कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फिल्म समीक्षा

'प्रकाश' एउटा इमानदार प्रयास

कसिलो पटकथा, सरल ढंगमा भनिएको कथा, सशक्त संवाद र कलाकारको उम्दा अभिनयले फिल्मका कमजोरीलाई गौण बनाइदिएको छ ।
रीना मोक्तान

काठमाडौँ — फिल्म 'प्रकाश'मा एउटा सशक्त दृश्य छ । दुईतिरबाट आइरहेको हुल टक्क गोरेटोमा आमनेसामने हुन्छ । एकातिर छ–लास लिएर अगाडि बढिरहेको प्रकाश । अर्कोतर्फ छन्, इन्द्रप्रसाद, २०७४ सालको निर्वाचन जितेर विजय उत्सव मनाउँदै अगाडि लम्किरहेका । विजय उत्सव मनाउनेहरु नारा लगाउँछन्, 'यो जित कसको– जनताको' । त्यही नारालाई गिज्याउँदै जब शक्तिका अगाडि हारेका जनता अगाडि पुग्छन्, तब कथाले लिने नयाँ मोड दर्शकबीच अवतरण भइदिन्छ ।

'प्रकाश' एउटा इमानदार प्रयास

लेखक विकास सुवेदी र निर्देशक दिनेश राउत आफूले भन्न खोजेको कुरामा कति इमानदार र प्रष्ट छन् भन्ने कुरा यो एउटै दृश्यले बोलिदिन्छ । वाइड एंगलले खिचिएको यही फ्रेमभित्र फिल्मको कथासार भेटिन्छ । प्रकाशलाई शिक्षक बन्नु छ, तर इन्द्रप्रसादको राजनीति बाधक बनिदिन्छ । इन्द्रप्रसाद आफ्ना हलीलाई शिक्षक भएको देख्न चाहँदैनन् । शिक्षण लाइसेन्समा नाम निकालेपछि शिक्षक बन्न प्रकाशले गरेको दौडधुपसँगै फिल्मको कथा अगाडि बढ्छ । विभेद, हली जीवन, द्वन्द्वमा गुमाएकाहरूको आसालाई पनि फिल्ममा देखाइएको छ ।

नेपाली फिल्मको प्रमुख समस्या नै पटकथा हो । तर, यो विषयमा 'प्रकाश'मा लेखक सुवेदीले आफूलाई अब्बल साबित गरेका छन् । फिल्मका उपकथाहरू सुरुदेखि नै प्रमुख कथालाई पच्छ्याउँदै अगाडि बढ्दै जान्छन् । एकपछि अर्को घटना अन्तरसम्बन्धित गर्दै लेखिएको कसिलो पटकथाले नै फिल्मलाई प्रमुख कथाबाट बहकिन दिएको छैन । जुम्लाको भाषा, लवज समेटिएको संवाद उति नै सान्दर्भिक लाग्छ । फिल्ममा भारी संवाद छैनन्, जति छन् पर्दामा मिठो सुनिन्छ । जुम्लाको लवजमा बोलिएका कति संवाद काव्यात्मक लाग्छन् ।

फिल्मको सुरुदेखि नै कथाले आफ्नो गति सम्हालेको छ । ध्वनिको उपस्थिति फिल्ममा मजबुत लाग्छन् । पात्रहरूको तनाव बढ्दै जाँदा गड्याङगुडुङ गर्ने आकाशको बिम्ब, ध्वनिले पनि फिल्ममा कथा वाचनको लय पक्रेको देखाउँछ । 'प्रकाश' सिंक साउन्डको प्रयोगमा पनि अब्बल फिल्मभन्दा फरक पर्दैन । साउन्ड डिजाइनर उत्तम न्यौपानेले फिल्मको कथालाई ध्वनिमार्फत पनि भनेका छन् । पार्श्वगीतले कलाकारको मुडसँग दर्शकलाई साक्षात्कार गराइदिन्छ ।

