'प्रकाश' एउटा इमानदार प्रयास- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फिल्म समीक्षा

'प्रकाश' एउटा इमानदार प्रयास

कसिलो पटकथा, सरल ढंगमा भनिएको कथा, सशक्त संवाद र कलाकारको उम्दा अभिनयले फिल्मका कमजोरीलाई गौण बनाइदिएको छ ।
रीना मोक्तान

काठमाडौँ — फिल्म 'प्रकाश'मा एउटा सशक्त दृश्य छ । दुईतिरबाट आइरहेको हुल टक्क गोरेटोमा आमनेसामने हुन्छ । एकातिर छ–लास लिएर अगाडि बढिरहेको प्रकाश । अर्कोतर्फ छन्, इन्द्रप्रसाद, २०७४ सालको निर्वाचन जितेर विजय उत्सव मनाउँदै अगाडि लम्किरहेका । विजय उत्सव मनाउनेहरु नारा लगाउँछन्, 'यो जित कसको– जनताको' । त्यही नारालाई गिज्याउँदै जब शक्तिका अगाडि हारेका जनता अगाडि पुग्छन्, तब कथाले लिने नयाँ मोड दर्शकबीच अवतरण भइदिन्छ ।

लेखक विकास सुवेदी र निर्देशक दिनेश राउत आफूले भन्न खोजेको कुरामा कति इमानदार र प्रष्ट छन् भन्ने कुरा यो एउटै दृश्यले बोलिदिन्छ । वाइड एंगलले खिचिएको यही फ्रेमभित्र फिल्मको कथासार भेटिन्छ । प्रकाशलाई शिक्षक बन्नु छ, तर इन्द्रप्रसादको राजनीति बाधक बनिदिन्छ । इन्द्रप्रसाद आफ्ना हलीलाई शिक्षक भएको देख्न चाहँदैनन् । शिक्षण लाइसेन्समा नाम निकालेपछि शिक्षक बन्न प्रकाशले गरेको दौडधुपसँगै फिल्मको कथा अगाडि बढ्छ । विभेद, हली जीवन, द्वन्द्वमा गुमाएकाहरूको आसालाई पनि फिल्ममा देखाइएको छ ।

नेपाली फिल्मको प्रमुख समस्या नै पटकथा हो । तर, यो विषयमा 'प्रकाश'मा लेखक सुवेदीले आफूलाई अब्बल साबित गरेका छन् । फिल्मका उपकथाहरू सुरुदेखि नै प्रमुख कथालाई पच्छ्याउँदै अगाडि बढ्दै जान्छन् । एकपछि अर्को घटना अन्तरसम्बन्धित गर्दै लेखिएको कसिलो पटकथाले नै फिल्मलाई प्रमुख कथाबाट बहकिन दिएको छैन । जुम्लाको भाषा, लवज समेटिएको संवाद उति नै सान्दर्भिक लाग्छ । फिल्ममा भारी संवाद छैनन्, जति छन् पर्दामा मिठो सुनिन्छ । जुम्लाको लवजमा बोलिएका कति संवाद काव्यात्मक लाग्छन् ।

फिल्मको सुरुदेखि नै कथाले आफ्नो गति सम्हालेको छ । ध्वनिको उपस्थिति फिल्ममा मजबुत लाग्छन् । पात्रहरूको तनाव बढ्दै जाँदा गड्याङगुडुङ गर्ने आकाशको बिम्ब, ध्वनिले पनि फिल्ममा कथा वाचनको लय पक्रेको देखाउँछ । 'प्रकाश' सिंक साउन्डको प्रयोगमा पनि अब्बल फिल्मभन्दा फरक पर्दैन । साउन्ड डिजाइनर उत्तम न्यौपानेले फिल्मको कथालाई ध्वनिमार्फत पनि भनेका छन् । पार्श्वगीतले कलाकारको मुडसँग दर्शकलाई साक्षात्कार गराइदिन्छ ।

