‍नाट्य महोत्सवमा 'कुभिण्डोको कथा'- मनोरञ्जन - कान्तिपुर समाचार

‍नाट्य महोत्सवमा 'कुभिण्डोको कथा'

'फिल्ममा अझै विविधता स्वीकारिँदैन'  
रीना मोक्तान

काठमाडौँ — एउटा समूह डोको बोक्ने प्रयासमा देखिन्छ । भर्खरै बुनेको नयाँ डोको । खाली डोकोलाई गह्रौं भारी ‍झैं बोक्दैछन् । डोको बोक्नेहरूका हातमा छ टेक्ने लौरो पनि । त्यही लौरोले कहिले भुइँ टेक्छन्, कहिले डोको अड्याउँदैछन् । त्यतिकैमा डोको बोक्दै गरेका एक जना बोल्छ,'यो डोको त निहुरिने खालको होइन रहेछ' ।

साझा अनुभूति एक्कासी उनको मुखबाट फुत्किएपछि सबै मुखामुख गर्छन् । त्यतिकैमा दर्शकदीर्घामा उभिएका अभिनेता दयाहाङ राई बोल्छन्,'यो टाउको मात्र निहुरिनुपर्ने डोको हो के !' ‍। हाँसोको खित्का छुट्छ । मण्डला नाटकघरभित्र प्रवेश गर्दा देखिएको दृश्य हो यो ।

मंसिर ९ देखि मण्डलामा सुरु हुने 'दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव'मा प्रिमियर हुने यो नाटक 'कुभिण्डोको कथा' हो । दयाहाङसँगै विकास जोशीले नाटकको निर्देशन गर्दैछन् । सोमबार मण्डला पुग्दा कलाकारहरू रिहर्सलमा व्यस्त देखिन्थे । कोही डायलग दोहोर्‍याउँदै थिए, कोही नयाँ प्रप्ससँग भिज्ने कोशिसमा देखिन्थे । मञ्चको छेउमा बसेका वाद्यवादक, संगीत बजाउनमै मस्त । सेट डिजाइनका जिम्मा पाएकाहरू मञ्च निर्माणमै व्यस्त । अभिनेता दयाहाङलाई भने कलाकारको अभिनयदेखि संगीत समूह, सेट डिजाइन, प्रप्स हेर्न भ्याइनभ्याइ थियो । 'नाटकको रिहर्सल कति सकियो त? अस्तव्यस्तताबीच गफिन बसेका दयाहाङले जवाफमा भने,'ब्लकिङ सकियो, अब पोलिस गर्नुछ । म्युजिक, प्रप्स, कस्ट्युमसँग काम भइरहेको छ ।'

'कुभिण्डोको कथा' मण्डलाले केही समय अगाडि आयोजना गरेको लेखन कार्यशालाबाट छनौट गरिएको हो । 'कुभिण्डोको कथा'लाई प्रनिश मगरले लेखेका हुन् । मगर समुदायको लोक कथामाथि आधारित यस नाटकले अस्तित्व र सह-अस्तित्वको कुरा उठाएको छ । मगर समुदायको भुमें पुजामा नातिनीको एउटा जिज्ञासा मेट्न हजुरआमाले सुनाउने लोक कथा नै 'कुभिण्डोको कथा' हो । यो कथामा नाटक तयार पार्न दयालाई खासै प्रयाप्त समय थिएन । उनी प्रकृतिसँग नजिक हुन रुचाउने । कथा पनि प्रकृति सम्बन्धित भएकै कारण छोटो समयमै निर्देशन गर्न तयार भएको दया सुनाउँछन् । 'मेरो जुन कार्य क्षमता छ त्यसभित्र पर्ने किसिमको नाटक हो यो । थोरै समयमा सजिलो तरिकाले तयार गर्न सक्ने नाटक मैले रोजें । सहज तरिकाले गम्भिर कुरा भनिएको नाटकमा । भयंकर नयाँ गर्ने भनेर यो रोजेको होइन,'उनले भने,'फरक क्षमता भएका व्यक्तिहरूलाई समाजमा कसरी हेरिन्छ, उनीहरूलाई कसरी हेर्नुपर्ने हो भन्ने कथालाई प्रनिशले कुभिन्डोसँग जोडिदिएको छ । प्रकृतिमा हरेक जिवजन्तुको भूमिका छ भन्ने दृष्टिकोणबाट कथा भनिएको छ । प्रकृतिसँग सम्बन्धित हुने बित्तिकै मलाई मज्जा लाग्छ । गाउँ-ठाउँमा हुर्केर होला, प्रकृतिसँग नजिक अनुभव गरिहाल्छु ।'

