कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्म हल सञ्चालक भन्छन्– 'करोडौं घाटा भयो, अब हल खोल्न देऊ'

भारतले अक्टोबर १५ देखि हल सञ्चालनमा ल्याउने निर्णय गरेसँगै नेपालका हल सञ्चालकलाई नेपालमा पनि हल खोल्न अनुमति दिनुपर्ने लागेको छ ।
रीना मोक्तान

काठमाडौँ — गत असोजमा बानेश्वरको आइप्लेक्स मलमा नयाँ हल खुलेको थियो, 'वान सिनेमाज' । हल सञ्चालक एवं निर्माता प्रज्वल सम्शेर जबराले सोचेका थिए,'पायक पर्ने ठाउँमा हल खुलेको छ । पहिलो वर्षबाटै उत्साहजनक व्यापार होला ।'

फिल्म हल सञ्चालक भन्छन्– 'करोडौं घाटा भयो, अब हल खोल्न देऊ'

तर सोचेजस्तो भएन, परिस्थिति उल्टियो । सञ्चालनमा आएको ६ महिनामै कोरोना महामारीले गर्दा हल बन्द गर्नुपर्‍यो । ६ महिना नाघिसक्यो 'वान सिनेमाज'को ढोकामा ताला झुन्डिएको । लामो समय हल बन्द गरेर बस्दा करोडौंको घाटा बेहोर्नु परेको जबरा बताउँछन् । 'असर त अलि धेरै नै गर्‍यो नि ! हल सुरु गर्न नपाउँदै बन्द गर्नुपर्दा धेरै गाह्रो भयो । पछिसम्म यसको असर पर्छ हामीलाई,' उनले आफ्नो समस्या सुनाए, 'अहिलेसम्म लगभग २ करोडको घाटा भइसक्यो ।'

हल सञ्चालनमा आएको केही महिनामै वान सिनेमाजले 'पिकअप' लिन सुरु गरिसकेको थियो । अन्य मल्टिप्लेक्स हलसँग प्रतिस्पर्धामा उत्रिन थालेको थियो । कोरोनाले गर्दा वान सिनेमाजको द्रूत गति धिमा भयो । 'अकुपेन्सी राम्रै थियो । ‍औसत ६० प्रतिशत अकुपेन्सी हुन्थ्यो । विकेन्डमा त ८०/९० प्रतिशत नै अकुपेन्सीमा हल चलिरहेको थियो । सञ्चालनमा आएको नयाँ र पुरानो मल्टिप्लेक्समध्यमा शीर्ष तीनमा थियो वान सिनेमाज । तर, महामारीपछि चिन्ताजनक नै छ अवस्था,' जबराले भने ।

२ पर्दाको हल खोल्न जबराले १० करोड लगानी गरेका थिए । अहिले हल नचलेपछि आम्दानी शून्य छ । हलको भाडा, बैंकको ब्याज र कर्मचारीको पारिश्रमिक गरेर हरेक महिना २५ लाख बराबरको घाटा बेहोर्नु परेको उनी बताउँछन् । 'महिनामा २५ लाख खर्च हुन्छ । यो सात महिनामा २ करोड बढीको घाटा भयो ।'

उनको हल बन्द हुँदा हलमा कार्यरत ४५ कर्मचारी बेरोजगार भए । पहिलो लकडाउनमा त कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिएर अवस्था सम्हालेका थिए । तर लकडाउन अवधि लम्बिएसँगै कर्मचारीलाई बेतलबी बिदामा राखेका छन् । कोरोनाको प्रतक्ष्य प्रभाव पारेको यस क्षेत्रलाई सरकारले ‍सहुलियत दिनुपर्ने जबराको भनाइ छ ।

सरकारले हललाई सहुलियत नदिए हलहरु संग्रालयमा परिणत हुने बताउँछन् अर्का हल सञ्चालक सुमित मैनाली । भन्छन्, 'सरकारले हललाई अलिकति भए पनि सहुलियत दिएन भने नेपालका हल जति संग्रालय हुन्छन् । एकादेशमा नेपालमा पनि हलहरु थिए भन्ने मात्र हुन्छ । हल खुल्न दिए पनि अब केही हल बन्द हुने परिस्थितिमा पुगेका छन् ।'