सपना, प्रेम र राजनीतिको समिश्रणमा भनिएको फिल्मको कथाले दर्शकको मन हुँडल्छ । पात्रहरूका भावनात्मक यात्रामा दर्शक हिँडाउन पनि केही हदसम्म फिल्मले प्रयास गरेको छ । कति फिल्ममा हलमा प्रमुख पात्र सुकसुकाइरहँदा दर्शकको मन अमिलोसमेत बन्दैन । तर, प्रकाशमा पात्रहरूका आँखा धमिला बन्दा दर्शकको मन चस्किन्छ । फिल्मको एउटा दृश्यमा राधालाई उनका बुबाले प्रकाशसँग जात नमिलेकै कारण बिहे हुन नदिने बताउँछन् । त्यतिबेला क्यामेराले क्लोजअप सटमा राधाका रसाएका आँखा देखाउँदै गर्दा दर्शकको भावना त्यो पात्रसँग जोडिसकेको हुन्छ । फिल्ममा बिम्बहरूको प्रयोग उस्तै बेजोड लाग्छन् । राधा र प्रकाशको प्रेममा रहेको विभेदको पर्खाल देखाउन उनीहरू दुईलाई पर्खालको वारिपारि देखाइएको छ । त्यस्तै पुलको दृश्य पनि बिम्बात्मक शैलीमा दोहोरिरहन्छ । प्रकाशका सपना पुल पारि छ । विद्यालय पुल उतै छ । त्यही पुल तरेर गएका बुबा अझै फर्किएका छैनन् । प्रकाशले आफ्नो सपना पूरा गरेको/नगरेको देखाउन पनि पुललाई प्रयोग गरिएको छ ।

प्रमुख भूमिकामा देखिएका अभिनेता प्रदीप खड्काले फिल्ममा गरेको मिहिनेत पर्दामा झल्किएको छ । पात्रको हिँडाइ, बोल्ने लवजमा गरेको कामले प्रदीपलाई स्टारहरूको भीडबाट कलाकारको भीडमा उभ्याएको छ । फिल्ममा जति दृश्यमा रेनु योगीले राधाको चरित्र गरेकी छन्, त्यसमा उनले आफूलाई अब्बल ठहराएकी छन् । दीया मास्के(सीता)को अभिनय पनि प्रशंसालायक नै छ ।

मिहिन केस्राहरू केलाउँदै भनिएको कथामा अझै केही सुधार पनि आवश्यक लाग्छ । जस्तै, कुनै पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि जति संघर्ष गर्छ, उति नै त्यो पात्रको समस्या समाधान दर्शकका लागि रुचिकर बन्दै जान्छ । पात्रले बाधा–अवरोधको सामना सजिलै गर्‍यो भने खासै कथाले दर्शकलाई बाँधेर राख्न सक्दैन । 'प्रकाश'को मध्यान्तरपछिको भाग राजनीतितिर बढी केन्द्रित बन्दा प्रमुख पात्रको संघर्ष खासै दर्शकले अनुभव गर्न पाउँदैनन् । प्रकाशले शिक्षक बन्नका लागि गर्नुपर्ने संघर्षलाई अझै जोड दिएर फिल्म लेखिएको भए 'प्रकाश' बेजोडको बन्ने थियो । धेरै पटक दृश्यमा सीताले प्रकाशलाई दु:ख गरेर पढायो भन्ने संवादको प्रयोग गरिएको छ, तर दृश्यमा त्यसको अभाव खट्किन्छ । त्यस्तै बुबासँगको प्रकाशको सम्बन्ध पनि त्यसरी दृश्यमा स्थापित नहुँदा बुबाको आशमा बसेका उनीहरूका आँखाको निराशामा दर्शक डुब्न सक्दैनन् ।

तर, सरल ढंगमा भनिएको कथा, सशक्त लाग्ने संवाद, कलाकारका अभिनयले फिल्मका यी समस्यालाई गौण बनाइदिएका छन् । पछिल्लो समय लगातार प्रदर्शनमा आएका फरक शैलीका फिल्महरूमा 'प्रकाश' पटकथा र निर्देशनको हिसाबले बलियो लाग्छ । निर्देशक दिनेश राउतबाट अब यस्तै फिल्महरूको अपेक्षा गरिनेमा दुईमत छैन ।

प्रकाशित : भाद्र १७, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

कोही व्यंग्य गरेकै आधारमा अपूर्वलाई थुनामा राख्न नहुने मत दिइरहेका छन् भने कोही प्रहरी हिरासत नै अन्तिम विकल्प देखिरहेका छन् ।
रीना मोक्तान

