कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० वर्षपछि एकेडेमीले माग्यो ससिनसँग माफी

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९७३ को ओस्कर अवार्डमा ससिन लिटलफेदरलाई बोल्ने समय जम्मा ६० सेकेन्ड छुट्याइएको थियो । मञ्चमा उनी उत्कृष्ट अभिनेता घोषित भएका मार्लोन ब्रान्डोको तर्फबाट अवार्ड लिनलाई उक्लेकी थिइन् । तर, ससिनले अवार्ड अस्वीकार गर्दै ब्रान्डोले उक्त अवार्ड नलिने कारण घोषणा गरिन् ।

५० वर्षपछि एकेडेमीले माग्यो ससिनसँग माफी

हलिउडमा अमेरिकी आदिवासीको गलत चित्रणकै कारण ब्रान्डोले उक्त अवार्ड नलिने घोषणा गरिरहँदा कार्यक्रममा कतिले ससिनको मन्तव्यको खण्डनसमेत गरे भने कतिले तारिफ । त्यतिबेला मञ्चको पछाडि रहेका कलाकार जोन वाइन ससिनको उक्त भनाइले यति रिसाएका थिए कि उनलाई सम्हाल्न ६ जना बडिगार्ड आवश्यक परेको थियो ।

५० वर्षपछि एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले आधिकारिक रूपमा ससिनसँग माफी मागेको छ । मन्तव्यका क्रममा उनीमाथि भएको त्यस किसिमको दुर्व्यवहार र त्यसपछि उनले भोग्नुपरेको अभद्र व्यवहारप्रति विश्व‍चर्चित अवार्ड वितरण गर्ने संस्थाले ससिनसँग माफी मागेको हो ।

उक्त भनाइपछि उनको मजाक उडाउने, दुर्व्यवहार गर्ने र व्यक्तिगत रुपमा गालीगलौज गर्नेजस्ता कार्य भएका थिए । ७५ वर्षीया ससिनलाई पठाइएको पत्रमा एकेडेमीका पूर्वप्रमुख डेभिड रुविनले लेखेका छन्, 'उक्त भनाइले खेप्नु परेको दुर्व्यवहार अनुचित थियो । भावनात्मक रुपले तपाईंले बाँच्नुभएको त्यो समय र त्यसले तपाईंको करिअरमा पारेको प्रभावलाई फिर्ता गर्न त सकिँदैन तर त्यसका लागि हामी तपाईंसँग क्षमा याचना गर्न चाहन्छौं ।'

यो सेप्टेम्बरमा सिसन एकेडेमी म्युजिम अफ मोसन पिक्चर्समा आफ्नो उक्त ऐतिहासिक मन्तव्यमाथि छलफल गर्न सहभागी हुँदैछन्‚ जहाँ उनले आदीवासीको चरित्र चित्रणबारे पनि बोल्ने सीएनएनले उल्लेख गरेको छ । त्यही कार्यक्रममा एकेडेमीले उनीसँग माफी माग्ने छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले लेखेको उक्त पत्रमाथि प्रतिक्रिया जनाउँदै सिसनले लेखेकी छन्, 'ड्रिम कम ट्रु ।'

'एकेडेमीको क्षमायाचनाबारे भन्नुपर्दा, हामी इन्डियन्सहरू धेरै धैर्यशाली छौं । जम्मा ५० वर्ष त भएछ । अवार्ड नलिने घोषणा गरेसकेपछि आएको परिवर्तन देख्दा खुसी छु,' उनले थप लेखेकी छन् । उनका लागि आयोजना गरिएको कार्यक्रममा थुप्रै आदिवासी कलाकारहरूले प्रस्तुति दिनेछन् ।

प्रकाशित : श्रावण ३१, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?