नेपालगन्जमा ‘नीलो फूल’

फाल्गुन ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको इच्छाविपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनुपरेको छ । बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नुपरेको छ । विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक संघर्ष गर्छन् । यस्तै विषयवस्तुलाई समेटेर निर्माण गरिएको सर्ट फिल्म ‘नीलो फूल’ सोमबारदेखि नेपालगन्जमा प्रदर्शन गरिएको छ । 

फिल्म हेर्न हल पुगेकामध्ये अधिकांश युवा थिए । समयमै परिवारले आफ्ना छोराछोरीको भावना नबुझ्दा यस्ता कतिपय सन्तान भित्रभित्रै पिल्सिनुपरेको २० वर्षीया प्रकृति थापाले बताइन् । ‘आजसम्म हामीले पढेका मात्र थियौं, आज एलजीबीटीक्यूआईका बारेमा फिल्मको छोटो सन्देशले धेरै कुरा बुझाएको छ,’ उनले भनिन्, ‘समाजका कारण मान्छे खुल्न सक्दैन । एउटा व्यक्तिले आफ्नो भावना खुलस्त नभन्दा एउटा परिवार नै मानसिक रूपमा कसरी विवश हुनुपरेको छ भन्ने सन्देश यस फिल्मले दिएको छ ।’

अधिकारकर्मी कमला पन्तले समाजमा पुरुष र महिलाको मात्रै चर्चा गरिरहँदा अहिलेको संविधानले तेस्रोलिंगीको पनि व्यवस्था गरेको बताइन् । ‘तर, यसको वास्तविकता के हो, यसको समाधान के हो, विकल्प के हो भन्नेजस्ता प्रश्नमा खासै चर्चा भएको छैन,’ उनले भनिन्, ‘मानवअधिकारको दृष्टिकोणबाट मान्छेलाई मान्छे भएर बाँच्ने वातावरण बनाइदिने दायित्व राज्यको हो ।’

फिल्म निर्देशक सुनीलबाबु पन्तले २३ वर्षअगाडि सन् २००१ मा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको मानवअधिकार र स्वास्थ्यमा काम गर्न नील हीरा समाज नामक गैरसरकारी संस्था स्थापना गरेका थिए । उनले नै लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

पहिलो संविधानसभाका सदस्य पन्तको रिटमा सर्वोच्च अदालतले २०६४ पुस ६ गते सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । तर समलिंगी विवाहको कानुन भने अहिलेसम्म बन्न सकेको छैन । जसका कारण नीति निर्माणकर्तालाई प्रश्न गर्नैका लागि ‘नीलो फूल’ निर्माण गरेको पन्तको भनाइ छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully