अस्ट्रेलियाका प्रमुख हलमा 'प्रेमगीत–३' प्रदर्शन हुँदै- मनोरञ्जन - कान्तिपुर समाचार

अस्ट्रेलियाका प्रमुख हलमा 'प्रेमगीत–३' प्रदर्शन हुँदै

नारायण खड्का

अस्ट्रेलिया — पहिलोपटक नेपाली चलचित्र अस्ट्रेलियाका प्रमुख सिनेमा हलमा रिलिज गरिने भएको छ । नेपाली चलचित्र प्रेमगीत–३ अस्ट्रेलियाका आठवटै राज्यका करिब दुई दर्जन मुख्य चलचित्र भवनमा एकैसाथ यही शुक्रबार रिलिज गरिने भएको हो। हिन्दी भाषामा डब गरिएको यो नेपाली चलचित्र अस्ट्रेलियाका सिनेमा घरमा अन्य चलचित्रसँगै प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्नेछ ।

अस्ट्रेलियामा रहेका प्रमुख चलचित्र भवनमध्येका इभेन्ट, भिलेज तथा रिडिङ सिनेमाले यस चलचित्रलाई रिलिज गर्ने तयारी गरेका छन् । ती हलमा प्रेमगीत–३ ले हरेक दिन एउटा शो पाएको पनि बताइएको छ । यदि दर्शकको चाप बढेको खण्डमा सिनेमाले थप शो थप्नेछ । उक्त सिनेमाहलहरूमा यस चलचित्रको पोस्टरले समेत राम्रो स्थान पाएको छ । ठूला राज्यहरू न्यु साउथ वेल्स, भिक्टोरिया तथा क्युन्सल्याण्डका क्रमश: ५, ६ र तीनवटा हलमा यस चलचित्र रिलिज हुँदैछ भने राजधानी सहर क्यानबेराका दुई सिनेमा हलले यस चलचित्रलाई रिलिज गर्ने तयारी गरेका छन् । यस बाहेकका अन्य चार राज्यले एक–एक सिनेमा हलमा प्रेमगीत–३ को शो राखेका छन् ।

‘यो नेपाली चलचित्र, कलाकार र कला संस्कृतिकै लागि अत्यन्तै महत्त्वपूर्ण र गौरव गर्ने समय हो,’ चलचित्र निर्माता दिनेश पोखरेल भन्छन् । उनी हिन्दी भाषामा रिलिज हुने भए पनि सम्पूर्ण रुपले यो चलचित्र नेपालको आफ्नो निर्माण र पहिचान भएकाले यसलाई दर्शकले नेपाली चलचित्रको रुपमा नै बुझ्ने बताए । पोखरेलले यसले नेपालमा राम्रा चलचित्र निर्माण हुँदारहेछन् भनेर अस्ट्रेलियामा जानकारी गराउने मात्र नभएर चलचित्र निर्माणका लागि आवश्यक लोकेसनको समेत प्रचार गर्ने दाबी गरे । ‘यस चलचित्रले विदेशी बजारमा पनि नेपाली चलचित्र रिलिज गर्न सकिन्छ भनेर प्रमाणित मात्र गरेको छैन कि विदेशी बजारसमेत खुला गरिदिएको छ ।’

अस्ट्रेलियामा अहिले पनि नेपालमा रिलिज भएका केही चलचित्रलाई यहाँका नेपाली इभेन्ट आयोजकद्वारा निश्चित रकम दिएर अस्ट्रेलिया ल्याइने गरिएको छ । तर ती चलचित्र चलाउनका लागि चलचित्र भवन एक वा केही शो का लागि भाडामा लिने गरिएको छ ।

नेपालबाट ल्याइएका चलचित्र एकैपटक विभिन्न राज्यका नेपाली दर्शकमाझ देखाउन सम्भव हुने गरेका छैन् भने चलचित्र देखाउनका लागि टिकट बिक्रीका लागि ठूलै मेहनत गर्नुपर्ने अवस्था छ । शुक्रबार हिन्दी भाषामा रिलिज हुन लागेको यस चलचित्रको अग्रिम बुकिङ खुला गरिसकिएको छ । जसमा सिड्नीको बरउडमा रहेको इभेण्ट सिनेमामा त करिब आधा टिकट बिक्री भइसकेको जनाइएको छ । अग्रिम टिकट लिएका सिड्नीका रविन आले नेपाली चलचित्रलाई अन्य विदेशी चलचित्रजस्तै हलमा गएर हेर्न आफूहरू उत्साही रहेको सुनाउँछन् ।

नेपालमा सफल भनिएको प्रेमगीत चलचित्र सिरिज अन्तर्गत तेस्रो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङले मुख्य भूमिका निभाएका छन् भने सुनील थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुस्कर कार्की, प्रेम पुरी, योगिषा खत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

बै‌ंकहरूले प्राथमिक क्षेत्रमा कर्जा पुर्‍याउनै सकेनन्

कान्तिपुर संवाददाता

काठमाडौँ — धेरै वाणिज्य बैंकहरूले राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वाणिज्य बैंकहरूको वित्तीय सूचकसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

निर्देशन अनुसार गत असारसम्म वाणिज्य बैंकहरूले कृषिमा मात्र कुल कर्जाको १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था थियो । उक्त अवधिसम्म १० वटा बैंकले मात्र निर्देशित सीमा पुर्‍याएका छन् । बाँकी १६ वटा बैंकको कृषि कर्जा उनीहरूको कुल कर्जाको १२ प्रतिशतभन्दा कम छ । २६ वटा वाणिज्य बैंकहरूको कृषि लगानी औसत १२.३४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, गत असारसम्म कुल कर्जाको कम्तिमा ६ प्रतिशत उर्जामा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन पालना भएको छैन । तथ्यांक अनुसार गत असारसम्म १२ वटा वाणिज्य बैंकको मात्र उर्जामा ६ प्रतिशतभन्दा धेरै लगानी छ । बाँकी १४ बैंकको लगानी निर्देशित सीमा भन्दा कम छ । सबै वाणिज्य बैंकको यस्तो कर्जा भने औसत ५.७१ प्रतिशत छ । साना तथा मझौला उद्यमी कर्जामा पनि धेरै बैंकले राष्ट्र बैंकको निर्देशन बराबर लगानी गर्न नसकेको देखिन्छ ।

प्रकाशित : आश्विन ४, २०७९ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×