कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
रिपोर्ट

फरकधारका फिल्मले तान्न सकेनन् दर्शक

'हामीकहाँ फिल्महरू राम्रा बनेनन् भन्ने बौद्धिक जमात छ । यस्तो फिल्म बन्नुपर्ने, उस्तो बन्नुपर्ने भन्दै चिया गफ गर्नेहरू नै फरक विषयवस्तुमा बनेका फिल्म हेर्न हलमा पुग्दैनन् ।'
रीना मोक्तान

काठमाडौँ — प्रदर्शनको पाँचौ दिन 'पानीफोटो'ले हलहरुको सबैभन्दा ठूलो मल्टिप्लेक्स च्यानल क्यूएफएक्समा जम्मा १२ सो मात्र प्राप्त गरेको छ । प्रदर्शनको दोस्रो दिनबाटै फिल्मले यसरी कम सोमा चित्त बुझाउनु परेको हो । बिहीबारको सो हेर्दा 'पानीफोटो'लाई हलमा एक साता टिक्न पनि हम्मेहम्मे पर्ने देखिन्छ ।

फरकधारका फिल्मले तान्न सकेनन् दर्शक

खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको यो फिल्म मात्रै होइन पछिल्लो समय प्रदर्शनमा आएका गम्भीर भनिएका, फरकधारका फिल्महरूले खासै दर्शक हलसम्म तान्न सकेको छैन ।

बन्नलाई ७ वर्ष लागेको फिल्म 'दोख' ७ दिन पनि हलमा टिकेन । दीपेन्द्र के खनाल निर्देशित 'चिसो मान्छे'ले अपेक्षित व्यापार गर्न सकेन । त्यस्तै, वर्षौं लगाएर बनाएको भनिएको 'चिसो एस्ट्रे'को हालत पनि 'दोख'को जस्तै थियो । फरक शैलीबाट कथा भन्न खोजिएका यी फिल्महरुले आखिर किन दर्शक तान्न सकिरहेका छैनन् त ?

कोभिडपछि हल जाने दर्शकको बानी हराइसक्यो भन्ने भनाइलाई 'पुष्पा', 'आरआरआर', 'केजीएफ' र 'कबड्डी'ले गलत साबित गरिसक्यो । बलिउड फर्मुलाबाट माथि उठेर बनाइएका फिल्महरुले 'आरआरआर'को २० प्रतिशत दर्शक पनि हलमा तान्न नसक्नुमा के दर्शकको फिल्म साक्षरता(लिट्रेसी) प्रमुख कारक हो, अथवा फरक ढंगबाट कथा भनिएका फिल्महरूमै कमजोरी छ ?

यस्ता फरक विषयवस्तु उठान गरिएका फिल्मले हलमा दर्शक तान्न नसक्नुमा फिल्म लिट्रेसीको अभाव रहेको बताउँछन् निर्देशक दीपेन्द्र के खनाल । 'चिसो मान्छेमा मैले धेरै बिम्बहरु प्रयोग गरेको थिएँ, बुझ्नेहरुले तारिफ पनि गर्नुभयो । तर, कमर्सियल फिल्म हेर्नेहरुलाई ती बिम्ब नराम्रो लाग्न सक्छ । चिसोमान्छे, दोख, पानी फोटोजस्ता फिल्म हेर्नका लागि त दर्शकको फिल्म लिट्रेसी पनि हुनुपर्छ,' दीपेन्द्रले सुनाए, 'तर, अहिले यस्तो किसिमको फिल्म पाच्य हुँदैनन् कि! भन्ने लाग्यो । फरक ढंगले कथा भन्न खोजिएका फिल्ममा मिहिनेत पनि उत्तिकै गरेको देख्छु । तर, दर्शक त्यस्ता फिल्मको स्वाद लिन हल पुगेका छैनन् ।'

