१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

रिस पोख्‍ने थलो- तोडफोड

रीना मोक्तान

काठमाडौँ — 'भँडास, माया, जात, धोका, पागल, रिलिज द एङ्गर, म्याडनेस, डर लाग्यो, तनाव, बुम!' यस्तै-यस्तै अक्षरहरुले भरिएको सानो कोठा । दुईवटा टायर र एउटा ड्रम, छेउमा फलामका रड । कोठाको ठीकबाहिर पीपीई सुट ।

रिस पोख्‍ने थलो- तोडफोड

दुई युवाहरु पीपीई सुट, ग्लोब्स, चस्मा, मास्क, ह्याटमा कोठाभित्र छिर्नेबित्तिकै चर्को आवाजमा गीत बज्यो । उनीहरु उफ्रँदै, खुसी हुँदै बियरका बोतल फुटाउँदैछन् । छेउमा भएका टायरलाई सक्दो बल लगाएर चुट्दैछन् । करिब ८-१० वटा बोतल फोडेर उनीहरु बाहिर निस्के । यो बन्द कोठाको नाम हो, तोडफोड- रेजरुम ।

बन्द कोठाभित्र विभिन्न वस्तुहरु फुटाएर आफूभित्रको आक्रोश हटाउन प्रयोग गरिने 'रेजरुम'को कन्सेप्टमा तोडफोड पुस २३ बाट काठमाडौंको त्रिपुरेश्वरमा खुलेको छ ।

'जसलाई फ्रस्टेसन हुन्छ । रमाइलोका लागि यहाँ आउँदा हुन्छ । यस्तो ठाउँहरु फ्रस्टेसन कम गर्नभन्दा पनि रमाइलोका लागि खोल्नुपर्छ भन्ने लाग्छ,' कोठाभित्रबाट बाहिर निस्कँदै गर्दा २१ वर्षीय दिवस अधिकारीले सुनाए । दिवसको कुरा सकिनेबित्तिकै स्वयम ढकालले थपे,'कलेजको व्यवस्थापन, देश, सरकार, बेरोजगार हुनुको फ्रस्टेसन थियो । हामीले त्यो रिस सिसामा पोख्यौं।'

उनी दुवैले टिकटक भिडियोबाट तोडफोडबारे थाहा पाएका रहेछन् । सिसा फुटाउँदै भिन्नै अनुभव भएको स्वयमले सुनाए । 'पहिलो पटक सिसा त्यसरी फुटाउँदा आएको आवाजले त त अर्कै अनुभव भयो । मज्जा आयो । त्यसरी पहिला कहिल्यै सिसा फुटाएका थिएनौं,'उनले भने ।

तोडफोडमा आएका दुई सहभागीको प्रतिक्रिया सुनेर उत्साहित छन् सञ्चालक विभूषण शर्मा । तनाव हटाउनभन्दा पनि मनोरञ्जनका लागि 'तोडफोड' खोलेको बताउँछन् । 'रेज रुमको विषयमा मैले एउटा लेखबाट थाहा पाएँ । सुरुमा यसको कन्सेप्ट सुन्नेबित्तिकै प्रश्नहरु मनमा आयो । मैले यसको बारेमा धेरै खोजेँ । काठमाडौं उपत्यकामा यति तनावमा छन् । तनाव त भइहाल्यो, काठमाडौंमा मनोरञ्जनका लागि सीमित स्थान मात्रै छन् । त्यसैले मनोरञ्जनका लागि केही नयाँ गरौं भन्ने सोचेरै रेज रुमको कन्सेप्टमा काम गर्यौं ,' उनले सुनाए ।

रिस उठ्दा विभूषणलाई पनि सामानहरु फुटाउन मन लाग्थ्यो । एकपटक रिसमा मोबाइल फुटाइदिए । कम्युटर ह्याङ्ग हुँदा कम्प्युटर नै फुटाइदिए । आफ्नो सामान फुटाउँदा त आफैलाई घाटा । बरु फुटाउनै मिल्ने स्थानमा गएर फुटाउनुको मज्जा कस्तो होला भन्ने कौतुहलताले पनि विभूषणलाई रेज रुमको स्टार्टअप व्यवसाय खोल्न प्रेरित गर्‍यो ।

'तोडफोडको प्याकेज किनेर भएको जति रिस त्यसमा पोख्दा भइहाल्यो । तपाईंलाई त्यसले राहत मिल्नेछ,'उनले भने । सहभागी हुन चाहनेहरु सजिलै तोडफोडको कोठाभित्र छिर्न पाउँदैनन् । उनीहरुलाई सुरुमा स्वीकृति पत्रमा हस्ताक्षर गर्न लगाइन्छ । सहभागी हुन चाहनेले टिभी, फ्रिजदेखि अन्य भान्साका सामग्रीलाई फोड्न चाहेमा तोडफोडले त्यसको पनि व्यवस्थापन गरिदिन्छ।

झट्ट हेर्दा तोडफोड जोखिमपूर्ण देखिन्छ । यस्तो जोखिमपूर्ण कुरामा मनोरञ्जन लिन मानिसहरु आउलान् त ?

