सेवाको सतत उज्यालो- फिचर - कान्तिपुर समाचार

सेवाको सतत उज्यालो

उनको जीवनको एउटै अभिलाषा थियो— संसारमा कोही भोको नरहोस्, नांगो नरहोस्, कोही दुःखी नरहोस् । अनि कुनै दुःखीलाई देखेर अर्को मान्छे उसलाई सहायता गर्न तम्सोस् ।
दीपक सापकोटा

विद्वान् केशरशमशेरले समाजसेवी दयावीरसिंह कंसाकारमाथि गरेको टिप्पणी घतपर्दो छ– ‘उनी साँच्चैका दयाका वीर थिए । जस्तो नाम उस्तै काम, धन्य हो !’ 

केशरशमशेरले यसै ‘धन्य’ भनेका थिएनन् । दया, करुणा, जागरण र सेवाको वीरता प्रदर्शन गरेर दयावीरले देशमा प्रेम र शान्तिको बिगुल फुकेका थिए । सेवाव्यसनी उनले आफ्नो समस्त जीवन मानव सेवामा समर्पित गरेका थिए । नेपाली सामाजिक जीवनमा दयावीरको विशिष्ट र अद्भुत चमक छ ।


२००१/२००२ सालमा काठमाडौँमा हैजाले मान्छेहरू सोत्तर भइरहेका थिए । हैजाको महामारीले उग्र रूप लिएको थियो । त्यसबेला दयावीरले हैजाग्रस्त मानिसको सेवा गरे । मृत्युको मुखमा पुगेको एकजना बालकलाई आफ्नै घरमा ल्याएर उपचार गरे । छिमेकी र आफन्तले हैजा लागेको ६ वर्षीय बालकलाई घरमा ल्याएको फिटिक्कै मन पराएनन् । ‘तर, बुबाले कसैको कुरा सुन्नुभएन,’ दयावीरका छोरा हितकरवीर सम्झन्छन्, ‘रातदिनको स्याहार–सुसारपछि त्यो बालक स्वस्थ्य भएर घर फर्कियो ।’


२००० सालमा राणा प्रधानमन्त्री जुद्धशमशेरको समयमा वीर अस्पतालका सुपरिटेन्डेन्ट थिए– डा. देवव्रतदास गुप्ता । देवव्रतलाई भेट्न दयावीर अस्पताल पुग्दा त्यहाँ मृत्युशय्यामा छटपटाइरहेका थिए, रत्नकाजी तुलाधर । तुलाधरकी आमाले रुँदै भनिन्, ‘रगत नपाए मेरो छोरो बाँच्दैन ।’ दयावीरले रक्तदान गरे । ‘त्यो नेपालको इतिहासको पहिलो रक्तदान थियो,’ हितकरवीर भन्छन्, ‘२००० सालअघि नै उहाँले आफ्नो कपडा पसलमा प्राथमिक उपचारका केही औषधि राख्नुभएको थियो । बिरामीलाई निःशुल्क दिनुहुन्थ्यो ।’


काठमाडौँ, भीमसेनस्थानमा रहेको परोपकार मार्ग दयावीरसिंहको ‘दयाको वीरता’ को जीवन्त इतिहास हो । परोपकार मार्गमा जोडिएको छ, करिब १५ रोपनी जग्गामा फैलिएको एउटा कम्पाउन्ड । कुनै बेला यहाँ समाजसेवाबारे छलफल, गोष्ठी आयोजना हुने गर्थ्यो ।


यो त्यही कम्पाउन्ड हो, जहाँ परोपकार आदर्श माध्यमिक विद्यालय, परोपकार अनाथालय, परोपकार केन्द्रीय चिकित्सालय र बालिका छात्रावास छन् । अनाथालय, विद्यालय, चिकित्सालय र छात्रावासका सेता भित्तामा सफेद दौरासुरुवाल, कालो फ्रेमको चस्मा लगाएका दयावीरका श्यामश्वेत तस्बिर झुन्डिएका छन् । विद्यालयको प्रांगणमा एउटा पुरानो, गोलो आकारको, रङ खुइलिँदै गएको घर छ । ‘परोपकार आदर्श हाइस्कुल’ लेखिएको यस घरका खोपा, कलाकृति, बनोटले भनिरहेका छन्– यही हो समाजसेवी दयावीरसिंहले अनाथहरूलाई पढाउन स्थापना गरेको विद्यालय । यहाँ उनले प्रयोग गरेका सामान, लेखेका डायरी सुरक्षित छन् ।


