कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगमञ्चको विकल्पमा...

प्रकृतिमा हुने परिवर्तन जसरी नै यो महाव्याधिको अवस्थालाई पनि एउटा सिकाइ मान्न सकिने रंगकर्मीहरु तर्क गर्छन्
सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना कहरसँगै रंगमञ्चको पर्दा बन्द नै छ । अँध्यारो मञ्चमा प्रकाशको सहायतामा अनेक पात्रका रूपमा चलायमान हुने रंगकर्मीहरू आफ्नै दिनचर्यामा छन् । दर्शकसँग प्रत्यक्ष साक्षात्कार नभएको लामो समय भयो । अनेक रङमा प्रकाश छर्दै रंगकर्मी र आम दर्शकका आँखालाई जोड्ने थलो रंगमञ्चमा अहिले शून्यता छ ।

रंगमञ्चको विकल्पमा...

उही प्रकाशको रङ, रंगमञ्चभित्रका आपसी चहलपहल, कथा र पात्रअनुसारका धुनमा समाज र दर्शकका आँखाका खुसीमा कर्म देख्ने रंगकर्मीहरू रंगमञ्चलाई कहाँ माया मार्न सक्छन् र ! दर्शकसँग भौतिक दूरी कायम नै छ । तैपनि दर्शकसँगको साथलाई निरन्तरता दिन अनेक माध्यममा जोडिँदै छन् रंगकर्मी ।

त्यसो त रंगमञ्चमा जोडिनका लागि अभिनय मात्र खास होइन । यसभित्रका अनेक पक्षहरू छन् । अझै पनि यसलाई व्यावसायिक रूपमा नै लैजान सक्ने अवस्थाको स्तम्भ खडा हुन सकेको छैन ।

ग्रामीण भेगका दूरदराजका दर्शकमा रंगमञ्चको प्रकाश पार्न नै बाँकी छ । यही कुरालाई मनन गरी अग्रज रंगकर्मी अशेष मल्ल आफ्नै आत्मवृतान्त र अभिनयसम्बन्धी नै पुस्तक लेख्दै छन् । पञ्चायतकालदेखि नै नेपाली साहित्य र रंगमञ्चलाई नजिकबाट नियालेका मल्ल रंगमञ्चमा जोडिन अनेक वैकल्पिक बाटोहरू देख्छन् । ‘यो समय प्रकृतिले दिएको अवसर हो,’ उनी भन्छन्, ‘हामीले रंगमञ्चमा नाटक मञ्चन गर्न नसके पनि यसको लेखन र चिन्तन गर्न सक्छौं ।’ अहिले विश्व नै स्तब्ध भएको समयमा सबैले जीवन रक्षाका लागि नै संघर्ष गर्नुपरेको अवस्था आएको उनी बताउँछन् । रंगकर्मलाई निरन्तरता दिन नाटकमा नै कैयौं अध्ययन तथा अनुसन्धान हुन नसकिरहेको भन्दै उनी सबै रंगकर्मीहरूलाई रंगमञ्चलाई भोलि कसरी लैजाने भन्नेबारे सोच्न सुझाउँछन् । उनी भन्छन्, ‘यो समयमा नाटक र स्क्रिप्ट लेखौं, त्यो पनि नसके अध्ययन गरौं । स–साना भिडियोहरू भए पनि बनाऔं । यसले हामीलाई ऊर्जाशील बनाइराख्न सहायता पुग्छ ।’

प्रत्यक्ष भेटघाट, नाटक रिहर्सल र मञ्चनमा नै रमाइरहेका रंगकर्मीहरूका लागि यो समयमा प्रविधि दर्शकसँग जोडिने महत्त्वपूर्ण आधार भएको छ । दर्शकसँग प्रत्यक्ष रूपमा जोडिन थिएटर मल कीर्तिपुर रंगमञ्च र सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले भर्चुअल रूपमा ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ गरेका थिए । यस अभियानले दर्शकसँग सम्बन्ध कायम मात्र नभएर नेपाली प्रविधिमार्फत रंगमञ्चलाई विस्तार गर्न सकिन्छ भन्ने आधार बनाएको थियो ।

दर्शक र रंगमञ्चको दूरीलाई यथावत् नै राख्न शैली थिएटरले हाल ‘शैली संवाद’ शृंखलाअन्तर्गत विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग भर्चुअल रूपमा नै विविध विषयक भलाकुसारीलाई अगाडि बढाएको छ । रंगमञ्चलाई एउटा मञ्चमा गरिने अभिनयका रूपमा मात्र लिने साँघुरो सोचलाई फराकिलो बनाउन संवादले सघाउ पुर्‍याउने प्रस्तोता तथा रंगकर्मी सरस्वती अधिकारी खुलाउँछिन् । ‘हामी विभिन्न विधामा रहेर कुराकानीसँगै भर्चुअल माध्यममा नै लाखौं दर्शकसँग जोडिएका छौं,’ उनी भन्छिन्, ‘रंगमञ्चका लागि परम्परागतभन्दा पनि अबको समय प्रविधिसँग कसरी सँगसँगै हिँड्ने भन्ने पाटोलाई अहिलेको समयले सिकाएको छ ।’ रंगमञ्चमा रंगमञ्चभित्रको चहलपहल र साँघुरो क्षेत्रमा दर्शकको ताली र मुस्कान नै सबैभन्दा ठूलो शक्ति भएको स्विकार्ने अधिकारी समयको अवस्थालाई मध्यनजर गर्दै आफूलाई समायोजन गर्न सिक्नुपर्ने सुनाउँछिन् । भर्चुअल रूपमा नै दर्शकसँग जोडिन शैलीले लकडाउनको सुरुवातीमा नै पहिलो विश्व बाल कविता महोत्सव र देशव्यापी रूपमा ‘नेपालमा मिडिया लिटरेसी’ विषयक राष्ट्रिय निबन्ध प्रतियोगिता सम्पन्न गरिसकेको छ । ‘हामी रंगमञ्चबाट टाढा रहे पनि दर्शकसँगै छौं भन्ने अनुभूति दिलाउन अनेक वैकल्पिक कार्यक्रम र योजनाहरूमार्फत जोडिई नै रहेका छौं,’ उनले भनिन् ।

