कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढाका इन्टरनेस्नल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मलाई अवार्ड

काठमाडौँ — २० औं ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन् । फेस्टिभलको 'वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब'अन्तर्गत किरण पोखरलेको 'पुतलीको सपना'ले उत्कृष्ट स्क्रिप्टको अवार्ड उचाल्दा सुजित बिडारीको 'ऐना झ्यालको पुतली'ले एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो ।

ढाका इन्टरनेस्नल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मलाई अवार्ड

किरणले उपहारमा पाँच हजार अमेरिकी डलर पाए । कोरोना संक्रमणकै कारण महोत्सवमा सहभागी हुन पुगेका यी दुई फिल्मकर्मी पुरस्कार उचाल्न भने पाएन । दुवैले भर्चुअली जितको खुसी मनाए ।

'मलाई त बल्ल अवार्ड जितेको जस्तो लागिरहेको छ । कोरोना पोजिटिभ भएपछि क्लोजिङ सेरोमनीमा जान पाइएन,'पोखरेलले भने । 'पुतलीको सपना' आफ्नो लैंगिक पहिचानका लागि माओवादी द्वन्द्वमा होमिने पहाडी भेगकी १६ वर्षीया किशोरीको कथा हो ।

किरणले यो कथामाथि २०२४ मा फिल्म बनाउने सोचेका छन् । 'अहिले फस्ट ड्राफ्ट मात्रै सकेको छु । दोस्रो ड्राफ्ट सुरु गर्नुछ । हामीले फिल्मलाई २०२४ मा प्रोडक्सनमा लैजाने सोचेका छौं,' पोखरेलले भने, 'अब यो ल्याबपछि अन्तर्राष्ट्रिय बजारमा पनि अप्लाइ गर्ने सोचेका छौं । फिल्मको बजेट पनि ठूलो छ अनि स्क्रिप्टमा मेहनत पनि उत्तिकै गर्नुपर्ने भएकोले २०२४ तिर फिल्म बनाउने सोचेका छौं ।'

'पुतलीको सपना'लाई यसअघि बुसान एसियन फिल्म स्कुल इन्टरनेस्नलअन्तर्गत फिल्म बिजिनेस एकेडेमी कोर्समा मेन्टरिङका लागि सुशान्त श्रेष्ठले लिएर गएका थिए । नेपालको तर्फबाट सुशान्तसहित उषा अधिकारी पनि फिल्म निर्माता हुन् ।

किरणको निर्देशन र लेखनमा तयार भएको लघु फिल्म 'मानषी'ले २०१३ मा 'एकादेशमा इन्टरनेस्नल सर्ट फिल्म फेस्टिभल'मा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो भने २०१८ 'कान्स फिल्म फेस्टिभल'को एक कार्यक्रममा स्क्रिनिङ गरिएको थियो ।

बुसान इन्टरनेस्नल फिल्म फेस्टिभलको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको पहिलो नेपाली फिल्मसमेत रहेको 'ऐना झ्यालको पुतली'मा भने दुई दिदीभाइको कथा छ । 'फिल्मले उत्कृष्ट निर्देशकको अवार्ड जित्दा खुसी लागेको छ,'आइसोलेसनमा रहेका बिडारीले सुनाए । उनको फिल्म कोरोना महामारीकै कारण प्रदर्शनमा आउन सकेको छैन । उनी महामारीको अवस्था नियालेर फिल्म प्रदर्शन गर्ने तयारीमा छन् ।

प्रकाशित : माघ १०, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?