'बाघको बङ्गारा' देखाउँदै किम्फ सुरु हुने 

काठमाडौँ — हेर्ने कथा टिमले बनाएको मह काढ्ने व्यक्तिमाथिको डकुमेन्ट्री 'बाघको बङ्गरा' देखाउँदै काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सुरु हुने भएको छ ।

'बाघको बङ्गारा' देखाउँदै किम्फ सुरु हुने 

विद्या चापागाईंको निर्माणमा तयार पारिएको डकुमेन्ट्री बुधबार पत्रकार सम्मेलनबीच देखाइयो । यसअघि पनि मह काढ्ने व्यक्तिमाथि थुप्रै डकुमेन्ट्री बने । तर, आफूहरुले मह काढ्ने कथामात्र नभई त्यहाँसम्म पुग्न उनीहरुले गर्ने यात्रालाई देखाउन यो डकुमेन्ट्री निर्माण गरेको विद्याले बताइन् ।

'हामी महलाई कसरी निकाल्यो भन्नेतर्फ हाम्रो ध्यान पुगिरहेको हुन्छ । तर, उनीहरु कसरी त्यहाँसम्म पुग्यो भन्ने कथा बिरलै देख्न पाइन्छ । त्यसैले उनीहरुको खुट्टामा पुगेर त्यो यात्रा गर्दा कति कठिन हुन्छ भन्ने देखाउनु थियो,' विद्याले भनिन्, 'साथै, उनीहरुको ठाउँमा उभिएर हेर्दा त्यो ठाउँ, परिवेश र भूगोल कस्तो रहेछ भन्ने थाहा पाउन चाहन्थ्यौं । त्यो ठाउँमा पुगेको पनि यो डकुमेन्ट्रीमा ३० प्रतिशत मात्र देखाइएको छ ।' डकुमेन्ट्रीमा जाजरकोटको अक्करे भीरमा मह काढ्नेहरु कसरी पुग्छन्, उनीहरुका कथालाई कैद गर्न पुगेका टोलीको संघर्ष देखाइएको छ । डकुमेन्ट्रीलाई कमल कुमारले निर्देशन गरेका हुन् ।

डकुमेन्ट्रीमा नेपालीपन, मौलिकता मिसिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन् । 'यसअघि धेरै हनी हन्टिङको कथा हेरें । किम्फमै पनि कति देखाइयो । तर, यो डकुमेन्ट्रीमा मौलिक स्वाद भेटिन्छ, यसमा नेपालीपन छ,'उनले भनिन् ।

मंसिर २२ देखि २६ सम्म हुने फेस्टिभलले यसपटक 'सस्टेनेबल समिट्स'को नारा बोकेको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गर्दै यो नारा तय गरिएको लिम्बूले बताइन् । दुई वर्षपछि भौतिक रुपले आयोजना हुने तयारीमा रहेको किम्फको समापन अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले बनाएको फिल्म 'फ्लाई फ्रम एभरेस्ट' प्रदर्शन हुँदैछ । सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु यसमा समेटिएको छ । त्यस्तै पहिलो दिन नै भारतीय निर्देशक एम गनी निर्देशित फिल्म 'मट्टोकी साइकिल'को विशेष प्रदर्शन हुनेछ । फिल्ममा अभिनय गरेका बलिउड निर्देशक एवं अभिनेता प्रकाश झा किम्फका लागि नेपाल आउँदैछन् ।

यो वर्ष किम्फमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शनमा छन् । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा प्रदर्शन गरिने फिल्ममा दुई दर्जन अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुने बताइएको छ । फिल्म प्रदर्शनसँगै फिल्ममा युवाहरु शीर्षकमा अन्तरक्रियासमेत हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, इन्सेस्नट रेन स्टुडियोका किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना ली फेस्टिभलका निर्णायकमा छन् ।

प्रकाशित : मंसिर १५, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?