खासमा दयाले 'मितज्यू', 'क्लब सेभेन 'झ्यालिञ्चा', 'जालिनी'पछि नाटक नगरेकै ३/४ वर्ष भइसकेको थियो । निर्देशनमा फर्कन चाहन्थे । कथाहरू पढ्दै पनि थिए । त्यतिकैमा प्रनिशको कथाले मन छोयो, निर्देशन नगरि बस्न सकेनन् । सँधै अरुको एक्सन/कटमा अभिनय गर्ने दयाले निर्देशनमा पनि रमाउन जानेका छन् । निर्देशन उनका लागि नयाँ कुरा सिक्ने ठाउँ पनि हो । 'निर्देशन गर्दा कलाकारहरूको बडी ल्याङ्गवेज र इमोसनमा कसरी काम गरिरहेको छ भन्ने टेक्निकहरू सिक्न पाइन्छ,'उनी भन्छन्,'कलाकारका हिसाबले आफूले गाह्रो अनुभव गरेको कुरालाई म यता सहज बनाइदिन्छु । कतिपय समय कलाकार थकित हुन्छ, दिमागमा केही कुरा नै आइरहेको हुँदैन । एकछिन ब्रेक भइदिए हुन्थ्यो भन्ने लाग्छ । त्यसैले म कहिले उनीहरूलाई ब्रेक चाहिन्छ भनेर सोध्छु । ब्रेकपछि उनीहरू उर्जाशिल भएर आउँछन् ।'

रंगमञ्चमा विविधता

महोत्सवलाई यस पटक विविधताको उत्सवका रुपमा पनि मनाइँदैछ । 'कुभिण्डोको कथा'मा पनि त्यसको अभ्यास भएको छ । दयाका अनुसार नाटकका लागि अडिसन आह्वान गरेर नै कलाकारहरू रोजेको हो । कलाकारहरूमा पनि विविधता देखियोस् भन्ने उनी चाहन्थे । नृत्य र संगीतमा दख्खल राख्नेहरू पनि छनौट समूहको रोजाईमा पर्‍यो । झापादेखि महेन्द्रनगरसम्मका कलाकार नाटकमा देखिँदैछन् । 'यसरी फरक ठाउँका, फरक समुदायका कलाकार राख्दा उनीहरूको भोगाईबाट सिक्न पनि पाइन्छ । काम पनि राम्रो हुन्छ भनेर उनीहरूलाई रोज्यौं,'कफी पिउँदै भने,'हुन त नाटकमा मगर समुदायकै कलाकार धेरै हुनु भएको भए राम्रो हुन्थ्यो होला । तर, उनीहरको सँस्कृति मगरले समुदायले मात्रै बुझेर भएन । सँस्कृति भनेको त हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसलाई बचाउने काम कलाकारहरूकै हो ।'

