कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथा बोल्ने म्युजिक भिडियो

शब्दअनुसारको कथावाचन नहुनुको समस्या पार गर्दै बिस्तारै नेपाली म्युजिक भिडियोमा सुन्दर कथा र मौलिक पात्रहरु अटाउन थालेका छन् ।
रीना मोक्तान

काठमाडौँ — हातमा नाम्लो बोकेर मन्दिरको पेटीमा ग्राहक कुर्दै बस्छ ऊ । खाली समय साथीसँग बाघचाल खेल्दै बस्ने उनको परिचय, भरिया । भारी बोकेर दुई छाक टार्छन् । आफन्त केही छैन, गुमाउने डर पनि छैन । छ त पेटभरि खाने सपना । धर्ती ओछ्याई आकाश ओढ्ने भरियाको चरित्रमा देखिएका छन्, अभिनेता विपिन कार्की ।

कथा बोल्ने म्युजिक भिडियो

सन्तोष लामाको स्वर रहेको ‘डर छैन...’ बोलको गीतमा विपिनले आफ्नो चरित्रलाई न्याय दिने अभिनय गरेका छन् । निकेश खड्का निर्देशित यो भिडियोलाई दर्शकले रुचाइदिएका छन् । ९ मिनेट लामो भिडियोमा भरियाहरूको कथा समेटिएको छ । कतै असन चोक, न्युरोडको गल्ली त कतै व्यस्त बजारमा देखिने यी पात्रको कथाले पनि गीतलाई केही फरक बनाएको छ । कथा मात्रै होइन, पात्रको जीवन्त अभिनयले पनि गीतलाई अझै सशक्त बनाएको हो ।

हुन त बजारमा नाच्ने, गाउने गीत धमाधम बनिरहेका छन् । तर, पर्दामा आफ्नो अब्बल अभिनय पस्कने विपिन अभिनित म्युजिक भिडियोमा भने बजारभन्दा फरक स्वाद पाइन्छ । विपिनबाट यो अपेक्षा पनि हुन्छ । उनको स्वभाव पनि त्यस्तै छ, राम्रो कन्सेप्टको म्युजिक भिडियो गर्ने । ‘पहिला त गीत चित्त बुझ्नुपर्‍यो, कन्सेप्ट चित्त बुझ्नुपर्‍यो । कथा चित्त बुझ्नुपर्‍यो । त्यसमाथि निर्देशकले कन्भिन्स गर्नुपर्‍यो । यावत कुरा मिल्नुपर्छ म्युजिक भिडियो गर्न । एकै चोटि झ्याप्प गर्न मिल्दैन,’ उनले सुनाए ।

‘डर छैन...’ उदाहरण मात्रै हो । पछिल्लो समय म्युजिक भिडियोले कथा भन्न थालेको छ । गीतको शब्द र संगीतसँगै हिजोआज संगीतकर्मी, रचनाकारहरू गीतको भिडियोतर्फ ध्यान दिन थालेका छन् । भ्युज बटुल्ने चक्करबाट कतिपय निर्देशक र कलाकार माथि उठेका छन् ।

दयाहाङ राई अभिनित ‘जहाजै चढेर’ बोलको गीतको म्युजिक भिडियोमा विदेशमा पुगेको एक युवाको पीडा देखाइएको छ । बिदेसिएर आफ्नी प्रेमीबाट टााढिएका उक्त पात्रको कथा देखाउन भिडियो कलात्मक सेटमा खिचिएको देखिन्छ । अमृत क्षत्री र मेलिना राईको स्वर रहेको यो गीतलाई पनि निकेश खड्काले नै निर्देशन गरेका हुन् । रचनात्मक भिडियोमा अभिनेत्री केनिपा सिंहको पनि जीवन्त अभिनय छ । गीतलाई थिएटरभित्र खिचिएको देखिन्छ । थिएटरकै ‘प्रप्स’हरूलाई विभिन्न बिम्बका लागि भिडियोमा प्रयोग गरिएको छ । जे होस् यो भिडियो निकै कलात्मक देखिन्छ ।

