कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपालमा नपाएको माया कान्समा पाएँ' [भिडियो]

कान्समा 'लोरी'ले इतिहास रच्दा खुसीले हाँसिरहे अविनाश
रीना मोक्तान

काठमाडौँ — फिल्म पढेर फिल्म मेकिङमा होमिएका होइनन्, अविनाश विक्रम शाह । सानैदेखि फिल्म हेर्दै हुर्किए उनी । तिनै फिल्महरू, इन्टरनेटमा प्राप्त स्रोतहरुको स्व-अध्ययनले अविनाशलाई फिल्म क्षेत्रमा ल्यायो ।

'नेपालमा नपाएको माया कान्समा पाएँ' [भिडियो]

'कान्स', 'बर्लिन', 'भेनिस' लगायत विश्वप्रसिद्ध फिल्म फेस्टिभल हेर्न भने उनी छुटाउँदैनथे तर कुनै दिन यस्तै ठूला प्लेटफर्ममा आफ्नो फिल्मले अवार्ड जित्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । उनै अविनाश गत जेठ १५ मा ७५ औं कान्सको अन्तिम दिन अवार्ड समाहरोहमा लघु फिल्मतर्फको विधामा आफ्नो नाम घोषणा हुँदा खुसीले 'हाँसेको हाँस्यै' भएछन् ।

'स्पेसल मेन्सनमा ९ वटा फिल्म देखाइएको थियो । ती फिल्महरू कथा, शैली अनि प्राविधिक हिसाबले अब्बल । तर‚ त्यसमध्येमा पनि आफ्नो फिल्मले स्पेसल मेन्सन पाउँदा मेरो त खुसीले हाँसो नै रोकिएको थिएन । रमाइलो भइरहेको थियो । सबैले मलाई कति हाँसिरहेको भनेर भने, म त्यति खुसी भएको थिएँ,' कान्समा इतिहास रच्न सफल अविनाश सुनाउँछन्, 'आफूले हेर्दै आएका फिल्म छनोट हुने अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफ्नो फिल्म छनोटमा पर्दाको रमाइलो छुट्टै थियो । टिम नै खुसी थियौं । अवार्ड जित्दा खुसी नहुने कुरै भएन ।'

अन्तिम दिन अन्य कार्यक्रममा झैं फेस्टिभलका आधिकारिक व्यक्तिको उपस्थितिमा अवार्ड कार्यक्रम समापन गरिन्छ होला भन्ने अविनाशले सोचेका थिए । तर, कार्यक्रम हुने हलमा उनको टिम पुग्ने बित्तिकै स्टेजबाट 'लोरी'ले स्पेसल मेन्सन जितेको घोषणा भयो । सुरुमै आफ्नो फिल्मले अवार्ड जितेको सुन्दा टिमको खुसी उनको अनुहारमा झल्कियो । 'सुरुमै मेरो नाम घोषणा गर्दाको जुन खुसी थियो, कार्यक्रम अवधिभर नै त्यही खुसी रहिरह्यो । कार्यक्रमको अन्त्यमा नाम घोषणा गर्ने भएको भए ढुकढुक भइरहन्थ्यो होला,' उनले अवार्ड जित्दाको क्षण सम्झँदै भने, 'त्यस्तो प्लेटफर्ममा सहभागी हुनु अनि विश्वका फिल्मकर्मीहरु भेट्नु उपलब्धि त हुँदै हो । अवार्ड नै जित्नु त विशेष भइहाल्यो ।'

कान्समा पहिलो पटक नेपालको तर्फबाट 'लोरी' छनोटमा पर्दा अविनाशलाई खासै विश्वास लागेको थिएन । कान्समा फिल्मको अप्लाइ गरिसकेपछि अविनाश अमेरिकाको रेसिडेन्सी (आवासीय फिल्म लेखन कार्याशाला) सकेर एलएबाट न्युयोर्क जाँदै थिए । न्युयोर्क अवतरण हुने बित्तिकै उनले मोबाइलको डाटा खोले । कान्समा 'लोरी' छनोटमा परेको इमेल आएको रहेछ । सुरुमा त उनलाई त्यो 'स्पाम' इमेल हो कि! भन्ने लाग्यो । 'मेरो फिल्म कान्समा छनोटमा परेको कुरा पत्याउन एकदम समय लागेको थियो, 'हाँस्दै सुनाए । कान्समा फिल्म छनोट भएको खुसीले उनको टिम नै फ्रान्स पुग्यो । फेस्टिभलले पाँच दिनको अकोमोडेसन बेहोरिदिएको थियो । टिमका अन्य सदस्य आ-आफ्नै खर्चमा त्यहाँ पुगेको थिए ।

