कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९
फिल्म जार

महिला विद्रोहको कथा [भिडियो]

एकल महिलाका लागि समाज अनुदार भएको समयको कथा नाट्य रूपान्तरणपछि अब फिल्ममा
पर्वत पोर्तेल

सिलिगुडी — युवावस्थामै श्रीमान् वा श्रीमती गुमाएकाहरूलाई अहिलेको समाजले के भन्छ ? उत्तर सजिलो छ– ‘उमेर काट्न गाह्रो छ, चल्दोमिल्दो हेरेर जोडी बाँध्नुपर्छ । विगत सम्झेर भविष्य चल्दैन ।’ नेपाली समाज यति उदार हुन थालेको धेरै वर्ष भएको छैन । जीवनसाथीको असामयीक अवसान भोग्नलाई एक्लै कष्टकर जीवन बाँच्न बाध्य पार्ने समाज कस्तो थियो ? पुरुषका लागि सहज भए पनि महिलाका लागि निकै असहज थियो । त्यही परिवेश बुझाउँछ फिल्म- ‘जार' ले ।

महिला विद्रोहको कथा [भिडियो]

राणाकालीन नेपाली समाजको कथा दार्जिलिङका इन्द्रबहादुर राईले वर्षौंअघि लेखेका हुन् । जसलाई धेरैअघि खगेन्द्र लामिछानेले नाट्य रूपान्तर गरेका थिए । नाटक निर्देशन गरेका थिए, सुनील पोखरेलले । अहिले भने दार्जिलिङका फिल्मकर्मी फुर्वा लामाले उक्त कथालाई फिल्मी रूपान्तरण गरेका छन् । पोस्ट प्रोडक्सनको काम अन्तिममा पुगेको फिल्म प्रदर्शनको तयारीमा छ । ‘फिल्म छिटै रिलिज हुनेछ,’ सिलिगुडीमा भेटिएका लामाले भने, ‘हामी फिल्म फेस्टिभल मोडेलमा रिलिज गर्ने योजनामा छौं ।

त्यसो हुँदा दुई वर्षभन्दा अघिदेखि ‘जार’ कुरेर बसेका सीमाना वारिपारिका दर्शकले तत्काल फिल्म हेर्न पाउने देखिँदैन । खासगरी यो फिल्ममा त्यो समयको कथा छ, जुन समयमा श्रीमान् छाडेर दोस्रो बिहे गर्ने साहस प्राय: महिलाहरूमा विरलै हुन्थ्यो । ‘जीवनका दुविधा र दु:खभन्दा पनि प्रेम मुख्य कुरा भएकाले प्रेमको जित निश्चित हुन्छ भन्ने भाव कथाले बाकेको छ,’ निर्देशक लामा भन्छन्, ‘दोस्रो बिहे गर्ने विद्रोही महिलाको कथा पनि यसले भन्छ ।’

खासमा लामा र उनको टिमले सन् २०२० बाटै फिल्म निर्माण थाल्ने निधो गरेको थियो । तर, कोभिड–१९ संक्रमणको महामारी अचानक आइलागेपछि योजना बिथोलियो । ‘प्रि–प्रोडक्सन स्टेजमा थियौं, स्क्रिप्ट फाइनल भइसकेको थियो । अरू पनि धेरै काम सकिँदै गएको थियो,’ लामाले अनुभव साटे, ‘कोभिडले त चौपटै पारिहाल्यो नि !’

कोभिड महामारी नआएको भए अहिले फिल्म रिलिज भइसक्ने थियो । त्यति मात्रै हैन, पर्यटकीय गन्तव्य घान्द्रुकमा फिल्म छायांकन हुने थियो । तर, कोभिडले आवागमन असहज भयो । अन्तत: सिक्किमको एक गाउँलाई घान्द्रुक मानेर फिल्म छायांकन भयो ।

फिल्म निर्माणको योजनामा कोभिडपछि धेरै परिवर्तन भयो । सबैभन्दा बढी असर बजेटमा पर्‍यो । करिब ८५ लाख भारु लगानी फिर्ता भयो । ‘लगानीकर्ताले बीचैमा हात झिकिदिए,’ लामाले भने, ‘जसको आड भरोसामा काम गरेका थियौं उनैले हात झिकेपछि चौपट त हुने नै भयो ।’ बनारसकी अनिता देले काँध थापेपछि चाहिँ बल्ल फिल्म निर्माण सुरु भयो ।

सुरुमा कथामा भए जस्तै असली बाघलाई फिल्म देखाउने योजना थियो । कजाकिस्तानतिर गएर खिच्ने योजना थियो । ‘अन्तिममा लाइभ एनिमल नगर्ने भइयो । कम्प्युटर ग्राफिक्समा करिब आधा करोड खर्च लाग्यो,’ उनले भने । फिल्मको ९० प्रतिशत काम सकिएको छ । ‘सोचेभन्दा ढिलो भयो, तर यो समयमा रिवर्क पनि गर्दै छौं,’ लामाले थपे, ‘ढिलो भएकोमा दु:ख छैन, राम्रैका लागि भएको छ, गल्ती कमजोरी सुधार्दै छौं । अब करिब २/३ महिनामा फाइनल हुन्छ ।’

लामाले बलिउड र हलिउडमा फिल्मी अनुभव बटुलिसकेकी सिक्किमकी गीताञ्जली थापालाई फिल्ममा डेब्यु गराएका छन् । लामाको पनि ठूलो पर्दाको यो डेब्यु फिल्म हो । यसअघि उनीसँग ‘एक ढाकर जीवन’, ‘माछाको मोल’, ‘गोर्खे जिप’ र ‘भाले जुदाई’ आदि फिल्म निर्माण गरेको अनुभव थियो । फिचर फिल्मको अनुभवचाहिँ पहिलो हो । गीताञ्जलीसँग उनको पुरानै चिनापर्ची थियो । केही वर्षअघि पनि उनले गीताञ्जलीलाई एक फिल्मको स्क्रिप्ट पठाएका थिए । उनले मन पराएकी पनि थिइन् । तर, फिल्मचाहिँ बन्न पाएन । जार गर्ने भएपछि दिमागमा गीताञ्जलीकै अनुहार नाच्यो । ‘स्क्रिप्ट पठाएँ, उनले ओके गरिन्,’ लामाले भने, ‘नेदरल्यान्डबाट आएर फिल्ममा काम गरिन् ।’

करिब १५ वर्षदेखि फिल्म निर्माणमा संलग्न लामाको व्यावसायिक मसला फिल्मभन्दा पनि विषय प्रधानप्रति बढी रुचि छ । विगतमा दार्जिलिङमा प्रताप सुब्बा, तुलसी घिमिरेहरूको दबदबा थियो । अहिले सेङपेन खिमसर, फुर्वा लामाहरू नयाँ सोच र योजनाका साथ उदाएका छन् । अमेरिकामा बस्दै आएका खरसाङका सेङपेन खिमसरले गोर्खाल्यान्ड आन्दोलनसँग सम्बन्धित ‘ब्रोकेन विङ्स’ फिल्म निर्देशन गरेका छन् ।

प्रकाशित : असार २३, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×