प्रभाव छोड्न नसकेको 'प्रेमगीत ३'- मनोरञ्जन - कान्तिपुर समाचार
फिल्म समीक्षा

प्रभाव छोड्न नसकेको 'प्रेमगीत ३'

रीना मोक्तान

काठमाडौँ — फिल्म 'प्रेमगीत ३' ले यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि भारतीय बजारमा सम्भावनाका ढोका खोलिदियो । नेपालमा बनेको फिल्मले यस्तो चर्चासहित भारतका हलहरूमा 'सो' पाउनु निर्माताका लागि उत्साहको विषय मात्रै होइन, नेपाली फिल्मकर्मीका लागि देखाइदिएको एउटा वैकल्पिक बाटो हो ।

नेपाली फिल्मको स्वाद चाख्न भारतीय दर्शक तयार छन् भन्ने उदाहरण पनि बन्यो, सन्तोष सेन निर्मित यो फिल्म । तर, के भारतीय दर्शकलाई 'प्रेमगीत ३' ले नेपाली फिल्मको स्वाद चखायो त ? निर्माण टिम यही प्रश्नको उत्तर दिन भने चुकेको छ ।

अतिरञ्जित चरित्र, २/४ गीत, एक्सनसहितको मसलेदार फिल्म बलिउडको पुरानै पहिचान हो । वर्षौंदेखि यस्तै फिल्महरू हेर्दै आएका दर्शकका लागि यही सूत्रमा बनेको 'प्रेमगीत ३' ले नयाँ स्वाद पस्कन नस्कनु भने विडम्बना बनेको छ । फिल्मको कथा नौलो छैन । यसअघि थुप्रै फिल्महरूमा हेरिसकेकै कथालाई हिमाली भेगतिरको सेटिङमार्फत 'प्रेमगीत ३' मा देखाइएको छ । खजाक राज्यका क्रूर शासक युद्धवीर (शिव श्रेष्ठ)का कान्छा छोरा प्रेम (प्रदीप खड्का) बाल्यकालदेखि नै साधारण युवती गीत (क्रिस्टिना गुरुङ)को मायामा पर्छन् । युद्धवीरका जेठा छोरा अमन(मनिष राउत)लाई भने बुवाजस्तै सात गाउँमाथि राज्य गर्नु छ ।

तर, राजा बन्ने योग प्रेमकै भाग्यमा लेखिएको भविष्यवाणी दुई छोराहरू जन्मिँदै भइसकेको हुन्छ । अब प्रेमले राजयोग रोज्लान् कि प्रेम ? फिल्मको कथा यत्ति हो ।

कमजोर पटकथा, फितलो संवाद अनि अपरिपक्व अभिनयले भारतीय बजारमा 'प्रेमगीत ३' को प्रवेश खासै वजनदार बन्न सकेन । राजकीय परिवारमा हुने षड्यन्त्र, राजा बन्न दुई दाजुभाइले गर्ने संघर्ष, राज्यमाथि आउने संकट, क्रूर शासनको कथा यसअघि भारतीय फिल्महरूमै हेर्दै आइरहेको हो । तर, यही कथालाई नेपाली समाज र परिवेशसँग जोड्न निर्माण टिम चुकेको छ । फिल्ममा प्रयोग गरिएका कस्ट्युम, राजमहलका दृश्य, हिमाली भेगको जनजीवनको प्रस्तुतिमा खासै नेपालीपन भेटिँदैन ।

त्यसैले फिल्ममा जुन युगको कथा स्थापना गर्न खोजिएको छ, त्यसमा विश्वास गर्ने बलियो पक्ष नै भेटिँदैन । संवादमा बारम्बार दोहोरिरहने सात गाउँलाई दृश्यमा देखाउन सकिएको छैन । फिल्म सकिँदासम्म पनि दर्शकलाई सात गाउँ कस्तो छ, गीत कुन गाउँकी हुन् भन्ने कुरा थाहा हुँदैन । फिल्ममा त्यो कुन युगको कथा हो ? त्यतिबेलाको समाज प्रष्ट नहुँदा 'प्रेगगीत ३'ले निर्माण गर्न खोजेको संसार निर्माण हुन सकेको छैन । एउटा दृश्यमा प्रेमले गीतसँगको भेटमा भन्छन्,'मलाई तिम्रो संसार हेर्न मन छ' । जबकि गीतको संसार कस्तो छ भन्ने कुरा पनि दर्शकलाई ठम्याउन गाह्रो पर्छ ।