केही दिनअघि ‘परोपकार आदर्श हाइस्कुल’ को फराकिलो चौरमा रातो स्वेटर, खरानी रङको प्यान्ट र धर्के टाई लगाएका विद्यार्थीहरू फुर्तीसाथ बास्केटबल खेलिरहेका थिए । विद्यालयको ‘मिटिङ रुम’ मा दयावीरका छोरा ८० वर्षीय हितकरवीर पुराना कागजपत्रको एउटा फाइलमा घोत्लिरहेका थिए । उनी हल्का काँपेको तर शक्तिशाली आवाजमा भनिरहेका थिए, ‘मेरा पिताले त्यो अन्धकार युगमा दुःखी मानिसको सेवा गर्नुभयो । उहाँ मलाई भन्ने गर्नुहुन्थ्यो– ‘जीवनमा तीन कुराको हेक्का राख्नू– कहिल्यै बेइमानी नगर्नू, निष्ठामा बस्नू, सधैं स्वावलम्बी बन्नू ।’’


केल मासंगल्लीमा जन्मेका दयावीरले बाल्यकालदेखि नै भिन्न जीवन बाँच्ने अठोट गरेको बताउँछन्, छोरा हितकरवीर । ‘बुबामाथि हजुरबुबा भवानीवीरसिंहको ठूलो प्रभाव थियो,’ उनी स्मृतिमा पुग्छन्, ‘कवि योगवीरसिंह कंसकारको कविता छापेर प्रचार गरेको आरोपमा हजुरबुबा राणाकालमा जेल पर्नुभएको थियो र पाँच रुपैयाँ जरिवाना तिरेर मुक्त हुनुभएको थियो । हजुरबुबा बुबालाई भनिरहनुहुन्थ्यो– दयावीर, यस्तो काम गर, जसबाट धेरै मानिसको जीवन रक्षा होस् ।’


२००४ असोज १० गते खुलेको ‘परोपकार औषधालय’ परोपकार संस्था–स्थापनाको खास जग हो । औषधालयलाई पछि ‘परोपकार संस्था’ मा नामान्तरण गरियो । ‘दयावीरसिंहले सुरु गरेको परोपकार आजभन्दा भोलि झन्झन् लोकप्रिय हुँदै गयो ।


त्यतिन्जेल नेपालमा संघसंस्था कम खुलेका हुँदा परोपकारको त्यसबेला अर्कै भाउ थियो र आजकालको रेडक्रसको काम एक प्रकारले परोपकारले गर्दथ्यो । २००० मा काठमाडौंमा झाडाबान्ताको ठूलो महामारी थियो । त्यसबेला जनतालाई औषधिमूलो गर्न गठन भएको संस्था पछि–पछि परोपकार भनिन थाल्यो र २००४ सालमा मान्यता पायो ।’ (त्यस बखतको नेपाल, भाग–४, सरदार भीमबहादुर पाँडे) ।


परोपकार र सेवामा मात्र होइन, दयावीरको लगाव राजनीतिक परिवतर्नमा पनि थियो । उनी राणाशासनको अन्त्य चाहन्थे । ‘त्रिभुवन भारतबाट नेपाल फिरेपछि उनको पक्षमा परोपकारका स्वयंसेवकहरूले विशाल जनप्रदर्शन गरेका थिए,’ हितकरवीर भन्छन्, ‘बुबा राणा शासनको पतन चाहनुहुन्थ्यो ।’

