबीच छुवाछूतसम्मका भेदभाव अमान्य छन् भन्ने व्याख्या गरेर जातीय मुक्ति र सामाजिक सुधारका लागि जीवनमरणको संघर्ष गरे ।


बागलुङका दलित समुदायका टाठाबाठा हुनाले ठूला कहलिएका पण्डित हाई गिरीसँग गोथे सुनारको राम्रै हेलमेल थियो । पण्डित हाई गिरी गलकोटे राजाका पुरोहित थिए । भगतका बाबुलाई पण्डित बाजेले बखत–बखतमा रामायणका कथा र महाभारत लडाइँका कुरा सुनाउँथे । कुरा सुनेर ‘म पनि रामायण, महाभारत पाठ गर्छु, रामका, अर्जुनका बारेमा बुझ्छु,’ भन्दा भगतले पण्डितको खप्की खानुपरेको थियो । ‘पढ्ने भए तँ ब्राह्मणको कोखमा जन्मिन्थिस् नि पाजी । तँ कामीका छोराले पढ्न खोज्छस्’ भनेर बाजेले ललकारेको त्यो घडी उनको जीवनमा परेको सबैभन्दा चुनौतीपूर्ण वाण बन्यो ।


हाई गिरी पण्डितको भनाइले उनलाई घरिघरि चिमोटिरहन्थ्यो । त्यही ईखले उनले नेपाली वर्णमाला किताब ल्याए । तर किताब हेरेर मात्र के गर्ने ? एक दिन गाउँका सरस्वती दत्त ब्राह्मणसँग अक्षर सिकिमाग्न जाँदा ‘कामीका छोरालाई किताब लिएर हिँड्न लाज लाग्दैन ? पापको डर छैन तँलाई ? उल्टो सिकाइदेऊ भनेर मलाई नर्कमा पार्न खोज्छस् उल्लू,’ भनेर गाली गरे । अपमानले उनलाई बिजुलीको करेन्टले जस्तो झड्का हान्यो । पढ्ने इच्छामा परेको चोटले रन्थनिँदै शास्त्र पढेर शास्त्रार्थ गर्नका लागि तत्त्वज्ञान आर्जन गर्ने ध्येयले १९६५ मा उनी भारतको बनारस पुगे ।


बनारसका एक योगीले उनलाई आफूसँग राखेर संस्कृत तथा धर्मशास्त्र अध्ययन गराए । हिन्दु धर्मग्रन्थ तथा मीमांसा आदिको गहन अध्ययन गरेपछि सर्वजितले मान्छेको वर्ण, जात र विभेद सिर्जना गरेको मान्छेले नै रहेछ भन्ने बुझे । तत्त्वज्ञान र प्रमाणका आधार नपाएर खुम्चेका मानिसको शिर ठाडो पार्न भनेर उनी नेपाल आए । साथमा उनले पुराना किताब, वेदका ऋचा, पुराण, गीता, महाभारत, रामायण, निर्णयसिन्धु, मनुस्मृति, श्रीमद्भागवत र कृष्णचरित्र आदि धार्मिक दर्शनशास्त्र र सामाजिक पुस्तक पनि ल्याए ।


विसं २००० मा बागलुङ गैरी गाउँको भालुमारे चौतारामा छिमेकी थुम, गर्खाका ७३ जना दलितहरूलाई भेला गरी धर्मशास्त्रका आधारमा पनि छुवाछूत प्रथाको विरोधमा शंखघोष गरे । २००३ को सुरुमा सर्वजितले आफ्ना छोराको न्वारन धार्मिक विधिअनुसार गर्ने तयारी गरे । आफ्नै आँगनमा बनाएको मन्दिरमा शंख–घण्ट बजाएर आफू र आफ्नै जातका चेला पण्डितहरूसमेतले वैदिक मन्त्र उच्चारण गरी न्वारन गर्न लाग्दा गाउँका सारा उच्च जात भन्नेहरू उठेर ‘अर्जल जातले अनिष्ट गर्‍यो, हिन्दु धर्मलाई बिटुलो पार्‍यो’ भन्दै लाठी–मुङ्ग्रा गर्न आए । अचानक आएको आक्रोशित हूलले शंख–घण्ट फाले, गजुर भाँचे, सर्वजितको घरका छाना उधारे, ढोका फुटाले, पालीका डाँडाभाटासमेत थुतेर फाले । रैथाने पण्डित सरस्वती दत्तले उनलाई गाली गरे ।