प्रश्नको जवाफ दिँदै शर्माले भने,'हामीले जसरी यसको प्रचार गरेका छौं, त्यो हेर्दा त मानिसहरु आउँछन् भन्ने नै लाग्छ । अर्को कुरा हामी पीपीई, ह्याट, चस्मा, वेल्डिङ ग्लोब्स, जुत्ता लगाएको व्यक्तिलाई मात्र भित्र छिराउँछौं । तोडफोडमा सहभागी हुनेको सुरक्षामा त्यत्तिकै ध्यान दिने प्रयास गरेका छौं । उहाँहरुलाई चोटपटक नलागोस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो ।'

तोडफोडमा ३ सय ५० देखि १५ सय रुपैयाँसम्मको प्याकेज छन् । सोच कम्पनीमार्फत तोडफोड खुल्यो । अहिले तोडफोडको कन्सेप्ट बुझाउन आफूहरुलाई चुनौती भएको अनुभव सुनाउँछन् विभूषण । भन्छन्,'सुरुमा त आफ्नो परिवारलाई नै कसरी बुझाउने भन्ने थियो । मैले आमाबुवालाई कन्सेप्ट सुनाएँ । तर उहाँहरुको प्रतिक्रिया एकदम सकारात्मक थियो । बुवाले त सामग्री फुटाइसकेका व्यक्तिलाई मन्द संगीतमा आराम गर्ने अर्को कोठा पनि हुनुपर्छ भन्दै सल्लाह दिनुभयो । मैले त उहाँले साथ दिनुहुन्न भन्ने लागेको थियो । तर रेज रुम बुझ्न धेरै गाह्रो हुँदैन रहेछ ।'

'रेज रुम'को कन्सेप्ट पहिलो पटक सन् २००८ मा जापानमा खोलेको थियो । त्यसपछि उक्त कन्सेप्ट विभिन्न देशहरुले पछ्यायो । अमेरिकामै पनि सयभन्दा बढी 'रेज रुम' खुलेका छन् । रेजरुमलाई लिएर चिकित्सकदेखि विभिन्न व्यक्तिहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले यसले मानिसको रिस हटाउन मद्द नगरी, रिस बढाउनेको काम गरेको अध्ययन पेस गरेका छन् भने कतिले यसको आवश्यकताबारे प्रतिक्रिया दिएका छन् । भारतको 'भँडास क्याफे' रेज रुमकै कन्सेप्टमा तयार पारिएको हो ।

विभूषण रेज रुमको कन्सेप्टलाई तोडफोडमार्फत पहिलो पटक नेपालमा आफैले सुरु गरेको दाबी गर्छन्। यसअघि उनले नै टर्किस आइसक्रिमको कन्सेप्टलाई नेपालमा भित्र्याएका थिए ।

३ लाख बढीको लगानीमा सुरु गरेको तोडफोडमा उनले५ जना कर्मचारी राखेका छन् । तोडफोडका प्रचारका लागि उनीहरुले टिकटकलाई प्रयोग गरेका छन् । 'कतिले टिकटकमार्फत सजिलै बुझ्नु भएको छ । यस्तो पनि गर्ने र भन्नेहरु पनि छन् । तर त्यही त हाम्रो व्यवसायको चुनौती हो । मनोरञ्जनका लागि क्लब, रेस्टुरेन्टमा मानिसहरु गइरहेकै हो । तर यो त सबैका लागि नयाँ हो,'उनी सुनाउँछन्,'मैले पनि रेज रुमभित्र बोतल फोडेँ । पहिला फोड्दा त डर नै लाग्यो । जब त्यो रडले त्यसलाई पड्काइन्छ । अर्कै किसिमको अनुभव हुँदो रहेछ । अर्कै किसिमको रमाइलो हुन्छ ।'

एक वर्षको तयारीपछि विभूषणले तोडफोड खोले । उनले फुटेका सिसाको टुक्रा रिसाइकल गर्ने मेसिनलाई भारतबाट मगाएका छन् । '२ लाख बढी पर्ने त्यो मेसिनलाई मगाएका छौं । त्यो मेसिनले बोतललाई बालुवा बनाउँछ । त्यसलाई अर्कै तरिकाले प्रयोग गर्ने हाम्रो सोच छ,'उनले भने,'पहिला म तोडफोड गर्थें अहिले अरुलाई गराउँछु । यो वर्षभित्र ३ ठाउँमा तोडफोडको ब्रान्च खोल्ने योजना छ ।बन्द गर्ने त सोचेकै छैन ।'

प्रकाशित : पुस २४, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?