काठमाडौँ — स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजलाई नेवार समुदायको कला, संस्कृति र लवजलाई लिएर अपमानजनक व्यंग्य गरेको भन्दै आइतबार प्रहरीले नियन्त्रणमा लियो । शुक्रबार युट्युब च्यानल कमेडी क्याफेमा सार्वजनिक गरिएको 'नेवारको परम्परा' शीर्षकको स्ट्यान्डअप कमेडीले नेवार समुदायमाथि आँच पुर्‍याएको भन्दै उनीमाथि थुप्रै खनिए ।

बेलविवाह, म्ह: पूजा, नेवारी लवज, भाषा, खानेकुरामाथि अपूर्वले उक्त भिडियोमा व्यंग्य गरेका थिए । सोही व्यंग्यकै कारण प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएसँगै यो विषयमा मत–मतान्तर जारी छ । कोही व्यंग्य गरेकै आधारमा उनलाई थुनामा राख्न नहुने मत दिइरहेका छन् भने कोही प्रहरी हिरासत नै अन्तिम विकल्प देखिरहेका छन् ।

विवादित बनिसकेपछि अपूर्वले उक्त भिडियो सामाजिक सञ्जालदेखि सबै प्लेटफर्मबाट हटाए । सामाजिक सञ्जाल फेसबुकमा माफी माग्दै पोस्ट लेखे । भिडियोमा माफी माग्नुपर्ने माग आइसकेपछि भिडियोमा आफूले उक्त कन्टेन्ट कसैलाई चित्त दुखाउनलाई भन्दा पनि हसाउनका लागि बनाएको भनेर माफी मागे ।

'विगत चार वर्षदेखि म कमेडी गर्दै आएको छु । हामीले जोक लेखेर ठाउँ-ठाउँमा प्रस्तुत गर्छौं । यो १२ मिनेटको कन्टेन्ट मैले धेरै ठाउँमा प्रस्तुत गरेको थिएँ । काठमाडौं, ललितपुर र भक्तपुरमा प्रस्तुत गर्दा कसैलाई पनि चित्त दुखेको थिएन । हामीले पनि कुन कुराले चित्त दुख्दा/नदुख्ला भनेर कति कुरा परिवर्तन गरिरहेका हुन्छौं । तर, यसमा दर्शकले ठिकै छ भन्ने प्रतिक्रिया आएको थियो,'उनले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा भनेका छन्,'तर, यो विषयले अरुको चित्त दुखाउँछ भन्ने आफैंलाई ज्ञान नभएको हो जस्तो लागेको छ । त्यही अनुभव भएर मैले भिडियो डिलिट गरिसकें । यो भिडियोमार्फत पनि म सबैलाई सरी भन्न चाहन्छु । यो इस्युलाई यहीँ टुग्यांदिनु होला ।'

जोक बनाउने क्रममा आफूबाट गल्ती भएको उनले भिडियोमा स्विकारेका छन् । 'गल्तीहरु हुन्छन् । विगतमा मैले आफ्नै समुदायको पनि नराम्रो कुराहरु उठाएर कमेडी गरेको छु । मैले चित्त दुखाउनका लागि केही गरेको होइन, हँसाउनकै लागि गरेको हो । त्यो गर्ने क्रममा कतिले अनुसन्धान पुगेन भन्नु भएको छ र त्यो पनि हो नै । 'मेरो साथीहरु पनि नेवार हुनुहुन्छ,'उनले थप भनेका छन्,'यो होइन कि मलाई नेवारी खानेकुरा, भाषा मन नपर्ने होइन । म आफैं पनि भोजहरुमा गइरहेको हुन्छु । मेरो त्यस्तो नियत होइन । तर, जोक गर्ने क्रममा अनुसन्धान पुगेन, चित्त दुख्यो भन्नु भएको छ । हँसाउने बेलामा गल्ती भएको हो । आगामी दिनमा यस्तो विषयमा ध्यान दिनेछु ।'

