कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान्छु : केसी
दीपक परियार

पोखरा — पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्डले अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो । 

कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको बताए । बोर्डको टोलीले शुक्रबार वडा नम्बर २५ स्थित ऐतिहासिक कास्कीकोटको अवलोकन गरेको हो । शाह वंशको उद्गमस्थल मानिने कास्कीकोटाबाट हिमशृंखला, फेवाताल र पोखरा दृश्य देख्न सकिन्छ । एक दशकअघि कास्कीकै अस्ताममा ‘फिल्म सिटी’ बनाउने योजना बोर्डले ल्याएको भए पनि स्थानीयकै अवरोधले रोकिएको थियो ।

चलचित्रको लागि कथा खोजी गर्ने अभियान ‘आफ्नो कथा, आफ्नो सिनेमा’ को सुरुआत गर्दै उनले पोखरा प्राकृतिक स्टुडियो भएकोले पनि स्थायी रुपमा फिल्म स्टुडियो आवश्यक रहेको बताए । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान आफूले पहल गर्ने पनि उनले बताएका थिए ।

‘हामी अन्तर्राष्ट्रिय बजारमा किन अगाडि बढ्न सकेनौं भने हामी प्राविधिक रुपमा बलियो छैनौं,’ उनले भने, ‘५ सय करोड खर्च गरेर बनाइएकासँग एक करोडमा बनेका हाम्रा फिल्मले प्रतिस्पर्धा गर्नु परिरहेको छ । अबको पहल नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने हुने छ ।’

उनले आफू सीमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । क्याराभान नेपाल प्रालिको अभियान सुरुआत गर्दै उनले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताए । जीवनको ४० वर्ष आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्या नजिकबाट नियालेको उनले बताए ।

‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु । यसमा भएका विविध समस्यासँग म जानकार नै छु,’ उनले भने, ‘हिजो प्रश्न गर्ने ठाउँमा म थिएँ । आज उत्तर दिने ठाउँमा छु । प्रशासनलाई बुझ्दै छु । सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्छु ।’

अभियानका परिकल्पनाकार चलचित्रकर्मी विमल पौडेलले पोखराबाट सुरु भएको अभियान गण्डकीका ११ वटै जिल्ला र देशभर पुग्ने बताए । उनले समाजमा लुकेर रहेका कथालाई संकलन गरी ‘स्टोरी बैंक’ तयार गर्ने र उपयुक्त कथालाई फिल्ममा उतार्ने बताए । ‘स्टोरी बैंकबाट फिल्म मेकरले कथा छान्न सक्नेछन्,’ उनले भने, ‘मौलिक कथाको खोजीमा हाम्रो जोड रहनेछ ।’

निर्माता एवं निर्देशक शिवजी लामिछानेले मौलिक चलचित्रमा सरकारले नै लगानी गर्नुपर्नेमा जोड दिए । चलचित्र विकास बोर्डले सेन्सर र इजाजतमा मात्रै ध्यान नदिइ समग्र सिने क्षेत्रको नेतृत्व गर्नुपर्ने उनको सुझाव थियो ।

कलाकार प्रकाश घिमिरेले नेपाली चलचत्रिमा मौलिक कथाको अझै कमि रहेको बताए । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले समाजलाई बुझ्न सके मात्रै मौलिक कथा उत्पादन हुने बताए । आदिवासी जनजाति चलचित्र संघका गण्डकी अध्यक्ष माओत्से गुरुङ, गुरुङ फिल्म एसोसियसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, पूर्वअध्यक्ष भोजबहादुर गुरुङ, मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले आदिवासी जनजातिका भाषाभाषीमा बन्ने फिल्मको सेन्सर सहज र कर छुट हुनुपर्ने बताए ।

प्रकाशित : श्रावण २१, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?