'कुभिण्डोको कथा' गर्दै गर्दा मगर सँस्कृतिलाई अलिकति नजिकबाट बुझ्ने मौका पाएकोमा दया खुशी छन् । फिल्मको दाँजोमा विविधता रंगमञ्चमा देखिने गरेको दयाको दाबी छ ।'विविधता त आवश्यक नै छ, त्यसैले त हो मजबुत बनाउने । खुवालुङ, चोरको सोर आउँदा दर्शकमा स्वीकार्य पनि भयो । तर, फिल्म क्षेत्रमा हामीले गरेको फिल्मलाई क्षेत्रीयको ट्याग लगाइदिन्थ्यो । फिल्ममा अझै विविधता स्वीकार्न मुस्किल छ,'उनी तर्क गर्छन्,'युवा कलाकारले गरेको फिल्मलाई मात्र लभस्टोरी हो भन्ने सोच छ । तर, प्रेम त जुनसुकै उमेरमा पनि हुनसक्छ । सोचाइमा पनि त्यस्तो विविधता भेट्याइँदैन । नुमाफुङलाई लिम्बू फिल्मको ट्याग लगाइदियो । कब्बडीको पहिलो लुक्स सार्वजनिक हुँदा जातीय फिल्म हो दर्शक आउँदैन भनिदिन्थे ।'

‍दयाको 'कुभिण्डोको कथा'सँगै महोत्सवमा अन्य पाँच नेपाली नाटक मञ्चन हुनेछन् । विश्वभरका ६ नाटक प्रस्तुत हुनुका साथै भारतीय अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुनेछ । अन्तर्राष्ट्रिय नाट्यमहोत्सव गर्न आर्थिक अभाव देखिन्छ । सहयोकका लागि मण्डला समूह महानगरपालिका, नगरपालिका धाइरहेका छन् । सँस्कृति मन्त्रालयहुँदै अर्थमन्त्रालय पनि पुगे । नाट्यमहोत्सवको अनुमानित बजेट १ करोड ५० लाख हो । तर, अहिलेसम्म काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले सहयोग गर्ने घोषणा गरेका छन् । खासमा महोत्सवका लागि 'सिभिल पिस सर्भिस'ले ६० प्रतिशत लगानी गरिदिने र बाँकी मण्डलाले नै स्रोत जुटाउनुपर्नेछ । महोत्सव तयारी गरिरहँदा अहिले आयोजकलाई आर्थिक कुराकै चटारोले सताएको छ ।

'पहिला गर्दा आर्थिक सहयोग ठूलो थियो । त्यतिबेला काठमाडौंमा भएका सबै रंगमञ्चले संयुक्त आयोजना गर्दा सजिलो भयो । कम बजेटले व्यवस्थापन गर्न सकिँदैन । यहाँको महानगरपालिका, नगरपालिकासँग समन्वय गर्दैछौं । चुनावको चटारोले कठिन भइरहेको छ,'दया सुनाउँछन्,'अहिलेसम्म पुगेका ठाउँहरूमा यो विषयमा अहिलेसम्म सोचेका रहेनछौं, भविष्यमा सोच्नेछौं भन्ने खालका कुराले पनि हामीमा उर्जा त मिलेको छ । उहाँहरू झक्झकिनु भएको रहेछ ।'

यो पटक नाट्य-महोत्सवमा अन्य नाट्य संस्था जोडिएको देखिँदैन । विविधताको कुरा उठाइरहँदा नाट्य-महोत्सव नै मण्डलाको जस्तो मात्र देखियो, त्यस्तोमा अन्यले अपनत्व नै महसुस गर्ने भएनन् नि होइन ?

'नाट्य महोत्सव आम दर्शकमा पुग्न नसक्नुको कारण चुनाव हो । पहिल्येजसरी अन्य नाट्य संस्था जोडिन नसक्नुको कारण कोभिड हो । कोभिडले हामीलाई थलायो, हामीलाई इन्डिभिज्यूअल बनायो । पूरानो टिमसँग कुरा गर्दा पनि कोभिडपछि आफ्नै संस्थालाई जोगाउन गाह्रो परिरहेको बेला महोत्सवमा दोब्बर उर्जा खर्च हुने कारण देखाउँदा हामी एक्लैले यो आँट गर्‍यौं,' दयाले जवाफमा भने,'मिलेर गर्दा हामीले एउटा कुरा सिक्यौं । एक्लै गर्दा अर्को कुरा सिक्छौं होला । यो पनि सिकाइ हो ।'

प्रकाशित : कार्तिक २८, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

'परिवारको साथ नभइदिएको भए उहिल्यै भारत छिरिसक्थें'