सामाजिक सञ्जालबाट भिडियो हटाउँदै क्षमायाचना मागिसकेपछि पनि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिनु 'हास्यास्पद' रहेको अर्का कमेडियन प्रणेश गौतम बताउँछन् । यसअघि उनलाई पनि व्यंग्यात्मक शैलीमा 'वीरविक्रम–२'को समीक्षा गरेको आधारमा प्रहरीले ८ दिनसम्म प्रहरी हिरासतमा राखेको थियो । 'त्यसरी अपूर्वलाई प्रहरीले थुन्नु त हास्यास्पद नै हो । चित्त पनि दुख्यो । हिजो उनलाई भेट्न जाँदा पनि खासै भेट्न दिइएन । यस्तो बेलामा आफ्नो कोही नजिक भए राम्रो हुन्थ्यो । सायद यो सब उनलाई कमजोर बनाउन नै गरिएको हो,'प्रणेशले भने,'खासमा कमेडियनको जोक्सलाई उहाँहरु विचार सोच्नुहुन्छ । त्यो त हाम्रो विचार हुँदैन । हामीले त जोक्स प्रस्तुत गर्छौं । त्यही जोकलाई सोच ठानेर उहाँहरु आफ्नो शक्ति देखाउन कमेडियनलाई प्रहरीमा लानुहुन्छ ।'

अपूर्वको नियत नेवार समुदायलाई उडाउनु नरहेको प्रणेशको भनाइ छ । 'नियतवश नै कसैले जोक्स गर्दैछ भने त्यो देखिन्छ नै । तर त्यही समुदायका मानिसहरुले कमेन्टमा क्षितिजलाई धोती, भेले, टिन फलाम बेच्ने भन्दै लेख्नुभएको छ । उनीहरुको घृणा त्यसरी कमेन्टमा देखिन्छ । तर अपूर्वले भिडियोमा आफूले त्यो समुदायबारे अब्जर्भेसन गरेको कुराले हँसाउन खोजेको हो,'प्रणेशले भने,'हाम्रो पुस्ताको युवा कमेडियनहरु प्रोफेसनल भइसकेका छैनन् । अपूर्व, हामीले कमेडी गरेको ४/५ वर्ष भयो । यतिको समयमा राम्रो कमेडियन बनेर निस्कन गाह्रो छ । कमेडीमा त कन्टेन्ट हसाउँछ कि हँसाउँदैन भन्नै नै प्रमुख हुन्छ । अपूर्वको भिडियोमा त्यो समुदायप्रतिको घृणा देखिँदैन । त्यो भिडियो त्यति हाँस उठ्दो पनि छैन ।'

यस्तो घट्नाले कमेडियनहरुमा कुनै समुदाय, भाषा, लिंग, रंगमाथि कन्टेन्ट बनाउनुअघि सोच्नुपर्ने बनाएको प्रणेशको अनुभव छ । 'फेरि हामीले मोटो, कालो, गोरोलाई कसरी भन्ने सोच्न थालियो भने कमेडियनको मृत्यु त्यहीँ भइसक्छ । कमेडियनले त भन्न खोजेको कुरा हाँस उठ्दो छ कि छैन भन्ने सोच्ने काम हो,'उनले थपे,'अहिले अपूर्वलाई त्यसरी नै सोच्न बाध्य पारिएको छ । खासमा अपूर्वलाई भिडियो हटाउन लगाउनु, प्रहरीकोमा पुर्‍याउनु नै गलत हो । उहाँहरुको चित्त दुखेको छ भने अपूर्वलाई अनुसन्धान पुगेको छैन भने भनिदिने हो । त्यसरी ८० जना उठेर उसको विरुद्धमा नारा लगाउने होइन ।'

कमेडियन सीता न्यौपाने यस्तो अवस्थामा कमेडियनलाई प्रहरीकोमा पुर्‍याउनुभन्दा क्षमा दिने र लिने वातावरण सिर्जना गरिदिनुपर्ने धारणा राख्छिन् । 'जात, जाति र धर्मका सवालमा हामीले अरुलाई होच्च्याउनु त हुँदैन । तर, यसरी सोझै पक्राउ गर्नुभन्दा पहिले कमेडियनलाई सुध्रिने मौका दिनुपर्छ भन्ने लाग्छ । अपूर्वले माफी मागिसकेपछि सुध्रिने मौका खोइ त दिएको ?,' प्रश्न गर्दै भनिन्,'दर्शकले कमेन्टमा मनलाग्दी छाडा बोल्न पाइने, उसलाई होच्याउँदै बोल्ने । कमेन्टमा कति छाडा कुरा बोलिरहेका हुन्छन् ।' यसअघि कमेडी हबको एउटा ट्रेलरमा भगवान् शिवसँगको एक दृश्यले सीता पनि विवादमा तानिएकी थिइन् । सीता नेपाली समाज अझै यस्ता विषयमा रमाइलो मान्न तयार नभएको बताउँछिन् । सीता थप्छिन्,'विदेशीहरूको कमेडीमा क्याथोलिकलाई उडाएरै जोक्स बनाइरहेको सुनिन्छ । त्यसलाई रमाइलो मान्दै हेर्नुहुन्छ । हाम्रो समाज त्यहाँसम्म पुगेको पनि छैन । सानो कुरोलाई पनि ठूलो विषय बनाइएको हो कि भन्ने पनि लाग्छ ।'