'चिसो मान्छे'ले पोस्टरदेखि ट्रेलरमा खुबै चर्चा बटुलेको थियो । प्रदर्शनको अघिल्लो दिनसम्म ट्रेलरमा १० लाख बढी भ्युज थियो । फिल्मको यस्तो हाइप हेरेका दीपेन्द्रका साथी उनलाई भन्ने गर्थे, 'जो कोहीको मुखमा चिसो मान्छे छ, तैंले त यो फिल्मबाट मज्जाले पैसा कमाउने भइस्।' तर, ओपनिङमै दर्शकको राम्रो साथ मिलेन । फिल्मले आक्रामक व्यापार गर्छ भन्ने आंकडा फेल खायो । बल्लतल्ल तेस्रो हप्तासम्म चल्यो, 'चिसो मान्छे' । करिब १ करोड ५० लाखको लगानीमा तयार भएको फिल्मको लगानी डिजिटल प्रतिलिपि र डायस्पोराबाट त उठ्यो । तर, हलबाट अपेक्षित व्यापार भएन । 'अहिले अनुमान लगाउँदा फिल्मको नाफा ८/१० लाख हुन्छ होला । त्यसलाई के आम्दानी भन्नु ?' दीपेन्द्रले आफ्नो गुनासो पोखे ।

रंगकर्मी अनुप बराल पनि यस किसिमका फिल्ममा दर्शकको फिल्म लिट्रेसी नपुगेको बताउँछन् । 'नेपाली जनताले द्वन्द्वकाल, भूकम्पमा एक किसिमको यातना नै सहनु पर्‍यो । सायद मानिस खुशी हुन चाहन्छन् कि ! आफ्नो यथार्थ जीवनलाई फर्केर हेर्न चाहँदैनन भन्ने लाग्यो,' उनले भने, 'फिल्म हेर्ने दर्शकको पनि जेनेरेसन ग्याप भएको छ । ४० कटेकाहरुले हल गएर फिल्म हेर्न छोडेका छन् । जुन उमेर समूहका मानिसले फिल्म हेर्दैछन् सायद उनीहरु विगतसँग कुनै लगाव छैन भन्ने देखियो । फिल्म लिट्रेसी बुझेको दर्शक कम छन् । फिल्म क्षेत्रकाले मात्रै फिल्म हेरेर हुँदैन । कस्तो झम्पाट फिल्महरु दर्शकले हेर्ने गर्छन् ।'

बलिउड शैलीका फिल्म हेर्दै हुर्केका दर्शकलाई यस्तो गम्भीर विषयका फिल्ममा रुचि नभएको समीक्षक अनुप सुवेदीको पनि विश्लेषण छ । 'प्रमुख कुरा त दर्शकको रुचि नै हो । हाम्रा दर्शकहरु बलिउड फिल्म हेरेर त्यसकै स्वादमा आफूलाई ढालेकाहरू छन् । उस्तै तरिकाको नेपाली फिल्मले दर्शकको त्यही रुचीलाई विस्तार गरिदियो,' अनुपले भने, 'पछिल्लो समय त दक्षिण भारतीय फिल्महरूमा त्यो रुचि ढल्किएको छ । दक्षिण भारतीय फिल्म त बलिउडकै अतिरञ्जित फिल्म त हो नि । दर्शकको रुचि नै अतिरञ्जनातिर छ । तर, विषयवस्तुप्रति देखाएको संवेदनशीलताका फिल्महरूमा दर्शकको रुचि छैनजस्तो लाग्यो ।'

