कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब चीन विश्वकै ठूलो 'बक्सअफिस'

एजेन्सी

चीनको 'बक्सअफिस'ले अमेरिकालाई उछिनेर विश्वकै ठूलो बनेको छ । अमेरिकाको मनोरञ्जन क्षेत्रलाई कोरोना महामारीले असर पारिरहेको बेला चीनका फिल्म हलहरु भने कमाइको पुरानै लयमा फर्किन थालेका छन् ।

अब चीन विश्वकै ठूलो 'बक्सअफिस'

आर्टिसन गेटवेको तथ्याङ्कअनुसार उत्तर अमेरिकाको कुल १.९३७ बिलियन डलरको टिकट बिक्रीलाई उछिनेर चीनको बक्सअफिस आइतबार १.९८८ बिलियन डलर पुगेको हो ।

यो वर्षको अन्तसम्ममा टिकट बिक्रीको यो अन्तर व्यापक हुने अनुमान गरिएको छ । यसअघि चीनलाई फिल्मको कमाईका हिसाबले विश्वको दोस्रो बक्सअफिस मानिन्थ्यो । विश्वकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा फिल्म र फिल्म हल निर्माणको क्रम बढ्दो थियो । यसकारण पनि चीनले चाँडै नै अमेरिकालाई बक्सअफिसमा उछिन्ने अनुमान गरिएको थियो । कोरोना महामारीले गर्दा त्यो दिन छिटै आएको विश्लेषण गरिएको छ । कोरोना महामारीपछि चीनका हजारौं फिल्म हल ७५ प्रतिशत अकुपेन्सीमा खुलेको हलिउड रिपोर्टरले जनाएको छ ।

भेराइटीले यस वर्ष चिनियाँ बक्सअफिस ३२ प्रतिशतले घटेको भए पनि उत्तर अमेरिकी बक्सअफिसलाई उछिनेर सबभन्दा ठूलो बन्न यो काफी रहेको जनाएको छ ।

अक्टोबर १ देखि ८ सम्मको बिदामा चीनका हलहरुमा ५ सय ८६ मिलियन डलरको टिकट बिक्री भए । हलिउड रिपोर्टरमा प्रकाशित रिपोर्टका अनुसार यस अवधिमा फिल्म 'माई पिपुल, माई होमल्याण्ड'ले एक सातामा १९.१ मिलियन डलर कमाइ गर्‍यो । प्रदर्शनको १८ औं दिनपछि फिल्मको कुल कमाई ३ सय ६० मिलयन डलर पुगेको थियो । अर्को चिनियाँ फिल्म 'द एइट हन्ड्रेड'ले ४ सय ६० मिलियन कमायो । यो सन् २०२० को सर्वाधिक कमाइ गर्ने फिल्म हो । हलिउडको 'ब्याड ब्वोइज फर लाइफ'ले यो वर्ष ४ सय २६ मिलियन डलर कमाएको थियो ।

अमेरिकाको बक्स अफिस भने कोरोनाका कारण अझै खस्किन सक्ने बताइएको छ । अमेरिकामा कोरोना संक्रमण नघटेका कारण प्रमुख फिल्म हलहरु अझै खुल्न सकेका छैनन् । ठूला स्टुडियोले निर्माण गरेको फिल्मको प्रदर्शन समय पछाडि सारिएको छ । मार्भलको 'ब्ल्याक विइडो', जेम्स बोन्डको 'नो टाइम टू डाई'को प्रदर्शन २०२१ का लागि सारिएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?