नेपग्याजमका लेखमणि त्रिताल भने अपूर्वलाई प्रहरी नियन्त्रणमा राख्नुमा खासै समस्या देख्दैनन् । 'यस्तो विषयलाई प्रहरीले नै मिलाइरहेको हुन्छ । यसरी एकअर्कासँग झैझगडामा उत्रिनुभन्दा प्रहरीले नै नियन्त्रमा लिनु ठीक होजस्तो लाग्छ,'लेखमणिले भने,'समग्रमा उनको भिडियो त्यति अपमानजनक त थिएन । तर केही लाइनहरु नभनिदिएको भए हुन्थ्यो भन्ने भयो मलाई । धर्म, संस्कृति जोडिएको विषयमा मजाक उडाउँदा गाह्रै हुन्छ ।' कमेडियनहरुले यस्तो संवदेनशील विषयमा अध्ययन/अनुसन्धान गरेर मात्र कमेडी गर्नुपर्ने लेखमणि बताउँछन् । 'अपूर्वले माफी मागिसकेका हुनाले उनलाई त्यो समुदायलाई माफ गरिदिए राम्रो । अरुले पनि यो घटनाबाट सिक्न पाउनेछन्,'उनले भने ।

हास्यकलाकार मनोज गजुरेल यस्तो घटनाले कमेडीमाथि नयाँ बहस आवश्यक बनाइदिएको बताउँछन् । 'यसले के कमेडी हो, के कमेडी होइन भन्ने विषयमा एउटा राम्रो बहस हुन जरुरी छ भन्ने लागेको छ । हामी कमेडियनहरुले पनि के विषयमा कमेडी गर्ने भन्ने खालको एउटा आफ्नो सम्पादकीय बनाउन जरुरी देखियो । हाम्रो कमेडीले कसैको आत्मसम्मानमा चोट लगाउनु भएन । कसैको इगोको प्रहार कमेडीमा हुनु भएन,'गजुरेलले भने,'अपूर्वको प्रकाउ दु:खद विषय हो । यसले हामी सबैलाई एकपटक सोच्न बाध्य गराएको छ । जुन समुदायले आफ्नो आत्मसम्मानमा ठेस पगेको अनुभव गर्नु भएको छ, उहाँहरुको आत्मसम्मान फर्कने गरी र कलाकारको पनि पाठ सिक्ने रूपमा यो समस्याको समाधान चाँडै हुन्छ भन्ने लागेको छ ।'

अपूर्वले जुन समुदायको चित्त दुखाए, त्यसमा उनले आफ्नो गल्ती नै स्विकारेका छन् । तर, यसरी व्यंग्य गरेकै आधारमा प्रहरीले नियन्त्रणमा राख्नु कमेडियनलाई सबक सिकाएझैं भएको केही कलाकारको भनाइ छ ।

'अब यसरी प्रहरीको नपुग्नु पर्ने हो भन्ने लाग्छ । क्षमा दिने र क्षमा माग्ने त हाम्रो पूर्वीय संस्कृति हो । यो दुवै कुरा भइदिएको भए राम्रो हुन्थ्यो,' उनले जवाफमा भने । हास्यव्यंग्यका कुरा उठ्नासाथ गजुरेल एउटा कुरा दोहोर्‍याउन बिर्सँदैनन्,'सकेसम्म मेरो प्रस्तुति हेरेर मैले जसलाई व्यंग्य गर्छु त्यो पनि नरिसाओस् लजाओस् मात्रै । उसको मृत्यु नहोस् चसक्क चिमोटिओस् मात्रै । घाउ नलागोस् । सुरुवालको तुना खोलिओस् तर सर्वांग नदेखिओस् ।'

प्रकाशित : भाद्र १३, २०७९ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×