'चिसो एस्ट्रे'का निर्माता महेश बाबु तिमल्सिना दर्शकको स्वाद बलिउड शैलीमै अड्किँदा फरकधारका फिल्मलाई नरुचाइदिएको तर्क गर्छन् । 'नेपाली दर्शक अझै पनि हलिउड/बलिउडको फिल्म हेर्न अभ्यस्त छन् । आम नेपाली फिल्म जस्तो हुन्छ सबै त्यस्तै हुन्छन् भन्ने मानसिकताले गर्दा पनि फरक शैलीका फिल्महरूमा दर्शक नआउनु भएको हो भन्ने लाग्छ,' उनले भने, 'समीक्षात्मक रूपले फिल्म रुचाइएको थियो । तर समीक्षा राम्रो पाउने तर दर्शक हलमा नआउने फिल्मकै सूचीमा पर्‍यो हाम्रो फिल्म ।'

कोभिडपछिको मनोविज्ञान : फिल्ममा मनोरञ्जन मात्रै

कोभिड अगाडि फर्किने हो भने वर्षमा सयभन्दा बढी फिल्म प्रदर्शनमा आउँदा पनि ५/६ वटाले मात्र हलमा दर्शकको भीड जम्मा गर्थ्यो । बाँकीका फिल्मले पोस्टरको खर्चसमेत उठाउन नसकेको थुप्रै उदाहरण छन् । कोभिडपछि मनोरञ्जनात्मक फिल्ममै दर्शकको रुचि भएको अनुभव गरेका छन् दीपेन्द्र के खनालले । 'फिल्म हलमा लागेर दर्शकले मन नपराएपछि नचल्नु फरक कुरा थियो । तर, अहिले त दर्शकलाई फिल्ममा रुचि नै नभएको जस्तो देखिन्छ,'आफ्नो फिल्मको उदाहरण दिँदै दीपेन्द्रले भने, 'कोभिडपछि दर्शकले गम्भीर फिल्म हेर्ने दर्शकको मुड छैनन् जस्तो छ । अब चिसो मान्छेको समीक्षा राम्रो आएको छ, हेर्ने जति दर्शकले पनि फिल्म मन पनि पराइदिएका छन् । तर हलमा दर्शक पुगिरहेका छैनन् । कोभिडले आर्थिकदेखि सबै कुरामा प्रभाव पार्‍यो । सायद गम्भिर विषयका फिल्म हेरेर दर्शक गम्भीर बन्न नखोजेका हुन सक्छ ।'

फिल्म लेखक सम्पदा मल्लको भनाइ पनि दीपेन्द्रको जस्तै छ । 'अहिले भारतमा पनि 'लार्जर देन लाइफ'को फिल्महरु चलिरहेको छ । अहिले हामी भर्खर कोभिडको समय पार गरेर आयौं । हलमा गएर फेरि त्यो दु:खवाला फिल्म हेर्न चाहँदैनन् नि दर्शक,' उनले भनिन्, 'दर्शकले त मनोरञ्जन खोजिरहेको छ । तर, अहिले मानिसले बिर्सन खोजेको माओवादी द्वन्द्वमाथि फिल्महरु बनिरहेका छन् । दोख, पानीफोटोमा त्यही भयो ।'

नेपाली फिल्म क्षेत्रमा लामो समय 'हाम्रो कथा भनिनुपर्छ' भन्ने खालका बहसहरू भए । ‍बलिउड फर्मुलामा बनेका फिल्मले नेपाली फिल्मको पहिचान नदिने अनुभूतिकै उपलब्धि हुन् 'चिसो मान्छे', 'दोख', 'चिसो एस्ट्रे', प्रदर्शनको तयारीमा रहेको 'प्रकाश', 'राधा', 'ऐना झ्यालको पुतली' । तर, नेपाली समाजकै कथा भनिएका फिल्महरूले दर्शक आकर्षित किन गर्न सक्दैनन् ?