त्यसपछि सर्वजितले आफ्नो समुदायको संगठन बलियो बनाएर मात्र संघर्ष अगाडि लानुपर्ने कुरा बुझे । लक्ष्मीनारायण, मनवीर, रामशरणलगायतका विश्वकर्मा बन्धुहरूको सक्रियतामा संगठन निर्माणका लागि भेला बोलाए । भेलाले २००३ भदौ ५ गते सर्वजितकै अध्यक्षतामा छुवाछूतविरोधी नेपालको पहिलो संगठन ‘विश्व सर्वजन संघ’ घोषणा गर्‍यो । उक्त कुरा थाहा पाएर हाई गिरी पण्डितको नेतृत्वमा सरस्वती दत्तसमेतका थुप्रै जना आएर भेला स्थलमा आक्रमण गरी त्यहाँ भएका पर्चा, पोस्टर र बैठक पुस्तिकासमेत कब्जा गरेर बागलुङ अड्डा पुगी बडाहाकिमलाई बुझाएर कारबाहीका लागि जाहेरी गरे ।


सर्वजित आफूलाई पक्रन सिपाही आएको चाल पाएपछि हातमा गीता र काँधमा तौलिया राखेर निर्धक्कसँग बागलुङका जिल्ला हाकिमसमक्ष हाजिर भए । हाकिमले समाज भाँडेको भनी गाली गर्दा उनले संस्कृतका श्लोकलाई आधार बनाएर तर्क गरे । तर हाकिमले उनलाई थुन्ने आदेश दिए । तीन महिनापछि सर्वजित कारागार मुक्त भए । त्यसपछि उनले गोरखपुर र नौतनवा पुगेर छुवाछूतविरोधी पर्चा छपाइ गाउँमा ल्याएर बाँडे ।


उनी र उनको टोलीका अन्य मानिसहरू लयबद्ध गीत गाएर जनजागरण गराउँथे । सर्वजन संघले भ्याएसम्मका ठाउँमा तोरण टाँग्ने अभियान पनि चलायो । छुवाछूत र झाराविरोधी मिनाहा गर जस्ता नारा लेखेर गल्ली–गल्लीका, दायाँबायाँ रूखमा तोरण बनाई टाँगिए । बटुवाहरू त्यसमुनि छिरेर हिँडेपछि आफ्ना माग स्विकारेको मानिन्थ्यो । यो अभियान देखेपछि ठूला जात भनाउँदाहरू मुर्मुरिएर दलितहरूका गाउँ पसे । उनीहरूले छुवाछूतविरोधी संगठनका सदस्यलाई कुटपिट गरे । तर तोरण टाँग्ने अभियान एक–दुर्ई गाउँमा मात्र नभई हालको म्याग्दी, पर्वत, पाल्पा, गुल्मी र स्याङ्जाका धेरै गाउँमा समेत पुगेको थियो । आम दलितमाथि ज्यादती भएपछि उनीहरू परदेश भाग्ने वा जंगल पस्ने गर्न थाले । महिनौं दिनसम्म सातु र मोही राति–राति ओसारेर जंगलमा बस्नेहरूलाई ख्वाउने काम दलित महिलाहरूले गरे ।


