कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ'

काठमाडौँ — लोकप्रिय ब्याण्ड 'नेपथ्य'ले मंसिर १६ गते विराटनगरमा सांगीतिक प्रस्तुति दिने भएको छ । यही साताबाट नेपथ्य सांगीतिक प्रस्तुतिका लागि देश दौडाहमा जाने भएको हो ।

'सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ'

'महिना दिन लामो ‍दौडाहमा जान टोली तयार भइसक्यो । हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ ब्याण्डका प्रमुख गायक अमृत गुरुङ भन्छन्, ‘अब फेरि सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ ।’

अमृतका अनुसार मुलुक सशस्त्र द्वन्द्वमा फसेको बेला नेपथ्यले सरिक भइ 'सुन्दर शान्त नेपाल' र 'शान्तिको लागि शिक्षा'जस्ता अभियान चलाएको थियो । त्यो भयावह स्थितिमा पनि समाजलाई जोड्न संगीतले मद्दत गरेको उनको अनुभव छ । 'अघिल्ला दिनहरू हामीले जताततै पार्टीका झण्डाहरू देख्यौं । यो साताबाट सुरु हुने नेपालभरको यात्रामा सम्पूर्ण दर्शकहरू रातो र चन्द्रसूर्यको झण्डा बोक्दै नाचेको हेर्न म आतुर छु,' उनले भने ।

विराटनगरपछि नेपथ्य पश्चिमतर्फ लाग्नेछ भने काठमाडौं फर्केपछि पुस १६ मा भृकुटी मण्डपमा नेपथ्य गुञ्जेनछ । आफ्ना गीतहरुलाई 'मानवता प्रवर्द्धन अभियान'सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था 'मानव सेवा आश्रम'सँग हातेमालो गरेको छ । १६ गते विराटनगरको हाटखोला मैदानमा पहिलो कन्सर्ट आयोजना भएपछि १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’, २२ गते हेटौंडाको 'भूटनदेवी स्कुल मैदान', २५ गते नारायणघाटको ‘क्याम्पाचौर’ हुँदै मंसिर महिनाको अन्तिम शो २९ गते नेपालगन्जको रंगशालामा हुनेछ ।

पुसको ३ गते भने धनगढीको रंगशालामा सांगीतिक प्रस्तुति दिइसकेपछि वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ मा कर्णाली प्रदेशका श्रोतासामु उपस्थित हुनेछ । त्यसपछि बुटवलको 'रामनगर खेलमैदान'मा मा ९ गते प्रस्तुति हुने बताइएको छ। पुस १२ गते भने मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा कन्सर्ट आयोजना हुने जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?