दयावीर न्यायप्रेमी व्यक्ति पनि थिए । ‘टोलमा झैंझगडा हुँदा उहाँ न्यायाधीशको भूमिका खेल्नुहुन्थ्यो,’ हितकरवीर सम्झन्छन्, ‘मेरा बुबाले न्याय गर्नुहुन्छ भन्ने विश्वास टोल–छिमेकमा थियो ।’


‘परोपकार संस्था’ स्थापनापछि दयावीरले २५ जना बालकलाई भीमसेनस्थानको टहरामा राखेर लालनपालन गरे । सरकारसँग जग्गा मागे र तिनीहरूलाई त्यहीँ भवन बनाई बन्दोबस्त गरे । यसरी २००९ साल असार १० गते ‘परोपकार अनाथालय’ स्थापना भयो । त्यही साल दयावीरले ‘परोपकार अनाथालय मिडिल स्कुल’ खोले । त्यो नै ‘परोपकार आदर्श माध्यमिक विद्यालय’ मा परिणत भयो ।


यही परोपकारको संरक्षणमा हुर्केका हुन्– इन्जिनियर डा. डम्बरबहादुर नेपाली । अनाथ उनी २०१५ सालमा ‘परोपकार अनाथालय’ पुर्‍याइए । त्यहीँको स्कुलमा पढ्न थाले, त्यहीँको छात्रावासमा बस्न थाले । २०२४ सालको एसएलसीमा बोर्ड फस्ट भए । ‘एसएलसी पास भएपछि दयावीर सरले भन्नुभयो, सधैं जे काम गर्छौ सेवाभावले गर्नू, सधैं अरूलाई सहयोग गर्नू,’ डम्बरबहादुर सम्झन्छन्, ‘दयावीर सरकै वचन सम्झेर अमेरिकाबाट नेपाल फर्किएँ, परोपकारलाई केही गर्नुपर्छ भनेर ।’ काठमान्डु युनिभर्सिटी, स्कुल अफ इन्जिनियरिङका डिन उनी अहिले परोपकार संस्थाका महासचिव छन् ।


सडकबाट आएका, बाबु–आमा थाहा नभएका, ‘परोपकार अनाथालय’ का सबै विद्यार्थीको नाम पछाडि ‘नेपाली’ राखिन्थ्यो । अहिले चाहिँ नाम पछाडि ‘नेपाल’ राखिन्छ वा विद्यार्थीको स्वेच्छा हुन्छ । ‘सबै समान हुन् भन्ने सोचमा सबैको उपनाम नेपाली राखिन्थ्यो,’ डम्बरबहादुर भन्छन् । उनको स्मृतिमा अहिले पनि अनाथालयको आफू सुत्ने ३४ नम्बर बेड बिल्कुल ताजा छ । भन्छन्, ‘मलाई नयाँ जीवन नै परोपकारले दियो । परोपकार नभएको भए कहाँ हुन्थें होला ! सम्झेरै आत्तिन्छु !’


अनाथालयमा अहिले २५ छात्रा छन् । २०७२ सालको भूकम्पपछि छात्रहरूलाई दुवाकोटको परोपकार छात्रावासमा सारिएको छ । छात्रहरू चाँगुनारायण माध्यमिक विद्यालयमा पढ्छन् । यही अनाथालयमा पढेकी, हुर्किएकी, अहिले एमबीबीएस तयारी कक्षाकी विद्यार्थी ममता थापा नेपाल भन्छिन्, ‘यहाँ नपढेको भए मैले यो शिक्षा पाउँदिनथेँ । म शिक्षाको ज्योतिबिना अँध्यारोमै हुन्थें । म भाग्यमानी हुँ, यहाँ छु ।’


