कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजार सपनाहरुको माया लागेर आउँछ...

‘राजेन्द्रमान जो सपना देख्थे’

काठमाडौँ — झण्डै ४ वर्षे दिल्ली बसाइमा एकजना यादगार छिमेकी थिए— राजेन्द्रमान श्रेष्ठ । छिमेकी यस अर्थमा तत्कालीन जंगपुरा, रेल्वे स्टेशनको वार र पारका भाडाघरमा हामी बस्थ्यौं । कहिले मर्निङ वाककै सुरमा हमजाएगा हाप्पेन, तन्‍नेरी टाइपको टिसर्ट र स्पोर्टस् जुत्ताका भरमा राजेन्द्रमान आउँथे, मेरो डेरामा र, ‘बेल’ बजाउनासाथ भन्थे- भाइजान, कडक चाय मिलेगा क्या ?

हजार सपनाहरुको माया लागेर आउँछ...

अनि गफ सुरु हुन्थ्यो, उडनतस्तरी टाइपका । नेपाली दूतावासमा काउन्सेलर पदमा कार्यरत नेपाल प्रहरीका एसपी राजेन्द्रमानको पेसागत हैसियत र उनको ख्यातीका बारे बरु अलिक पछि मात्रै थाहा हुन सक्यो । तर, ती ‘पुलिस सर’ यति निकटस्थ छिमेकी बने कि उनको सौख र स्वभावमा पनि हामी मनमिल्दा बन्यौं । कहिले सरोजिनी मार्केट, कहिले सेवानगर अथवा साकेत सेलेक्ट सिटी, सीपीमा सागै फुर्सद बिताउने मित्रवत राजेन्द्र सधैंजसो भनिरहन्थे— ‘भोलिपर्सि नेपालगञ्ज फर्कने हो, माछाखेती र गाइपालन गरेर गजबले बुढ्यौली बिताउने हो । अरु सपना–जपना केही छैन भाइ ।’

दिल्ली नियोगमा नेपाल प्रहरी, अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा अधिकारीको ‘पोस्टिङ’ तैनाथ थियो, अहिले पनि छ । यदाकदा नेपाली मामलाकै मानव तस्करी, हत्याहिंसा र चेलीबेटी बेचबिखनका स्रोत सूचनासहित ‘रेस्क्यु’ गर्नुपर्ने अथवा समन्वय जुटाउनुपर्ने सम्मका जिम्मेवारी आइपर्थे । तर, अधिकांश सुरक्षा अधिकारीहरु सधैंजसो भन्थे—‘कुटनीतिक निकायबाट एकैचोटी कहींकतै जान मिल्दैन, विदेश मन्त्रालयमा खबर नगरी कतै ‘रेस्क्यु’मा जान पनि मिल्दैन । प्रक्रिया मिलाउन २/४ दिन लाग्छ नै ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँगकाे भेटमा पूर्वराजदूत दीपकुमार उपाध्यायसहित राजेन्द्र

हो पनि । अर्को देशमा भैरहेका अनाधिकृत गतिविधि अथवा नेपाली सरोकारका विषयमा पनि सम्बद्ध निकायलाई जानकारी दिनैपर्थ्यो । तर, यसमा कति सरोकार राखेर र कर्तव्यपरायण भएर काम गरिएको छ भन्ने थाहा भैहाल्छ । कुनै इच्छा, जाागर र चेष्टा नराखिकिएकै अवस्थामा गरिने पहलकदमीको के अर्थ ? जस्तो—तिहाड जेलमा कति नेपाली छन्, के अवस्थामा छन् भनेर दिल्ली नियोगले विदेश मन्त्रालयमार्फत बुझबुझारथ गर्न चाहेको वर्षौं भैसकेको थियो । तैपनि त्यस प्रकारको सूचना पाउन अथवा जेल भ्रमणमा ‘कन्सुलर एक्सेज’ पाउन कहिल्यै सकिएको होइन ।

