कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सरकारले निमन्त्रणा दिए छायांकनका लागि नेपाल आउँछौं : सोहेल खान

दबंग कुनै राजनैतिक कार्यक्रम होइन । यो त सजिलो र सहजरुपमा मनोरञ्जन दिने कार्यक्रम हो जहाँ दर्शक आएर हाँस्न, रमाउन सक्छन् ।

काठमाडौँ — जेठ १० मा आयोजना हुने 'दबंग लाइभ इन नेपाल' कार्यक्रमको अन्तिम तयारी बुझ्न सलमान खानका भाइ सोहेल खान नेपाल आएका छन् । सलमान खानसहित दर्जन बढी बलिउड कलाकारको प्रस्तुति रहने कार्यक्रम दशरथ रंगशालामा आयोजना हुँदैछ । २०-२५ हजार दर्शक अपेक्षा गरिएको यो कार्यक्रमका लागि आयोजकले २५-३० करोड खर्च गरिसकेका छन् ।

सरकारले निमन्त्रणा दिए छायांकनका लागि नेपाल आउँछौं : सोहेल खान

कन्सर्टका लागि एक करिब एक महिना बाँकी रहँदा नेपाल आएका सोहेलले कार्यक्रमका दबङ्ग टिम उत्साहित रहेको बताए । उनीसँग सलमानको प्रस्तुति, दबङ्ग टुरबारे ईकान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी :

यहाँको नेपाल यात्रा कस्तो भयो ?

हिजो अलि अस्वस्थ थिएँ, अहिले सबै ठिक छ । यात्रा व्यस्तमय थियो । तर यहाँको मौसम एकदम राम्रो रहेछ । अहिले एकदम रमाइलो लागिरहेको छ । म फर्किंदैछु ।

'दबङ्ग टुर'ले यसअघि विभिन्न देशमा कार्यक्रम आयोजना गरिसक्यो । नेपालमा किन ढिला भयो । पछिल्लो समय त कार्यक्रम रद्द नै भयो । किन?

धेरै कारणहरु छन् । हामीले धेरै ठाउँमा कार्यक्रम गरिसकेका छौं । तर, हामीले जहाँ कार्यक्रम गरिरहेका हुन्छौं त्यहाँको स्थानीय समस्याहरु हामीलाई थाहै हुन्न । कलाकारका हैसियतले त हामीलाई सबै ठाउँमा गएर कार्यक्रम गर्न मन लाग्छ नि ! दबङ्ग कुनै राजनैतिक कार्यक्रम होइन । यो त सजिलो र सहज रुपमा मनोरञ्जन दिने कार्यक्रम हो जहाँ दर्शक आएर हाँस्न, रमाउन सक्छन् । आफ्नो मनपर्ने कलाकारलाई आएर हेर्न सक्छन्, उनीहरुको प्रस्तुतिमा झुम्न पाउँछन् । नेपालमा यो कार्यक्रम गर्ने हाम्रो पहिल्यैदेखिको योजना हो । तर, दुर्भाग्यवस हामीले जुन समयमा कार्यक्रम गर्ने निर्णय गर्‍यौं, त्यही समयमा स्थानीय अवरोधहरु देखिए । तोकिएको मितिमा कार्यक्रम गर्न नपाउँदा त हामीलाई नराम्रो अनुभव हुन्छ नै । तर यो पटक सबै कुरा सहि दिशामा छ ।

सायद पहिला पनि एकपटक कार्यक्रम रद्द भएका कारण सबैजना यस पटक कार्यक्रम सम्पन्न गर्न तम्तयार छन् । हामी पनि यो पटक कार्यक्रम हुनेमा शत्प्रतिशत पक्का छौं । हामी कार्यक्रम लिएर आउँदैछौं । मिति पक्का भइसकेको छ । जेठ १३ गते हामी नेपाल आइपुग्छौं र जेठ १४ मा कार्यक्रम गर्छौं । कार्यक्रम लगभग ३ घण्टाको हुनेछ । सलमानसहित अन्य कलाकारले प्रस्तुति दिनेछन् ।

यसअघि गर्ने भनिएको 'दबङ्ग टुर' रद्द हुनुको खास कारण केही थियो ?