अनाथालयमै हुर्केका, परोपकार स्कुलमै पढेका मोहनबहादुर नेपाली २०६२ देखि ‘परोपकार आदर्श विद्यालय’ का प्रधानाध्यापक छन् । उनले यही स्कुलबाट २०३६ सालमा एसएलसी पास गरेका हुन् । २०४२ मा यहीं पढाउन थाले । ‘मलाई गर्व लाग्छ,’ उनी भन्छन्, ‘यही अनाथालयमै हुर्किएँ, यहीँ पढें, अहिले यही स्कुलमा प्रधानाध्यापक छु ।’ दयावीरको प्रेम र स्नेह उनको मस्तिष्कमा अहिले पनि बेला–बेला झुल्किन्छ । ‘दयावीर सर अनाथालयका हामी सबैलाई आफ्नै छोराछोरीलाई झैं माया गर्नुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘जसरी कुनै पितालाई आफ्नो सन्तानको गहिरो चिन्ता हुन्छ, त्यसै गरी उहाँ हामी अनाथको चिन्ता गर्नुहुन्थ्यो ।’


हितकरवीरका अनुसार, दयावीरसिंह देशमा बढ्दो बेरोजगारीले चिन्तित थिए । ‘आफ्नो तर्फबाट रोजगारी सिर्जना गर्न उहाँले ‘करुणा कापः कारखाना’ खोल्नुभयो,’ उनी सम्झन्छन्, ‘कारखानाले घरेलु कपडा बनाउँथ्यो । कारखानामा धेरैले रोजगारी पाए । पछि बिस्कुट कारखाना पनि खोल्नुभयो ।’


दयावीरकै योजनामा २०१० सालमा प्रसूति गृहको शिलान्यास भयो । उनकै शब्दमा : ‘राजा त्रिभुवनलाई परोपकार अस्पताल खोल्ने इच्छा जाहेर गरेँ । त्रिभुवनसँगै बसेका महेन्द्रले भने– अस्पताल बनायौ भने म एउटा कोठा बनाउने खर्च दिन्छु । त्यसबेला युवराज महेन्द्रकी युवराज्ञी इन्द्रराज्यलक्ष्मी देवीको प्रसूति अवस्थामा मृत्यु भएको घटना ताजै थियो । मैले प्रसूति गृह बनाऊँ भनेँ । युवराज महेन्द्रले एक लाख ७५ हजार भारु दिए । सिंहशमसेरसँग जग्गा माग्यौं । र, श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृहको स्थापना भयो । परोपकारले बनाएको प्रसूति गृह पञ्चायती सरकारले खोसेर लग्यो ।’ (समाजसेवी श्री दयावीरसिंह कंसाकार, अशेष मल्ल)


दयावीरको अन्तिम इच्छा थियो– वृद्धाश्रम खोल्ने । ‘त्यो इच्छा अधुरै रहृयो’, परोपकार संस्थाका अध्यक्ष हितकरवीर भन्छन् । हरेक वर्ष समाजसेवी संस्था र हरेक क्षण ‘समाजसेवी’ जन्मिरहने अहिलेको समयमा दयावीरसिंह कंसाकारलाई सम्झनु सायद उपयुक्त छ । थुप्रै समाजसेवी संस्था दयावीरकै र परोपकारकै पथमा हिँडेका छन् । आफ्नै बाटो बनाउन खोज्ने खास समाजसेवीले दयावीरको बाटो पछ्याइरहनेछन् ।


परोपकार संस्थाका लागि उस्ताद गोविन्दलालले गीत लेखेका थिए र तारादेवी र प्रेमध्वजले गाएका थिए–

गर सेवा जनजनहरूमा/ क्लेश नराखी मनमनमा

बालक बालिका नर नारीहरूमा/ सुशिक्षा होस् रहनसहनमा


दयावीरको इच्छा थियो– आफ्नो शवयात्रामा यही गीत बजोस् । उनको इच्छा पूरा गरियो ।


खासमा उनको जीवनको एउटै ध्येय थियो, एउटै अभिलाषा थियो– संसारमा कोही भोको नरहोस्, नांगो नरहोस्, कोही दुःखी नरहोस् । अनि कुनै दुःखीलाई देखेर अर्को मान्छे उसलाई सहायता गर्न तम्सोस् । दयावीरका छोरा हितकरवीरको भनाइ सटिक छ– ‘दयावीरसिंह कंसाकार यस्तो संसार चाहनुहुन्थ्यो, जहाँ कुनै पनि मान्छे निर्दयी नबनोस् ।’