यसो भनेर, एकजना कन्सुलर राजेन्द्रमानको एकल सरोकार र पहुँचको जोडबलको मात्रै ‘काबिल’ थियो भन्न खोजिएको होइन । तर, आईपीएस ट्रेनिङ लिादा भारतीय सुरक्षा निकायका साथी हुन् अथवा अरु सरोकारका पात्र, जसरी भए पनि पहुाच बनाउन र सम्पर्क सूत्र जोड्‍नमा सफल रहन्थे । दिल्ली हुँदै इराक लैजान लागिएका चेलीबेटीको उद्धारमा उनी कहिले पहाडगञ्ज पुग्थे भने कहिले स्थानीय प्रहरी अघि लगाएर शंकाश्पद होटल चहार्न माल्वीयनगर जान्थे ।

गाजियाबाददेखि चण्डीगढसम्मका बाल आश्रम गृहमा नेपाली बालबच्चा रहेको सूचना र सुराकी पाएर उद्धार–समन्वयमा उनी पुग्थे ।

ब्याडमिन्टन, स्विमिङ, टेबलटेनिस सौखको छड्के–साक्षी बनेर यताउता गरिरहेकै बेला राजेन्द्रमान आफ्ना बाबु कृष्णमानको सादगी जीवन र राजनीतिक संघर्षका कथा पनि सुनाइरहेका हुन्थे । ‘तर राजनीतिमा भने गइन्न है भाइ, केहीकथन मरिगइयो भने पनि सम्झनेभन्दा बढी बिर्सनेहरु बढी हुन्छन्,’एकपटक साकेत गार्डेनमा खसी–सिकारसहितको पिकनिकमा राजेन्द्रले सुनाएका थिए ।

अर्को एउटा संयोग आइपर्यो, एकदिन जंगपुरा निवासमा एकसाँझ आइपुगे राजेन्द्रमान । त्यो उनको जन्मदिन थियो, सेप्टेम्बर पहिलो सातामा । जन्मदिनबारे अर्का छिमेकी एवं नियोगका कन्सुलर यदु खरेलले बताइसकेका थिए । छिनभरमैं केक मगायौं, दिल्लीभरमै ढुवानी सेवाका लागि फेमस साँल्दाइ(प्रमोद) पनि ‘बर्थडे विस’ गर्न आइपुगे । अनि राजेन्द्रमानले रोमान्टिक बनेरै भावुक गीत सुनाए— हजार सपनाहरुको माया लागेर आउँछ...।

दिल्ली नियोगको छोटो दुई वर्षे कार्यकाल पूरा गरेर एकदिन राजेन्द्रमान काठमाडौं फर्कने खबर आयो । त्यो मुडमा उनले सुनाए— भाइ आज भिटामिन खानुपर्छ है । जंगपुरामा सााझको भिटामिन पार्टीमा सााल्दाइ (प्रमोद) खरेल, डा.दीपक गौतम, यदु खरेल, आकांक्षा शाह, प्रकाशराज पन्तसहितका शुभेच्छुक थिए । गायन–बादनमा त्यति पारंगत नभए पनि स्वच्छन्द–मनकारी स्वभावका राजेन्द्रमानले सुनाएका थिए— अल्झें कहीं त के भो बाटो भुलेको छैन...।

अवकाशको यो घडी

काठमाडौं फर्केको केही समयमैं एसएसपी राजेन्द्रमान विराटनगरस्थित क्षेत्रीय तालिम केन्द्रमा प्रमुख भएर आएका थिए । म दिल्लीमै थिएा । फोनवार्ता भैरहन्थ्यो । २०१६ मार्चमा काठमाडौं हुँदै झापा जाने क्रममा राजेन्द्रमानले आफ्‍नो क्वार्टरमा सपरिवार बोलाए, दिल्ली सम्झना उधिन्ने काम भयो धेरैबेर ।

त्यही वर्षको जुलाई (२०७३ साउन १५) गते एउटा विष्मयकारी समाचार सुनियो— एसएसपी राजेन्द्रमान धरानस्थित अञ्‍चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दै गर्दा अचानक लडेका थिए, त्यहाँबाट होस फिर्न सकेको छैन, झन्डै कोमा अवस्था छ । झापा गएको बेला धरान गएर राजेन्द्रमानलाई हेर्न पाएँ । ‘सर देवेन्द्र, जंगपुरावाले...’यसो निमेषभर आँखा खोलेजस्तो लाग्थ्यो, फेरि स्थिर हुन्थ्यो ।