अवार्ड वितरणको २ दिनअघि अविनाशको टिमले रेड कार्पेटसहित अफिसियल स्क्रिनिङमा जुरी सदस्यहरुसँग बसेर 'लोरी' फिल्म हेरे । १५ मिनेट लामो लघु फिल्म हेरिसकेपछि रमाइला प्रतिक्रियाहरु बटुले । 'उनी अभिनयकै लागि जन्मिएकी रहिछन्' भन्दै बाल-कलाकारको जुरीले तारिफ गरेको अझै अविनाश सम्झन्छन् । फिल्मको भिजुअल सौन्दर्यलाई पनि धेरैले मनपराइदिए । फिल्म स्क्रिनिङपछि दर्शकले बजाएको ताली सामान्य भन्दा अलि लामै समयसम्म गुन्जिएको अविनाशलाई याद छ ।

'फिल्म सकिएपछि ताली बज्छ । तर‚ हामीले अलि बेसी नै ताली पाएका हौं कि भन्ने लागेको थियो । स्ट्यान्डिङ अभिएसन पनि एकदमै लामो भएको थियो । लघु फिल्मतर्फको सबै फिल्म देखाइसकेपछि सबै फिल्मकर्मी उठ्दै गर्दा दर्शकले ताली बजाउनु भयो । हामी फिल्मकर्मीलाई नेपाल जुन सम्मान/माया दिइँदैन‚ विश्वभरिका दर्शकले दिँदा कस्तो राम्रो लाग्यो,' उनले भने, 'नेपालमा हाम्रो फिल्म स-सानो फिल्म फेस्टिभलमा देखाइन्छ । सानो समूहले मात्र फिल्म हेर्छ । तर‚ त्यहाँ हाम्रो फिल्म तीन पटक त्यहाँ देखाइयो । विश्वभरिका दर्शकले फिल्म हेरेर तारिफ गरिदिँदा एकदमै हौसला जाग्दो रहेछ । नेपालमा त्यस्तो माया नदिने होइन तर त्यस्तो ठूलो फेस्टिभल अनि त्यतिका दर्शकले दिएको प्रतिक्रियाले हौसला बढ्दो रहेछ । मैले गरिरहेको काम ठीक रहेछ यसरी नै अगाडि बढ्दै जानुपर्छ भन्ने कुरा अनुभव भयो ।'

'लोरी'-बालविवाहको कथा

बालविवाहसम्बन्धी नेपालमा थुप्रै फिल्म बनेका छन् भन्ने अविनाशलाई थाहा थियो । अविनाशको बाल्यकाल पनि मधेसमै बितेको थियो । उनले त्यहाँको वास्तविक बालविवाहलाई नजिकबाट देखेका छन् । उनका केही साथीहरूको त बाल्यकालमै बिहे भयो । केही समयअघि मात्रै भारतमा बेचबिखनमा परेका बालिकाहरूको खबर पढ्दै गर्दा त्यहाँ एक बालिकाले आफूलाई घरमा बिहे गरिदिन लागेको हुँदा आफू भागेर त्यहाँ पुगेको बताएकी थिइन् । आफूले बाल्यकालदेखि देख्दै आएको कुरा अझै पनि समाजमा रहेको देखेपछि उनले 'लोरी'को कथा लेखेका हुन् । बालविवाहमार्फत जकडिएको पितृसत्तालाई फिल्ममा देखाउन खोजेको अविनाशको भनाइ छ ।

'बालविवाहको विषयमा मैले केही गर्नुपर्छ भन्ने भयो । लघु फिल्म गरिहेरौं न त भनेर नै लोरी बनाएको हुँ । बालविवाह गरेपछि आउने समस्या फिल्ममा देखाइएको छैन । त्यो विषयको गहिराइमा जाने प्रयास गरेको छ फिल्म । जरा गाढेर बसेको पितृसत्तात्मक समाज छ हामीकहाँ । त्यो अहिले नै हट्छ भन्ने छैन,'अविनाशले भने ।

विवाहको समयमा केटा र केटी पक्षमा गाइने गीतहरूमार्फत 'लोरी'को कथा भनिएको छ । अन्तर्राष्ट्रिय प्लेटफर्ममा अविनाशको यही शैलीलाई पनि धेरैले रुचाइदिए । 'एउटी बालिकाको बिहे हुँदा उनको घरमा गाइने गीत र केटा पक्षले गाउने गीतमा निकै फरक हुन्छ । बालिकाको घरमा ५/६ जना महिला आउने अनि दु:खका गीत गाउने प्रचलन हुँदो रहेछ । हल्दीको समयमा, छोरीलाई बिहे गरेर दिने बेलामा पनि गीत गाउने प्रचलन,' अविनाश सुनाउँछन्, 'ती गीतहरुमा पनि कति गहिरो तरिकाले पितृसतात्मक सोच मिसिएको छ । ती महिलाहरुले गाउने गीतले त्यही पितृसत्तात्मक सोच त्यो बालिकाको दिमागमा हालिदिन खोजिरहेको छ भन्ने कुरा फिल्ममा देखाउन खोजेको छु । गीतमार्फत कसरी नयाँ पुस्तामा पितृसत्ता हस्तातरण हुँदैछ भन्ने कुरा रमाइलो मान्दै विश्वका दर्शकहरुले हेरे ।'

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथा कसरी लैजाने ?

