कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्म हल खुल्दै, सञ्चालक भन्छन्, 'क्लबदेखि रेस्टुरेन्ट चलिरहेछन्, हलमा पनि दर्शक आउलान् नि !'

रीना मोक्तान

काठमाडौँ — ९ महिनादेखि बन्द देशभरका हल शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने स्वघोषणा गरेपछि देशभरका हल सञ्चालकले हल खोल्ने तयारी सुरु गरेका हुन् । 

फिल्म हल खुल्दै, सञ्चालक भन्छन्, 'क्लबदेखि रेस्टुरेन्ट चलिरहेछन्, हलमा पनि दर्शक आउलान् नि !'

'हल खुल्यो है' भन्ने सन्देश दिनका लागि पनि आफूहरुले तयारी सुरु गरेको बाताउँछन् क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा । 'हल चलायनमान गरौं भन्ने हिसाबले खोल्न लागेको हो । दर्शकको स्वास्थ्य सुरक्षा नै हाम्रो प्रमुख प्राथमिता हुनेछ । त्यसैले अहिले आन्तरिक सुरक्षा व्यवस्थातिर तयारी भइरहेको छ,' उनले सुनाए ।

उनका अनुसार हलभित्र दर्शकले अनिवार्य मास्क लगाउनुपर्ने छ । ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था गरेका छन् । सबै हलझैं क्यूएफएक्सले पनि अनलाइन पेमेन्टलाई प्राथमिता दिने भएको छ । 'सुरक्षाका हिसाबले सो सकिएपछि हल स्यानिटाइज गर्छौं । सामाजिक दूरी कायम गर्छौं । दर्शक हेरेर कति सो चलाउने निर्धारण गर्छौं,' अडिगाले भने ।

अधिकांश हलहरुले ५० प्रतिशत दर्शक अकुपेन्सीमा हल सञ्चालन गर्ने योजना बनाएको छ ।

वान सिनेमाजका म्यानेजर उमेशराज गिरी आफूहरु यतिखेर कर्मचारीलाई तालिम दिनमा व्यस्त रहेको बताए । 'सरसफाइको काम त निरन्तर भइरहेको छ । सामाजिक दूरी कायम कसरी गर्ने, सकेसम्म सम्पर्क नगरिकनै कसरी सेवा सुविधा दिने भनेर स्टाफलाई तालिम दिँदै छौं,' उनले भने, 'पहिला हामी दर्शकको शरीर जाँच गर्थ्यौं । अब त्यो हुँदैन । तापक्रम जाँच्ने व्यवस्था गरेका छौं । पहिला सेक्युरिटीले टिकेट जाँच गर्नुहुन्थ्यो अब दर्शक आफैले गर्ने व्यवस्था मिलाएका छौं ।'

उनका अनुसार फुडकोर्टमा बस्ने कर्मचारीले अनिवार्य ग्लब्स लगाउनुपर्ने छ । यस्तो तयारी गरिरहँदा पहिलो पटक हल खोलेको अनुभव भइरहेको उनी बताउँछन् । 'हल ओपनिङ गर्दाको जुन अनुभव हुन्छ त्यस्तै अनुभव भइरहेको छ अहिले,' उनले सुनाए ।

क्यूजका सञ्चालक सुमित मैनालीले पनि आफूहरु १० गतेबाट हल खोल्ने तयारीमा जुटेको बताए । 'हल खोल्ने तयारीमै छौं । सरसफाइ गर्दैछौं । हेरौं कस्तो हुन्छ,' उनले भने ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हल सञ्चालकले सुरक्षा व्यवस्था अपनाएर हल खोल्ने तयारी गरेको बताउँछन् । 'पूर्वमा पनि तयारी भइरहेको छ । पश्चिममा पनि तयारी भइरहेको छ । काठमाडौंमा पनि हल खोल्ने तयारी लगभग सकिएको छ,' अध्यक्ष प्रधान भन्छन्, '९ महिनासम्म बन्द भएको सफ्टवेयर अपडेट गर्नुपर्‍यो । कर्मचारीलाई सुरक्षा मापदण्ड अनुसार चल्न तालिम दिँदैछौं । अनलाइन पेमेन्टबाट टिकट काट्ने व्यवस्थालाई प्राथमिकता दिँदैछौं ।'

उनका अनुसार अनलाइन सेवा नपुगेको क्षेत्रमा २ मिटरको दूरीमा टिकट काट्ने व्यवस्था गरिएको छ । त्यस्तै हल सञ्चालकले प्रत्येक दिन हल डिसइन्फेक्ट गर्नेछन् । दर्शकको ज्वरो नाप्ने व्यवस्था मिलाएका छन् । हलभित्र काम गर्ने कर्मचारीले फेससिल्डदेखि ग्लब्स लगाएर काम गर्नुपर्ने उनी बताउँछन् । 'हलमा पनि १० जना दर्शक प्रवेशपछि अर्को १० जनालाई प्रवेश गराउने व्यवस्था छ,' उनले भने ।