अचानक हृदयगति बन्द भएको र केही मिनेटमा सञ्‍चालन भएको अवस्थामा केही सेकेन्ड रक्तसञ्चार रोकिएको अवस्थामा मष्तिष्कमा अक्सिजन पुग्न नसकेको अवस्था रहेछ । मेडिकल टर्मिनोलोजीमा ‘लक्ड इन सिन्ड्रोम’ को यो अवस्थामा स्याहार गरेर बसिरहेकी छिन् श्रीमती आरधाना राणा श्रेष्ठ । एउटा विशिष्ट प्रकृतिको घटना भनेर र नेपाल प्रहरीकै सबैभन्दा अब्बलमध्येका मानिएका राजेन्द्रमानको योगदान सम्झेरै उनलाई अस्पतालमा रहेकै अवस्थामा २०७४ भदौ ५ मा विशेष प्रबन्धबाट एसएसपीबाट डीआईजी तहमा बढुवा गरिएको थियो । अहिले काठमाडौंको वीरेन्द्र प्रहरी अस्पतालमा विशेष सेवा–निगरानीमा उपचार (टेक–केयर) सुविधा पाइरहेका उनै राजेन्द्रमान सेवा–अवधि पूरा भएका आधारमा अवकाशको मुखैमा आइपुगेका छन् । २०४६ फागुन २८ मा प्रहरी निरीक्षक पदमा भर्ना भएका राजेन्द्रमान माघ २९ (बुधबार)का दिन सेवाबाट अवकाश पाउँदैछन् ।

एउटा विडम्बनाको कुरा, सुरक्षा निकायको उच्च पदस्थ हुनासाथै जोकोहीलाई ‘अब्बल’ र ‘काबिल’ भनिने चलन छ हामीकहाँ । जस्तो, राष्ट्रिय सरोकारको मुद्दा निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा भएको ‘ऐतिहासिक लापर्बाही’मा ‘सरी’ भन्न नसक्‍ने प्रहरी प्रमुखलाई पनि यतिखेर ‘काबिल’ नै मानिएको छ । तर, राजेन्द्रमान भनेको वीरगञ्जको गााजाखेती उन्मूलनदेखि त्यहााका भूमिगत आतंकवादी गिरोहलाई काबुमा ल्याउनेसम्म र युनिटी ठगी काण्डका नाइके काशी गुरुङलाई भारतबाट पक्रेर ल्याउनेसम्मका देखिने कामका अब्बल अधिकारी हुन् ।

हो, राजेन्द्रमान जीवन जिउने अर्थमा यतिखेर निकै महंगो र संवेदनशील ‘ट्राकोस्टोमी श्वासप्रश्वास’का भरमा छन्, पेटमा प्वाल पारेर ‘पेग’ भरमा खानेकुरा, झोल, औषधि दिइन्छ । मस्तिष्क र शरीरका अंगबीच सञ्‍चार (संवाद) अवरुद्ध स्थिति छ । धन्य, राज्यपद्धति र प्रहरी प्रशासनको विवेकले उनी अस्पतालकै भरमा बाँचिरहेका छन् । ‘बुधबारबाट पदबाट अवकाश पाएपछि कहाँ जाने होला ? अब के गर्ने होला ? यो अवस्थामा घर लगिएमा शारीरिक अवस्था र स्वास्थ्य कसरी अनुकुल भएर बस्न सक्ला ?’,यी र यस्ता सहस्र प्रश्न अहिले उब्जिएका छन् । श्रीमान राजेन्द्रमानको सेवासुश्रुषमा रातदिन नभनी अस्पताल बसिरहेकी श्रीमती आरधनाको मनमा यतिखेर अनेकौं प्रश्नहरु खेलिरहेका छन् जसको जवाफ कहींकतैबाट आइगएको छैन । ‘भोलिबाट अस्पताल छाड्‍नु पनि भनिएको छैन, अथवा केही समय रहनु भनेर पनि भनिएको छैन,’श्रीमती आरधनाले भनिन्- ‘निकै अन्यौलका माझ बसिरहेकी छु ।’

र, राज्य पद्धतिमा कहींकतै मानवीय–संवेदना छ भने अथवा हामीकहाँ लोककल्याणकारी–संस्कार कहींकतै बाँचेको छ भने नेपाल प्रहरीका यी अब्बल सिपाही राजेन्द्रमानको जीवनको ‘ग्यारेन्टी’ अहिले झैं भए पनि गर्न सकिन्छ कि ?

प्रकाशित : माघ २८, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?