कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिन्‍नभिन्‍न ‘एज ब्यान्ड’

‘मेरो आँसु’ बोलको गीत हिट भएपछि ब्यान्डले पछाडि फर्केर हेर्नुपरेन । उक्त एल्बमकै ‘पागल नभन मलाई’ र ‘जीवन मेरो’ पनि उत्तिकै चल्यो ।
दीपक परियार

पोखरा — ‘द एज ब्यान्ड’ ले सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने घोषणा सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गर्‍यो । ‘मेरो आँसु’, ‘थाहा छैन’, ‘सम्झिने मुटु’ लगायत दर्जनौं हिट गीत दिएको यो रक ब्यान्ड २२ वर्ष पुरानो हो ।

छिन्‍नभिन्‍न ‘एज ब्यान्ड’

ब्यान्डका ‘फ्रन्टम्यान’ एवं भोकलिस्ट जीवन गुरुङले ब्यान्डको पेजमा कोरोना महामारीकै कारण ब्यान्डलाई निरन्तरता दिन नसकेको बताएका छन् । ‘भारी हृदय लिएर हामी यो निर्णयमा पुगेका छौं कि अहिलेको विश्वव्यापी महामारी कोभिड–१९ को अवस्थामा हामी हाम्रो सांगीतिक यात्रालाई निरन्तरता दिन असमर्थ छौं,’ उनले लेखेका छन्, ‘जब अवस्था सामान्यतर्फ फर्कन्छ, हामी पक्कै नयाँ टिम, नयाँ गीत र सामग्रीसहित फर्कनेछौं ।’ हाललाई सबैले ब्यान्ड सदस्यका रूपमा निरन्तरता नदिने र आआफ्ना निजी योजनासहित जीवनलाई अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरेका छन् ।

ब्यान्ड टुक्रिएको यो पहिलोपल्ट भने होइन । स्थापनायता हालसम्म तीनपटक टुक्रिएको छ । सन् १९९८ मा पोखराका ६ युवा मिलेर यो ब्यान्ड बनाए । जीवन गुरुङसहित विनय गुरुङ, रोशन गुरुङ, सुनिल गुभाजु, विकास सिंह र अशोक सुन्दास ब्यान्डमा थिए । ब्यान्डले पहिलो एल्बम ‘मेरो आँसु’ भने सन् २००० मा सार्वजनिक गर्‍यो । एल्बमको ‘मेरो आँसु’ बोलको गीत हिट भएपछि ब्यान्डले पछाडि फर्केर हेर्नुपरेन । उक्त एल्बमकै ‘पागल नभन मलाई’ र ‘जीवन मेरो’ पनि उत्तिकै चल्यो ।

पहिलो एल्बम चलेपछि यो ब्यान्ड पोखराका कन्सर्टमा व्यस्त हुन थाल्यो । ब्यान्डका सदस्यले ब्यान्ड छोड्दै गए । जीवन मात्रै बाँकी रहे । त्यसपछि ब्यान्डमा जोडिए रक्की तुलाचन, सोम गुरुङ, सञ्जीव श्रेष्ठ र वसन्त शर्मा । यो टिमले सन् २००६ मा दोस्रो एल्बम ‘भाइब्स विथ बज्र’ ल्यायो । एल्बमका सबै गीत लोकप्रिय भए । ‘थाहा छैन’, ‘दु:ख दिएर’, ‘कसैलाई पनि’, ‘जिउनलाई गाह्रो भो’, ‘प्रस्ताव’, ‘लेखिएका शब्द’ र ‘शान्तिको सन्देश’ लगायत गीत युवा पुस्ताले मन पराए । दोस्रो एल्बम नै यो ब्यान्डको ‘टर्निङ प्वाइन्ट’ बन्यो । फ्यान फलोइङ निकै बढ्यो । पोखराका कन्सर्टमा मात्रै सीमित ब्यान्ड देशव्यापी डुल्न थाल्यो । ब्यान्डका स्लो रक गीतमा शक्तिशाली स्टेज प्रस्तुतिले दर्शकको मन जित्यो ।

‘सम्झिने मुटु’, ‘नचाहेको होइन तिमीलाई’ गीतले ब्यान्डलाई अर्को उचाइमा पुर्‍यायो । त्यसपछि पनि ब्यान्डका सदस्य तितरबितर भए । सन् २०१० मा जीवन गुरुङले एकल एल्बम ‘मेरो प्रयास’ सार्वजनिक गरे । उनले पुराना चर्चित गीतलाई पुन: रेकर्ड गरे । नयाँ गीत थपे ।

ब्यान्डले सन् २०१३ मा तेस्रो एल्बम ‘अलग’ र सन् २०१७ मा चौथो एल्बम ‘गन्तव्य’ सार्वजनिक गर्‍यो । यसपल्ट ब्यान्डमा जीवनसँगै जोडिन आइपुगेका थिए, विष्णु गुरुङ (लिड गितार), सन्दीप विक (बेस गितार), एल्बिन परियार (रिदम गितार) र गणेश राई (ड्रम) । ब्यान्डले पछिल्ला दिनमा विभिन्न कन्सर्टमा पुरानै गीतबाट काम चलाउन थाल्यो । लाइभ कन्सर्टकै क्रममा यो ब्यान्ड अमेरिका, बेलायत, हङकङ, जापान, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया, दुबईलगायत देशमा पुग्यो ।

सोमबार फेसबुक पेजको पोस्टमा जीवनले आगामी दिनमा एकल गीत र सामग्री लिएर आउने बताएका छन् । उनी ब्यान्डको आधिकारिक युटयुब च्यानलमा पुराना गीत अपलोड गरिरहेका छन् । ब्यान्ड टुक्रिएकामा भने धेरै फ्यानले सामाजिक सञ्जालमा दु:खमनाउ गरेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?