जनकपुर — जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै महोत्तरी बर्दिबासका किसानहरुले बिहीबार जनकपुरधामस्थित रेल्वे कार्यालय घेराउ गरेका छन् । स्थानीय किसान र रेल्वे कम्पनीबीचको समझौताअनुसार पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकठ्ठा १५ लाख रुपैयाँको दर भए पनि भुक्तानी प्रतिकठ्ठा १० लाख रुपैयाँको दरले दिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझालाई मागपत्रसमेत बुझाएका थिए ।
जनकपुर–जयनगर रेल्वे जग्गा पीडित संघर्ष समिति अध्यक्ष बर्दीबास–१४ का ज्ञानबहादुर थापाले भने–‘हामीले २२ सालको सर्वे नापीअनुसार खोल्सी कुलो निर्धारण गरी, सो भन्दा पश्चिमको जग्गाको मुआब्जा १५ लाख प्रतिकठ्ठाको दरले दिन माग गरेका हौं । रेल्वेसँगको सम्झौता पनि यही हो ।’
बर्दीबासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीहरुसँग प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखि ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो । जसमा रेल्वे कम्पनीले १ अर्ब ६ करोड मुआब्जा वितरण गर्नुपर्छ । अधिग्रहण गरिएका जग्गाका धनीहरुले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीको नाममा कित्ताकाटसमेत भइसकेको छ ।
बर्दीवासका सामाजिक कार्यकर्ता शंकर फुँयालले भने– ‘जग्गाधनीहरुले समझौताअनुसारको मुआब्जा पाइएला भनेर खुरुखुरु औंठा छाप लगाए । अहिले बैंकबाट पैसा झिक्न जाँदा प्रतिकठ्ठा १५ लाख हुनु पर्नेमा १० लाख रुपैयाँमात्र आएको रै'छ ।’ स्थानीय गोमहरि दाहालका अनुसार बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये ५/७ बिघा जग्गाको मात्र मुआब्जा विवाद छ । बाँकी जग्गाधनीहरुले समझौताअनुसार नै मुआब्जा पाएका छन् ।
नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले २०७५ भदौ २ गतेको जग्गा मूल्यांकन समितिको निर्णयअनुसार नै मुआब्जा वितरण हुँदै आएको दाबी ग रे । मूल्यांकन समितिले बर्दीवासस्थित नापी कार्यालय तथा स्थानीय सरोकारवालासँग विस्तृत सल्लाह गरी भिन्दाभिन्दै ३२ सूचकको आधारमा जग्गाको मुआब्जा निर्धारण गरेको जानकारी पनि ओझाले दिए ।
११४ बिघा जग्गा अधिग्रहण
जनकपुर–जयनगर रेल सेवा विस्तार तथा स्तरोन्नति योजनाको क्रममा भंगहादेखि बर्दीवाससम्मको १७ किलोमिटर रेल लिक विस्तार तथा रेल्वे स्टेसन निर्माणका लागि नेपाल रेल्वे कम्पनीले ११४ बिघा सर्वसाधारणको जग्गा अधिग्रहण गरेको छ । जग्गाको मुआब्जाबापत जग्गाधनीलाई झण्डै सवा २ अर्ब मुआब्जा वितरण गर्नुपरेको छ । रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार ११४ बिघा जग्गाका लागि महोत्तरीको बर्दीवासमा १ अर्ब ६ करोड १० लाख, किसानगरमा ८ करोड ९६ लाख ७५ हजार, भंगहामा १ करोड ७६ लाख ४० हजार र धनुषाको बेंगाडावरमा ९ करोड ९ लाख ९५ हजार मुआब्जा वितरण गरिँदै छ । लगभग ६० प्रतिशत जग्गाधनीले मुआब्जा प्राप्त गरिसकेको इन्जिनियर ओझाले जानकारी दिए ।
जनकपुर–जयनगर रेल सेवा यसअघि भारतको जयनगरबाट महोत्तरीको विजुलपुरासम्म ५२ किलोमिटरमा संचालन हुँदै आएको थियो । उक्त ५२ किलोमिटरमा रेल्वेको आफ्नै जग्गा छ । रेल्वे विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत प्रस्तावित रेल सेवा जयनगर (भारत)–बर्दीवाससम्म अर्थात् ६९ किलोमिटरमा संचालन हुनेछ । प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किलोमिटर) रेल सेवा सञ्चालन भइसकेको छ । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किलोमिटर )को रेल लिक तथा स्टेसनहरु निर्माण भई सेवा संचालन हुने स्थितिमा छ । तेस्रो चरणमा संचालन हुने भनिएको भंगहा–बर्दीवास (१७ किलोमिटर)को जग्गा अधिग्रहण कार्य अन्तिम चरणमा छ ।
जग्गाधनीहरुले रेल्वेबाट मुआब्जा लिन धेरै सास्ती भोग्नु परेको गुनासो गरेका छन् । बिहीबार मुआब्जा भुक्तानी लिन आएका धनुषा मिथिला नगरपालिका ५ बैंगाडावरका सुलोचन साह तेली गत तीन महिनादेखि मुआब्जा लिन रेल्वे कार्यालय धाउँदै गरेको बताए । रेल्वे कार्यालयअघि भेटेका साहले भने, 'जनकपुर आउजाउ गर्दै गत तीन महिनामा हजारौं खर्च गरिसकेका छौं तर मुआब्जा पाउन सकेका छैनौं ।’ साहका अनुसार आफ्नो ८ धुर र उनका दाजु झौली साहको १ कठ्ठा १६ धुर जग्गा अधिग्रहण भएको छ ।
प्रकाशित : श्रावण १९, २०७९ १६:००