निर्देशक दिनेश राउत यसमा बौद्धिक जमातलाई नै प्रश्न गर्छन् । 'हामीकहाँ फिल्महरू राम्रो बनेनन् भन्ने बौद्धिक जमात छ । यस्तो फिल्म बन्नपर्ने, उस्तो बन्नपर्ने भन्दै चिया गफ गर्नेहरू नै यस्तो विषयवस्तुमा बनेका फिल्म हेर्न हल पुग्दैन । पछिल्लो समय प्रदर्शनमा आएका यस्ता विषयवस्तुका फिल्महरूलाई त्यो जमातले हेरे त ?' प्रश्न गर्दै राउतले भने, 'यस्तो फिल्म बन्नुपर्छ भन्ने तर हलमा नगइदिने ! आम दर्शकको स्वाद त त्यही व्यावसायिक फिल्महरूमै छ । त्यसैले उनीहरूको स्वाद परिवर्तन गर्न यो जमातले पहिला फिल्म हेरिदिनु पर्‍यो नि । त्यसरी बानी पर्दै जाने हो नि । व्यावसायिक फिल्म हेर्ने दर्शकलाई यस्तो फिल्मले आकर्षण गर्न गाह्रो पर्छ नि त । एकै पटक ती दर्शकको स्वाद परिवर्तन गर्न हामीलाई गाह्रो छ नि ।'

गम्भीर विषयवस्तुमाथि फिल्म बनाउनेहरुले मनोरञ्जनको तत्व फिल्ममा राख्न नसक्नु अर्को समस्या देख्छन् सुजित बिडारी । 'हामीकहाँ फिल्मलाई मनोरञ्जनका रूपमा मात्र हेरिन्छ । यस्तो फरक शैलीका फिल्मको संख्या अहिले ह्वात्तै बढेको हो । यस्तो फिल्म वर्षमा ३/४ वटा मात्रै पनि बनिरहेको भए यस्तो पनि फिल्म हुन्छ भन्नेमा दर्शक अभ्यस्त भइसक्थे, 'सुजित सुनाउँछन्, 'अहिले प्रदर्शनमा आएका फिल्म पनि मनोरञ्जनको बुझाइबाट पर बसेर बन्यो । मनोरञ्जनभन्दा पर बस्दैमा फरक फिल्म हुन्छ भन्ने बुझाइ धेरै मेकरमा देखिन्छ । जुनसुकै विषयमा कथा भनिए पनि मनोरञ्जनसँगै भन्न सकियो भने अझ उत्कृष्ट ।'

उनी थप्छन्, 'व्यावसायिक फिल्मकर्मीमा जसरी हाम्रो कथा भन्नुपर्छ भन्ने भान भएको छ, त्यो राम्रो हो ।तर, हाम्रो कथा भन्नु भनेको डार्क स्टोरी, ट्राजिक स्टोरी, दु:खमात्र देखाउनु होइन नि । दु:खको कथा भन्दै गर्दा त्यहाँभित्र पनि त खुसी हुन्छ । हाम्रो कथा भन्नुपर्छ भन्ने अवस्थामा हामी आइपुग्यौं तर त्यहाँबाट हाम्रो कथा दु:ख मात्रै होइन भन्नेसम्म पुग्न सकेका छैनौं ।'

फरक भनिएका यस्ता फिल्म लगातार ओरालो लागेको देख्दा सुजितलाई पनि डर लाग्न थालेको छ । भदौ २४ मा प्रदर्शनमा आउने आफू निर्देशित फिल्मले पनि दर्शक नपाउने हो कि भन्ने चिन्ता उनमा थपिएको छ । त्यसैले आफ्नो टिम नयाँ प्रचार शैलीमाथि छलफल गरिरहेको सुजित बताउँछन् ।