खोइ, खासै थाहै भएन । आन्तरिक कारण के थियो भन्ने नै थाहा भएन । हामी त कार्यक्रका लागि आउने तयारीमै थियौं । तर, आयोजकले कार्यक्रम पोस्टपोन्ड भएको जानकारी गराउनुभयो । हामीले त्यसलाई सहजै स्वीकार्‍यौं, कारण सोधि बसेनौं ।

नेपाली बजारमा यो कार्यक्रमको प्रभावकारिताकस्तो देख्नुहुन्छ ?

एकदमै धेरै देख्छु । यो त 'अन्ट्याक मार्केट' नै हो । नेपालमा जसले पनि कार्यक्रम गर्छ उनीहरुले यसलाई प्रतिस्पर्धी बजारको रुपमा हेर्नुपर्छ । दर्शकको संख्या पनि हेर्नुपर्छ । दर्शकको पहुँच पुग्ने टिकट बेच्नुपर्छ ।धेरै संख्याका दर्शकले कार्यक्रम हेर्न पाउने मौका पाउँछन् । दबङ्ग मात्र होइन कसैले नेपालमा कार्यक्रम गर्दैछ भने नेपालले सुरक्षामा कडाइ गर्नुपर्छ । जति संख्याका दर्शकलाई पनि नियन्त्रण गर्नसक्ने सुरक्षाकर्मी हुनुपर्छ । अब कार्यक्रममा महिला बालबालिका आउँछन् । भीड उतिकै हुन्छ । त्यस्तोमा समस्या महिला र बालबालिकाका लागि हुनसक्छ । उनीहरु पनि आफ्नो मनपर्ने कलाकारको कार्यक्रम हेर्न आएका हुन्छन् । त्यस्तोमा भीडलाई व्यवस्थापन गर्ने सुरक्षातिर ध्यान दिनुपर्छजस्तो लाग्छ । सलमान नेपाली फ्यानबीच प्रस्तुति दिन उत्साहित छन् ।कार्यक्रममा दर्शकले कुनै अवरोध नभोगुन भन्ने उनको चाहना छ ।

पछिल्लो समय सलमान खानले सँस्कृति, पर्यटन तथा नागरिकमन्त्री प्रेमबहादुर आलेसँगको भर्चुल संवादमा सगरमाथामा गएर 'ब्रेकफास्ट' गर्ने भन्ने कुरामा सकारात्मक प्रतिक्रिया दिएका थिए नि ?

हो नि ! हाम्रो टिम त्यसप्रति एकदमै सकारात्मक छौं । सगरमाथा तपाईंको राष्ट्रको ताज नै हो । म १०/१२ वर्षको उमेरमा नेपाल आएँको थिएँ । त्यतिबेला हाम्रो विद्यालयले हामीलाई यहाँ लिएर आएको थियो । त्यतिबेला बम्बई, कलकत्तादेखि सायद ३० घण्टा ट्रेनमा बिताएका थियौं । ट्रेनदेखि हामी रक्सौल हुँदै नेपाल प्रवेश गर्‍यौं । त्यसपछि गाडी चढेर काठमाडौं आएँ । मैले जीवनमा धेरै यस्तो घुमघाम, पिकनिकमा रमाइलो गरेको छु । तर, मलाई अहिलेसम्म विद्यालयले नेपाल भ्रमणमा लिएर आएको त्यो क्षण अझै याद छ । त्यतिबेला त्यो उमेरमा सपना थियो काठमाडौं पुगेपछि सगरमाथा हेर्न जान्छु भन्ने । त्यतिबेला काठमाडौंकै नजिकतिर सगरमाथा देखिन्छ भन्ने सोच थियो । त्यो सायद बाल स्वभाव थियो । ४० वर्षपछि नेपाल आएको छु, यसपाली त सगरमाथा हेरेरै फर्कन्छु ।

दबङ्ग कन्सर्टबाहेक सलमान खानको अन्य के योजना छन् नेपालमा ?