कान्स वा यस्तै अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली कथा पुर्‍याउन सजिलो भने छैन । त्यसो त अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मले स्थान पाउन थालेको २० वर्षजति भयो । २०५९ सालमा पहिलो पटक छिरिङ रितार शेर्पाको फिल्म 'मुकुन्डो' अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । त्यसपछि नवीन सुब्बाको फिल्म ‘नुमाफुङ’ थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन पायो ।

पछिल्लो समय मीन भाम, दीपक रौनियार, अविनास लगायत फिल्मकर्मीहरू प्रसिद्ध फिल्म फेस्टिभलमा स्थान ओगट्दै छन् । अविनाश भन्छन्,'सायद हाम्रो कथा विश्वसनीय हुनुपर्छ । नेपालीपन भयो भने हाम्रो कथा त्यस्तो प्लेटफर्ममा पुग्छ, पुगिरहेकै छ । अनि कथा भन्ने शैली पनि विश्वसनीय र नवीन हुँदा सायद छनोटमा पर्ने हो । हामीले हाम्रो कथा भन्ने शैलीमा फरकपन देखाउनुपर्छ ।'

बाहिरबाट आयत गरेका कथा नेपालीले फेरि दोहोर्‍याउन नहुने अविनाशको तर्क छ । उनी प्रश्न गर्छन्, 'हाम्रै कथा भनौं न । नेपालमा यति धेरै कथाहरु छन्, समस्याहरु छन् । फिल्मकर्मीका हिसाबले त्यही कथाहरु भन्नुपर्छ भन्ने लाग्छ मलाई ।' अविनाशले नै लेखेको 'कालो पोथी', 'हाइवे', 'तटिनी'ले विभिन्न अन्तर्राष्ट्रिय बजारमा घुमिसके ।

यसअघि 'एलिफेन्ट इन्द दि फग'ले कान्सको मेन्टरसीप पाएको थियो । फिल्मले लोकार्नोमा लेखनको मेन्टरसीपसँगै बुसानमा अवार्ड नै पायो । फाइनल ड्राफ्ट लेखिसकेपछि फेरि उनी फिल्मको लागि लगानी खोज्नेतर्फ लाग्ने बताउँछन् । 'लोरी' प्रतिस्पर्धामा परेसँगै अविनाशको नयाँ प्रोजेक्टमा थुप्रै निर्माताले जोडिने इच्छा प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा फिल्म पुग्नुको अर्को फाइदा यो पनि हो । उनी अन्तर्राष्ट्रिय बजारमा पुग्न चाहने फिल्मकर्मीलाई स्थानीय स्वादको फिल्मलाई फरक शैलीमा प्रस्तुत गर्नुपर्ने सल्लाह दिन्छन् । 'जति लोकल भयो त्यति नै युनिभर्सल हुन्छ भन्ने कथन छ । त्यसैले कथा भन्ने शैलीमा फरकपन अनि स्थानीय स्वाद भयो भने हाम्रा फिल्म अन्तर्राष्ट्रिय बजारमा पुग्नेछन्,'उनले भने ।

फिल्मको लेखन सजिलो विषय त होइन । अविनाशले लेखनसँगै आफूलाई निर्देशनमा प्रस्तुत गर्न थालेका हुन् । त्यही अनुभवहरुले उनलाई 'लोरी' बनाउन मद्दत गरेको उनको तर्क छ । 'लोरी'मा विश्वले नदेखेको संसार अनि गीतमार्फत कथा भन्ने शैली मनपराइदिएकै कारण 'कान्स'मा फिल्मले अवार्ड जितेको भन्ने लाग्छ अविनाशलाई ।

'कान्स'मा लोरीले जित्नु अविनाशकै लागि मात्र नभएर नेपालकै लागि ऐतिहासिक क्षण हो । नेपाली फिल्म क्षेत्रमा स्क्रिप्ट लेखनमा थुप्रै समस्या भेटिन्छन् । अविनाश मूलधारे फिल्मले लेखनमा समय खर्च नगर्दा यस्तो भएको बताउँछन् । 'लेखन एकदमै लामो प्रक्रिया हो । फिल्मको जग नै स्क्रिप्ट हो । त्यसलाई एकदम राम्रोसँग लेख्नुपर्छ । मूलधारे फिल्ममा लेखनलाई खासै धेरै समय दिइँदैन । पहिलो र दोस्रो ड्राफ्ट त निखारिएको हुँदैन नि त । त्यसैले अलि बढी समय लेखनलाई दिइयो भने मूलधारे फिल्म राम्रो बन्न थाल्नेछ,'उनले भने, 'बलिउड र हलिउडमा स्क्रिप्ट लेखनमा अलि बढी ध्यान दिइन्छ । तर नेपालमा अलि बढी फिल्म बनाउन नै हतार गरेको हो कि जस्तो लाग्छ । त्यसैले स्क्रिप्ट लेखनमा एकदमै ध्यान दिनुपर्छ ।'

प्रकाशित : जेष्ठ २९, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?