फिल्ममा गीतलाई दर्गा(सात गाउँमध्ये एक)कै आसाको केन्द्रको रुपमा देखाइएको छ । उनी गाउँलेहरूको भरोसा हुन् । तर, उनी गाउँका लागि कसरी त्यति विश्वास र भरोसाको पात्र बनिन् भन्ने कुरा देखाइएको छैन । दुई बालबालिकासँग गट्टी खेल्ने, खेतमा काम गर्नेहरूलाई खाजा पुर्‍याइदिने मात्रैले त गीतलाई गाउँकै संरक्षकका रुपमा विश्वास गर्न सकिँदैन । गाउँलेहरू निर्देशकलाई आवश्यक पर्दा मात्र पर्दामा देखिन्छन् । धेरै दृश्यमा गाउँ गाउँलेबिना सुनसान देखाइएको छ । आखिर गाउँ नै सुन्य पारेर गाउँले के काम गर्छन् भन्ने कुरा पनि खासै खुलेको छैन ।

त्यस्तै फिल्ममा महत्त्वका साथ देखाइएको अंगद(सन्तोष सेन) पात्र कहाँबाट आए, दरबारसँग उनको सम्बन्ध के हो भन्ने पनि खुल्दैन । अंगद र प्रेमको मित्रतालाई यति चाँडै नजिक देखाइदिन्छ कि उनीहरूबीचको सम्बन्ध स्थापनाको विश्वासिलो कारण दृश्यमा खुलाउन सकिएको छैन । त्यस्तै प्रेमकथामा आधारित यो फिल्ममा प्रेमलाई उति मज्जाले प्रस्तुत गर्न सकेको छैन । प्रेम र गीतको सम्बन्धमा आउने आरोह अवरोहलाई दृश्यमा मजबुत ढंगले देखाउन नसक्दा दर्शकले उनीहरूको प्रेमलाई अनुभव गर्नै सक्दैनन । नकाबधारीले दर्गामा आक्रमण गरिसकेपछि गीतले प्रेमसँग पोख्ने आक्रोश क्लिसे लाग्छ । फिल्ममा त्यस्ता थुप्रै पल्टहरू छन् जसलाई बलियो ढंगले ‍स्थापना गर्न नसक्दा निर्देशकले भन्न खोजेको कुरालाई दर्शकले पत्याउन सक्दैनन् ।

फितलो संवादले दृश्य र पात्रको भावनामा तादम्य तोडिदिन्छ । फिल्मको अर्को एउटा दृश्यमा प्रेम र गीतको प्रेमिल दृश्य छ, जहाँ प्रेमले गीतलाई आफ्नो समिपमा राखेका हुन्छन् । त्यतिबेला गीतले भन्छिन्, 'छोड मेरो काम छ' । फिल्ममा प्रयोग गरेका यस्तै संवाद अनि प्रमुख पात्रहरूको डायलग डेलिभरीले दर्शकको ध्यान दृश्यहरूबाट हटाइदिन्छ । त्यस्तै अपरिपक्व अभिनयले पनि दृश्यलाई क्लिसे बनाइदिएको छ । अभिनेत्री क्रिस्टिना गुरुङले अभिनयमा अझै मिहिनेत गरिदिएको भए गीतको चरित्रलाई न्याय मिल्ने थियो । त्यस्तै 'प्रकाश'मा प्रदीप खड्काको अभिनय मनपराएका दर्शकका लागि प्रेमको चरित्रमा उनले गरेको अभिनयले सन्तुष्टि मिल्दैन । अभिनेता सुनिल थापाले भने छोटो भूमिकामा पनि आफूलाई सावित गरेका छन् । त्यस्तै अभिनेत्री लक्ष्मी वर्देवाले पनि एकदमै थोरै दृश्यमा आफ्नो चरित्रलाई अभिनयले विश्वायोग्य बनाइदिएकी छन् । त्यस्तै अभिनेता शिव श्रेष्ठ केही दृश्यमा लाउड लागे पनि अन्यमा आफूलाई सावित गर्न सफल छन् ।

