कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब कला केन्द्र बन्द भए...

रुपन्देहीका २० वटा संगीतालयमा दैनिक १ हजार ७ सयले संगीत सिक्थे
अमृता अनमोल

बुटवल — मिर्मिरे नहुँदैबाट झिलमिल तारा उदाउँदासम्म नृत्य सिकाउन व्यस्त बुटवलका लोकेन्द्र शाह फागुनयता खाली छन् । ‘कोरोनाले कला केन्द्र, स्कुल, सांस्कृतिक कार्यक्रम र म्युजिक भिडियो निर्माण सबै ठप्प छ,’ उनले भने, ‘खाली खाली छु । सबै काम रोकिएका छन् ।’

जब कला केन्द्र बन्द भए...

२५ वर्षदेखि नृत्य सिकाउन थालेका लोकेन्द्र आस्था कला केन्द्रका सञ्चालक हुन् । त्यसमा दैनिक ५० जनाले नृत्य सिक्थे । चैत लागेसँगै केन्द्र बन्द छ । जागिरेका रूपमा बुटवलको न्यु होराइजन माविका नृत्य शिक्षक थिए । त्यहाँबाट पनि वैशाखयता पारिश्रमिक पाएका छैनन् । २ सय बढी म्युजिक भिडियोमा नृत्य निर्देशन गरेका लोकेन्द्रको अर्को नियमित आम्दानी नृत्य निर्देशन थियो । कोरोना त्रासले म्युजिक भिडियो निस्कन छोडेपछि उक्त काम पनि रोकिएको छ । सांस्कृतिक कार्यक्रम भएकै छैनन् । ‘आम्दानीका सबै स्रोत बन्द भए । एक रुपैयाँ कतैबाट आउँदैन,’ उनले भने, ‘अब त गुजारा चलाउन पनि धौधौ भएको छ ।’

हरेक दिन संगीतको धुनले गुन्जने बुटवल मिलनचोकको बागेश्वरी कला तथा संगीत एकेडेमी अहिले सुनसान छ । केन्द्रमा दैनिक २ सय विद्यार्थीले हरेक खाले नृत्य, गायन र वाद्यवादन सिक्थे । तेरिया मगर, एन्जिला रेग्मी, अर्जुन कौशल, चिरञ्जीवी भण्डारीजस्ता प्रतिभा उत्पादन गरेको यस एकेडेमीमा कला सिक्नकै लागि टाढाटाढाबाट विद्यार्थी आउँथे । १० जना प्रशिक्षकलाई सिकाउन भ्याइनभ्याइ थियो । ६ महिनायता कला केन्द्र ठप्प छ । यससँगै कलाकारको रोजीरोटी खोसिएको छ । ‘कलाकारको रोजगारी र आम्दानीको स्रोत दुवै गुमेको छ,’ एकेडेमीका सञ्चालक एवं अध्यक्ष सुरेश सेन्चुरीले भने, ‘हामी तनावमा छौं ।’

बागेश्वरीले गत चैतमा रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा पनि शाखा विस्तार गरेको थियो । जहाँ ५० विद्यार्थी भर्ना भएका थिए । ‘लकडाउन सुरु भयो । सबै योजना चौपट भयो,’ सुरेशले भने, ‘सुको आम्दानी नभएपछि अब कसरी घरभाडा तिर्ने भन्ने अर्को समस्या छ ।’ सुरेश शास्त्रीय गायन र तबला बजाउन माहिर छन् । गीत गाउने, म्युजिक भिडियो निर्देशन गर्ने काममा पनि व्यस्त हुन्थे । अहिले सबै काम रोकिएको उनले बताए । ‘बस्दाबस्दा खटपट हुँदो रैछ,’ सुरेशले भने, ‘पछिल्लो समय युट्युब, जुम र म्यासेन्जरबाट भोलेन्टियर रूपमा सारेगम... सिकाउन थालेको छु ।’