दरबारमार्गमा रहेको मैनालीको हल 'क्यूज सिनेमा' पनि ६ महिनादेखि बन्द नै छ । हल बन्द हुँदा हलमा कार्यरत ६५ जना कर्मचारी रोजगारी गुमाएकोमा उनलाई चिन्ता छ । अहिले हलमा चारजना सेक्युरिटी गार्ड मात्र काम गर्छन् । हलको भाडा हरेक महिना १० लाख दिनुपर्छ । हल बन्दा हुँदा महिनामा २६ लाख बराबरको घाटा व्यहोर्नुपरेको मैनाली बताउँछन् । 'असोजसम्मको हिसाब गर्दा २ करोड ७५ लाख जति घाटा भयो । हल भाडा, बत्तीको पैसा, कर्मचारीलाई तलब, हल नचले पनि बैंकको ब्याज दिनुपर्‍यो । मलको कम्युनिटी चार्जसहित गरेर २६ लाख हरेक महिना गइरहेको छ । यो अवस्था कहिलेसम्म जान्छ त्यो पनि थाहा छैन,' उनले आफ्नो समस्या सुनाए ।

अझै हल खोल्ने निर्णय नहुँदा आफूहरुमा अन्योल छाएको उनी बताउँछन् । 'हल अझै खोल्ने/नखोल्ने टुङ्गो छैन । के होला भन्ने चिन्ता छ । हल चलेको भए केही आम्दानी हुन्थ्यो । अहिले त उल्टै पैसा गइरहेको छ,' उनले भने ।

मैनाली र जबराको मात्र समस्या होइन, देशभरका हल सञ्चालकको साझा समस्या हो यो । त्यसैले हल सञ्चालक अब सरकारले हल खोल्ने निर्णय गर्नुपर्ने बताउँछन् । 'हामीलाई हल कहिले खोलौं भइसक्यो । सरकारले अब त अनुमति दिनुपर्ने हो,' क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउँछन् ।

बुटवलमा नयाँ हल सञ्चालन गरेको वर्ष दिनमै हल बन्द गरेर बसेका हल सञ्चालक प्रदीपकुमार उदयको गुनासो पनि उस्तै छ । 'अहिले एक किसिमले सामान्य भइसक्यो अवस्था । यातायत, होटल, रेस्टुरेन्ट, बैंक, उद्योग सबै खुल्यो । हल मात्र खुलेन । त्यसैले अब हामीलाई हल खोल्नु दिनुपर्‍यो । स्वास्थ्य सुरक्षा अपनाएर हामी हल खोल्न तयार छौं,' उनले भने ।

भारतले अक्टोबर १५ देखि हल सञ्चालनमा ल्याउने निर्णय गरेसँगै नेपालका हल सञ्चालकलाई नेपालमा पनि हल खोल्न अनुमति दिनुपर्ने लागेको छ । 'हल सञ्चालन सुरु गर्न पाए आर्थिक मार घट्थ्यो कि भन्ने हो । संसारको झण्डै ९५ देशमा हल खुलिसकेको छ । हवाई उडानदेखि होटलहरु खोल्न दिइएको छ । तर अझै सरकारले हल खोल्न दिएको छैन,' आक्रोश मिसिएको स्वरमा जबराले भने, 'एउटा व्यवसायलाई खोल्न दिने अर्कोलाई खोल्न नदिने गर्न मिलेन । अरु व्यवसायमा संक्रमण नहुने हाम्रोमा चाहिँ हुने भन्ने हुँदैन । हामीले सबै सुरक्षा मापदण्ड अपनाएर काम गरिहाल्छौं ।'

सरकारले अझै मनोरञ्जन क्षेत्रतर्फ चासो नदेखाउँदा आफूहरु सरकारको प्राथमिकतामा नपरेको उनी बताउँछन् । भन्छन्, 'सबैभन्दा मारमा परेको उद्योग व्यवसायमा पर्छ चलचित्र क्षेत्र पर्छ होला । अरु व्यापार व्यवसायले सरकारबाट पाएको प्रोत्साहन हामीले पाएनौं । अहिलेसम्म सरकारबाट हल खोल्ने निर्देशन नआएको हुनाले अन्यौलमा छौं हामी ।' हल खोल्न दिए २/३ वर्ष लगाएर भए पनि अहिलेको घाटाबाट उकास्न सकिने लागेको छ उनलाई ।

कहिले खुल्ला त हल ?