फिल्ममा प्रयोग गरिएको राजमहलको सीजीआई अनि हिउँ पर्दै गरेको दृश्यको भिएफएक्स खासै विश्वास गर्न सकिने ढंगको छैन । हिउँ पर्दै गरेको भिएफएक्स त आँखालाई बिझाउने किसिमको नै छ । त्यसअर्थमा गोदरेज पिक्सचर्स र श्रीकृष्ण श्रेष्ठको काममा मिहेनत अझै आवश्यक लाग्छ । त्यस्तै केही द्वन्द्वका दृश्यमा प्रयोग गरिएको रगतको भिएफएक्समा भने चलाखी पुर्‍याएको देखिन्छ । राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले भने हिमालका सुन्दर दृश्यहरूलाई फ्रेममा अटाइदिएका छन् । मनाङका सुन्दर दृश्यहरूले दर्शकको आँखालाई भने सीतल बनाइदिन्छ ।

समग्रमा 'प्रेगगीत ३' अन्य नेपाली फिल्म झैं पटकथामै चुकेको छ । कमजोरी बावजुद थुप्रै सम्भावना भएको छिमेकी बजारमा नेपाली फिल्मकर्मीका लागि ढोका खोलिदिनु उत्साहजनक हो ।

तर, उही बलिउड फर्मूलामै बनाइएको फिल्मलाई भारतले नेपालको फिल्म भनेर कतिञ्जेल स्वीकार्ला ? त्यसैले भोलिका दिनमा यही जोश र जाँगरसहित यो टिमले बलियो कन्टेन्टमाथि मेहनत गरेर बजार पुगेको राम्रो । 'फस्ट इप्रेसन इज लास्ट इम्प्रेसन' भने झैं तपाईंको पहिलो प्रभाव नै अन्तिमसम्म रहिरन्छ । तर, प्रेमगीतको पहिलो प्रभाव भारतीय बजारका लागि विषयवस्तुका हिसाबले सम्झनालायक बन्न सकेन । निर्देशकमध्येका एक छेतेन गुरुङ जसका लागि यो फिल्म 'ड्रिम प्रोजेक्ट' थियो, उनी फिल्मको छायांकन सकिएसँगै संसारबाट बिदा भए । उनै छेतेनलाई ट्रिब्युट दिन भने 'प्रेमगीत ३' हेर्न सकिन्छ ।

प्रकाशित : आश्विन १०, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्

अर्घाखाँचीलाई पहाडी क्षेत्रको पर्यटकीय गन्तव्य बनाउनुपर्छ : उपसभामुख भुसाल

वीरेन्द्र केसी

अर्घाखाँची — उपसभामुख पुष्पा भुसाल गौतमले नेपाल एकीकरण गर्दा खाँचीकोट राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाँचीकोट दरबारलाई राम्रो पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताएकी छन् । नेपाल एकीकरणको इतिहासमा खाँची राज्यकी राजकुमारी चन्द्रप्रभावती (पृथ्वीनारायण शाहकी जेठी मुमा)कै शिक्षा र राजकीय रणकौशलबाट नेपाल एकीकरण भएको भन्दै उनले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताएकी हुन् ।

‘ऐतिहासिक, सांस्कृतिक हिसाबले खाँचीकोटको बेग्लै महत्त्व छ,’ सन्धिखर्क नगरपालिका-७ खाँचीकोटमा निर्माण भएको कालिका भगवती देवीको मन्दिर उद्घाटन गर्दै उनले भनिन्, ‘नेपाल एकीकरण गर्न खाँची राज्यको भूमिका महत्त्वपूर्ण छ । इतिहासको संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउनुपर्छ ।’

खाँची दरबारसहित जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक संरचनासहितका पर्यटकीय स्थलको विकास गर्दै अर्घाखाँचीलाई पहाडी जिल्लाको राम्रो गन्तव्यको रुपमा विकास गर्न आफूले बजेट भित्र्याएको उनले बताइन् । पर्यटकबाटै युवालाई स्वरोजगार बनाउन सकिने भएकाले आफूले यसमा विशेष ध्यान दिएर पर्यटकीय स्थलको संरचना निर्माण गर्न भित्र्याएको बजेटबाट धमाधम काम भैरहेको भुसालले बताइन् ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्यले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्ने बताउँदै पर्यटन विकास, पूर्वाधार विकासमा देशकै नमुना जिल्ला अर्घाखाँचीलाई बनाइनुपर्ने तर्क गरे ।

कार्यक्रममा प्रदेश सांसद निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य लगायत राजनीतिक दलका नेता, सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन १०, २०७९ २०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×