प्रकाशित : फाल्गुन ७, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

सूधपाको सुध

केदार शर्मा

‘हाँस्दा हाँस्तै खरायाको माथिल्लो ओठ च्यातियो दुख्न लाग्यो जसै ओठ खरायो अनि आत्तियो’

आफ्नो सुरमा चर्दै गरेका भेडालाई तर्साएर, उनीहरू आत्तिएको देखेर हाँस्दाहाँस्दै खरायाको ओठ च्यात्तिएको कथा खुच्चिङ मान्दै सुन्दा म बालखै थिएँ । हाम्रा बा शिक्षक भएकाले होला, हामीलाई कथा, कविता आदि सुनाउँदा त्यो कसले लेखेको भनेर पनि भनिदिनुहुन्थ्यो । यो ‘लोभी झिँगो’ लेख्ने कवि भनेर सानैदेखि ‘चिनेका’ पारसमणि प्रधानको परिचयका अरू केही आयाम औपचारिक रूपमा नेपाली साहित्यको विद्यार्थी भएपछि खुले ।

‘श्री पण्डित धरणीधर शर्मा कोइराला’ को ‘नैवेद्य’ भने मैले अलि पछि, आफैं पढ्न सक्ने भएपछि पढेको हुँ । त्यसमा संग्रहीत दुइटा कविता जाग जाग र साहित्य–सुधा अहिले पनि याद छन् । सम्झँदा रमाइलो लाग्छ, ‘जाग जाग’ सजिलो लाग्थ्यो, त्यसमा नबुझिने कुरा केही थिएनन् । तर मलाई ‘साहित्य–सुधा’ ले दिने चुनौती मन पर्थ्यो ।

‘मह झैं छ मिठो बह पार्छ पिठो
तह लाउँछ यो मनलाई छिटो
पढि भाइ सबै अब काव्य मिठो
मन माझी गरौं निज बुद्धि ढिटो’

बुझ्दा (वा बुझेजस्तो लाग्दा) आफूलाई भएको हुर्किएको अनुभूति अझै सम्झिन्छु । हाम्रातिर अलि अटेरी पाराका केटाकेटीलाई ‘ढिटो/ढिटी’ भन्ने चलन थियो । त्यसैले यस कवितामा प्रयोग भएको शब्द ‘ढिटो’ (‘मन माझी गरौं निज बुद्धि ढिटो’) मलाई ‘एकदमै अनुपयुक्त’ लागेको पनि सम्झन्छु र खिस्स हाँस्छु । पछि बुझेको कुरा हो, धरणीधर कोइरालाले जीवनभर जातीय जागृति र स्वाधीनताका लागि मान्छेलाई जगाउने र अड्याउने काममा सबभन्दा बढी ध्यान दिए ।

हाम्रो स्कुल (इलामको करफोक विद्यामन्दिर) मा २००९ साल मंसिरमा भएको कवि सम्मेलन अहिलेसम्म पनि हाम्रो ठाउँकै लागि गौरवको विषय बनेको छ । ‘त्यसबेला काठमाडौंबाट लेखनाथ, देवकोटा, सम आएका थिए । ‘हाम्रातिरका पुराना मान्छे अझै सम्झिन्छन् । काठमाडौंका त्यत्रा साहित्यकारहरू इलामको करफोक भनेरै आउने कुरा थिएन । वास्तवमा त्यो कवि सम्मेलन करफोकमा हुनुका पछाडि दार्जिलिङको हात थियो । सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) लगायतका प्रभावशाली भाषा–साहित्य साधकहरूले दार्जिलिङमा बोलाएका मूर्धन्य कविहरू विद्यालय संस्थापकमध्येका महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोला, त्यस बेलाका प्रधानाध्यापक कमलबहादुर पराजुली आदिका कारण करफोकसम्म आएका थिए । त्यही कार्यक्रमले करफोकको प्रतिष्ठा बढाएकाले पनि हुन सक्छ, त्यसै वर्ष फागुनदेखि इन्द्रबहादुर राई करफोकमा प्रधानाध्यापक भएर आए र करिब दुई वर्ष सेवा गरेका थिए ।