सपना, प्रेम र राजनीतिको समिश्रणमा भनिएको फिल्मको कथाले दर्शकको मन हुँडल्छ । पात्रहरूका भावनात्मक यात्रामा दर्शक हिँडाउन पनि केही हदसम्म फिल्मले प्रयास गरेको छ । कति फिल्ममा हलमा प्रमुख पात्र सुकसुकाइरहँदा दर्शकको मन अमिलोसमेत बन्दैन । तर, प्रकाशमा पात्रहरूका आँखा धमिला बन्दा दर्शकको मन चस्किन्छ । फिल्मको एउटा दृश्यमा राधालाई उनका बुबाले प्रकाशसँग जात नमिलेकै कारण बिहे हुन नदिने बताउँछन् । त्यतिबेला क्यामेराले क्लोजअप सटमा राधाका रसाएका आँखा देखाउँदै गर्दा दर्शकको भावना त्यो पात्रसँग जोडिसकेको हुन्छ । फिल्ममा बिम्बहरूको प्रयोग उस्तै बेजोड लाग्छन् । राधा र प्रकाशको प्रेममा रहेको विभेदको पर्खाल देखाउन उनीहरू दुईलाई पर्खालको वारिपारि देखाइएको छ । त्यस्तै पुलको दृश्य पनि बिम्बात्मक शैलीमा दोहोरिरहन्छ । प्रकाशका सपना पुल पारि छ । विद्यालय पुल उतै छ । त्यही पुल तरेर गएका बुबा अझै फर्किएका छैनन् । प्रकाशले आफ्नो सपना पूरा गरेको/नगरेको देखाउन पनि पुललाई प्रयोग गरिएको छ ।

प्रमुख भूमिकामा देखिएका अभिनेता प्रदीप खड्काले फिल्ममा गरेको मिहिनेत पर्दामा झल्किएको छ । पात्रको हिँडाइ, बोल्ने लवजमा गरेको कामले प्रदीपलाई स्टारहरूको भीडबाट कलाकारको भीडमा उभ्याएको छ । फिल्ममा जति दृश्यमा रेनु योगीले राधाको चरित्र गरेकी छन्, त्यसमा उनले आफूलाई अब्बल ठहराएकी छन् । दीया मास्के(सीता)को अभिनय पनि प्रशंसालायक नै छ ।

मिहिन केस्राहरू केलाउँदै भनिएको कथामा अझै केही सुधार पनि आवश्यक लाग्छ । जस्तै, कुनै पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि जति संघर्ष गर्छ, उति नै त्यो पात्रको समस्या समाधान दर्शकका लागि रुचिकर बन्दै जान्छ । पात्रले बाधा–अवरोधको सामना सजिलै गर्‍यो भने खासै कथाले दर्शकलाई बाँधेर राख्न सक्दैन । 'प्रकाश'को मध्यान्तरपछिको भाग राजनीतितिर बढी केन्द्रित बन्दा प्रमुख पात्रको संघर्ष खासै दर्शकले अनुभव गर्न पाउँदैनन् । प्रकाशले शिक्षक बन्नका लागि गर्नुपर्ने संघर्षलाई अझै जोड दिएर फिल्म लेखिएको भए 'प्रकाश' बेजोडको बन्ने थियो । धेरै पटक दृश्यमा सीताले प्रकाशलाई दु:ख गरेर पढायो भन्ने संवादको प्रयोग गरिएको छ, तर दृश्यमा त्यसको अभाव खट्किन्छ । त्यस्तै बुबासँगको प्रकाशको सम्बन्ध पनि त्यसरी दृश्यमा स्थापित नहुँदा बुबाको आशमा बसेका उनीहरूका आँखाको निराशामा दर्शक डुब्न सक्दैनन् ।

तर, सरल ढंगमा भनिएको कथा, सशक्त लाग्ने संवाद, कलाकारका अभिनयले फिल्मका यी समस्यालाई गौण बनाइदिएका छन् । पछिल्लो समय लगातार प्रदर्शनमा आएका फरक शैलीका फिल्महरूमा 'प्रकाश' पटकथा र निर्देशनको हिसाबले बलियो लाग्छ । निर्देशक दिनेश राउतबाट अब यस्तै फिल्महरूको अपेक्षा गरिनेमा दुईमत छैन ।

प्रकाशित : भाद्र १७, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?