कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण, बस्नेतलाई दीर्घसाधना सम्मान

काठमाडौँ — लोकसंगीत संकलन, खोज अनुसन्धानमा सात दशक बिताएका कुमार बस्नेतलाई रेडियो कान्तिपुरको २३  औं वार्षिकोत्सवको अवसरमा आयोजित नेसनल म्युजिक अवार्डस्‌मा दीर्घसाधना सम्मान २०७८ (लाइफ टाइम अचिभमेन्ट) दिइएको छ । 

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण, बस्नेतलाई दीर्घसाधना सम्मान

लोकसंगीत संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै ७८ वर्षीय बस्नेतलाई नगद एक लाख रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो । 'म खासमा डान्सर हो । भैरवबहादुर थापा मेरो गुरु । त्यतिबेला एउटा गीत गाउँदा सबैले प्रशंसा गर्थे । अहिलेजस्तो खुट्टा तान्ने काम हुँदैन थियो । १५/१६ सालमा पहिलोपटक मेरो गीत रेडियो नेपालमा भयो,' बस्नेतले पुराना दिन सम्झँदै भने, 'एकदिन मलाई कसैले भन्यो- आधुनिक गीतमा तिमी नजानु त्यता धेरै कलाकार । त्यसपछि मैले लोकगीत गाउन थालें ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले वर्षभरि बजाउँदै आएको गीतको स्रष्टालाई रोयल्टी प्रदान गर्दै आएको रेडियो कान्तिपुरले संगीत क्षेत्रका बस्नेतजस्तो नक्षत्रलाई 'लाइफ टाइम अचिभमेन्ट' प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे ।

कार्यक्रममा गायक सुरजकुमार थापा, धर्मेन्द्र सेवानले दीर्घकालीन सम्मानबाट सम्मानित बस्नेतमा 'तिम्रो बाउलाई सलाम छ', 'भाले बास्यो पियारी', 'हेर्दा राम्रो माछापुच्छ्रे' लगायतका गीतमाथि गायन प्रस्तुति दिए । 'पिपुल्स च्वाइस' अवार्डबाट गायक निशान भट्टराई र एलिना चौहान 'के माया लाग्छ र' बोलको गीतबाट सम्मानित भए । नवप्रतिभातर्फ अंकित अमारु श्रेष्ठले 'लजनएर' बोलको गीतबाट सम्मानित भए ।

अवार्ड कार्यक्रममा कवि कुमार नगरकोटीले कविता पनि प्रस्तुत गरे । त्यस्तै, गायक यम बराल, लोचन भट्टराई, समृद्धि राई, गायिका त्रिशाला गुरुङ, दिनेश ढकाल, शिवानी तामाङलगायतले गायन प्रस्तुति दिए । प्रस्तोता एवं हास्य कलाकार सन्दिप क्षेत्रीले पनि हास्यव्यंग्यको प्रस्तुति दिए ।

१५ क्याटोगोरीमा प्रदान गरिएको यो अवार्डमा ७५ जना मनोनयनमा परेका थिए । अर्जुन पोखरेलले संगीत निर्देशकको अवार्ड पाउँदा लोकगायकमा पशुपति शर्माले अवार्ड पाए । त्यस्तै पार्श्व गायकतर्फ रामकृष्ण ढकालले अवार्ड प्राप्त गर्दा मिलन नेवारले पार्श्व गायिकाको अवार्ड पाइन् ।

टप थ्री एजेन्सीज

  • पहिलो - मिडिया सेन्स
  • दोस्रो - म्याक्स मिडिया प्राइभेट लिमिटेड
  • तेस्रो - थमसन नेपाल
  • उत्कृष्ट नवप्रतिभा - अंकित अमारु श्रेष्ठ
  • उत्कृष्ट रचनाकार - आनन्द अधिकारी
  • उत्कृष्ट संगीत निर्देशक - अर्जुन पोखरेल
  • उत्कृष्ट लोकगायक - पशुपति शर्मा
  • उत्कृष्ट लोकगायिका - मेचु धिमाल
  • उत्कृष्ट राष्ट्रिय गीत - 'कोही भन्छन् मेची मेरो'
  • उत्कृष्ट पार्श्व गायक - रामकृष्ण ढकाल
  • उत्कृष्ट पार्श्व गायिका - मिलन नेवार
  • उत्कृष्ट पप गायक - अल्मोडा राना उप्रेती
  • उत्कृष्ट पप गायिका - आस्था तामाङ
  • उत्कृष्ट ब्यान्ड - कर्मा ब्यान्ड
  • उत्कृष्ट आधुनिक गायक - शिव परियार
  • उत्कृष्ट आधुनिक गायिका - संगीता राना प्रधान
  • उत्कृष्ट युगल गीत - मेलिना राई र बलबहादुर राजवंशी
  • पिपुल च्वाइस अवार्ड - निशान भट्टराई र एलिना चौहान

प्रकाशित : वैशाख २३, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?