गतिशील समयसँगै प्रकृतिका अनेक चीजबिजमा परिवर्तनहरू आइरहन्छन् । तिनै परिवर्तनशीललाई स्विकार्दै कलाकर्मीले पनि अघि बढ्नुपर्ने अर्का रंगकर्मी शंकर रिजाल (चे शंकर) बताउँछन् । पछिल्लो समयमा उनले आफूलाई नाटक लेखनसँगै निर्देशनमा निकै व्यस्त बनाएका छन् । हाल उनले लेखेका नाटकहरूका पात्र कथामा नै सीमित छन् । उनी पनि प्रत्यक्ष रूपमा रंगमञ्चबाट टाढा नै छन् । तर उनले थिएटरको त्यो ऊर्जा र गन्धलाई सम्झिरहेका छन् । यही मेलोमेसोमा उनले थिएटरभित्र पनि अनेक डिजाइन र वैकल्पिक बाटाहरूबारे परिकल्पनाहरू गरिरहेका छन् । पूरा भइसकेका नाटकका मञ्चन, लेखन तथा निर्देशनका हरेक पक्षलाई पुनःस्मरण गर्दै भोलिका बाटोहरूलाई पहिल्याउन यो समयले साथ दिएको अनुभव उनले बटुलेका छन् । फुर्सदका समयको अनुभवसँगै उनले विश्व प्रसिद्ध कवि डब्लू बी विट्सको कविता ‘दि लेमेन्टेसन अफ दि ओल्ड पेन्सनर’ बाट प्रभावित भएर नाटक ‘ओल्ड पेन्सनर’ नै लेख्दै छन् ।

समय अनुकूल भएमा तिहारपछि नै यसलाई मञ्चन गर्ने उनले सोचेका छन् । रंगमञ्चलाई समयको गतिसँगै परिमार्जित गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्ने रिजाल अहिलेको समस्यामा रोकिनेभन्दा पनि समाधान खोज्नेतिर लाग्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कलाले जीवन मार्गदर्शनलाई देखाउँछ । हामी जहाँ छौं, खुसी भएर रंगमञ्चमा जोडिन सिकौं र विपद्लाई आत्मसात् गरौं ।’ रिजालजस्तै अर्का रंगकर्मी पुष्पराज अवस्थी दर्शकसँग जोडिन प्रतिकूल समयले नरोक्ने स्विकार्छन् । विगत एक दशकदेखि रंगमञ्चसँग जोडिएका अवस्थी यस क्षेत्रलाई छोडेर टाढा हुन नसक्ने बताउँछन् । अहिले उनी नाटकका स्क्रिप्टहरू लेखिरहेका छन् । योसँगै फुर्सद मिलाएर विभिन्न टेलिभिजन सिरियलहरूमा पनि अभिनय गरिरहेका छन् । यसले दर्शकको माझमा जाने तिर्सना मेट्ने उनी सुनाउँछन् ।

पछिल्लो समयमा थिएटरमा हुने नियमित मञ्चन, थिएटर अध्ययनमा युवा पुस्ताको अग्रसरता, दर्शकको बढ्दो चहलपहलले रंगमञ्चतिर भविष्य उज्ज्वल देखिए पनि राज्यबाट बेवास्ता छ । यस्तो अवस्थामा सबै रंगकर्मीहरू एकजुट हुनुपर्ने अवस्थीको बुझाइ छ । उनी भन्छन्, ‘समस्यालाई साझा रूपमा उठान गर्न सके मात्र हामीले रंगमञ्चलाई एउटा नौलो अध्यायमा लैजान सक्छौं ।’

लामो समयदेखि नेपाली रंगमञ्चमा आफ्नै बलबुतामा उभिँदै आएको रंगकर्मीको वास्तविक धरातललाई यो समयले अझै प्रस्ट देखाइदिएको रंगकर्मी अधिकारी बताउँछिन् । नागरिकको स्वास्थ्य रक्षाका लागि आवश्यक पूर्वाधारसमेत खडा गर्न नसक्ने राज्य सत्ताले यो समयमा रंगमञ्चका लागि केही गरिदिन्छ भन्ने आशा नै नरहेको रंगकर्मी मल्लको ठम्याइ छ । यो समग्र समयलाई नै एउटा विश्वविद्यालयका रूपमा लिन उनले सबै रंगकर्मीलाई आग्रह गरे । ‘अहिले कसैप्रति पनि गुनासो नगरौं,’ उनी भन्छन्, ‘आफू मात्र बाँचेर हुन्न, अरू पनि बाँचोस् भन्ने भावना लिएर अगाडि बढौं ।’ यो समयले रंगमञ्चलाई पनि केही नयाँ आयाम दिने उनको विश्वास छ ।

प्रकाशित : भाद्र १४, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?