नेपालमा राजनीतिक संघर्ष चलिरहँदा उनी बस्ने घरमै लुक्न आइपुग्थे पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी । अर्का हजुरबाकहाँ पुग्थे, सुवर्ण शमशेरहरू । 'सायद यो क्षेत्रमा नआएको भए राजनीतिमा हुन्थेँ कि !'
रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्मको प्रमुख समस्या के हो ? जवाफमा छुट्दैन, पटकथा । के पटकथा नै नेपाली फिल्मका कमजोरी हुन् त ? साउन्ड इन्जिनियर/डिजाइनर प्रदीप कुमार उपाध्याय नेपाली फिल्म प्राविधिक पक्षमा अझै अपरिपक्व रहेको जवाफ दिन्छन् ।

'अहिले फिल्ममा साउन्डको गलत प्रयोग भइरहेको छ । एक्सन फिल्ममा पर्दा उडाउने खालको साउन्ड राखिदिन्छन् । डिजिटल प्रविधिले सिंक्रोनाइजेसन गर्न सजिलो बनाइदियो । तर, डिजिटल आइसकेपछि पनि नेपाली फिल्मको साउन्डमा तात्विक परिवर्तन देख्दिनँ,'७१ वर्षीय उपाध्यायले भने, 'फिल्म हलमा जानुभयो भने आउटसिंक देखिन्छ, आउटसिंक हुने बित्तिकै फिल्म मृत भइजान्छ । बडी ल्याङ्वेज अनुसार सिंक हुनुपर्‍यो नि, लिपसिंक पनि चाहियो । नेपाली फिल्ममा साउन्ड एकदमै कमजोर छ । साउन्डमा खासमा खेलाँची भइरहेको छ ।'

छिमेकी राष्ट्र भारतकै दाँजोमा पनि ध्वनीमा नेपाल निकै पछाडि परेको उपाध्यायको विश्लेषण छ । 'त्यतिबेला नाङ्ग्रा मसिन चलाउन पनि दक्ष व्यक्ति आवश्यक हुन्थ्यो । अहिले त डिजटलले उपकरण चलाउन सहज बनायो । त्यतिबेला मात्रै होइन अहिले पनि भारतको दाँजोमा साउन्डमा नेपाल एकदमै पछाडि छ,' उनले सुनाए, 'हामीकहाँ अहिले साउन्डका राम्रा उपकरण छन् तर दक्ष जनशक्तिको अभाव छ ।'

कलैयामा जन्मे पनि प्रदीप कुमार उपाध्यायले भारतको मुज्जफरपुरमा आफ्नो बाल्यकाल बिताए । बुवा र आमा नेपालमै बस्थे । तर, दुई हजुरबुवा मुज्जफरपुरमा । दुई हजुरबुवाका राजनीतिक आस्था फरक-फरक । जुन हजुरबुवासँग प्रदीप बस्थे उनी वामपन्थी । अर्का हजुरबुवा तटस्थ । नेपालमा राजनीतिक संघर्ष चलिरहँदा उनी बस्ने घरमै लुक्न आइपुग्थे पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी । अर्का हजुरबुवाकहाँ पुग्थे, सुवर्ण शमशेरहरु । बाल्यकाल यस्तै राजनीतिक माहोलमै बित्यो ।

विद्यार्थी जीवन पनि राजनीतिक बन्यो । ठाकुरराम बहुमुखी क्याम्पसमा २०२९/३० तिर आइए पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय थिए, प्रदीप । इन्जिनियरिङतिर नलागेका भए, अहिले उनी राजनीतिमा हुन्थे । 'सायद यो क्षेत्रमा नआएको भए राजनीतिमा हुन्थेँ कि भन्ने लाग्छ । माधव नेपाल, मेरो साथीभन्दा अहिले कतिले नपत्याउला !' मुसुक्क मुस्कुराउँदै सुनाए । राजनीतिमा लागेपछि ब्रिगन्छ भन्ने त्यतिबेलाको बुझाइ । बुवाले त्यही डरले जबर्जस्ती उनलाई इलाहबाद पठाए, इलेक्ट्रोनिक्स इन्जिनियरिङ गर्न । पढ्दै जाँदा इन्जिनियरिङले तान्यो । त्यहाँबाट फर्केर दूरसंचारमा काम थाले । त्यसपछि पूलचोक क्याम्पसमा पढाउन थाले ।