स्कुलको हाजिरीजवाफ प्रतियोगिताका लागि सामान्य ज्ञान बढाउने क्रममा मैले पहिलो पटक ‘सूधपा’ भन्ने शब्द पढेको हुँ । तर आफूलाई कवितामा रस बसेको हुनाले सूधपामध्येका पहिला, अर्थात् सूर्यविक्रम ज्ञवाली भने त्यसबेला मेरा लागि ‘अकवि’ थिए । पछि काठमाडौं आएपछि ती ‘अकवि’ का अरू आयाम पनि खुल्दै गए र उनीप्रति आदरभाव बढ्दै गयो । एक–दुई पटक मैले गौशाला रत्नपार्क कुद्ने मिनीबसमा सूर्यविक्रम ज्ञवालीको दर्शन (अँ, दर्शन) पाएको सम्झिन्छु ।

परिपक्व गठबन्धन
सूर्यविक्रम ज्ञवाली बनारसमा जन्मेका हुन् । उनले बनारस र कलकत्तामा पढेका थिए । करिब २५ वर्षको उमेरमा उनी बनारसबाट दार्जिलिङ गए, जहाँ नेपालबाट दार्जिलिङ छिरेका आफूभन्दा अलि जेठा धरणीधर कोइराला र कालेबुङका समवयी पारसमणि प्रधानसित उनको भेट भयो । धरणीधरको पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले उनी राजनीतिक अधिकार र जातीय चेतनाका मुख्य सचेतक थिए ।

पारसमणि प्रधानको मणि प्रिन्टिङ प्रेसले भारतीय नेपालीभाषी क्षेत्रमा मात्र होइन, नेपालमा पनि पाठ्यपुस्तक आपूर्ति गर्थ्यो । सूर्यविक्रमको साहित्यिक चाख र दक्षता जीवनी, समालोचना, भूमिका लेखन आदिमा थियो । उनीहरू तीनैजना आफ्नो शैक्षिक योग्यता बढाउन र सामाजिक रूपमा प्रभाव बढाउन कहिल्यै पछि परेनन् । उनीहरूले कैयौं काम मिलेर गरे भने आ–आफ्नै किसिमले रचनात्मक काम पनि गरिरहे । लेख्ने, लेख्नेहरूलाई प्रेरणा दिने, कृतिहरू प्रकाशित गरिदिने र आ–आफ्नो पद, ज्ञान र प्रभावको प्रयोग गरेर नेपाली भाषालाई शैक्षिक र प्रशासनिक क्षेत्रमा स्थापित गर्ने क्रममा उनीहरूले धेरै काम गरे । सूधपा जन्मिँदा भने सू, ध र पा को उमेर क्रमशः ५१, ५७ र ५१ वर्ष थियो । त्यसअघि पनि उनीहरूलाई संयुक्त रूपमा ‘सूधपा’ भनिने गरेको हुन सक्छ तर २००६ साल साउनको भारती पत्रिकामा उनीहरूको छोटकरी नाम (सूधपा) भएको प्रहेलिका (अड्को) छापिनुअघि यो संयुक्त नाम कतै छापिएको पाइएको छैन ।

हाँस्तछन् सकललाई हँसाई
को हुनन् ? चिन र लेख मलाई
हेर खोज अनि नाउँ बताऊ
सू–ध–पा–इना भनी नलजाऊ !

सूधपा तीनजनाको भेटघाट भएर अलिअलि तालमेल मिलेपछि कुनै साहित्यिक आन्दोलन सुरु गर्न राखिएको नाम थिएन । नेपाली भाषालाई कलकत्ता विश्वविद्यालयमा समेत स्थापित गरिसकेपछि, नेपाली जातीय कविका रूपमा दार्जिलिङमा भानुभक्तको सालिक स्थापना गरिसकेपछि ज्ञवाली, कोइराला र प्रधान नेपालबाहिर मात्र होइन, नेपालभित्र पनि प्रभावशाली भइसकेका थिए ।