निर्देशक दीपेन्द्र लामा भने गम्भीर भनिएका फिल्महरुमै कमजोरी भेट्छन् । 'फिल्म नै कमजोर मान्छु म । मिडियाकर्मी र कलाप्रेमीले यस्तो विषयवस्तुको फिल्मलाई नम्र व्यवहार गर्ने चलन यहाँ छ । तर, प्रोत्साहन त्यो फिल्म राम्रो भएको प्रमाण हो । त्यही प्रोत्साहनमै फिल्म राम्रो बनेको छ भनेर बस्नु हामी फिल्मकर्मीकै कमजोरी हो । भारतमा जब ८० को दशकमा समानान्तर भनेर बनेका फिल्म अहिले हेर्दा पनि सशक्त लाग्छ । ती फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा पनि राम्रो उपस्थिति जनायो,'दीपेन्द्रले भन्छन्,'अहिले जस्तो फिल्म बनिरहेका छन् त्यो प्रयास राम्रो हो । तर,फरक धारको, कला फिल्म बनायो भन्दैमा मिहेनत नै नगर्ने भन्ने हुँदैन ।'

दीपेन्द्र थप्छन्, 'नेपालको घरेलु बजारमा लक्षित फिल्म बनाउन चाहन्छौं भने सरल फिल्म, ८० को दशकमा गोविन्द निहलानी, गुल्जार, श्याम बेनेगलले बनाएको स्तरको फिल्म बनाए पनि पुग्छ । हामीले त्यत्तिको स्तरको फिल्म बनाउन सकेका छैनौं । आजभन्दा २० वर्षअगाडि नै मुकुण्डो, नुमाफुङजस्ता फरक धारका फिल्म त बनेको हो नि । अहिले फरक धारको फिल्मलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लजिकले काम गर्दैन । जस्तोसुकै फिल्म बनाए पनि राम्रो बनाउनु पर्‍यो ।'

प्रचार-प्रसारमा कमजोरी

गम्भीर भनिएका फिल्म प्रचारमै चुक्दा अपेक्षित दर्शक नपाएको सम्पदा सुनाउँछिन् । 'फरकधारको फिल्मले मार्केटिङमा ध्यान दिइँदैन । दोख, पानीफोटोले खासै प्रचार गरेन । विश्वभर नै यस्तो फरक विषयवस्तुको फिल्मले कम दर्शक पाउँछन् । आम दर्शकले मनपराउने त मनोरञ्जनात्मक फिल्म नै हो । तर, यस्तो अवस्थामा प्रचार नै नगरे दर्शक त हलसम्म पुग्दैनन् नि,' सम्पदा सुनाउँछिन्, 'आम दर्शककहाँ फिल्म आउँदैछ भन्ने खबर त पुर्‍याउनु पर्‍यो नि । निर्माताहरूले फिल्ममा खर्च गरिरहेको हुन्छ तर, आफ्नो उत्पादन बेच्नलाई पनि खर्च गर्नुपर्छ भन्ने बुझ्दैनन् ।' विश्लेषक अनुप सम्पदाको भनाइमा थप्छन्, 'गम्भीर खालका फिल्मको प्रचार संयन्त्र राम्रो हुँदैजस्तो लाग्यो । दर्शकमा फिल्म कहिलेदेखि लाग्दैछ भन्ने जानकारी नपुगेकाले उनीहरू हलसम्म नपुगेको हो ।'

निर्देशक अनुप बराल 'दोख'को प्रचारमा आफूहरू चुकेको स्वीकार्छन् । 'सामाजिक सञ्जालमा हाम्रो फिल्मको चर्चा भयो । हामी त्यसमै रमायौं । सानो समूहमै प्रचार अड्किँदा लक्षित दर्शकलाई फिल्म हलमा लागेर उत्रेको थाहै भएन । हाम्रो प्रचार ठूल्ठूला मल्टिप्लेक्स केन्द्रित नै भए । तर, गाउँका दर्शक मल्टिप्लेक्ससम्म जानै सकेनन्,' बरालले स्वीकारे ।