कला केन्द्रका लागि चैतदेखि कात्तिकसम्मको समयअनुकूल मानिन्छ । यसबेला कला सिक्न आउने, म्युजिक भिडियो बनाउने र सांस्कृतिक कार्यक्रम गर्ने बढी हुन्छन् । यसपालि सिजनकै बेलामा कला केन्द्र बन्द भए । दैनिक रोजीरोटी खोसियो । अतिरिक्त कमाउने र आफ्नो कला देखाउने ठाउँ पनि भएन । कलाकारितासँगै कला केन्द्र सञ्चालन गर्नेहरू थप चिन्तामा छन् । त्यसैमध्येका हुन्, बुटवलका चर्चित गायक एवं कला प्रशिक्षक सौगात सायर । यहाँको सबैभन्दा पुरानो न्यु लुम्बिनी कला केन्द्रका सञ्चालक सायरले लकडाउन सुरु भएसँगै बुटवल छोडेका छन् । काम ठप्प भएपछि जन्मघर रूपन्देहीको रुद्रपुर गएर बसेको उनले बताए । ‘कहिलेसम्म यस्तै हुने हो, थाहा छैन । जहिले समयअनुकूल होला, उहिले फर्कनुपर्ला,’ उनले भने, ‘आफू त बेरोजगार भइयो भइयो । यत्रो महिनाको भाडा कसरी तिर्ने भन्ने अर्को पिरलो पनि थपिएको छ ।’ उनको कला केन्द्रमा दैनिक ८० जनाले नृत्य, गायन, वाद्यवादन र अभिनय सिक्थे । उनीसहित ६ जना प्रशिक्षक त्यसमा खटिएका थिए । केन्द्रबाट अमित बराल, आकांक्षा बस्याल, साहिमा श्रेष्ठ, खेम सेन्चुरीलगायत राम्रा गायक उत्पादन भएका थिए । तिमी फुल्यौ कतै म फुलें कतै... लगायत झन्डै २ सय गीत गाएका सौगात आफैं पनि गाउन स्टेजहरूमा व्यस्त हुन्थे । ‘काम नभएपछि मानसिक तनाव हुँदो रैछ,’ उनले भने, ‘तनाव कम गर्न अहिले युट्युबबाट कसरी गाउने र अभिनय गर्ने भनेर सिकाइरहेको छु ।’

रूपन्देहीमा २० वटा कला केन्द्र छन् । तिनमा दैनिक १ हजार ७ सयले संगीत सिक्थे । प्रशिक्षकसहित २ सय कलाकारले रोजीरोटी पाएका थिए । ५० जनाले यहाँका निजी विद्यालयमा संगीत पढाउँथे । कोरोना सन्त्रास र बन्दाबन्दीले उनीहरू सबै बेरोजगार भएका छन् । रोजगारी गुमेपछि केही कला प्रशिक्षक वैकल्पिक काममा लागेका छन् । कला प्रशिक्षण तत्काल सुरु नहुने देखेपछि न्यु सत्य साई कला केन्द्र सञ्चालक सुरज गुरुङ व्यापारमा लागेका छन् । कल्चरल डान्स सिकाउने र सांस्कृतिक कार्यक्रम एरेन्ज गर्ने उनले साउनदेखि कल्चरल सामग्री बिक्री केन्द्र खोलेका हुन् । ‘तत्काल कला केन्द्र खुल्लान् र सिकाउँला भन्ने सम्भावना कम भयो,’ उनले भने, ‘अहिले कल्चरल पोसाक, गहना र नृत्य सामग्री बेच्न थालेको छु ।’

पछिल्लो समय रूपन्देहीमा कला सिक्नेको संख्या बढ्दै थियो । बालबालिका मात्र होइन, शारीरिक फिटनेसका लागि समेत संगीत सिक्न युवा र पाको पुस्तासमेत आउँथ्यो । राम्रो आम्दानी थियो । यससँगै कला केन्द्र खोल्ने र संगीत सिकाउने महिलासमेत बढेका थिए । कोरोना सन्त्रास र लकडाउनले उनीहरू समस्यामा परेका छन् । मिलन कला केन्द्रकी सञ्चालक मीना बुढाथोकी रोजगारी खोसिएको मात्र होइन, अब कसरी उठ्ने भन्ने समस्यासमेत देखिएको बताउँछिन् । जुम्बा, क्लासिकल, कल्चरलदेखि मोर्डन डान्ससम्म सिकाउने उनी १० वर्षयता प्रशिक्षणमा जमेकी थिइन् । कला केन्द्रसँगै इलिट बोर्डिङ स्कुलमा नृत्य प्रशिक्षण गर्थिन् । ‘चैतयता दुवैतिरको काम र दाम खोसिएको छ,’ उनले भनिन्, ‘कहिलेसम्म यस्तै हुने हो थाहा छैन ।’

लुम्बिनी नृत्यकर्मी संघका अध्यक्ष लोकेन्द्र शाहले लकडाउन खुकुलो भए पनि तत्काल कला क्षेत्र खुल्ने अवस्था नरहेको बताए । ‘एकातिर मान्छेलाई संक्रमण सर्ला भन्ने डर छ । अर्कोतिर आर्थिक अवस्था कमजोर भएकाले मनोरञ्जनमा खर्च गर्ने कम हुन सक्छन्,’ उनले भने, ‘त्यसको असर लामो समयसम्म हाम्रो रोजीरोटीमा परिरहनेछ ।’

प्रकाशित : भाद्र २५, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?