आफूहरुले हल खोल्ने स्वघोषणा गरेदेखि सरकारले केही प्रतिक्रिया नदिएको अध्यक्ष प्रधान सुनाउँछन् । भन्छन्, 'हामीलाई सरकारले केही भनेको छैन । हामी अब पछाडि फर्कदैनौं । हल खोल्छौं । ९ महिनामा हामीलाई २ अर्ब बढीको नोक्सानी भयो।'

हल खोल्ने स्वघोषणा गरे पनि हल सञ्चालकको टाउको दुखाइको एउटै विषय बनेको छ, हलमा के देखाउने ?

प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म अहिले नै प्रदर्शन गर्ने वातावरण बनिसकेको छैन । त्यसैले निर्माताले कुनै फिल्म प्रदर्शन गर्ने सोचेका छैनन् । त्यस्तै वितरकको हातमा पनि हाल नयाँ फिल्महरु छैन । यस्तो अवस्थामा पुरानै फिल्म प्रदर्शन गरेर हल खोल्ने अवस्थामा पुगेका छन् हल सञ्चालक । संघका अध्यक्ष प्रधानका अनुसार कोरोणाका कारण असर पुगेको फिल्म 'आमा' र 'सेन्टी भाइरस' पुस १० देखि हलमा पुन: प्रदर्शन हुनेछ ।

त्यससँगै चलचित्र बिकास बोर्डमा रहेको डिजिटल फिल्म प्रदर्शन गर्नेबारे पनि छलफल गरिरहेका छन् हल सञ्चालक । 'अहिले नाफा नोक्सान नहेरी यो बजारलाई चलायमान गर्नको लागि अभ्यास थालेको हो । पुरानो फिल्म चलाउछौं सुरुवातामा,'अध्यक्ष प्रधानले भने ।

डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको फिल्मबारे पनि वितरक र हल सञ्चालक मिलेर छलफल गर्दैछन् । वितरक गोपालकाजी कायस्थ अहिले नयाँ प्रदर्शनमा कुनै फिल्म नभएकाले पुरानै फिल्म चलाएर हल खोल्नुपर्ने बताउँछन् । 'तत्काल प्रदर्शनका लागि हलिउड बलिउड फिल्म छैन । हुन त प्रदर्शनको तयारीमा धेरै नेपाली फिल्म छन् । तर अहिले प्रदर्शन गर्दा दर्शक आउँदैनन् । हलमा दर्शक भएपछि मात्र त्यो फिल्महरु प्रदर्शनमा आउँछ,' उनले भने,'त्यसैले पुरानै फिल्म चलाउनुपर्ने हुन्छ हलवालाले ।'

दर्शक आउलान् त ?

पुरानै फिल्म हेर्न दर्शक हलसम्म आउँछन् भन्ने विश्वास छैन हल सञ्चालकलाई । चलचित्र संघका अध्यक्ष प्रधान भने दर्शक नआए पनि हल खोल्ने बताउँछन् । 'दर्शक जति आए पनि हल चलाउछौं । बन्द भएको हल खोल्यो है भन्ने सन्देश दिनलाई हल खोल्ने तयारी हो अहिले,' उनले सुनाए ।

पुरानै फिल्म हेर्न दर्शक आउँदैनन् भन्ने लाग्छ क्यूएफएक्सका कार्यकारी प्रमुख अडिगालाई । भन्छन्, 'पुरानो फिल्ममा त दर्शक कहाँ आउनु । मेरो विचारमा फिल्म नयाँ नराखेसम्म दर्शक आउनु हुन्न होला ।' वितरकले नयाँ फिल्म नदिएपछि हलमा पुरानै नेपाली फिल्म प्रदर्शन गर्ने तयारीमा छन् क्यूएफएक्स अन्तर्गतका हल पनि ।

वान सिनेमाजका म्यानेजर उमेश गिरी भने दर्शक आउनेमा आशावादी रहेछन् । 'यो क्षेत्र धेरैपछि खोलेको हो । अहिले क्लबदेखि रेस्टुरेन्ट चलिरहेको छ । पहिलाको जस्तो नचल्लाहल तर दर्शक आउनु होला भन्ने आशा गरेका छौं,' उनले भने,'हामीले हल खोलेपछि हल पनि सुरक्षित छ है भन्ने सन्देश जाने भयो दर्शकमा । त्यसपछि विस्तारै दर्शकको चहलपहल बढ्ला नि ।'

अंग्रेजी नयाँ वर्षदेखि भने नयाँ फिल्मको प्रदर्शन हुनेमा पनि आशावादी छन् हल सञ्चालक ।

प्रकाशित : पुस ९, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?