१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

चलचित्रसँग सम्बन्धित संस्थाको विज्ञप्ति : निषेध कि चेतावनी ?

रीना मोक्तान

काठमाडौँ — एउटा टेलिभिजन कार्यक्रम संचालकले एक अभनेत्रीबारे आफ्नो कार्यक्रममा अभद्र टिप्पणी गरे । अभिनेत्री र दर्शकहरुको ठूलो हिस्साले यसको विरोध गर्‍यो । अभिनेत्रीले आफ्नो मानहानी गरिएको भन्दै त्यो टेलिभजन स्टेसनलगायत चलचित्रसम्बन्धि संघ संस्था र प्रेस काउन्सिलमा पनि उजुरी दिइन् । उनको उजुरी परेपछि कार्यक्रम संचालकले आफूबाट गल्ती भएको भन्दै माफी मागे । 

चलचित्रसँग सम्बन्धित संस्थाको विज्ञप्ति : निषेध कि चेतावनी ?

कर्यक्रम 'रजतपट'का संचालक प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माबीच भएको कुरा हो यो । सुवेदीको माफीलाई पनि दम्भयुक्त र गल्ती स्वीकार गरेजस्तो नदेखिएको भन्ने टिप्पणीहरु सामाजिक संजालमा भए । यसैबीच शनिबार चलचित्रसम्बन्धि सात वटा संस्थाले संयुक्त विज्ञप्ति निकालेर कलाकारहरुलाई उक्त कार्यक्रम बहिष्कार गर्न र त्यसमा सहभागी नहुन आव्हान गरे ।

यो संयुक्त विज्ञप्तिलाई लिएर फेरि टिकाटिपप्णीको सिलसिला सुरु भएको छ । एकथरी भन्छन्- कलाकारबारे जेपायो त्यही बोल्नेलाई सवक सिकाउनु पर्छ । अर्काथरी भन्छन्- संस्थागत रुपमा बहिष्कार गर्ने निर्णय गरेर यी संघसंस्थाले एक त आफ्नो सिन्डिकेट पनि देखाए र दोस्रो एउटा गलतलाई ठीक गर्न भन्दै अर्को गलत कदम चाले ।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् । यसअघि यीसहित जम्मा १० वटा चलचित्र सम्बन्धी संघसंस्थाहरुले (यसमा चलचित्र पत्रकार संघ पनि सामेल थियो) कमेडियन प्रनेस गौतमको फिल्म समीक्षा विरुद्ध पनि यस्तै विज्ञप्ति निकालेका थिए । प्रहरीमा उजुरी दिन पुगेका थिए । त्यतिबेला यी संगठनहरु अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गएको भनेर आलोचना भएको थियो ।

यसपाली संघहरुले पूजा र प्रकाशको विवाद वार्ता वा कानुनमार्फत् नसुल्झिएसम्म कार्यक्रममा सहभागी नहुन संस्थाहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 'चलचित्रकर्मी र विशेष गरेर नायिकाहरुलाई तुच्छ टिप्पणी गर्ने र हिंस्याजन्य क्रियाकलाप गर्ने प्रवृतिलाई निरुत्साहित गर्नका लागि सबै चलचित्रकर्मीले रजतपट र ग्लामर गफ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुन मार्फत नसुल्झिएसम्म कुनै पनि सहभागिता नजानाउनु हुन सम्पूर्ण चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौ,' विज्ञप्तिमा उल्लेख छ ।

निर्देशक प्रदीप भट्टराईले फेसबुकमा यो विज्ञप्तिबारे स्टाटस लेखेका छन्, 'रिसको झोकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णयजस्तो पो लाग्यो है साथ संस्थाको निर्णय ।' त्यस्तै निर्माता अर्जुन कुमारले पनि फेसबुकमा लामो स्टाटस लेख्दै यस कुराको विरोध गरेका छन् । 'कसैले कसैको मानहानी इज्जत र प्रतिष्ठामा दाग लगाउने गरी अभिव्यक्ति दिन पाइँदैन । यसमा दुई मत छैन । कानुनी बाटो छ कारबाहीका लागि,' उनले लेखेका छन्, 'कुनै पनि कार्यक्रममा जाने/नजाने व्यक्तिगत स्वतन्त्रताको कुरा हो । कार्यक्रममा नगएकै भरमा इगो साँध्न पनि पाइँदैन । तर, पेशागत संघसंस्थाले नै हस्ताक्षर गरेर विज्ञप्ति निकालेर नजानु भन्नुचाहिँ अत्ति धेरै हो कि !'