संजोगले एक दिन न्युरोड गेटसँगैको इन्डियन लाइब्रेरीको सूचना पाटीमा उनको आँखा पर्‍यो । 'इलेक्ट्रोनिक्स इन्जिनियरमा डिप्लोमा बीएस्सी गरेकोले एफटीआईआईमा साउन्ड इन्जियर पढ्न पाउने' लेखिएको थियो । इलेक्ट्रोनिक्स इन्जिनियरिङ गर्ने क्रममै साउन्डतिर रुची बढिसकेको थियो । शास्त्रीय संगीतप्रति खुबै लगाव । एकपटक भारत भ्रमणमा पुग्दा एफटीआईआईको ढोकासम्म पुगेका थिए । दिनभरी ढोकामा कुरे तर उनीहरुलाई एफटीआईआई छिर्न दिएन । त्यतिबेला 'यो ठाउँमा पढ्न पाए हुने' भन्ने महसुस भएको थियो । लाइब्रेरीको त्यही सूचनाले उनलाई एफटीआईआई पुर्‍यायो । 'एफटीआईआईभित्रको संसार नै बेग्लै । पढ्ने सबै विषयवस्तुभित्र फिल्म हुन्थ्यो । वातावरण नै सिनेमेटिक हुन्थ्यो नि त्यहाँ,'प्रदीप सम्झिन्छन् ।

पहिलोपटक नेपालमै गीत रेकर्ड

नेपाली फिल्म क्षेत्रलाई जीवन दिएका प्रदीप यस क्षेत्रका जिउँदो इतिहास हुन् । एफटीआईआईको पढाइ सकिएपछि बम्बईमा काम गर्ने राम्रै अवसर जुर्‍यो । तर, भीडभाड प्रदीपलाई मन नपर्ने । बम्बई शहरको त्यही भीडले उनलाई काठमाडौं फर्कायो । त्यसपछि शाही नेपाल चलचित्र संस्थानमा काम गर्न थाले । पारिश्रमिक थियो, ८ सय ५० । डबिङ प्रणालीलाई आफूले नै अप्ग्रेड गरेको प्रदीप दाबी गर्छन् ।

त्यतिबेला फेवातालको किनारमा फिल्मको छायांकन बढी हुने । दिनभरि सुट गरेको संवादको टेपरेकर्ड अर्कोमा रेकर्ड गर्ने जिम्मा प्रदीपकै हुन्थ्यो । कलाकार त्यही टेपरेकर्ड सुन्दै सिरकभित्र डबिङ गर्थे । त्यतिबेला प्रदीपलाई लाग्यो,'यो त डबिङ होइन । यो त डायलग रिप्लेसमेन्ट मात्र हो ।' त्यस्तोमा सिंक्रोनाइजेसन गर्न निकै झमेला हुन्थ्यो । त्यसपछि लुप बनाएर डबिङलाई सहज बनाइदिए । अनि रक एण्ड रोलको डबिङ सुरु भयो । 'अहिले एउटा फिल्म डब गर्नलाई १० घण्टा लाग्छ भने त्योबेलामा १०-२० दिन लाग्थ्यो । टेप पनि एकदमै महंगो । त्यो टेप काट्दा पनि मुटूमा झट्का लाग्ने । त्यो टेपकै १० हजार पर्थ्यो,'प्रदीपले भने ।

