कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'अमेजन प्राइम' मा दुई नेपाली फिल्म

रीना मोक्तान

काठमाडौँ — यो लकडाउनमा दुई नेपाली फिल्म  'अमाजोन प्राइम'मा प्रदर्शनमा आयो । शिरीष गुरुङ निर्देशित 'लाटोकोसेरो' र विवेक घिमिरेको 'चिनी कम रङ कडा' । यी दुवै फिल्म दुई निर्देशकका डेब्यू फिल्म हुन् । लकडाउनले गर्दा डिजिटल प्लेटफर्मको विकल्प खोज्नेहरुका लागि उनी दुई उदाहरण भइदिए ।

'अमेजन प्राइम' मा दुई नेपाली फिल्म

'लाटोकोसेरो' सन् २०१८ मा बनेको फिल्म हो । बेलायतमा बस्दै आएका शिरीषले नेपाल आएर यो फिल्म बनाएका थिए । यो फिल्म बनाउन शिरीषलाई लामो समय लागेको थियो । सुटिङमै समय धेरै खर्चियो । फिल्म बनाउन हम्मेहम्मे भएपछि बीचैमा छोड्ने निर्णयमा पुगिसकेका थिए शिरीष । एउटै फिल्म सक्न लामो समय खर्चिएपछि उनले फिल्मलाई हलमा प्रदर्शन गर्ने सोचेनन् । डिजिटल प्लेटफर्मको विकल्प खोज्न थाले ।

आफ्नो फिल्म दर्शकमा पुर्‍याउनको लागि उनलाई 'अमेजन प्राइम' उपयुक्त लाग्यो । फिल्म बनेको २ वर्षपछि उनले फिल्मलाई अमेजन प्राइममा प्रदर्शन गर्ने निर्णय गरे । 'अमेजनमा फिल्म प्रदर्शन गर्न सजिलो लाग्यो । त्यसैले मैले अमेजनमा फिल्म राखौं भन्ने सोचें,' उनले सुनाए ।

उनले अमेजनमा अरु नेपाली भिडियो पनि देखेका थिए । त्यसले पनि उनलाई थप उत्साह दियो । सन् २०२० को मे ५ मा अमेजनमा भिडियो राख्ने प्रक्रिया अगाडि बढाए । फर्म भरे । भिडियो अपलोड गरे । निकै उत्साहित थिए । 'मैले फर्म भरें । भिडियो पठाएँ त्यसपछि प्रक्रिया अगाडि बढ्यो,' उनी सुनाउँछन्, 'फर्म भरेर फिल्म पठाइसकेपछि फिल्म पब्लिस हुनेमा आशावादी थिएँ म । उनीहरुले राखेको आवश्यकता मेरो फिल्मले पूरा गरेको थियो ।'

अमेजनमा आफैले फिल्म पब्लिस गर्न मिल्ने सेवा छ । जसलाई 'अमेजन प्राइम भिडियो डाइरेक्ट पब्लिसिङ सर्भिस' भनिन्छ । यदि फिल्मले सबै मापदण्ड पूरा गर्‍यो भने त्यसपछि प्राविधिक गुणस्तर हेरेर प्रदर्शनको अनुमति दिन्छ । शिरीषले त्यही सेवाको प्रयोग गरेर आफ्नो फिल्म पदर्शन गरे । गत जुन २९ मा बिहानै उठेर अमेजन खोल्दा आफ्नो फिल्म त्यहाँ देखेर दंग भए शिरीष ।

लकडाउनमा बलिउड अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित 'गुलाबो सिताबो' यही प्लेटफर्मबाट प्रदर्शनमा आएको थियो । यस्तो ठूलो प्लेटफर्ममा नेपाली फिल्म प्रदर्शनमा आउनु फिल्मप्रेमीहरुका लागि खुशीको कुरा हो । त्यसैले पनि अहिले नेपाली फिल्म क्षेत्रमा 'लाटोकोसेरो'को चर्चा सुनिन्छ । 'लाटोकोसेरो' कम बजेटमा बनेको फिल्म हो ।

शिरीष करिब १० वर्षदेखि लन्डनमा बस्दै आएका छन् । केही वर्षअघि त्यतै फिल्म अध्ययन पनि गरेका थिए । उनी हरेक वर्ष नेपालमा आउने गर्छन् । नेपाली कलाकारसँग काम गर्न रमाइलो लाग्छ उनलाई । भन्छन् 'मलाई नेपाली कलाकारसँग काम गर्न मनपर्छ । सन् २०१० देखि फिल्मक्षेत्रमा प्रवेश गरेका उनी नयाँ फिल्ममा काम गर्दैछन् । उनी आफ्नो फिल्मको लेखन, निर्देशन र सम्पादन आफै गर्न रुचाउँछन् । 'लाटोकोसेरो'मा कलाकार निभन शिल्पकार, सरिता गिरी र केनिपा सिंहको अभिनय छ ।

'चिनी कम रङ कडा'का निर्देशक विवेकले पनि 'अमेजन प्राइम भिडियो डाइरेक्ट पब्लिसिङ सर्भिस'को प्रयोग गरेर आफ्नो फिल्म प्रदर्शन गरेका हुन् । हुन त उनी फिल्मलाई हलमै प्रदर्शन गर्ने तयारीमा थिए । तर, लकडाउनले गर्दा फिल्म हल खोल्ने अनिश्चित देखियो । त्यसैले उनले यो विकल्प रोजे ।

फिल्म बनाउन ३ वर्ष लागेको थियो । सन् २०२० को फ्रेबुअरीमा फिल्म तयार भयो । ३ वर्ष लगाएर बनाएको फिल्म उनी चाँडै प्रदर्शन गरेर प्रतिक्रिया लिन चाहन्थे । त्यसैले हलको विकल्पमा डिजिटल प्लेटफर्म समाते । 'अमेजनमा आफैले फिल्म पब्लिस गरें । म तेस्रो पक्षबाट गइनँ । मैले अमेजनसँग सिधा डिल गरें,' उनी बताउँछन् ।

यसरी पब्लिस भएको फिल्मको आम्दानीको सेयर बाँड्ने अभ्यास गर्छ अमेजनले । भ्यूज प्राप्त गरेको आधारमा यहाँबाट आम्दानी हुन्छ । अहिले फिल्मको विभिन्न प्रतिक्रिया पाएर खुशी छन् विवेक । 'फिल्मको कलाकारहरुको प्रतिक्रिया राम्रो पाउँदै छु । उनीहरुको काम राम्रो थियो,' उनले भने ।

गणेशदेव पाण्डेले लेखेको फिल्ममा कलाकार सुशिल सिटौला, मानव सुवेदी, अनु थापा, सूर्य थापालगायतको अभिनय छ । यसरी डिजिटल प्लेटफर्मको प्रयोग गर्दा फरक अनुभव भइरहेको विवेक बताउँछन् । 'यस्तो नयाँ ठाउँको प्रयोग गर्दा एकदमै फरक अनुभव हुँदो रहेछ,' उनले भने ।

फिल्मका लेखक गणेशदेव पनि फिल्म अमेजनमा प्रदर्शन हुँदा दंग छन् ।

प्रकाशित : असार २०, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?