यसलाई चलचित्रका संघसंस्थाले कुनै एक कार्यक्रम वा च्यानललाई निषेध गर्ने अथवा समग्र पत्रकारिता जगतलाई पनि चेतावनी दिनेगरी चालिएको कदमका रुपमा पनि विश्लेषण गरिएको छ ।

फिल्म निर्देशक एवं समीक्षक दीपेन्द्र लामा यसरी संघसंस्थाले विज्ञप्ति निकाल्दा मिडिया हिच्किचाइ हाल्नुपर्ने नभएको बताउँछन् । 'संघसंस्थाले कुनै कार्यक्रममा नजाउ भनेर भन्न नपाइने होइन । सातवटा संस्थाले यसरी विज्ञप्ति निकाले भन्दैमा कुनै मिडिया हिच्किचाउनुपर्छ भन्ने लाग्दैन,' उनले भने, 'मिडियाविरुद्ध कसैले बोल्न पाइँदैन भन्नेमा म विश्वास गर्दिनँ । मिडियाको पनि समीक्षा हुनुपर्छ । तर, संघसंस्थाले मिडियालाई बहिष्कार गर्ने नै हो भने अर्को ठूलो मुद्दामा बोलिहाल्नुपर्छ । पूर्वाग्रह र आग्रह राखेर चाहिँ गर्नु हुँदैन । प्रकाश सुवेदीले गल्ती गरे, माफी पनि मागे । माफी मागेपछि पनि विज्ञप्ती किन निकालियो भन्ने कुरा आयो ।' संघसंस्थाले सानो मुद्दामा यस्तो कदम नचालेको भए हुने उनको धारणा छ ।

संयुक्त विज्ञप्ति बाहिरिएपछि निर्माता संघका महासचिव रोज राणाले उक्त विज्ञप्तिमा नेपाल चलचित्र निर्माता संघको तर्फबाट नभइ अध्यक्षको नितान्त व्यक्तिगत हस्ताक्षर भएको भन्दै स्टाटस लेखे । विज्ञप्तिको विरोध हुन थालेपछि अध्यक्ष अधिकारीले आफूहरुले कलाकार संघको कदमलाई समर्थनमात्र जनाएको बताएका छन् । 'मैले वार्तामा आएपछि मात्र सात संस्थाको छलफलमा धारणा राखेको थिएँ । कलाकार संघको कदमलाई समर्थन जनाएको मात्र हो हामीले विज्ञप्तिमा,' विज्ञप्तिको विरोध भएपछि उनले यस्तो बताए ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भने विज्ञप्तिलाई नबुझेर विरोध भएको बताउँछन् । 'विज्ञप्ति नबुझेपछि विरोध भइहाल्छ । के लेखेको छ त्यसलाई त बुझ्नु पर्‍यो नि ! घर परिवारको मान्छेलाई कसैले कुट्न आउँछ भने अरु परिवारलाई पनि त्यहाँ नजाउ भन्न त मिल्छ नि ! हामीले अनुरोध गरेका हौं । जानै हुन्न भनेका छैनौं,' खड्काले भने ।

तर, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले आफूमाथि यौन दुर्व्यवहार भएको भनी दिएको अभिव्यक्तिमा भने चलचित्रकर्मीका संघसंस्थाहरुले यस्तो कदम चालेका छैनन् । उनले अभिनेता तथा निर्माता भुवन केसीलगायतबाट दुर्व्यवहार भएको सार्वजनिक रुपमा बताएकी छन् । यसमा पनि संघसंस्था र कलाकारहरुले पत्रकारको 'केस'मा मात्रै ऐक्यबद्धता जनाएको तर भुवनको केसमा मौनता साँधेको आरोप लागेको छ । साम्राज्ञीको भनाइले आफ्नो मानहानी भएको भन्दै भुवनले काठमाडौं जिल्ला प्रशासन र कलाकार संघमा मानहानीको उजुरी दिएका छन् । उनले साम्राज्ञीसँग १० करोड क्षतिपुर्ती पनि मागेका छन् ।

प्रकाशित : श्रावण ३२, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?