नेपालीत्वको कथा
भाषा–साहित्यका प्रेमीहरूका लागि सूधपा अनन्य भाषासेवक हुन्, जसले भारतमा नेपाली भाषाको प्रचारप्रसार र प्रतिष्ठा अभिवृद्धिका लागि अतुलनीय काम गरे । तर अनुसन्धाताहरू त्यति भनेर चित्त बुझाउँदैनन् । उनीहरू भारतमा नेपाली जातीय चेतनाको विकास नेपालमा भन्दा पहिले भएको मान्छन् र त्यसमा त्यसबेला भाषा साहित्यका अभियानीका रूपमा सक्रिय व्यक्तिहरूको हात रहेको मान्छन्, जसमा सूधपा स्वतः पर्छन् । इतिहासकार डा. प्रत्यूष वन्त भन्छन्, ‘नेपालीहरूको जातीय पहिचान नेपालभन्दा बाहिर, विशेषगरी बनारसमा सुरुमा र पछि १९७०–८० को दशकमा चाहिँ विशेष जोडतोडसहित दार्जिलिङमा हुन थालेको हो । १९९५–२००० तिर सूर्यविक्रम ज्ञवालीले सम्पादन गरेको ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशित भएपछि र त्यो नेपालमा उपलब्ध भएपछि मात्र भानुभक्तबारे नेपालीले बढी जानकारी पाउन थालेका हुन् ।’ २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एउटा लेखमा रोड्रिक चाल्मर्सले ‘नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो’ भनेका छन् । उनको लेखको दाबीअनुसार प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बनेको हो ।

जुनबेला सूधपा भाषिक, साहित्यिक र सामाजिक गतिविधिमा संलग्न थिए, त्यसबेला भारतका विभिन्न भागमा नेपालीभाषीहरूको संख्या बढ्दै थियो । धर्मकर्म र पढाइलेखाइका लागि गएकाहरू बनारसमा थिए । उन्नाइसौं शताब्दीको अन्त्यतिरदेखि नै ब्रिटिस इन्डियन आर्मीमा गोर्खालीहरूको भर्ती बढ्न थालेको थियो । सुगौलीको सन्धिपछि दार्जिलिङमा हुने निर्माणकार्य र त्यसपछिको चियाखेतीले लोभ्याएर सीमाना काटेका नेपालीहरू उतैको बसाइ रोज्न थालेका थिए । धानको भात खाने अवसर खोज्दै हिँडेका नेपालीहरू असम (अहिलेको मेघालयसमेत) सम्म पुगेर गाई पाल्न र दूधको व्यापार गर्न थालेका थिए । अवकाशप्राप्त गोर्खा सैनिकहरूमध्ये पनि निकैले उतै बसोबास गर्न थालेका थिए । भारत भूमिमा स्थायी नेपाली समाजले जरो गाड्दै थियो । दक्षिण एसियाका भाषा र संस्कृतिमा विद्यावारिधि गरेका चाल्मर्स लेख्छन्, ‘भारतमा बसोबास गर्ने अरू जातिका तुलनामा आफूहरू धेरै पछाडि रहेको चेतना सचेत नेपालीहरूमा तीव्र रूपमा जाग्यो । लगभग साझा समस्याहरू सामना गर्दागर्दै एउटा समान अस्तित्वले विस्तारै स्पष्ट रूप लिन थाल्यो ।’

सूधपाले त्यही अस्तित्वलाई भाषिक र सांस्कृतिक आत्मविश्वास दिए । ‘नेपाली’ भने पनि वा राजनीतिक कारणले ‘गोर्खाली’ भने पनि त्यो अस्तित्वको खोजी र पहिचानका कारण अहिले भारतमा बस्ने दसौं लाख नेपालीभाषीको समाजले उनीहरूलाई आफ्नो अभिभावक मानेको हो । जातीय र भाषिक चेतनाका यी नायकहरू हाम्रा लागि पनि सधैं वन्दनीय छन् । तीनै जनाको निधन ८७ वर्षको उमेरमा भयो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×