काठमाडौं कोरोनाको हटस्पट बन्दै गएकाले अझै हल खोल्ने टुङ्गो नभएको बताउँछन् चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान । उनले भने, 'संक्रमण दिनप्रतिदिन बढेको बढ्यै छ । हल कहिले खुल्छ भन्न सक्दिनँ । हल खोल्न दिनुपर्‍‍यो भनेर सरकारसमक्ष कुरा राखेका छौं । दसैंसम्म हल खुल्न सक्ने सम्भवाना त छ तर ठोकुवासाथ भन्न सक्दिनँ,' अध्यक्ष प्रधानले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि हल खुल्ने निश्चित निर्णय नभएको बताउँछन् । 'हामीले सबै क्षेत्र खुल्न थालेपछि हल पनि खोल्न दिनुपर्‍यो भनेर कुरा राखेका छौं । तर सरकारबाट हल खोलिहाल्ने संकेत आएको छैन । हल खोल्न त खुल्छ नै तर कहिले एकिनका साथ भन्न सकिन्न,' उनले भने, 'मनोरञ्जन क्षेत्रलाई अब बिस्तारै कोभिडसँग सहयात्रा गर्नुपर्छ भन्ने भएको छ । हल बन्द भएको धेरै समय भयो । सरकारले हल खोल्ने निर्णय नगरेसम्म केही भन्न सकिन्न ।'

यसबीच हल सञ्चालकले सरकारसँग बैंकको ब्याज, बिजुली डिमान्ड शुल्क र आयकरमा छुट पाउनुपर्ने माग राख्दै आएका छन् । बैंकको ब्याजको विषयलाई सम्बोधन गरे पनि अन्य कुरामा सरकारले हलवालाको समस्या नसुनेको बताउँछन् अध्यक्ष प्रधान । 'हामीले हाम्रो सबै समस्या सरकारमा राखेका थियौं । तर सरकारले हाम्रो समस्या सुनिदिएन ।'

सुमित पनि अहिलेसम्म सरकारबाट कुनै राहत नपाएको बताउँछन् । 'विकास बोर्डले हलबाट महिनापिच्छे उठाउँदै आएको रकमको केही प्रतिशत हामीलाई दिनुपर्‍यो भनेर कुरा राख्यौं । हललाई टिकाउनको लागि हामीले हाम्रो माग राखेका थियौं । तर हामीले कुनै सहुलियत पाएनौं,' उनले भने ।

हल खुलिसकेपछि पनि २ वर्ष 'ट्याक्स फ्रि' गराइदिनुपर्ने हल सञ्चालक प्रदीप उदयको माग छ । 'यो ६/७ महिनामा जति असर परेको छ हामीलाई । त्यसबाट उम्किनको लागि अब २ वर्ष सरकारले ट्याक्स फ्रि गराइदिनु पर्‍यो,' उनले भने ।

हलवाला र निर्माताको तालमेल

हल खोल्ने तत्काल कुनै निर्णय नआए पनि हलवाला र निर्माताबीच केही समयअगाडिदेखि फिल्म प्रदर्शनलाई लिएर छलफल जारी छ । फिल्म हलमा दर्शक आउने वातावरण नभएसम्म नेपाली फिल्म हलमा प्रदर्शन गर्न तयार छैनन् निर्माता । त्यसैले हल खोलेपछि दर्शक तान्न पुराना फिल्महरु पुन:प्रदर्शन गर्नुपर्ने निर्माताको कुरा छ । तर केही हलवाला भने यसो गर्न तयार छैनन् ।

यसरी पुराना फिल्म पुन:प्रदर्शन गरेर हलको घाटा बढ्ने सुमित बताउँछन् । 'हल खोलिहाले पनि नेपाली निर्माताले नयाँ फिल्म नलगाउने कुरा छ । पहिला बलिउड र हलिउड फिल्म चल्न दिनुपर्‍यो रे । यसरी त अहिले भइरहेको घाटामा थप घाटा हुन्छ,' सुमितले भने, 'तीनजना दर्शक आए पनि एसी चलाउनै पर्‍यो । त्यसमा १० लाख खर्च उठ्छ । ८० प्रतिशत स्टाफ बढाउनै पर्‍यो , त्यसमा १५ लाख खर्च हुन्छ । अर्को २५ लाख खर्च गरेर कसले हल खोल्ने ? मचाहिँ यसरी पुराना फिल्म चलाएर हल खोल्न तयार छैन ।'

हल सञ्चालक जबरा यस विषयमा निर्माता, वितरक र हलवालाले सम्झौतामा गरेर अघि बढ्नुपर्ने सल्लाह दिन्छन् ।

प्रकाशित : आश्विन २१, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?