सारा गाउँ भयावह भयो । कतिले सात डाँडा काटे । कति सोझासिधा दलित दण्ड तिरेर घर फर्के । यसरी फर्केपछि पनि उनीहरूले पिटाइ र मारमुक्का खेप्नुपर्‍यो । सर्वजित संघर्षशील मात्र नभई रणनीतिक चातुर्य भएका मान्छे थिए । आफूमाथि चौतर्फी आक्रमण र नाकाबन्दी भएपछि उनले नयाँ राजनीतिक चाल चाले । त्यो थियो– आरनको टुँडो भाँच्ने आन्दोलन । आफ्ना माग पूरा नभएसम्म काम हडताल गर्ने उद्देश्यले विश्वकर्मा जति सबैले आ–आफ्ना आरन–भट्टा भत्काए, भाँती–खलाँती थन्क्याए । यसले पश्चिम नेपालमा ठूलो तहल्का मच्चायो । त्यसकारण राणा सरकारसमेतको ध्यानाकर्षण हुन पुग्यो ।


राणा सरकारले यसपटक सर्वजित मात्र नभई, लक्ष्मीनारायण, मनवीर, चन्द्रसिंह र पद्मसिंह विश्वकर्मासमेतलाई पक्रेर पाल्पा कारागार चलान गर्‍यो । तोरण टाँग्ने र आरनको टुँडो भाँच्नेजस्ता संघर्षले पाल्पालाई पनि छोइसकेको थियो । तानसेनका नेता रिपलाल विश्वकर्मा पनि सर्वजितसँगै जेल परे ।


पाल्पा जेलमा सर्वजितलाई अनेक प्रलोभन देखाएर माफी मगाउन बडाहाकिम आफैं आए । तर सर्वजितले माफी मागेनन् । त्यसपछि बडाहाकिमले नेल र हतकडी लगाइएका सर्वजितको मुखमा फलामको काँटी ठोकेका जुत्ताले धेरैचोटि हाने । सर्वजितका अगाडिका दाँत झरे । उनको मुखबाट रगत बग्न थाल्यो । उनी मूर्च्छा परे । होसमा आएपछि बडाहाकिमले माफी मागेर कबुल–कागज गर्न कर लगाए, तर सर्वजितले क्षमा नमाग्ने र संघर्ष गर्न पनि नछाड्ने दृढता देखाए । बडाहाकिम सर्वजितलाई पिटेर आफैं थाके । सर्वजितलाई १७ महिना पाल्पा जेलमा राखियो । छुटेपछि उनले बागलुङको हिलियापानीमा २००५ मा स्कुल खोले । यसपछि उनले अर्को उपाए रचे– राजालाई भेटेर जातीय समानताको प्रमाणपत्र बनाएर त्यसमा ‘लालमोहर’ लगाउने ।


२००६ साल जेठमा उनीहरू पैदल हिँडेर काठमाडौं पुगी श्री ३ सरकार तथा प्रधानमन्त्रीलाई सात हात लामो बिन्तीपत्र चढाए ।


ठूलो बहसपछि मूलगुरुकै परामर्शमा तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले ‘आइन्दा छुवाछूत, भेदभाव नगर्ने, विश्वकर्माले जनै लाउन पाउने ‘हुकुम’ गरे । अनि गोलझारा (कोइला काटेबापत तिर्ने तिरो) रकम मिनाहा गरिदिए ।


जति मुद्दा जिते पनि, हुकम प्रमांगी गराए पनि वर्गसंघर्षसँग नजोडिएको र आध्यात्मिक बलमा नै जातीय विभेद पूर्ण अन्त्य हुन सक्छ भनेर गरिएको उक्त संघर्ष पूर्ण सफल हुने कुरै थिएन । उनले वैचारिक र सांगठानिक साथ पाएनन् । संगठन कमजोर भयो । अन्त्यमा निराधार जस्तो भएपछि, नयाँ जुक्तिले काम गर्ने ज्ञान आर्जन गर्न उनी १२ वर्षे छोरालाई लिएर फेरि भारत पसे । २०१२ सालमा भारतको बहराइचमा उनको निधन भएको खबर आयो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?