निकेश खड्काले ‘जहाजै चढेर’ बोलको फरक शैलीमा कथा भनेका छन् । लकडाउन खुकुलिएपछि यो भिडियो सार्वजनिक भएको थियो । अभिनेता राई अभिनित ‘परानै दिन्छु’ मा पनि मिठो कथा समेटिएको थियो । यो गीत पुरानै भयो । पछिल्लो समय दया अभिनित अर्को गीत ‘बल्ल बल्ल भेट भो’ सार्वजनिक भयो । गीतलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

आफूले यी गीतहरू दर्शकलाई मानसिक राहत दिन गरेको बताउँछन् । ‘गीत एउटा त सम्बन्धको कारण गर्ने हो । अर्को सबै कुरा ठप्प भइरहेका बेला यो पनि दर्शकमाझ जोड्ने मौका मिल्यो । त्यसैले कोरोनाले वाक्क लागेका बेला गीतले राहत दिन्छ भन्ने सोच पनि आयो,’ दयाहाङ भन्छन्, ‘बजार ठप्प हुँदा आयस्रोत पनि ठप्प भयो । मेरो मात्र होइन प्राविधिक सबै टिमको भयो । त्यसैले यी सबलाई हेरेर स्वास्थ्यलाई ख्याल गरेर काम हुन्छ भने गरौं भनेर काम गरेको हो । एउटा त मानसिक राहतका लागि हो ।’

पछिल्लो समय अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईले अभिनय गर्ने गीतको विशेषता नै कथा भन्ने शैली हुन थालेको छ । कन्सेप्टको प्लट धेरैजसो उनी बनाउँछिन् । जीवनलाई पनि प्लट मन परेपछि गीतको अफर गर्नेसामु कथा सुनाउँछिन् । आफूलाई कथा भन्न मन पर्ने भएकाले म्युजिक भिडियोमा कथा राख्ने गरेको लक्ष्मी बताउँछिन् । ‘मैले पहिला सुरु गर्दा दर्शकले मन पराउनुहुन्छ कि हुँदैन भन्ने सोचिनँ । म चाहिँ के रुचाउँछु त ? म कथा भन्ने पृष्ठभूमि (थिएटर) बाट पनि आएको भएर होला सायद । मलाई कथा भन्न मन पर्छ मैले त्यो गरेको हो । दर्शकले त्यस्ता गीतलाई रुचाइदिनुभयो । त्यसले मेरो हौसला पनि बढ्यो,’ उनले सुनाइन्, ‘२ मिनेटको एउटा लघु कथामा फिल्म बन्छ भनेदेखि गीतमा त ५ मिनेट हुन्छ । यसमा पनि त कथा भन्न सकिन्छ भन्ने भएर सोचें ।’

अभिनेता मुकुन भुसाल र अभिनेत्री सुरविना कार्की फिचरिङ गरिएको ‘के माया लाग्छ र’ गीतको भिडियो पनि अलग र विशेष लाग्छ । ग्रामीण भेगको जनजीवनमा आधारित प्रेमकथा समेटिएको यो भिडियोलाई पनि उत्तिकै रुचाइएको छ । युट्युबमा अधिकांशको कमेन्ट छ– ‘भिडियोले गीतको भाव आत्मसात् गरेको छ ।’

खासमा नेपाली म्युजिक भिडियोको मुख्य समस्या भनेकै शब्द अनुसारको कथावाचन नहुनु हो अर्थात् सुन्दा जति मज्जा लाग्छ, हेर्दा त्यति लाग्दैन । कति भिडियोले त गीतको मर्म नै मारेको पनि देखिन्छ । सुकिलामुकिला केटाकेटीको उस्तै शैलीको प्रेमका दृश्यमै अल्झिएका हुन्छन्, अधिकांश भिडियो । तर, विस्तारै भिडियोमा पनि सुन्दर कथा र मौलिक पात्रहरू अटाउन थालेका छन् । माथि उल्लेख गरिएका गीत केही उदाहरण हुन् । विपिन भन्छन्, ‘कन्सेप्ट र प्रस्तुति भिन्न र सशक्त छ भने भिडियो खेल्न मज्जा हुन्छ ।’

प्रकाशित : श्रावण २७, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?