हामी त एकदमै व्यस्त छौं । यो कार्यक्रम लगतै सलमानको अन्य छलफलहरु हुनेछ । यो एकदमै ठूलो कार्यक्रम पनि हो । अब खुल्ला रंगशालामा कार्यक्रम गर्दैछौं । हामीसँग केवल कार्यक्रमका लागि अभ्यास गर्ने समय मात्र हुनेछ । बिहानदेखि दिउँसोसम्म अभ्यास हुन्छ । त्यसपछि साँझमा त कार्यक्रम नै छ । नेपाली दर्शकलाई कार्यक्रमबाट मनोरञ्जन दिनु नै हाम्रो प्राथमिकता हुनेछ । त्यसैले हामीलाई राम्रो कार्यक्रम गर्नुछ । त्यसका लागि मिहेनत गर्दैछौं । सायद मलाई लाग्छ तपाईं कामकै लागि यता आउनुहुन्छ भने अरु कार्यका लागि समय हुँदैन पनि । नेपाल यति सुन्दर देश छ कि यहाँ त बिदा मनाउन पो आउनुपर्छ । तर,यस्तो कार्यक्रम गर्न आउँदा तपाईं समयसीमामा बाँधिनुहुन्छ । कार्यक्रममा प्रस्तुति दिनै पर्‍यो । त्यतिबेला त तपाईंको जिम्मेवारी के हो त्यो नै महत्वपूर्ण हुन्छ नि होइन ?

यो कन्सर्ट गर्न भने नेपालको के कुराले तपाईंहरुलाई आकर्षित गर्‍यो त ?

प्रमुख कुरा त नेपाल हाम्रो छिमेकी राष्ट्र भइहाल्यो । यो कुरा नै आफैंमा सुन्दर हो । लामो समयदेखि नेपाल र भारतबीच सम्बन्ध छ ।इभेन्ट म्यानेजमेन्ट कम्पनीका हिसाबले त यस्तो ठाउँमा आएर कलाकारसँग प्रस्तुति दिनु खुसीको कुरा हो ।

कार्यक्रममा सलमानका प्रस्तुति के-के हुनेछन् ?

३ घण्टा १० मिनेटको कार्यक्रममा सायद सलमानले स्टेजमा एक घण्टा बिताउँनेछन् । एक घण्टा बढी पनि बिताउन सक्नेछन् । अब अरु कलाकारको प्रस्तुति पनि रहनेछ । सायद अरु कलाकारले आधा घण्टाको प्रस्तुति गर्दा उनले एक घण्टा भन्दा बढी नै समय स्टेजमा बिताउनेछन् । नेपालीको प्रस्तुति पनि कन्सर्टमा जोडिनेछ । हाम्रो क्रियटिभ टिमले अभ्यासको समयमै नेपाली कलाकारलाई पनि कन्सर्टमा जोड्दैछौं । हंककंगबाट सुरु भएको यो कार्यक्रम हामीले न्युजिल्याण्ड, अष्ट्रेलिया, लन्डनलगायतका ठाउँमा गरिसकेका छौं । हामी जहाँ कार्यक्रम गर्छौं, आफैं पनि रमाइलो गर्छौं । हामी दर्शकलाई कार्यक्रमसँग जोड्न हर संभव प्रयास गर्छौं ।

यसपछि अन्य कार्यक्रम पनि नेपालमा गर्ने केही योजना छन् त ?