प्रदर्शनको तयारीमा रहेको 'प्रकाश'का निर्देशक दिनेश यस्ता फिल्मको कमजोरी प्रचारमै भएको बताउँछन् । 'सुरुमा त फिल्म आउँदैछ भनेर थाहा दिनुपर्‍यो नि दर्शकलाई । हलसम्म तान्ने केही न केही तत्व दर्शकमा पुर्‍याउनुपर्‍यो । हामीकहाँ यस्तो प्रकृतिका फिल्मको प्रमुख समस्या त हामीले बनाएको कन्टेन्टले नै दर्शकलाई तानिहाल्छ नि भन्ने खालको बुझाइ देखिन्छ,' राउतले भने, 'फिल्म भनेको त कला शैलीको एउटा उत्पादन नै हो नि । त्यो उत्पादन बेच्नमा चुकेकोजस्तो लाग्छ । दर्शकलाई फिल्मबारे थाहा नभएपछि दर्शक हलमा नजाने नै भयो ।' त्यसैले पनि आफ्नो टिम अहिले 'प्रकाश'को प्रचारमा व्यस्त बनेको उनी सुनाउँछन् ।

'प्रकाश'ले व्यावसायिक सफल्ता नपाउला भन्ने चिन्ता दिनेशमा खासै छैन । २ करोड ५० लाखमा बनेको 'प्रकाश'ले अहिलेसम्म डायस्पोरा र डिजिटलबाट ९० प्रतिशत लगानी उठाइसक्यो । 'हामीले कुनै कुरा बजारका लागि बनाएका छौं भने त्यो कुराबारे बजारलाई थाहा हुनुपर्‍यो नि त । त्यो थाहा दिने कोसिस भइरहेको छ । फिल्मको लगानी लगभग उठिसक्यो । हामीलाई हलबाट १० प्रतिशत कमाइ भयो भने लगानी उठ्छ । त्यसबाहेकका अरु कुरा त आम्दानीमै गनिने भयो,' दिनेशले फिल्मको हिसाब निकाले ।

निर्देशक दीपेन्द्र के खनाल सामाजिक विषयवस्तुमाथिका फिल्म नचल्दा फिल्मकर्मी हतोत्साही बनेको बताउँछन् । 'मैले त जेनचेन पैसा उठाएँ । अहिले अन्य फिल्महरुको व्यवसाय हेर्दा त डरलाग्दो नै छ । त्यसैले घरखेत जाने खालको जोखिम फिल्म बनाएर किन मोल्ने भएको छ,' उनले भने, 'फरकधारका फिल्महरू बनाउने तर नचल्ने भएपछि दर्शकलाई मनपर्ने किसिमको फिल्म नै बनाउनुपर्दो रहेछ भन्ने दबाब हुन्छ होला ।अब कस्तो फिल्म बनाउने भन्ने दोधारमै छु म पनि ।'

आफूहरूले बनाएको फिल्मप्रति फिल्मकर्मीले सोच्नुपर्ने अवस्था आएको निर्देशक अनुप बरालको भनाइ छ । 'हामीले नै दर्शकलाई छुन नसक्ने फिल्म नबनाएको हो कि ? अब अर्को फिल्म बनाउनका लागि गम्भीर तरिकाले सोच्नु पर्ने बेला आएको छ । हल्काफुल्का, यस्तै सपना देखाउनु पर्ने फिल्म बनाउनु पो पर्ने हो कि ? प्रश्न गर्दै उनले भने, 'अहिले दक्षिण एसियाका मानिस सपनामा छिट्टो विश्वास गर्छन् भन्ने लाग्छ । आफ्नो जीवनभन्दा फरक जीवनमा विश्वास गर्न थाले । आफूले जीवनमा भोग्न नपाएको जीवन पर्दामा देख्दा रमाउने मनोविज्ञान देखिएको छ । बलिउडको प्रोडक्सन भ्यालु एकदम ठूलो हुन थाल्यो । त्यसैले हाम्रो स्लो, यस्तो विषयको फिल्महरुले उनीहरुलाई बाँध्न सक्दैनजस्तो लाग्छ ।'

प्रकाशित : श्रावण १७, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?