संस्थानमा हुँदै 'बद्लिँदो आकाश' बन्यो । फिल्मको पाँचैवटा गीत नेपालमा रेकर्ड भयो । त्यसअघि फिल्मको गीत रेकर्ड गर्न बम्बई धाउनु पर्थ्यो । फिल्ममा सहायक निर्देशक बने प्रदीप । निर्देशक थिए लक्ष्मीनाथ शर्मा, साउन्डको जिम्मा पाए तपनाथ शुक्लले । नेपालमै पहिलो पटक गीत रेकर्डिङ कसरी सम्भव भयो त ? प्रदीप त्यसको श्रेय कलाकार नीर शाहलाई दिन्छन् । नीर त्यतिबेला संस्थानका उप-महाप्रबन्ध । 'त्यतिबेला साउन्डको अवस्था निकै खराब थियो नेपालमा । शाही चलचित्र संस्थानमा साउन्डको उपकरण सामान्य मात्र थियो । त्यसरी केही नभएको बेलामा हामीले त्यही उपकरणबाट गीत रेकर्ड गर्‍यौं,'प्रदीपले पूराना दिन सम्झे । खासमा उनी पुणेमा पढ्दै गर्दा साथीसँग ओडिसा पुगेका थिए । त्यहीबेला नीरले एफटीआईआई घुमेका रहेछन् । प्रदीपबारे त्यहीबेला थाहा पाए । 'तपाईं साउन्ड पढेर आउनु भएको अब फिल्मको गाना रेकर्डिङ नेपालमै गरौं । कहिलेसम्म बम्बई जाने ?' नीरले प्रदीपसँग प्रस्ताव राखे । भएकै सामान्य उपकरणमा गीत रेकर्ड गर्न तयार भए साउन्ड इन्जिनियरद्वय तपनाथ र प्रदीप । गीत रेकर्डिङ गर्ने मिक्सर थिएन । डबिङ गर्ने डबरमै ट्र्याक बनाए । वान स्टेज रेकर्डिङमै गीत रेकर्ड भयो । एउटै स्टेजमा तबला, ढोलक, सितार, भ्वाइलेन बजाउने वादकको समुह हुन्थ्यो । अर्कोतर्फ बुथमा उभिएर गायक/गायिकाले स्वर भर्थे ।

त्यतिबेला कलकत्तामा 'के घर के डेरा' फिल्मको गीतको रेकर्ड भएको थियो । बम्बईमा रेकर्ड गरेको गीत र 'बद्लिँदो आकाश'को गीतलाई दाँज्दा खासै अन्तर आएन । पहिलो पटक गीत रेकर्ड गर्न सफल हुँदा प्रदीपमा छुट्टै उत्साह थपियो । ६ वर्ष संस्थानमा काम गरिसकेपछि गीत रेकर्डिङमा सक्रिय भए । म्यूजिक नेपालहुँदै साङ स्टूडियोमा रेकर्डिङ थाले । हजार बढी गीत रेकर्ड गराएका उनले नारायण गोपालको अन्तिम गीत गरेका हुन् । नारायण गोपालका गिती यात्राका सबै गीतलाई उनले नै रेकर्डिङ गरेका हुन् । 'एउटा मान्छेको मायाले', 'साउनको झरी बनी', 'तिमीलाई के भनुँ', 'मलाई छोडी मेरो माया'लगायत उनका कालजयी गीतमा संलग्न हुँन पाउँदा प्रदीप अहिले पनि गर्विलो महसुस गर्छन् ।