हामी त नेपाल आउन चाहन्छौं नै । तर, त्यो कुरा सबै निमन्त्रणामा पनि भर पर्ने हो । इभेन्ट म्यानेजमेन्ट कम्पनी र कलाकारका लागि त सामुन्नेको दर्शक खुसी भएको देख्न पाउनु त ठूलो कुरा हो नि ! लाइभ दर्शकका अगाडि प्रस्तुति दिनु त ड्रिम कम ट्रु नै हो नि ! यदि यो कार्यक्रम राम्रो भयो र सबै कुरा सटिक भयो भने हामी मात्र होइन अरु कार्यक्रम पनि नेपाल आउनेछन् । त्यसका लागि नेपालले अन्य कार्यक्रमलाई पनि नेपालमा भित्र्याउन सक्नुपर्‍यो । यस्तो कार्यक्रमले मानिसहरुलाई एक ठाउँमा भेला गराउँछ, जहाँ उनीहरु सँगै नाच्न, गाउन र हास्न पाउनेछन् । त्यसैले त कन्सर्टहरु हुने गर्दछन् । कन्सर्टमा धेरै समस्या पनि हुँदैन । त्यसैले यो कार्यक्रम राम्रो भएको देखाउनुपर्छ पहिला । सानो–ठूलो कन्सर्ट जे पनि त्यसले अन्तर्रष्ट्रिय कलाकारलाई पनि काम दिन्छ । यसले हाम्रो आयामहरु बढाइदिन्छ । हामीले पनि स्थानीय स्वाद चाख्न पाउँछौं ।

१९९२ पछि बल्ल सलमान नेपाल आउँदैछन् । सलमानलाई नेपाल फर्कन किन यति समय लाग्यो ?

त्यतिबेला उनी फिल्मको लागि सुटिङका लागि आएका थिए । अब उनी कलाकार हुन् । फिल्म, स्क्रिप्ट अनि निमन्त्रणामा यस्तो यात्रा भर पर्दो रहेछ । पर्यटकीय निमन्त्रणा पनि आउनुपर्छ । अहिले दुबईले यस्तो अभ्यास गर्दैछ । हामी फिल्म सुटिङ गर्न दुबई जान्छौं । त्यहाँ हामीले सुटिङमा गरेको खर्चको केहि प्रतिशत फिर्ता पनि पाउँछौं । त्यसले त निर्मातालाई सहयोग मिल्छ । त्यसरी त पर्यटन बढाउँछ पनि । टम क्रुजको फिल्म त्यहाँ छायांकन गरिएको छ । सलमान खानको फिल्म पनि त्यहाँ छायांकन भयो । साउदी अरेबियाले पनि यो अभ्यास थालिसकेको छ । स्थानीय सँस्कृति र सीमालाई मध्यनजर गरेर यदि कुनै देशले आफ्नो प्रचार गर्छ भने दबङ्गजस्तो ठूला कार्यक्रम हुन्छ नै । सलमानलाई नेपालले आफ्नो फ्यानका लागि प्रस्तुति दिन निमन्त्रणा दिएको हो । ताकि उनको प्रस्तुति उनका फ्यान र फलोवर्सले प्रत्यक्ष देख्न सकुन् । सँस्कृति, पर्यटन मन्त्रालयले यस्तो ठूलो कार्यक्रमहरुलाई निमन्त्रणा दिनुपर्छ जस्तो लाग्छ ।

तपाईंले नेपाल सुन्दर छ भन्नुभयो । नेपालमा छायांकन गर्ने थुप्रै छायांकनस्थलहरु पनि छन् । निर्माताका हिसाबले नेपालमा फिल्म छायांकन गर्ने सोच्नु भएको छ ?

यदि स्क्रिप्टले माग्यो भने हामी नेपालमा छायांकन गर्न आउँछौं । मैले अघि नै भने निर्माताका हिसाबले फिल्म छायांकन खर्चिलो काम हो । नजिकैको छायांकनस्थलमा छायांकन गर्न सजिलो हुन्छ, खर्च पनि कम हुन्छ । तर, नेपाल सरकारले हामीलाई छायांकन गर्न निमन्त्रणा दिन्छ, होटल अनि यातायातको व्यवस्थापन हेरिदिन्छ भने हामी छायांकनका लागि नेपाल आउँछौं ।

प्रकाशित : वैशाख १, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?