'पहिला त उहाँलाई ममाथि शंका लागेछ, सबै स-साना मेसिनमा रेकर्डिङ गरेको देख्नु भएर । तर ती सब मेसिन स्ट्यान्डर्ड उपकरण नै थिए । जब मैले रेकर्ड गरेर मिक्सिङ गरेको सुन्नुभयो तब मलाई पत्याइनुभयो । त्यसपछि उहाँले बाहिर अरु कसैसँग रेकर्ड गराउनु भएन । रेडियो नेपाल गएर रेकर्ड गर्न बन्द गरिदिनुभयो,'प्रदीप सुनाउँछन्,'दोस्रो गीति यात्रा गर्ने तयारी हुँदै गर्दा उहाँ बिरामी पर्नुभयो । झुमा फिल्मको छायांकन सकेर म पोस्ट प्रोडक्सनका लागि भारत पुग्दा उहाँ बितेको खबर पाए । उहाँको शवयात्रामा हजारौं मानिस थिए । कलाकारले कसरी मन जितेको रहेछ भन्ने कुरा प्रमाणित भयो । मलाई गर्व छ, नारायण गोपालका कालजयी गीतहरु मैले गर्न पाएँ ।' गोपाल योञ्जनसँग 'बद्लिँदो आकाश'मा काम गरेका उनले 'भाग्यरेखा'को 'किन फेरि माया सम्झी'मा भक्तराज आचार्यको स्वर रेकर्ड गरे । 'चाँदनीमा बग्छ खोला', 'फेवातालको आँगनमा लैलै'लगायत थुप्रै चर्चित गीत रेकर्ड गराइसकेका प्रदीपले सयभन्दा बढी एल्बममा काम गरेका छन् ।

पहिलो पटक तिलिचोमा छायांकन

४६/४७ तिर प्रदीप निर्देशनमा पनि होमिए । फिल्म 'झुमा' निर्देशन गर्दा धेरैले दंग पर्दै प्रश्न गर्थे ,'यो प्राविधिक कसरी निर्देशक बन्यो ?' पुणेंमा पढ्दै फिल्मको अत्यधिक ज्ञान बटुलेका प्रदीपमा फिल्मप्रतिको झुकाव बेग्लै थियो । सुक्मित गुरुङको स्वर रहेको 'बोलबोल पाखाहरु'बोलको गीत उनले तिलिचोमै छायांकन गरे । फिल्म क्षेत्रमा पछिल्लो समय केही फिल्मकर्मीले तिलिचोमा पहिलो पटक गीत खिचेको दाबी गरे । तर, त्यहाँ फिल्म खिच्ने पहिलो टिम नै आफूहरु रहेको प्रदीप दाबी गर्छन् । 'त्योबेला मनाङमा ७२ दिन बसेर छायांकन गरियो । मनाङमा फिल्म खिचेपछि तिलिचो खिचेन भने मेरो मुर्खता हुने थियो त्यसैले त्यहाँ गानाको पहिलो अन्तरा नै खिच्यौं,'उनी सम्झन्छन्,'गीत खिच्न सुरुमा तिलिचोमा गएर रात बितायौं । हिउँ परिरहेको थियो, क्यामेरा र रेकर्डरको ब्याट्रीलाई तताउन जिउमा बाँधेर निदायौं ।'

'झुमा'को छायांकन कष्टर रह्‍यो । त्यसपछि प्रदीपले दोस्रो फिल्म निर्देशन गर्ने जाँगर नै देखाएनन् । रेकर्डिङमै व्यस्त भए । यसबीच उनीभन्दा अग्रज साउन्ड इन्जिनियर कोही टेलिभिजनतिर लागे, कोहीले यही क्षेत्र नै छाडे । तर, प्रदीपले फिल्म क्षेत्रलाई माया मारेनन् । उनी अहिले पनि ‍घरको स्टूडियोतिरै भेटिन्छन् । 'संस्थानमा हुँदा ट्र्याक बनाएर मिक्सिङ सुरु गरे । सायद यही मेरो उपलब्धि हो । परिवारको साथ/सहयोग नभएको भए उहिल्यै भारत पसिसक्थें,'हालै प्रदीप निवासमै भेटिएका उनले भने । आफूले वर्षौंदेखि जोगाउँदै आएका साउन्डको इतिहास बोक्ने उपकरणहरु देखाउँदै हामीलाई प्रश्न गरे,'अहिलेसम्म मैले यी उपकरण संरक्षण गरेर राखें । मेरा परिवारका लागि यी केवल अनावश्यक मसिन हुन् । मपछि यी उपकरणको संरक्षण कसले गर्ला ?'

तस्बिर/भिडियो : दीपेन्द्र रोका/कान्तिपुर

प्रकाशित : कार्तिक २६, २०७९ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×